07 October, 2009

नयाँ नेपाल- केही अनुभव, केही अनुभूति

                          

केही समय अगाडि दसैं मनाउन घर गैएको थियो, करिब २ हप्ता जति बसेर फेरि कामको ठाममा फर्केको छु । दुई हप्ताको बिदाका कारण आलस्यले अझै झ्याप्पै छोपेको छ। फेरि दुई हप्ता बिदामा बसेर फर्कदा काम गर्ने ठाउँमा भने २ महिनामा नसकिने जस्तो काम थुप्रिएको छ त्यसैले ब्लगमा लेख्‍ने धेरै कुराहरु हुँदाहुदैं पनि यो पेजमा धेरै दिन देखी केही पनि कोरिएको छैन ।

हुन त यो दुई हप्ताको बीचमा धेरै साथीहरुको ब्लग पनि मेरो जस्तै आराम फर्माएर बसेको थियो, तर अब भने आलस्यलाई तोड्दै ब्लगमा आफ्नो उपस्थिति जनाउन पनि केही लेख्‍नु पर्ने बेला भैसकेको छ । त्यसैले आज यस पटकको दसैं बिदामा भएका केही अनौपचारिक गन्थन गर्नु पर्‍यो ।

गणतन्त्र र नयाँ नेपाल

करिब तीन बर्ष देखि बाहिर रहेकोले पत्र पत्रिका र विशेषगरी हाम्रा दिग्गज नेताहरुबाट प्रयुक्त हुने उपर्युक्त वाक्याशंको शाब्दिक अर्थको साधारण भेउ पाए पनि वास्तविक अर्थ भने बुझेको थिईन । यसपाला त्यसको पनि केही अनुभव भयो ।

‘गणतन्त्र’ माने जनताको तन्त्र वा जनताको राज। अझ कुरा प्रष्ट गर्दा जनता आफैले शासन गर्ने व्यबस्था । यसपाला घरपुग्दा जनताले आफ्नो शासन नभए पनि व्यबस्था आफैं गरेको टडकारो प्रमाण मिल्यो मलाई ।

लोडसेडीङको मारले सामान्य जीवनयापन नै असम्भव प्राय: भएपछि नेपाली जनताहरुले आफ्नो व्यबस्था आफैं गर्नु पर्ने कर्तव्य र अधिकारलाई सहि ढंगबाट निर्वाह गरेको पाएँ । काठमाण्डौका अधिकांश घरमा गच्छे अनुसारको ईन्भर्टर, सोलार प्यानल, ईमरजेन्सी लाईट वा प्रकाश र उर्जाका अन्य वैकल्पीक स्रोतको व्यबस्थापन भएको रहेछ । अब गणतन्त्रमा पनि सरकारले नै सबै व्यबस्था गर्‍यो भने त के गणहरुले के गर्ने त हैन ?

खसी-पैसा-खसी

दसैंको अगि र पछि अर्को एउटा कुराले विशेष चर्चा पायो । सुरुमा चाहिए जत्ती खसी, च्याङ्रा नभित्रेकाले र खाद्यसंस्थानको थोक पनि समयमा नआएकोले बजारमा खसीको अभाव हुने अडकलबाजी र हल्ला फैलीयो । जिउँदो खसी- बोकाका भाउले पनि आकाश छोए ।

केही समय पश्चात नेपाली जनताले दु:ख जीलो गरी कमाएर बैंकमा थन्काएको पैसा पनि दसैंको मुखमा ‘नोट अभाव’ भएका कारण बैंकबाट झीक्न पाएनन् । धेरै बैंकहरुमा बिहानै देखी लाईन लाग्यो भने केही सिमीत बैकंले पनि ‘यत्ती भन्दा बढी दिन नसकीने’ भनेर भित्तामा पर्चा नै टाँसे ।

नयाँ नेपालका पुराना नेपालीहरुलाई यसलाई पनि नयाँ नेपालको एउटा अर्को कडी सम्झेर बस्नु बाहेक अर्को कुनै उपाए रहेन । नहुनेको त कुरा छोडौं, पैसा भएकाले पनि नोट अभावका कारण खसी हैन फर्सी किन्न समेत समस्या झेल्नु पर्‍यो ।

अब आफैंले बचत गरेर राखेको पैसा पनि झिक्न नसके पछि बजारमा असर पर्ने नै भयो। दसैं करिव करिव संघारमै पुग्दा भने खसी व्यापारीहरु क्रेतासंगको नोट अभावका कारण नयाँ नेपालमा आफ्ना पुराना खसी नबिकेको गुनासो गर्दै थिए ।

राजश्व तिर्न घुस

हो, शीर्षक देखेर म झुक्कीएँ कि भन्ने ठान्नु भएको हो भने त्यसो हैन । यो राजश्व छल्न हैन, राजश्व तिर्न पनि घुस खुवाउने पर्ने नयाँ नेपालको कथा हो ।

बिदा सुरुहुनु भन्दा २ दिन अगि घर पुगेको थिएँ, घरमा थन्किएको एउटा कलियुगको घोडा (मोटर साईकल) को कर तिर्नु पर्ने समय पनि भएकोले एकदिन सवारी कर तिर्न हिँडें । दसैंको मौकामा मानिस कम होलान भनेर गएको त म पुग्ने बेलामा नै लामामा करिब १५० जना जत्ती थिए ।

बागमती अञ्चलमा चल्ने करिब ३, साढे तीन लाख मोटरसाईकलको कर त्यहा जम्मा तीनवटा काउण्टरबाट ‘कलेक्शन’ हुने रहेछ । सालाखालाकै हिसाब गर्दा पनि दिनमा करिब १०००-१२०० जनाको कर त्यो तिनवटा काउण्टरबाट कलेक्शन हुने देखियो । यस्तो अबस्थामा ‘ससम्मान’ कर तिर्न गएकालाई ‘टेन्सन’ हुने नै भयो ।

एकातर्फ बैंकमा नोट अभाव भएको खवर थियो भने अर्कातिर सरकारलाई ‘नोट बुझाउन’ जान पनि सानोतिनो ज्यानका मानिसलाई त्यो तिन घण्टे लाममा पैठोजोरी खेलेर बस्न सम्भव थिएन । म त, बिदा नै मनाउन गएको र अन्य काममा व्यबधान नआउने बएकोले त्यो मस्त लामको ‘आनन्द’ लिएर नै बसें । तर अन्य काममा पुग्नु पर्ने र सीमित समय लिएर निस्केकाहरु भने ससम्मान राजश्व तिर्न बसेकाका लाम देखेपछि तर्सन थाले । कसैको अफीस पुग्नु पर्ने, कसैको घरमा जरुरी काम भएका, कोही १ घण्टाको फुर्सदमा निस्केका त कोही त्यस्तै अन्य काम भ्याउने हडबडमा रहेका ।

तर आत्तिनु पर्ने रहेनछ, नयाँ नेपालाका केही स्वयं सेवकहरु (मतलब आफ्नै सेवा गर्नेहरु) त्यहा परिचालन भएका रहेछन । उनीहरु त्यस्ता कम समय लिएर निस्कने करदाताका कागजातहरु द्रुत गतिमा तयार गरिदिँदा रहेछन । मेरो अगि-पछि बस्ने केही मजबुर करदाताले मेरै आखाँ अगाडी द्रुत सेवा प्राप्त गर्न २-२ सयको भेटी ती स्वयं सेवकलाई चडाए ।

हुन पनि म बसेको लाईन डेग नचलेको अबस्थामा उनीहरुको कागजात तयार भएर बाहिर आईसकेको पनि थियो ।

समष्टिमा नयाँ नेपाल भनेको यस्तै यस्तै नयाँ-नौलो कुराको थालनी गरिएको पुरानो मुलुक भएको स्मृति लिएर फर्केको छु । बाँकी पछि…

18 Comments:

Basanta said...▼

क्या सटीक चित्र राख्नुभयो दाइ नयाँ नेपालको!

DEEPENDRA said...▼

Realistic sequence of events posted in an interesting way as usual!

आकार said...▼

Interesting, Observation... and much realistic post.

हावा De Wind said...▼

नयाँ नेपाल को नारा अघी सार्ने एउटा तर सत्तामा पुरानै लोभि पापीहरु भएका ले पो हो कि ?

Prajwol said...▼

आफ्नो आनुभव बांड्नु भएको मा धन्यवाद । अब सबै काम जनताले नै गर्ने भए सरकार पनि किन चाहियो र :)

दुर्गा अधिकारी said...▼

Dai ek dam ramro cha, Interesting.

TRUE LIFE'S JOURNEY said...▼

वास्तविकताको चिरफार सफासँग राखिदिनुभो । मन पर्‍यो अनि मन पनि दुख्यो !

gufgaf.com said...▼

हा हा !! एकदम रमाईलो दाइ !!! हामी त सधैँ यस्तैमा बस्दैछौँ !!

रबिन्द्र न्यौपाने said...▼

दाइ तपाइ नेपाल कहिलेकाही आउने मान्छेलाइ त यस्तो भयो भने हामीलाइ के भएको होला ? रमाइलो लाग्यो

दीपक जडित said...▼

निरिह हामी यस्तो दुर्ब्यवस्था पढेर पनि रमाईलो भन्न बाध्य !

कृष्णपक्ष उज्यालोको खोजिमा said...▼

नया नेपालीको नियति चाहि यस्ता विसंगतिहरु संग अभ्यस्त हुनु र चुपचाप बस्नु हो ।
अन्तिम प्रसंगको शिर्षक खुब मन पर्यो ।

दूर्जेय चेतना said...▼

साह्रै सुन्दर तबरले खरावकुराको बयान लेख्नु भयो चित्त बुझ्यो। मात्र आफूले खानको लागी र अरुले गरि रहेको मोज आफुले लुट्नकै लागि गणतत्रको नारा दिएर जनताको बुद्धि भुट्नेकाम भन्दा केही रहेन छ।
मलाई त अब यस्तो लाग्न थाल्यो की, जे पायो तेही गर्न नपाएर,र सम्पनि बेचेर जाडँ खान नपाएको निहूमा बाबुसंग अंश मागेको छोराको पारा रहेछ हाम्रो गणतत्र।।

Anukul said...▼

"कोइला लाई जती पखाले पनि गोरो हुँदैन" नेपाल सरकार को कर्मचारीतन्त्र पनि एकै हो !
चोटीलो लेख !!

Khet Raj Mainali said...▼

So nice presentation and bitter truth of our system.

cheeju shrestha said...▼

दिलिपजी ले भोग्नु भए झै नियती मैले पनि भोग्नु पर्‍यो । फरक यत्ती मात्र हो कि उहाको सवारी को राजस्व भने मेरो चाही सवारी चालक अनुमती पत्रको जे होस नया नेपाल को । साच्चै अनुभुती भयो नया नेपालको, जय होस नया नेपाल र नेपाली गणतन्त्रको

नेपालियन said...▼

तपाइका तिन सत्य लघु कथा मन पर्यो। मेरो मुक्त है तपाइकै लघुकथा सितै:
१) पोहोर साल नेपाल जांदा लोड सेडिगंको मुकाबिला गर्न टुकीमारा घरघरमा पुगेको रहेछ। नाम सुन्दा हांसो उठ्ने तर सानो तर सेतो उज्यालो दिने टुकीमारा टिकाउ,भरपर्दो र निकै लोकप्रिय भेटाएं।
२)अहिलेको दशैंमा भाइरल ज्वरो निकै फैलिएको ले चितवन तिर खशी बोका नै बिकेनन रे। यो भन्दा "भाइरस" निक नेम भएको मेरो साथी चितबन तिरै गएको हूंदा कतै त्यसले गडबड त गरेन, मन मनै निकै हांसो लाग्यो।
३)म अमेरिका आउंदा तपाईले भने जस्तै स्थीती सिर्जना भएको ले यांहा आएको ५ बर्ष हुंदा बिक्रीभइसकेको भटभटे पनि मेरै नाममा छ। कता त्यो भटभटेले गडबड गर्ला र मलाइ अबजस आउला भन्ने डर!

Jotare Dhaiba said...▼

खुब चखिलो लाग्यो दाइको बिदाको खिचडी परिकार । हामीलाई त यी सबै नौला कुरा भएनन्, बानी जो परिसकेको छ । नयाँ नेपालको 'लाइभ' प्रसारण शायद यही नै होला ।
बिदामा आउनुभएको दाइ-भाउजूसँग भेटघाटको साइत किन नजुरेको भन्या त दाइ त्यस्तो भीडमा सकृय उम्मेदवार हुन जानुभएको रहेछ र पो त ;) !

N K M said...▼

"अब गणतन्त्रमा पनि सरकारले नै सबै व्यबस्था गर्‍यो भने त के गणहरुले के गर्ने त हैन ?"

they know...
जुन गोरु आए पनि ...

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼