02 August, 2009

बल्गर भेला, नेपाली ब्लग जगतमा नयाँ आयाम

                          

हिजो शनिवार दौँतरीमा ब्लगर भेला थियो । दौँतरीका एडमीन नेपालियनजीले फेसबुकमा त्यसै कुरा हुँदा भेलामा स्वागत भाषण दिन भन्नु भयो । म, अर्काको भाषणमा व्यङ्ग्य गर्न मात्रै जान्ने तर आफैं बोल्न परेमा अनुभवहिन बिषय भएकोले खासै बेमेल व्यक्ति भएको कुरा त उहाँलाई अबगत गराएको हो, तर सात समुद्रपारी बस्नुहुने वहासंग व्यक्तिगत चिनजान नभएपनि आत्मियता भने भरपुर भएकोले पछि वहाले आग्रह गर्दा “नाँई” भन्न पनि सकिन ।

दौँतरीमै केही समय अगाडि नेपालीहरुले लण्डनमा गरेको यस्तै एउटा भेलामा भएको जात्राको बारेमा भिडियो पनि हेरेको थिएँ, तर यो भेला भने अनलाईन भएकोले ‘जे पर्ला !’ भनेर सुर्रीएँ । अब अफ लाईन भेला भएपो कोट–टाई च्यात्तीने वा ढुंगा मुढा हुने डर हुन्छ, ‘अनलाईनमा त हद्द भए २-४ जनाले गाली गर्लान त्यत्ती हो’ भनेर तोकिएको समयमा कामबाट बहाना बनाएर घरको कम्प्युटरमा सोझीएँ ।

४० जना जत्ती ब्लगरहरु र केही ‘पर्यव्यक्षक’ को उपस्थितिमा भेला अघिको गाँईगुई हुँदै थियो म सो मित्थ्यालोकको भेलास्थलमा प्रवेश गर्दा । जे भए पनि तोकिएको समयमा भेला सुरु भयो र तोकिएकै फर्म्याट अनुसार निश्चित समयमै समापन पनि । संसारभरी छरिएर रहेका नेपाली ब्लगरहरुलाई ‘एकै छाना’ मुनि बसाल्ने प्रयास एकातर्फ एकदमै सह्रानिय थीयो भने अर्कोतर्फ समयको भिन्नता र सबैको आ-आफ्नै व्यस्तताका कारण बढि भन्दा बढि ब्लगरहरुको उपस्थीति हुन नसकेकोमा सबैमा खल्लोपनको अनुभव पनि रह्यो ।

भेलाको बारेमा बिस्तृत विवरण त दौँतरीमै राखीएकोले त्यसबारेमा म जान्न, तर यस भेलाले नेपाली ब्लगरहरुलाई नजिक्याउन र एक आपसमा अनुभवहरु बाँडेर केही सिक्ने र सिकाउने मार्ग प्रसस्त गरेकोमा भने हामी सबैले खुला दिलले स्वागत गर्नु पर्छ ।

भेला भन्ने बित्तीकै कुनै सभा हल, विशाल औपचारिक बैठक वा त्रिपाल नै भएपनि ठड्याउनु पर्ने मान्यताका बेगर भएको यो अनलाईन भेलाले मन भएमा सात समुद्रको दूरी, कसैको एकता वा सामूहिकतामा बाधा नपर्ने प्रमाणीत गरेको छ ।

हो, भेलामा आउने वा बोल्ने सबैले भनेको सुनिन्छ वा सबैले भनेको सबैले मान्नै पर्ने वाध्यता रहँदैन तर सबैमा आफ्नो बिचार राख्‍ने मञ्च उपलब्ध हुनु पनि आफैमा एउटा उपलब्धि हो । छोटो समय, केही प्राविधिक सीमा र पहिलो भेला भएका कारण सायद त्यसमा कमी कमजोरीहरु पनि रहे, तर यो एउटा एकदमै सकारात्मक सुरुवात थियो र सो सुरुवातले कुनै भेला वा संघ, संघठन भन्ने बित्तीकै कुनै भौतिक पुर्वाधार, आदेशकारक पदाधिकारीहरु वा कुनै विचारको पुर्वानुग्रही हुनु पर्ने धारणावाट भने मुक्त गर्‍यो ।

भेलाकै अघी पछी गरेर दौँतरी मार्फत नै थाहा भयो, यस्तै प्रकारका ब्लगरहरुका केही “अफ लाईन” भेला काठमाण्डौंमा पहिला पनि भैसकेका रहेछन । तर देशको मात्रै हैन महादेश र समुद्रको सिमारेखा पनि पार गरेर सानै संख्यामा भएपनि संसारका कुना-कुनाबाट ब्लगर मित्रहरुलाई एकै स्थानमा भेला गराएर दौँतरीले नेपाली ब्लग जगतको ईतिहासमा नया उचाई थपेको छ ।

हामी सबैलाई थाहा छ, आजको दिनमा हामीले प्रयोग गर्ने कार, रेल वा अन्य कुनै सवारी साधन ति साधनहरुको प्रथम निर्माणका बेलाका भन्दा कैयौं गुणा गुणस्तरीय, सुबिधायुक्त र आरामदायी पनि छन । तर हालका साधनहरु जत्तिसुकै परिस्कृत भए पनि, स्टिम ईन्जिन बिकसीत गर्ने कार्यको श्रेय जेम्स वाटलाई नै जान्छ । त्यस्तैगरी भोलीका दिनमा हिजो भएजस्तै वा त्यो भन्दा ठूला राष्ट्रिय वा अन्तराष्ट्रियस्तरका भेला नहोला भन्न सकिन्न र होउन पनि, तर नेपाली ब्लग इतिहासमा दौँतरीले आयोजना गरेको यो अन्तराष्ट्रिय भेला सधैं कोशेढुंगाको रुपमा रहने छ । नेपाली ब्लग जगतलाई अझ रोचक, आकर्षक, सूचना मूलक, पठनिय र उत्तरदायी बनाउन यो भेलाले हामी सबैमा सधैं प्रेरणा दिईरहोस !।

दुईघण्टासम्म चलेको र आमने-समाने रहेर सञ्चालन गर्ने सञ्चालक वा व्यबस्थापन गर्ने निर्देशक नहुँदा पनि शान्तिपूर्ण चलेको अनलाईन भेला, नेपालीहरुको सामान्य भेलाभन्दा निकै अनुशासित र मर्यादित रह्यो, यसकालगी भने म दौँतरी लगाएत सम्पूर्ण सहभागी ब्लगर मित्रहरुमा हार्दिक आभार व्यक्त गर्दछु । Happy Blogging !

13 Comments:

N K M said...▼

It was a really nice get-together.

आकार said...▼

निकै गज्जब को भेला थियो । पहिलो भेला नै यति उत्साहपुर्ण हुनुले यस कदमलाई सकरात्मक रुपमै लिइनुपर्छ । कामव्यस्तता ले, कोही आइपुगेनन् भने केही ले आफूलाई थाहा नै नदिइएको गुनासो पनि पोखेका थिए । जेहोस्, भविष्यमा नि यस्ता भेला रेगुलर हुनुपर्ने आवश्यकता देखिएको छ । आशा छ, यस्ता भेलाले नेपाली ब्लगरहरुलाई नजिक ल्याउने छ । कार्यक्रम मा केही कमिकमजोरी पनि देखियो, आगामी दिनमा तिनलाई पनि सुधार्दै लानुपर्ने देखिएको छ ।

दीपक जडित said...▼

थाहा भएरै पनि म चैं भने सहभागी हुन असमर्थ रहें । आगे सामेल हुन सक्छु भन्ने छ । पहिलो अन्तराष्ट्रिय ब्लगर भेलालाई सफल बनाउनुहुने सम्पुर्ण ब्लगर मित्रहरुलाई बधाई एवं धन्यवाद !

Milan said...▼

बिबिध कारणले सहभागी हुन नसके पनि भोलि पल्ट अफ-लाईनमा बसेर मैले नि हेरें | रमाईलो लाग्यो |

यस्तो नौलो किसिमको पहिलो भेलाबाट शायद हामि कसैले पनि चत्मकार हुने आशा गरेका थिएनौं | कम्तिमा यो भेलाले प्राय भिंडभांड मात्र गर्ने नेपालीहरु कहिले काहिँ "भेला" पनि हुन सक्छन भन्ने सामान्य संदेश दिएको छ |

दौतरी, दिलिप दाई र सहभागी सबैलाई धन्यबाद र बधाई !

Basanta said...▼

पहिला म नआउने सूरमा थिएँ, त्यो दिन समय निकाल्न गाह्रै थियो। नेपालीयनजीको अनूरोधपछि बाँकी कुरालाई जबर्जस्ती दुई घण्टा पछाडि सारेर सहभागी भएँ। साह्रै रमाईलो र उपलब्धिपूर्ण लाग्यो भेला, नआएको भए मैले धेरै कुरा गुमाउने रहेछु भन्ने लाग्यो।
यस्ता भेला भविष्यमा पनि नियमित हुनु आवश्यक छ। दौंतरीको मेहेनतलाई सलाम!

wordflows said...▼

virtual खुलामन्चमा गरेको भेला रमाइलो नै भयो

खुल्लामन्च said...▼

पहिले देखि नै भेलाप्रति रुची अनी स्थानिय समय पनि ट्याक्क मिल्ने हुनाले म पनि टाइ सुट लगाएर भेलामा सामेल भएं । ज्यादै रमाइलो भयो । संसारभरिका नेपाली ब्लग्गहरु सँगको प्रत्यक्ष कुराकानीले केही सिक्ने मौका मिल्यो । राजनीति गर्न होइन, ब्लगरका बोली र आवाज बुलन्दका खातिर समिती बनाएर जुटौं भन्ने मेरो प्रस्ताब अल्पमतमा पर्‍यो । तरै पनि नेपाली ईतिहासमा प्रथम पटक आयोजना गरिएको यो भेला प्रति दौतरिलाई साधुबाद !

Jotare Dhaiba said...▼

यस्तो सम्मेलनको महत्व निकै हुने रहेछ, म पनि झन्डै छुटेको, नेपालीयन जी कै जोडबलले यस पर्वमा सहभागी हुन सकियो ।
अझै आगामी भेलामा सबैका कुरा उठानलाई आलोपालो सुनुवाई हुने हिसाबमा व्यवस्थित पार्दै लैजानुपर्ने खाँचो देखियो, तर अनौपचारिकता नै ठीक छ ।

निकै रमाइलो र अपूर्व रह्यो भेला । दौँतरीको मेलोमेसोलाई त सराहना जति गरे पनि कमै हुन्छ । दाइलाई पनि त्यस अवसरलाई यति महत्वका साथ लेख्नुभएकोमा आभार ।

Prajwol said...▼

यो भेलाले भविश्यका लागि धेरै अरु ढोका खोलिदिएको छ जस्तो लाग्यो मलाई ।

सूर्य/सिकारु said...▼

सफलताका साथ भेला सम्पन्न गरेकोमा दौतरीप्रति आभार । आशा गर्छु प्रस्ताबित बिषयहरुले छिटै कार्यन्वयन हुने अवसर पाउन । साथै दिलीपजीको मिठो प्रस्तुतिको लागि धन्यबाद ।

हावा De Wind said...▼

दिलिप ब्रो, तपाईं पनि हावा गफ दिने भन्या ?

दूर्जेय चेतना said...▼

रमाईलोनै भएको थियो जे होस।

नेपालियन said...▼

हुन त यो लेख पहिला पनि पढेको हो तर राम्रो लागेर पून पढ्ने पुगें।

दिलीपजी लगायत सबै ब्लगर मित्रहरुले यती चासोका साथ ब्लगर भेलालाइ महत्व दिनुभएको ले ब्लगर भेला निकै सफल भयो। भेला भन्दा पनि त्यसबाट निस्किएका कुरा र संपूर्ण ब्लगरहरु एकै मालामा गांसिनू भएको कुरा निकै उपलब्धी पूर्ण रह्यो।

यस्कालागी सबै ब्लगरमित्रहरु धन्यबादका पात्र हुनुहुन्छ।

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼