21 October, 2009

बाँदरको खोजी !

Leader धेरै पहिले भारतीय टेलिभिजनमा एउटा हास्य कार्यक्रम हेरेथें । एकजना कविले सुरुमा निक्कै रंगीन कविता पाठ गरेपछि अन्तमा एउटा मन छुने कविता पाठ गरे।

बाँदर नचाएर गुजारा गर्ने एकजना 'मदारी' पात्रको जीवन र चरित्रलाई कविले आफ्नो कवितामा व्यक्त गरेका थिए । कविताको पुरै अंश मलाई याद रहेन, (नेटमा सामान्य खोजी गर्दा पनि भेटिएन), तर उनको सुरुका दुई लाईन कहिल्यै नभुल्ने गरी मेरो मनमा बस्यो ।

मेरा एक बन्दर जैसा बेटा
और एक बेटा जैसा बन्दर है !

मदारीको एम. ए. पास बेरोजगार छोरा दिनभर बाँदर जस्तो यता-उता गरेर समय बिताउने, तर उसैको बाँदरले दिनभर शहर- बजारमा खेल देखाएर र नाचेर पैसा कमाएर पुरै परिवारको पेट पाल्ने कुरा उनले जादूमय शब्दद्वारा कवितामा उतारेका थिए । स्टेजका दर्शक सब उनको कवितामा स्तब्ध भए भने उनको शब्दले सबैलाई भावुक बनायो ।

कवितामा मदारी पात्रको घरमा, छोरा बेकम्मा बाँदर जस्तो र बाँदर भने जिम्मेवार छोराको रुपमा देखीन्थ्यो ।

केही दिन देखी म पनि यो यो बाँदरको खोजमा लागेको थिएँ -- देश चलाउने बाँदर-- किनकी दलहरुले भनेजस्तै व्यबस्था र संबिधान सभाको चुनाव पछि पनि देश स्थायीत्व, शान्ति र समुन्नतीको दिशामा नगाएर झन् झन् नयाँ नयाँ विवाद, समस्या र आपसी खिचातानीमा बल्झीदैँ गएपछि नेताहरु बाँदर भएकोमा शंका गर्नु पर्ने त कुनै स्थान रहेन । सायद यस्तै बाँदरहरुबाट देशको संबिधान नबन्ने देखेर होला नेपाली जनताले केही समय अगाडि समयमै संविधान बनोस भने र देवी देवतालाई पनि पुकार्नु पर्‍यो

नेपाली जनताहरुले धेरै बलिदान दिए, म त भन्छु यिनै घाँस खानेहरुका अदूरदर्शीता र अपरिपक्वताका कारण अनावश्यक रुपमा बढी भन्दा बढी निर्दोष नेपालीहरुले बलीको बोका बन्नु पर्‍यो । तर हरेक पटकको जनताको त्याग, बलिदान र आन्दोलन भने खाली यीनै बाँदर जस्ता नेतालाई चप्पल लाउने बाट पजेरो चढ्ने, सुईखुट्टेबाट भुँडे बनाउने र झोपडीबाट महलमा सार्ने फजितमा मात्रै खर्चीयो । भर्खरकै कुरा गर्ने हो भने पनि, राजनैतीक गतिरोधका कारण देशै अबरुद्द हुने बेला हुँदा पनि हाम्रा महानतम नेताहरु भने राष्ट्रपति, प्रम, मन्त्री, सभासदहरुको तलब बढाउने महान कार्यमा लागे ।

देशमा चलिरहेका र चल्न सक्ने आन्दोलनको कुरा गर्ने हो भने त, अबका दिनहरुमा देशमा कति यस्ता 'बाँदरे ताण्डब' हुने हुन लेखाजोखा गर्न पनि मुश्किल छ । देश जहाँसुकै पुगोस, जे सुकै होस कसैलाई मतलब भएको देखीँदैन। मेल-मिलाम, समन्वय, भाईचारा कुनै पनि दल वा नेतामा भेटन मुस्किल छ । सुलभ छ त एउटै नेपाली उखान चरितार्थ गर्ने स्वभाव: "बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्कोलाई पनि बनाउन दिँदैन" । आखिर बाँदरले गर्ने पनि त्यति त हो । थरी-थरिका छन बाँदर पनि- सत्तापक्षका बाँदर, विपक्षका बाँदर, एउटै पक्ष भित्रका उपगुट बाँदर, देशको माना खाने विदेशि दूत बाँदर ।

धेरै लेख्‍नु जरुरी छैन हामीकहाँ बाँदर जस्ता नेता खोज्नु पर्दैन, जत्ती पनि छन, जताततै छन र चाहिने भन्दा धेरै नै छन ।

देशको यो हाल देखे पछि हिजों म माथिको कवितालाई नेपाली परिवेशमा उतार्ने कोसिसमा लागेको थिएँ । कापी कलम लिएर लेख्‍न बसें:

मकहाँ बाँदर जस्ता नेता र...
....   .....  .... ......

तर खै, पहिलो लाईन लेखे पछि थाहा भयो, हामीकहाँ बाँदर जस्ता नेता मात्रै रहेछन, नेताजस्तो बाँदर समेत पनि रहेनछन (देश साँच्चै गरिव रहेछ!)। त्यसैले म खोजी गर्दैछु, पशुपतिमा..., स्वयंभुमा... र देशका वन जंगलमा समेत ।

कमसेकम एक-दुई वटा नेता जस्ता बाँदर भैदिएको भए नेपाली जनताले यो सधैंको समस्याबाट त्राण पाउँथे होलान। तपाई पनि खोज्नुस र भेटेमा मलाई खवर गर्नुस, कसमेकम मेरो कविताको दोस्रो हरफ पुरा भए पनि केही आशा जा्गथ्यो :

मकहाँ बाँदर जस्तो नेता र
नेता जस्ता बाँदर छन ....

कविता पुरा नभएपनि मैले हरेस खाएको छैन, अहिलेलाई फेरि निक्ले बाँदरको खोजमा ..... ।

*****                  ****                *****                         *****

यो पनि हेर्नुस:

बाँदर, झण्डा र गँजडी गफ

14 comments:

  1. हाहाहा... साँच्चै दिलीपजी तपाईको कविताको दोस्रो हरफ लेख्नयोग्य तुल्याउनलाई हाम्मे नै पर्ने जस्तो लाग्यो। सबैजस्तो हुनसक्ने हाम्रा नेताजस्तो गुणयुक्त जन्तु/प्राणी भेट्नलाई निकै कसरत गर्नुपर्ला नि।

    साथमा ढिलै भएनि दीपै दीपको दीपावलीको शुभकामना।

    ReplyDelete
  2. सटीक वर्णन हामी नेपालीको पिडाको! बाँदरले कम से कम आफूलाई चाहिनेभन्दा खाँदैनन्, अरुको वास उठाऊँदैनन् र भ्रष्टाचार गर्दैनन्, हाम्रा नेताहरु ती भन्दा धेरै गए-गुज्रेका छन्।
    बाँदरमा नेता खोज्नुपर्ने हाम्रो फुटेको कर्म!

    ReplyDelete
  3. संविधान बनाउन र आम-चुनाव गर्न सक्ने बांदरहरु फेला परे बल्ल पछी चुनाव जित्ने नेताहरुलाई "देश चलाऊन" दिन अलि सजिलो हुन्थ्यो । म त 'जोकर' भन्ने शब्द को प्रयोग गर्ने गर्थें । तपाईंले त बांदरसंग नेपाली नेताहरुलाई दांजेर पुरै बदनामै गरिदिनुभयो, पुरै बांदरजात को :D

    ReplyDelete
  4. हो हामीकहाँ बादरका अनुपम उदाहरण धेरै छन । बिरोधका इटा, ढुंगामुढा, टायर, रत्नपार्कको रेलिंग, अनि पुरै भत्किएको देश यसका प्रमाण हुन् । सटिक व्यंग्य पस्कनु भयो ।

    ReplyDelete
  5. हराएको बाँदर भए खोज्दा नि पाइन्थ्यो कि ? हामीकहाँ छँदैरहेनछ त्यस्तो बाँदर खै के भेटिएला र ? बरु भएका बाँदरलाई नचाउन सक्ने घरभित्रै यौटा मदारी पात्र भै दिने हुने । भएजति मदारी पनि बाहिरका छन् ।

    गजब लाग्यो ब्यङ्ग्य विचार ।

    ReplyDelete
  6. लेकाली22/10/09 1:32 PM

    यस्तो बाँदर कहा बाट पाउनु हो दिलिप गुरु? खडेरी परेको बेला पालुवाको तलतल भने झै पो यो त।

    ReplyDelete
  7. हैन हामेो देशमा उल्टो भए जसतो छ, पशुपतीमा भएका बादर हरू सिंहदरबार पसेका, सरी पसेका हैन हामीले भोट दिएर पसाएका.............

    ReplyDelete
  8. हैन, खोजी गर्नु पर्ने नै हो र ?
    एकदम गज्जब को दनक दिनु भा'को छ है !
    :)

    ReplyDelete
  9. कैलाशजी, साँच्चै कसरत गरेर मात्रै हैन, पुरै देशमा नै 'गुगल सर्च' गरेपनि भेटन मुश्किल छ होला ।

    बसन्तजीले भन्नु भएजस्तै बाँदरहरुको जस्तो 'मानवीय'चरित्र हाम्रा नेतामा अहीलेसम्म त देखीएको छैन ।

    प्रज्वलजीसंग सहमत छु, मैले नेपालका नेताहरुलाई बाँदरसंग दाँज्दा बाँदरहरुको घोर बेईज्जत भएको हुनुपर्छ । उसो त उही बेलामा अरुले संसदलाई 'बंगुरालय' भनिसकेका छन, तर अर्को पाला पशुपति र स्वयंभू पुगेको बेलामा बाँदरहरुसं माफी माग्नु पर्ला :)

    कृष्ण जी, यीनिहरु बाँदर भएको अरु थप प्रमाण त खोज्नु जरुरी छैन बरु दीपकज जीले भन्नु भएजस्तै मदारी खोज अभियान चाल्नु पर्ला जस्तो छ ।

    लेकाली जी, साँच्चै यो त खडेरीको पालुवा भन्दा पनि दुरुह भयो ।

    उमेश जी, पशुपतिका भीत्र छिरे पनि स्वयंभु वा अन्त कतै 'ईमान्दार' बाँदर छन कि भन्ने मेरो खोज हो ।

    आकार जी, हैन, यही हालमा बस्ने हो भने त ठीकै छ :) नत्र दुई-चार वटा गतिला 'नेता जस्ता बाँदर' अत्यावश्यक भैसकेका छन ।

    सबैमा हार्दिक धन्यवाद ।

    ReplyDelete
  10. धेर खोज्नै पर्दैन दाइ, टन्नै भेटिईहाल्छन् यसो बाहिर चियाउनेबित्तिकै........

    ReplyDelete
  11. म सहमत छु, वास्तवमा वाँदरजस्ता नेता भेट्न मुस्किल छैन तर नेताजस्ता कामैनलाग्ने वाँदर सायदै पाईएलान् । चोटिलो लाग्यो लेख ।

    ReplyDelete
  12. हाम्रो काठमाडौं मा सब थोक पाईन्छ साथीहरु
    नेता जस्तो बाँदर नै हेर्ने भये पनि स्वयम्भु र पस्पती गएर अवलोकन गर्नुस्
    धुरन्धर षड्यन्त्रकारी हुँदा रहेछन बाँदर नेताहरु पनि
    सोझा साझालाई हेप्छन र लुट्छन बलिया बाङा देखे दात देखौदै खि खि गर्दै लुत्रुकक पर्छन

    अलिकता दोस हामी रमिते हरु को पनि हो
    प्रत्येक् रमिते को मन मा बाँदर ले अरुको खानेकुरा खोसोस भन्ने हुन्छ
    खोसेको देखेर रमाउछ

    ReplyDelete
  13. हा..हा..हा बाँदरको दृष्टान्त बबाल छ है । नेपालको नेताहरुको बाँदरसँग तुलना गर्दा अन्याय भएन र भन्या ?
    म त जुकासँग तुलना गर्छु । टाँसिएर रगत चुसेझैँ देश र जनता चुस्ने जुका नेताहरु ।
    ब्लगर भेटघाट अनि साहित्यिक गफगाफ

    ReplyDelete
  14. खै, मैले धेरै सोधे तर केही सोच्नै सकिनँ ! यो अभियान त नथालिँदै ब्रेक लाग्यो दाइ ।
    नभएको कुरा कहाँ खोज्ने अब ! बरु नयाँ कुरा आविष्कार गर्ने भए आँट्थे कि कोही ।
    चसक चैँ दह्रो गयो है !

    ReplyDelete