16 July, 2009

संविधान बनाउने भगवान, भत्ता खाने सभासद !

                          

अंग्रेजीमा एउटा भनाई छ “Too many chefs spoil the broth” । यसरी धेरैजना जान्ने मिलेर पाकाईएको सुप त कस्तो हुन्छ थाहा भएन, तर यस्तै माहिर-माहिर जान्नेहरु मीलेर हाम्रो देशको संविधान बनाउन लागीएको छ भन्ने खबरसम्म भने पाएको हुँ । यहाँनेर खबर-सम्म-पाएको कुरामा जोड दिनु पर्ने कारण भने संविधान सभाको चुनाव पछि यो सभा संविधान बनाउन भन्दा सरकार बनाउने र बिगार्ने कार्यमा बढि प्रयोग भएकोले नै हो ।

दुई वर्षभित्र बनाइने भनिएको नयाँ संविधानको कार्यतालिका एक वर्षमै पाँचौं पटक पर सरेको समाचार पढिरहँदा मलाई बारम्बार माथीको अंग्रेजी भनाई याद आईरहेको छ । बेहोस आशाबादको कुरा नगर्ने हो भने, अब यो ‘दुई बर्ष’ को बाँकी रहेको केहि महिनामा संविधान बन्ने कुरा गाह्रो मात्रै हैन असम्भव नै छ ।

जव, संविधान निर्माणकोलागि बनाईएका ११ समितिहरुमा आधाले पनि आफ्नो बिषयमा छलफल समेत सकेका छैनन भने अब आउने केहि महिनामा ‘संविधान बन्छ’ भन्नु माओवादीका चमत्कारका कुरा जस्तै मात्रै हुन । मतलब, एकै वाक्यमा कुरा सक्दा यो दुईबर्षे म्याद भित्र कुनै चमत्कार घटेनन् भने ‘नयाँ नेपाल’को संविधान नबन्ने र हामीहरु यो अलौकिक नयाँ नेपालमा प्रवेश गरी सकेर पनि उही पुरानो नेपालको संविधानमै भर पर्नु पर्ने निश्‍चित छ।

जुन देशका सभासदहरु र जिम्मेवार दलहरु नयाँ संविधानको निर्माणको जिम्मा पाएर जाँदा पनि आफ्नो अमूल्य समय र कर्तव्य-पल लाई पुरानो संविधानको व्याख्या-उपव्याख्या र संसोधनमा व्यस्त हुन्छन, त्यहा यहि क्रम चलिरहेमा यस्ता दुई बर्षे म्याद कति पटक ‘दुई-दुई’ बर्षका दरले थप्दै जानुपर्ने हो भविष्यमै थाहा हुनेछ । तर एउटा कुरा चाहि प्रष्टै छ विना चमत्कार नयाँ संविधान तोकिएको मितिमा बन्ने भने असम्भव नै छ ।

अब यो आलेखमा बारम्बार दोहोरिएको ‘चमत्कार’ शब्दतर्फ लागौं । आजको कान्तिपुरमा एउटा समाचार छापिएको छ संविधान बनाउन 'भीमसेन पूजा' शीर्षक दिएर । खोटाङ जिल्लास्थित विजयखर्कवासीले निर्धारित समयमा संविधान निर्माण होस भनेर बलि समेत दिएर सो पूजा गरेका रहेछन । अनि रमाईलो कुरा, स्थानीय कांग्रेसी र ईश्‍वरको अस्तित्व नै नमान्ने माओवादीका नेता समेतले सो पूजा गरेछन ।

एकातर्फ गरिब देशका गरिब जनताबाट उठाइएको करले ६०१ जनाको जम्बो सभा पोषीत भै रहँदा अर्कोतर्फ तीनै गरीव जनताले घरको कुखुरा र रांगा समेत बलि दिएर संविधान समयमै बनोस भनेर ईश्‍वर गुहार्नु पर्ने कस्तो विडम्बना हो यो ! ।

चिनमा रहेर चिनियाँ संस्कृतिको अध्ययन गर्दा हामीलाई बारम्बार धर्मको आडमा बसेर ‘राज’ गर्न सजिलो हुने भएर प्राचीन चिनका वादशाहहरुले बुद्ध धर्म र अन्य केहि धर्मलाई प्रशय दिएका थिए भनेर पढाईन्थ्यो । अध्ययन कालमा मलाई सो कुरामा निक्कै घत लागेको थियो । तर अहिले सोच्दैछु त्यो पूर्ण सत्य भने होईन रहेछ । शासकहरुले राज गर्न सजिलोकोलागी धर्म प्रचार गर्ने हैन, कुशासकहरुको राजबाट वाक्क भएपछि जनताहरु हरेक अप्राकृतिक कुरामा पनि विश्‍वास गर्न बाध्य हुँदा रहेछन । अनी माथि भने जस्तै यो शासक हैन कुशासकका कारण बढने भएकोले यहाँ राजतन्त्र हुनु नहुनुसंग यसको कुनै सम्बन्ध छैन ।

चिनको समाज, बस्तुस्थीति र ईतिहास अर्कै थीयो र त्यहाका राजा-महाराजाहरुले धर्मलाई प्रयोग गरे पनि होलान, तर तात्कालीन चीनका बादशाह वा राजाहरुले गर्ने भन्दा हजार गुणा भाँडभैलो हाम्रो गणतन्त्रमा भएपछि कसैले प्रशय दिए पनि नदिए पनि जनता आफैं नै संविधान निर्माणकोलागि अदृश्य शक्तिको पछिलाग्नुले भने हाम्रो प्रजातन्त्र र गणतन्त्रको गम्भिर मजाक भएको छ ।

संविधानसभाको सबैभन्दा मुख्य समितिको बैठक लामो समयसम्म हुन नसकीरहेको हालको स्थितिमा अब के, नयाँ संविधानको लागि हामीले पनि पशुपति नै गुहार्नु पर्ने हो त ?

16 Comments:

B.J. Dummali said...▼

हैन हौ दिलिप जी, धरैनै गजबको को टाँसो प्रस्तुत गर्नु भयो मलाई त शिर्ष्क देखीनै हाँसो उठयो अनि पढ्दै गएँ झनै खोटाङको चमत्कारी पूजाले त झनै ROFL बनायो लहै धन्यबाद दिलिप जी यो गजबको टाँसोको लागी।

जोतारे धाइबा (Jotare Dhaiba) said...▼

जिम्मेवारी दिएका/भरोसा गरेकाहरूले नगरिदिएपछि उपायनास्ती भएर त बसिँदैन, अन्तिम उपाय केही अबलम्बन गरिन्छ । जस्तै हुतीहाराले पनि विकल्प खोज्छु अप्ठेरोमा ।

विगतमा आन्दोलनको मुस्लो छुटाउने, विपत्तै परिवर्तन ल्याउने जनता त हुतीहारा होइनन्, पछिल्लो समयमा अलि हतास भने पक्कै छन् जति गरे पनि कसैमा सद्‌बुद्धि नपलाएको देखेर र देश झन् भड्खालो पर्दै गएको देखेर । त्यही हतासपनले जनता अहिले देशकै खाका कोर्ने मूल कानुन संविधान बनाउने कुरामा पनि राजनीतिक दलको गैरजिम्मेवार खेल देखेर सुस्ताएका छन् ।

कतै भने आफ्नै तवरबाट बलि-पूजाआजाबाट गाँठो फुकाउने भर खोज्दैछन् सर्वसाधारण । कति दयनीय र लाजमर्दो कुरा ! सामयिक भद्रगोल पाटोमा सही कुरा उठाउनुभयो दाइले ।

तर मलाई भने जसरी पनि समय अलि थोरै लम्बिए पनि संविधान बन्छ जस्तो लाग्छ । जुन कुरा पनि लगन खुस्किन लागेपछि रातारात गर्ने तातो बानी हाम्रा नेताहरूलाई लागेको छ । संविधान लेखनमा पनि यही रोग देखिन्छ । तर संविधान भने कस्तो आउला र राम्रो संविधान आएपनि त्यसपछिको राष्‍ट्रिय नेतृत्व र अराजक नागरिक जमात कुन रुपमा देखिन्छ, बाटो बिराएकाहरूले राज्कयमा सुव्सयवस्था कायम गर्न कसलाई कुन तवरबाट अनुशासन र नीति-नियममा बसाउँछ,त्यो सबै हेर्न भने कुर्नैपर्छ ।

सिकारु said...▼

चुनाव पछिको यो लामो समयमा पनि संबिधानले पूर्णता नपाउनु त छदैछ यस्मा पनि जम्बो सभामण्डलीमा बसेर देशको सम्पतिमा पोषीत भै राज गर्नेहरुले पटक-पटक मितिलाई लम्ब्याएर झारा टार्ने काम गर्नु लाजमर्दो कुरा नै हो ।

निमुखा जनताहरुले अब बिकल्पको रुपमा मठ-मन्दिर समेत धाउन थालीसके तर यो ईश्वरीय अस्तित्वबाट टाढै रहने माओबादीका सभासदले पनि भिमसेन पूजा गर्नुको मतलव आफ्नै पार्टीबाट बिस्वास हटेर हो की?

बिचारको यो गम्भिर टाँसोको लागि धन्यबाद दिलिप जी ।

हावा The Wind said...▼

हैन दिलिप ब्रो, इटली हो कि कता हो भ्रस्टाचारी नेता र कर्मचारीलाई छानी छानी गोली हान्ने समुह थियो अरे नेपाल मा पनि अब तेस्तै होला जस्तो छ

दूर्जेय चेतना said...▼

सवाल संबिधान समयमा बन्ने नबन्ने हैन। अब हालको राजनैतिक चलखेल र यथार्थतालाई गहन बिचार गर्ने हो भने एउटा कुरा हामीले बिर्सनु हुदैन। म सबै जनालाई एउटा प्रश्न गर्न चाहन्छु। हाल रहेका सबै राजनैतिक दल मध्य बन्न गहिरहेको संबिधान कसको निति र सिध्दान्त बिपरित हुने छ? राज्यको सबै भन्दा बलियो शक्तिकै कुरा गर्ने हो भने पनि, उसले चाहेको संबिधान अन्य दल वा शक्तीले चाहे जस्तो हो वा हैन अथवा हुने छ वा छैन? उस्ले चाहेको समाज र यस्को परिवर्तनको खाका अन्य दल वा शक्तीले चाहे जस्तो हो वा हैन? जब हामी यसको उत्तर खोज्छौ तब प्रष्ट हुन्छकी समयमा संबिधान बनाउन कस्ले चाहदैन। म त भन्छुकी ठूलो उथलपुथल हुन बाँकी छ अझै शायद यही संबिधान समयमा नबनेको नाममा। लक्षण ठीक छैन र अन्तिम अबस्थामा भएपनि बन्छ भन्ने कुरामा म सहमत छु तर ।। तर।। के हतारमा र अन्तिम अबस्थामा बानाईएको दस्ताबेजले काम गर्ला? सबै मुद्दामा यसले आफूलाई खरो उतार्ला? के बनाउनका लागि मात्र बनाउने हो संबिधान? यतिबेला त राज्यमा एउटा गहन चर्चा र छलफलको बिषय हुनु पर्ने थियो यो कुरा। सिमित बर्गले र केही सिमित तप्काबाट उठाईएको सुझाबले के यो नाम मात्रको दस्ताबेज हुने तयारी गरेको छैन? बिरेन्द्र क्याम्पसका प्राध्यापकको अन्तरबार्ता पठेको थिए की उनिले त थाहनै पाएनन् रे सुझाब कहिले लिइयो्। उनी मात्र हैन कयौ शिक्षकले यसो भन्दै थिए। कस्तो र कोसंगबाट सुझाब लिएर बनाईदै छ। कतै तयार भइसकेको संबिधानको लागी नाटक मन्चन त भएको हैन? नहोस यस्तो। जटिल बन्‍दै छ हाम्रो समय। जे होस सबैको जय होस र सबै जनालाई यो कुराको हेक्का रहे हुन्थ्यो। दिलिपजिले उठाउनु भएको कुरा यही हो जस्तो लाग्छ। धन्यबाद राम्रो बिबेचना गर्नु भएको मा।

Prajwol said...▼

मैले १ बर्ष अघी नेपालबाट आएका एक UN का कर्मचारी संग कुरा गरेको थिएं । उनको अनुसार एउटा Constitutional expert को टिमलाई UN ले भत्ता खुवाएर संविधान बनाउन लागाइ रहेको छ अरे । ति expert को नाम त थ्यक्कै आएन मलाई, तर धेरै जस्तो द्वन्धग्रस्त देशको संविधान बनाउन उनले नै मद्दत गरेका हुन रे । त्यसैले उनको टिमले ३-४ वटा संविधान को template बनंउछन रे (after extensive research of Nepal's geo-political and social situation) त्यसै माथि हाम्रा ६०१ "संविधानविधले" फुलबुट्टा भर्ने वा modification हरु गर्ने, वा केही हरफ हरुलाई completely rewrite गर्ने रे ।

कुरा सहि हो या होइन त म थ्याक्कै भन्न सक्दिन, तर सहि हो भने केही आश लागेको छ । हुन त बिदेशी ले संविधान लेख्न मद्घत गर्दै छन भन्दा आङ सिरिङ्ग हुनु त स्वभाविकै हो, तर हाम्रा ६०१ बिद्वानहरुले दफा १ देखी नै झगडा गर्दै पुरै संविधन कहिले पुरा गर्लान भन्ने डर बाट भने अलि शान्ती मिलेको छ । आफैं पुरै scratch बाट पूर्ण संविधान लेख्न त यि ६०१ ले दुई बर्षमा गर्या-गरै हो ।

dai said...▼

very nice!

यौटा आर्को interesting लेख ...
http://chapagain.blogspot.com/2008/11/blog-post_18.html

wordflows said...▼

संबिधान बनाउने हाम्रो नेताहरुले, यो भन्दा अर्को दामि jokes कुन होला?

खुल्लामन्च said...▼

"सतिले सरापेको देश", नेपाल । सत्य, अस्तित्व र मान्यताहरु दिनानुदिन हराउदै गैरहेको मुलुक, नेपाल । २५० जनाले जनाटकओ रगत चुसेर पुगेन । ६०१ जना चुसुवाहरु केबल 'चुस्न' आएका रहेछन, हाम्रो पसिनाको गौरब । अत: जनताको सुरक्षा जस्तो सानो काम गर्न नसक्नेहरुबाट राज्य चल्ने संबिधान बन्ला भन्नु त "साँढेको फल झर्ला र खाम्ला" भने जस्तै हो ।
सान्दर्भिक लेख, दिलिप दाजु । जसको लागि धन्यवाद ।

बेदनाथ पुलामी ( उमेश ) said...▼

त्यस्तै हो - दिलीप सर ! धेरै जान्नेहरु बसेको समाज | भनिन्छ नि 'धेरै जान्ने हुनु पनी नजाती रे ! " हो त्यस्तै भैरहेछ |

अनि हिजो आज संविधान र नेपालको राजनीति जिस्कने र फगतको मज्जाक खेल भैरहेछ जून - आफैले आफैलाई आफु कति सम्म हरकत गर्न सक्षम छू भन्ने कुरा मात्र हो - अनि त्यसैको एउटा उदाहरण हो जस्तो लाग्छ -'भिमशेन पूजा' |

कहिले सम्म हामी खराब कारणहरु अरुलाई मात्र थोपरेर - यस्तै मज्जाक गर्दै बस्ने हो त्यो त थाहा छैन ....!!! अनि यही रहेछ नेपालीहरुको अर्को अदितीय पहिचान |

दिनेश राज said...▼

दिलिप जि ,
गाँठी कुरो पत्ता लगाउनु भयो ।" कुशासकहरुको राजबाट वाक्क भएपछि जनताहरु हरेक अप्राकृतिक कुरामा पनि विश्‍वास गर्न बाध्य हुँदा रहेछन ।"

कृष्णपक्ष उज्यालोको खोजिमा said...▼

नया संविधान? अब यी राजनेताहरुको पारा देखि हालियों, भाग बंडा टपक्क टपकाउने र त्यस्कै लागी ङ्यारङ्यार ङुरङुर गर्ने बाहेक इनको बुद्धि क्षमता र तागत एकसुको छैन भन्ने, बुझिसके पछि भीमसेन नगुहारेर के गरुन त बिचाराहरु?

बरु हामी नि गाउने की भीमसेन गाथा

हे रक्षाकर्ता
हे बिघ्नहर्ता
हे बलिया बांगा
अब तिमी नै छौ एक सहारा
संविधान छिट्टै बनाइदेउ जय भीमसेन !

Milan said...▼

अहिलेको स्थिति हेर्दा लाग्छ ... दुइ बर्ष भित्र संबिधान निर्माणको एक चौथाई काम सकिन पनि भगवान जप्नु देखि बाहेक अरु केहि बिकल्प छैन | बरु सभासदको तलबको निश्चित प्रतिशत रकम पूजाको लागि दिने भनेर बजेट मै घोषणा गरेको भए राम्रो हुन्थ्यो होला...प्रोफिट शेयरिंग हुनु पर्यो नि |

समय सान्दर्भिक बिषय उठाउनु भएको रहेछ... धन्यबाद है..

DEEPENDRA said...▼

A very well written post!

We don't do anything till the last moment but suddenly become 'very active' to finish things off and meet the 'deadline'. Like Prajwol ji has suspected, there seems no alternate to hiring some foreign experts to write 'our' constitution :-)

Dilip Acharya said...▼

बि. जे. जी, समाचार पढेर रुने कि हाँस्ने खै, मैले त सोच्नै सकेको छैन।

धाइबाजी, संविधान बन्दै नबन्ने त हैन तर यहि लथालिंगको हालमा कतैबाट बनिबनाउ दस्ताबेज ल्याएर पारीत हुने हो की भन्ने डर हो । सो कुराको अलिकता अनौपचारिक नै भए पनि भनक भने प्रज्वलजीको कमेण्टमा पनि छ ।

सिकारुजी, माओबादिको यज्ञ र पूजाको त के कुरा गर्नु तर साधारण जनमानसमा भने यिनले केहि गर्न सक्दैनन् भन्ने भाव प्रष्ट देखिएको छ ।

हावा ब्रो, ल न, त्यो समुहको बारेमा हामी दुई दाजुभाई मात्रै मिलेर भएपनि यसको खोजबीन गर्ने हो की....अरु बिस्तारमा केही थाहा छ भने मेरो गोप्य ईमेलमा खबर गरौं न !

दुर्जेयजी,तपाईको एउटा वाक्यमा मेरो डर मिस्रीत समानता छ, मलाई पनि लाग्दैछ कि यहाँ केही ‘उथुल-पुथुल’ हुनै बाँकी छ की !

प्रज्वलजी, तपाईले भनेजस्तै Constitutional expert को टिमले बनाए त सायद राम्रै पनि होला, मलाई भने सीमापारीबाट रेडिमेड बनेर आउला भन्ने डर छ ।

दाई, वर्डफ्लोज र खुल्लामञ्च जी, नेता भनेर छानेका सबै जोक्कर परे जस्तो छ, त्यसैले राष्ट्रको जटिल समस्यलाई पनि यत्ती हल्का पाराले लिदैंछन हाम्रा नेताहरु। साँच्चै हो चुनाव भएको यत्रो समय भईसक्दा समेत शान्ति सुरक्षा त कायम हुन सकेको छैन के बनाउलान यिनले आफ्नै बुताले संविधान ।

बेदनाथजी, साँच्चै यस्तो गम्भीर बिषयलाई मजाक नै बनाए जिक्करहरुले ।

दिनेशजी, कृष्णजी, अब साँच्चै यि कुशाकहरुभन्दा भिमसेन गाथामै कल्याण होला जस्तो लाग्छ ।

मिलनजी, प्रोफिट शेयरको राम्रो कुरा सम्झाउनु भयो, अब ईश्‍रकै भरोसामा बस्नु परेपछि, बरु यो शेयर गर्नेमा लाग्नु भन्दा सबैलाई सामुहिक खोसुवा गरेर मन्दिर, मस्जिद, चर्च र गुम्बामा सो लगानी गर्दा सहि होला जस्तो लाग्छ ।

दिपेन्द्रजी, आपत्तै परेपछि जुर्मुराउने बानी त पुरानै हो, तर यस्तो जटिल र गम्भिर बिषयमा पनि यस्तो गर्दा समस्या समधान हुने भन्दा झन नयाँ नयाँ समस्या पैदा होलान जस्तो लाग्छ ।

अरुलाई “हाम्रो” संविधान बनाउन लगाउँदा हाम्रो संविधान अर्कैको हातमा जाला भन्ने डर मात्रै हो ।

टिप्पणीको लागि सबैमा हार्दिक आभार !

Basanta said...▼

साह्रै सान्दर्भिक छ, ब्यंग्यभित्र नेपाल र नेपालीको सघन पिडा लुकेको छ।
हाम्रा दल र नेताहरु बेलैमा मूल काममा कहिल्यै लाग्दैनन्। सानातिना तुच्छ कुरामा अल्मलिएर समय बिताऊँछन्। अन्त्यमा आतेपाते स्वाहा गरेर लटरपटर पाराले काम सिध्याऊँछन्। संविधान बन्ने देखेको छु मैले, लोकलाजकै कारण भएपनि कुनै खोष्टो तयार पार्नेछन् हाम्रा दलहरुले। तर प्रश्न कस्तो संविधान बन्नेछ भन्ने हो।
प्रज्वलजीले भनेजस्तै अरु कसैले लेखिदिएको संविधानमा अलि-अलि फूलबुट्टा भरेर जारी हुने संभावना प्रवल छ। ब्यापक बहसविना आएको यस्तो संविधानले अहिलेका धेरै समस्याहरुलाई संबोधन नगर्ने निश्चित छ। अनि अहिलेको यो अराजकताको दुश्चक्र पनि जारी रहने निश्चित छ। यसरी 'अरु'ले लेखिदिएको संविधानमा हाम्रा छिमेकीहरु र अरु शक्ति-राष्ट्रहरुले आफूले चाहेका केहि बुँदाहरु पनि घुसाउन पाउनेछन् र हाम्रो देश सधैंभरि बलिया देशको फूटबल मैदान बनिरहनेछ।
खोटाङ्गका जनताले दिएको त्यस्तो सशक्त ब्यंग्यलाई पनि बुझ्न सकेनन् भने हाम्रा नेताहरु संवेदनहीन मूढा भईसके भनेर प्रमाणित भएको छ।

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼