13 August, 2008

यथार्थ (कविता)

(धेरै अगाडि कान्तिपुरमा प्रकाशित भएको थियो यो कविता। अहिलेसम्म यसको सार्थकता वर्करार रहेको र कार्य व्यस्तताले गर्दा केहि   लेख्‍न नभ्याएको बेलामा ‘ईतिहासको व्याज’ खान पनि सजिलो भएकोले हाल आफ्नै ब्लगमा टाँसेको छु)

यथार्थ (कविता)

चुरोटको बट्टा बट्टामा

‘धूमपान स्वास्थ्यको लागी हानिकारक छ’

लेख्दा लेख्दै पनि

रक्सीको बोतल-बोतलमा

‘मदिरा नपिउनु नै बेस’

देख्दा देख्दै पनि

‘तान्ने’हरुको भीड नघटेपछि

‘पिउने’हरुको जमात झन् बढेपछि

‘उल्टो असरको सिद्धान्त’ले काम गरेको र

चेतावनिको बारम्बार पुन:उक्ति पनि

झन्-झन् बेमतलब बन्दै गएको देखेपछि

आजकल त यहाँ

अर्कै चलन चलेको छ रे

भ्रष्टाचारिहरु प्र्त्येक घोटालापछि

‘भ्रष्टाचार देशद्रोह हो’ भन्छन्

घुस्याहाहरु हरेक किस्ता बुझेपछि

‘घुस खानु महापाप हो’ जप्छन्

चेतावनि र विज्ञापन संगसंगै चलिरहेछन् ।

क्यान्सर र भ्रष्टाचार दिनदिनै बढिरहेछन् ।

 

( कान्तिपुर ०३-०६-२०५५)

4 comments:

  1. ढुक्कले हो भन्न त सकिनं तर पहिले पढे जस्तो लाग्यो तपाईंको यो कविता । हिंजोको यो यथार्थ हाम्रो मुलुकमा त सदाबहार यथार्थ बन्ने छाँट पो छ ।

    ReplyDelete
  2. धूमपान स्वास्थ्यको लागी हानिकारक भए पनि मदिरा नपिउनु नै बेस भने पनि रमाईलो त यसैमा हुन्छ के गर्ने?

    ReplyDelete
  3. दीपक जी!
    २०५६ सालमा कान्तिपुरमा छापीएको थियो मेरो यो कविता तर तपाईले भने जस्तै हाम्रो सदाबहार यथार्थ नै होला।

    कृष्ण जी!
    भ्रष्टाचार गर्नु र घुस खानु भन्दा त चुरोट तान्नु र मदिरा पिउनु बेसै होला । तर जसरि घुस र भ्रष्टाचारले देसलाई कमजोर बनाउँछ, यि दुई चिजले पनि शरीरलाई कमजोर त पक्कै पार्लान कसो?
    प्रतिक्रियाको लागी धन्यवाद सहित!

    दिलीप आचार्य

    ReplyDelete
  4. यो नै सत्य हो !

    ReplyDelete