02 December, 2007

पेशागत प्रतिभा (लघुकथा)

उनीहरु दुईजना अक्सर एकै ठाउँमा देखिन्थे। पहिलो व्यक्ति बोल्नेहरुको आसनमा हुन्थ्यो भने दोस्रो व्यक्तिहरु सुन्नेहरुको लहरमा ।

पहिलो चोटि उनीहरु दुईजनाको भेट यौटा औद्योगिक मेलामा भएको थियो । त्यस दिन बोल्ने व्यक्तिले उद्योगधन्दाको बारेमा यत्ती गहिरो विवेचना गरेको थियो कि, सुन्ने व्यक्ति उसको उद्योग र प्राविधिक ज्ञानबाट एकदम प्रभावित भएको थियो।

त्यसपछि अर्को दिन यौटा धार्मीक समारोहमा बोल्ने व्यक्तिले गिताको बारेमा खुब जोडदार व्याख्या गर्‍यो। सुन्ने व्यक्ति उस्को धार्मिक आस्था र नैतिक मान्यता देखेर ओतप्रोत भयो ।

त्यसको केहि समयपछि बोल्ने व्यक्ति यौटा साहित्यिक जमघटमा देखीयो । त्यहाँ बोल्ने व्यक्तिले साहित्यको उत्थानको बारेमा साहित्यकारले भन्दा पनि ओजपूर्ण र सारगर्भित भाषण दियो । सुन्ने व्यक्ति उसको साहित्य प्रतिको सदभाव र मिठासपूर्ण वचनले गद्‍गद् भयो ।

त्यसपछि पनि कहिले व्यापारिक मेलामा कहिले वैज्ञानिक भेलामा, कहिले विद्वानहरुको छलफलमा कहिले कलाकारहरुको दलबलमा उनिहरुको भेट भइनै रह्यो ।

प्रत्येक पटकको भेटेपछि सुन्ने व्यक्ति बोल्ने व्यक्तिबाट झन् झन् प्रभावित हुदैँ गयो । सुन्ने व्यक्ति आश्‍चर्य चकित थियो र उसले यो पनि निर्क्योल गर्न सकेको थिएन कि वास्तबमा त्यो बोल्ने व्यक्ति प्राविधिक थियो वा प्रशासक, साहित्यकार थियो वा वैज्ञानिक किनकि त्यो बोल्ने व्यक्ति जुनसुकै ठाउँमा पनि पुग्थ्यो र जुनसुकै विषयमा पनि बोल्न सक्थ्यो ।

अन्तमा सुन्ने व्यक्ति बोल्ने वयक्तिबाट यति प्रभावित भयो कि उसले बोल्ने व्यक्तिको बहुमुखी प्रतिभाको बारेमा अनुशन्धान गर्न थाल्यो । तर जति जति खोजीनीति चल्यो उति उति सुन्ने व्यक्ति भने छक्क पर्दै गयो, किनकि न त त्यो बोल्ने व्यक्ति उद्योगधन्दाको बारेमा नै विज्ञ थियो, न त आध्यात्मिक चिन्तक । न त उसले वाणिज्यशास्त्र पढेको थियो न त साहित्य वा धर्ममा नै उसको झुकाव थियो । बिस्तारे खोजि पस्दा सुन्ने व्यक्तिले थाहा पायो कि त्यो बोल्ने व्यक्तिले औपचारिक शिक्षा समेत पुरा गरेको रहेनछ ।

आजकल सुन्ने व्यक्ति बोल्ने व्यक्तिको बोलिबाट प्रभावित हुन छाडेको छ, तर पेशा र बाध्यताका कारण बोल्ने र सुन्ने कार्य भने पूर्ववत् नै चलिरहेको छ ।

कसैलाई भन्नु नपर्ला तर कुरा के हो भने उनिहरुमध्ये बोल्ने व्यक्ति एकजना नेता वा मन्त्री भएकोले उसले जुनसुकै विषयमा पनि बोल्ने गर्थ्यो र सुन्ने व्यक्ति चाही एकजना पत्रकार भएकोले जे बोलिए पनि उसले सुन्नै पर्थ्यो ।

(गोरखापत्र १५-०२-२०५६)

1 comment:

  1. very good blog, congratulations
    regard from Catalonia Spain
    thank you

    ReplyDelete