04 November, 2009

को हो त मर्द ?

                          

Jhola यो कुनै काल्पनिक कथा नभै पूर्ण रुपमा वास्तविक घटना हो । कोही- कसैसंग पहिला मिलेको भए, हाल मिलिरहेको भए र भविश्यमा पनि मिल्न गएमा पनि त्यो संयोग नभै सामान्य घटना हुनसक्छ ।

जबाफदेयीता वा अजबाफदेयीतका यति कुरा लेखिसकेपछि अब मेरो कुरा सुरु गर्दै छु ।

कुरा के भने, म हाल दक्षिण तर्फको छिमेकी देशमा उत्तरतर्फका छिमेकीहरु संग बराबर सम्पर्क हुने काममा छु । तर यो कुरा, कामको नभै काम नभएको बेलाको हो

अघिल्लो साता २ दिन बिदा परेको थियो यता, त्यसैले एक दिन अलिक परको स्थानमा घुम्ने निधो भयो । माथी लेखे जस्तै त्यतीबेला उत्तर र दक्षिण दुबैतर्फका एक-एक जोडी पनि हामीसंगै घुम्न जान तम्से ।

कुरा घुम्नेसंग पनि सम्बन्धित नभएकोले र यो नियात्रा पनि नभएकोले, यहाँ म कता घुमेको र कसरी घुमेको बारेमा पनि लेख्ने तरखरमा छैन । अँ त, दिनभर घुमेर निवासमा फर्कने क्रममा हामी सबैजना हप्ता दिनको रासनको बन्दोबस्त गर्न भनेर एउटा डिपार्टमेण्ट स्टोरमा छिर्‍यौं ।

कुरालाई लामो नपारी सक्दा, संयोग बस तीनै जोडीले एक-एक जोडी झोला हुने गरी सामान खरिद गरेछन । अर्थात हरेक जोडीसंग पसलबाट बाहिर निस्कने बेलामा २-२ वटा झोला भए ।

मैले आफूले खरिद गरेको सामानको दुईवटा झोला मध्य अलिक ठूलो र गरम झोला उठाएँ, र सानो झोला श्रीमतीले समातीन।

दक्षिणतर्फका साथी, पसलबाट यसरी निस्के मानौं सामानको पैसा तिरेपछि सो सामनहरु आफैं तीनका घरमा पुग्छन । याने उनका दुबै झोलाहरु उनकी श्रीमतीले सकी-नसकी बोकी रहेकी थीईन ।

उत्तरतर्फका मित्रले सामान पनि अलिक बढी नै किनेका थिए र २-३ वटा झोला कम्मर नै झुक्ने गरी बल्ल-तल्ल आफ्नो हातमा झुण्याए, उता उनकी श्रीमती पनि दक्षिणका श्रीमान जस्तै गरी आरामसंग खाली हात अघि बढीन।

यी सबै उपक्रमहरु दैनिक आदत र आ-आफ्नै अभ्यस्त तालमा एकदमै सहजताका साथ घटे । न कसैले कसैलाई आ-आफ्नो भागको पोका-पन्तरा कस्ले कुन र कस्ले कुन बोक्ने भन्ने छलफल गर्नु पर्‍यो, न आग्रह, न त ईशारा सम्म नै ।

आ-आफ्ना सामान लिएर सवारी साधनसम्म पुग्ने बेलामा उत्तरका मित्रले दक्षिणका साथीलाई व्यङ्ग्य गर्दै भने “ हेर, हामी त ‘मर्दानगी’मा विश्वास गर्छौं ....त्यसैले यो झोलाहरु सबै मैले नै बोकें…”

दक्षिणका साथी उनको कुरा सुनेर जोडसंग हाँसे : “ हैन, भारी बोक्ने मर्द हुन्छ कि, भारी बोकाउने?…” उनले पनि सटिक जबाफ दिए ।

व्यंङ्ग्य, बिनोद र विवाद चुलीदैँ जाँदा, दुबै तर्फका छिमेकी मलाई आफ्नोतर्फ खडागर्न जोड कसेर लागे र मेरो समर्थन माग्न थाले। मैले भने असंलग्नताको पाठ पढाएर दुबैको विबादको दर्शक बनेर मजा उठाएँ ।

साँच्चै मर्द को हो त ?, तपाई नै भन्नुस न ।

16 Comments:

hernus said...▼

हा हा दिपक सर बडा मजाको घटना सुनाउनु भो । को मर्द हो यस्को छिनो फानो हजुरलेनै गरदिनु होला । कृपया

नवराज पाण्डे

Anonymous said...▼

हा हा दिपक सर बडा मजाको घटना सुनाउनु भो. को मर्द हो यस्को छिनो फानो हजुरलेनै गरदिनु होला. कृपया

  नवराज पाण्डे

आश्मा said...▼

:)
निकै रमाइलो लाग्यो ---तर एउटा कुरो मैले बुझीन - के मर्दानगी भन्ने शब्द शारीरिक बल संग संबन्धित छ ?!!

Ashesh said...▼

मैले पनि सकिन साँच्चैको मर्द छुट्याउन । दाई गाह्रो भयो साह्रै !!!

Prajwol said...▼

ति दुई मध्य मर्द को भन्ने फरक ब्यक्ती का फरक धारणा होलान्, तर मानव को होइन भन्ने कुरो भने मलाई प्रष्ट भयो

रोचक लेखका लागि धन्यवाद दिलिप जि :)

Umesh Gajurel said...▼

खै यस्तै पारा हो भने त के भन्नु न त कसैलाइ केही बोकाउन सकियो न त अरूको कुरा बोक्न, छुट्याउनै गाैहो भयो भन्या, को हो त मर्द, ???????????

Basanta said...▼

को मर्द, को नामर्द छुट्याउन यतिले पुग्ला जस्तो लाग्दैन। तर त्यो दक्षिणतिरको मान्छेचाहिँ काईतेनै हो, लौ जा:)

राजेश बुढाथोकी 'नताम्स' said...▼

दाई तपाईको ‘अनौपचारिक’ गफ निकै रोचक लाग्यो । पोष्टको ‘मर्द’ को भनेर थाहा पाउन सकिएन है ।

आश्मा जीले भनेझैँ मर्दानगी केमा हुन्छ ? प्रश्न अप्ठ्यारो र बताउनै गार्हो भयो ।

नयां लाउरे said...▼

उत्तर बाट दक्षिण तिर पुग्दा बोक्ने भारि पनि परिवर्तन् हुने रैछ। उत्तरको लोग्नेले सबै सामन आफै बोके, बिच्कोले आधा-आधा गरे लोग्ने स्वास्निले अनि दक्षिणका ले लोग्ने खाली अनि स्वास्निलाई पुरै भार। स्वास्नीलै जति जोताउन सक्यो तेसैलाई मर्द मान्ने हो भने, मर्दत्व दक्षिण बाट उत्तर तिर जाद घट्दै जाने रैछ। धेरैले बुजेको मर्द्त्त्व यहि नै हो कि? केहि काम गर्न सकेन, भारि उठाउन सकेन, कसै सङ झुक्यो भने कस्तो नामर्द रैछ भन्ने चलन छ सायद। मेरो बिचार यो कुरा यौनिकतामा पनि लागु हुन्छ जस्तो लाग्छ।

लेकाली said...▼

वास्तबिक मर्द जस्ले समानताको भार समान तवरले उठाँउछ उही नै हो।

Asha said...▼

cool shot ! but how can you measure out ? i dont think this is the enough reason or clue to find out whcih you're wandering .. anyway enjoyed ur article .

DEEPENDRA said...▼

I enjoyed your post as always, however, really don't think there are enough evidences in the story to decide and answer your query!

हावा De Wind said...▼

प्रश्न च्यलेन्जिङ छ... तर जसलाई आफ्नो मर्दानगी देखाउनु पर्ने हुन्छ उसले सोधेको भये पो..
तपाईं लाई जवाफ दिएर के फाईदा ? ;)

दिनेश राज said...▼

मजाको अनौपचारिक गफ । यस्को निर्णय चाहि तपाईंले भन्नु भएझैं ठाउँ अनुसार हुने हो कि ? हामि बाँचेको सामाजिक हिसाबले चाहि समान भार उठाउने नै होला हैन र ?

binod k rijal said...▼

मैले पनि सकिन साँच्चैको मर्द छुट्याउन ।

Dilip Acharya said...▼

टिप्पणीको लागि सबैमा धन्यवाद ।

आश्मा जी, यो 'मर्दानगी' भन्ने शब्द मेरो दक्षिणका मित्रको थेगो रहेकोले मैले पनि त्यत्तिकै राखेको हो । मेरो आफ्नो बिचार राख्‍ने हो भने यो शब्दले प्राकृतिक संयोगबस पुरुष भएकोमा गर्व गर्ने हुत्तिहारालाई मात्रै ईंगित गर्छ ।

अरु सबै साथीहरुलाई सामुहिक जबाफ दिने हो भने, नेपालका पत्रिका र उत्पादक हरुले आफैंले आफैलाई 'नेपालको सर्बोत्कृष्ट' र 'नेपालको नम्बर १' भन्ने नाम दिए जस्तै यसपालाको मर्दको पगरी, मैले पनि आफैलाई दिएँ है :)

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼