02 September, 2009

पर्खाल (लघुकथा)

                          

पर्खाल केही समयअघि उसको घरसंगैको एकजना छिमेकीले घर अगाडिको बाटो र घरको बीचमा रहेको केही जग्गा मिचेर पर्खाल लगाएको थियो । यसरी सार्वजनिक जग्गा मिचेर छिमेकीले आफ्नो कम्पाउण्ड बढाएको कुरा उसलाई चित्त बुझेन । उसले विरोध गर्नु पर्ने ठाउँमा गएर विरोध गर्‍यो, उजूर हाल्नु पर्ने ठाउँमा गएर उजूर हाल्यो । तर उजूर कमजोर भएर हो वा छिमेकी बलियो भएर हो कुन्नि, न त कसैले अनुसन्धान नै गर्‍यो, न त छिमेकी नै कारवाहीमा पर्‍यो । लगाएको पर्खाल लगाएकै भयो ।

त्यसको केही समयपछि उसको अर्को छिमेकीले पनि विस्तारै आफ्‍नो पर्खाल मर्मत गर्ने बहानामा पुरानो पर्खाल भत्काई दुई-तीन फिट बाटो च्यापी नयाँ पर्खाल लगायो । उसले पुन: निवेदन दिनुपर्ने ठाउँमा गएर निवेदन दियो, नालिस हाल्नु पर्ने ठाउँमा गएर नालिस पनि हाल्यो । तर नालिस लेखेको नमिलेर हो वा सम्बन्धित हाकिम छिमेकीसंग मिलेर हो, न त कसैले छिमेकीलाई हप्कायो, न त कसैले पर्खालै भत्कायो । ठड्याएको फर्खाल ठाडै रह्यो ।

अघिल्ला दुई जनाबाट प्रेरणा पाएर गएको हप्ता, उसको तेस्रो छिमेकीले आफ्नो चार आनाको जग्गालाई बाटोतर्फ ‘घचेटेर’ ६ छ आनाको बनायो । यसरी सवैजनाले सार्वजनिक जग्गा मिच्दै व्यक्तिगत बनाउँदै गरेको उसलाई पटक्कै मन परेको थिएन । तर किन हो कुनि यसपाला भने उसले मुद्दा हालेर शत्रु कमाउने काम पनि गरेन, निरर्थक विवाद गरेर मूर्ख बन्ने बाटो पनि रोजेन ।

ऊ यसरी चुपचाप शान्त बसेको देखेर छर-छिमेकमा सबै छक्क परेका थिए । वास्तवमा अर्काले हाकाहाकी सार्वजनिक जग्गा मिच्दा पनि ऊ यसरी शान्त बस्नु एउटा आश्‍चर्यकै कुरा थियो । तर आश्‍चर्य भन्दा महा आश्‍चर्य घटेपछि मात्र सबैले उसको परिवर्तित शान्त स्वभावको रहस्य बुझे । कुरा के भने, आज बिहानदेखि ऊ पनि विस्तारै आफ्नो घर कम्पाउण्डको पुरानो पर्खाल भत्काएर चार फिट अगाडि नयाँ पर्खालको जग खन्दै थियो ।

12 Comments:

हावा De Wind said...▼

त्यसैले भनेको दिलिप ब्रो, चानचुने सुधार ले काम चल्ने वाला छैन...फलाम ले नै फलाम काटछ.. वाइ स्याल लगाइदिनुपर्छ... ठोक्नै पर्छ यिनेरु लाई

दिनेश राज said...▼

दिलिप जी , अन्धाको देशमा कानो भन्छन । कानुनि राज्य किताबमा मात्र सिमित भएपछि , अगुवाले लगाएको बाटोनै रिति बन्दै जान्छ । सबैले गरे हुन्छ भने मैले चाहि किन नहुने ? भन्ने सोचाइ जति सुकै बुझ्ने जान्नेनै भएपनि आउनु अस्वभाबिक पनि नहोला । एउटा कुहिएको आलु .......तर सबैले राम्रो कामको अनुसरण गरिदिए हुने नि है । कथा राम्रो छ ।

Prajwol said...▼

राम्रो, सार्है राम्रो । यो लेख अरु धेरै क्षेत्रमा पनि लागु हुन सक्छ, जस्तै: पहिले सुरुमा अरुले फालेको फोहर पनि टिप्दै हिंद्थ्यो, त्यस पछी अरुको टिप्न छाडेर आफ्नो फोहर गोजिमै जम्मा गरेर फाल्ने ठांउ भेटे पछी मात्र फाल्ने गर्थ्यो, अन्तमा उ पनि जता-ततै फोहर फाल्दै हिंड्न थाल्यो ।

नराम्राले राम्राका सिकेर सुध्रने भन्दा राम्राले नराम्रा झैं बिग्रने प्रविर्ती को हावी छ :(

सूर्य/सिकारु said...▼

नालिस लेखेको नमिलेर हो वा सम्बन्धित हाकिम छिमेकीसंग मिलेर हो, न त कसैले छिमेकीलाई हप्कायो, न त कसैले पर्खालै भत्कायो । ठड्याएको फर्खाल ठाडै रह्यो ।
मनमा घोच्यो यो लाइनले
सच्चा मानबिय धर्मको आड लिएर गल्तिलाई नङ्गायाउन खोज्दा आफैले गलत बिचार बनाउनुपर्ने नेपाली परिस्थितिको यथार्त प्रस्तुति । के गरोस त बिचराले कतैबाट न्याय नपाएपछि लागेछ बाटो मिच्न आफैपनि ।

आकार said...▼

हाहाहाहा ! जस्तालाई त्यस्तै भनेको यही होला तर पनि सार्वजनिक जग्गा झ्वाम पार्न त उसले पनि छोडेन !

कृष्णपक्ष उज्यालोको खोजिमा said...▼

हो, यसरी नै बद्लिरहेछ्न बिचार र भावनाहरु आजकल को भन्दा को कम को शैलीमा ।
एउटा भनाइ सम्झिएँ, अन्धाको देशमा गए आँखा चिम्लनु, लंगडाको देशमा गए खुट्टा उचाल्नु रे, तालमा ताल नमिलाए बाच्नै गाह्रो छ यो संसारमा, अनि के गरोस त?

Milan said...▼

परिस्थिति र सन्दर्भले मान्छे बदलिने नै भयो | अझ नराम्रो कुरामा बदलिनु पर्दा त के समय लाग्छ र | सरल उदाहरण दिएर कुरा छर्लंग पार्नु भएको रहेछ | अन्त्यमा ब्याड-न्युज नै आए नि लघुकथाको बिषय बस्तु र सरलता मनपर्यो | चित्र नि गज्जबको हाल्नु भएको रहेछ |

दूर्जेय चेतना said...▼

कसै पनि सुख पाएनन् उनले। ठिक गरे वा गरेनन् आफूले नयाँ पर्खाल बनाएर तर उनको त्यो बुद्धिले भने आफू सुरक्षित भने पक्कै भए जस्तो लाग्यो।
निकै सटिक कथा लाग्यो। कार्टुन पनि निकै राम्रो रहेछ।

Jotare Dhaiba said...▼

सोझो औलाले घ्यू नआउने र गैरकानुनी राज चलेको ठाउँमा नीतिनियम नै गैरकानुनी हुन्छन् भन्या यही हो ।
जस्तो लोक, उस्तै झोक बिसाएछन् पीडित महोदयले । स्वाद लाग्यो ।

खुल्लामन्च said...▼

जस्तालाई तस्तै, ढिंडालाई निस्तै भन्या जस्तै गरेचन, ति पीडित महोदयले । हालेका नालिसमा पालिस नलागे पछी के गरुन बिचरा ?

दीपक जडित said...▼

कथा पढिसक्दा पाठकलाई पनि ठिकै गरेछ भन्ने लाग्ने । थेत्तरो समाजको राम्रो चित्र ।

DEEPENDRA said...▼

A nice story, though with a pessimistic ending. Personally, I love to read the optimistic approach. However, I have also read that literature is the mirror of society!

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼