04 October, 2007

यहाँ यस्तै हुन्छ (सूत्रकथाहरु)


एक

यौटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए । बाहिर बाटोमा ५-७ जना अगुवाको पछाडी हजारौंका संख्यामा झण्डा बोकेका मानिसहरु यन्त्रबत् 'जिन्दाबाद!' र "मुर्दाबाद" को नारा लगाएर हिडदै गरेको देखीयो ।

दुई

देशमा शान्ति बहाली गर्न भनी बिभिन्न समूहले बृहत शान्ती र्‍यालीको आयोजना गरे । र्‍यालीमा बिसाल जन सहभागीता भए पछी सो सफलताको 'जश' कसले लीने भन्नेमा भनाभन र बाद बिबाद भयो सोहि क्रममा मुठभेड र झडप हुदां एक सय भन्दा बढि मानिस र्घाईते भएको खबर साँझको पत्रिकामा निस्क्यो ।

तीन

आफ्नो देश भनेपछि हुरुक्कै हुने र देश भन्दा माथी केहि पनि हुनै नसक्ने बताउने केहि समूहले देशकोलागी 'एक' हुने ऐतिहासिक निर्णय गरे । देशलाई स्थाईत्व दिने र प्रगतिपथमा लम्काउने यौटा बेजोड योजना पनि आफूसंग भएको कुरा एकताबद्घ समूहका नेताहरुले प्रेस विज्ञप्ती मार्फत पत्रकारहरुलाई जानकारी गराए । पत्रकारहरुले उक्त "बेजोड योजना" को बारेमा अलि बढि प्रकाश पार्न अनुरोध गरे । एकताबद्घ समूहका नेताहरुले एकैछिन कानेखुशी र बिचार बिमर्श गरे अनी सो योजना हाल स्विकृतिको लागी बिदेश पर्ठाईएको र बिदेशबाट पारीत भएर प्राप्त हुनासाथ तुरुन्तै र्सार्बजनिक गरीने बताए ।

1 comment:

  1. दामी छन्! सबैभन्दा मन परेको चाहिँ पहिलो।

    ReplyDelete