22 November, 2009

आयातीत संस्कृति (लघुकथा)

                          

-एक-

सानो छोरालाई आमाको काखमा खेल्नै पुगेको थिएन। बाबुको काँधमा घोडा चढ्ने रहरै पुगेको थिएन । अलिकता छोराको भविष्यलाई सोचेर, अनि अलकता भने फुर्सद खोजेर बाबुआमा दुबैले आपसी सहमतिमा सानो छोरालाई छात्रावासमा नै बस्ने गरी आवासीय स्कुलमा हालिदिए ।

-दुई-

छोराले पढाई सक्काई सकेको थियो। व्यस्त हुने काममा लागी सकेको थियो । अलिकता छोराको गृहस्थीको लागि सोचेर, अनि अलिकता भने व्यबहार सक्काउन खोजेर बाबुआमा दुबैले पढे गुनेको परिवारबाट जागीरवाला केटी खोजेर घरमा बुहारी पनि भीत्राईदिए

-तीन-

बुढाबुढीको उमेर ढल्की सकेको थियो । आँखा कमजोर अनि हात खुट्टा गलीसकेको थियो। सानोमा सधैं बाहिर बस्ने छोराले संस्कार नै बुझेको थिएन, अर्काको घरबाट आएकी बुहारीलाई झन ममता नै थिएन। अलिकता बाबुआमाको हेरचाह होस भन्ने ठानेर, अनि अलिकता आफ्नो झंझट छुट्ने जानेर, छोरा बुहारी दुबैले आपसी सल्लाहमा बाबुआमा दुबैलाई बृद्धाश्रममा हालीदिए ।

21 Comments:

Aakar said...▼

यस्तो हुनसक्दैन भन्ने छैन । तर यो आयातित संस्कृति को पछि लाग्नु चाँहि भएन है !

Ashesh said...▼

चित्त वुझ्यो । तर आफू वाउ भएर सोचेँ कि छोरो भएर त्यो चैँ आफैले थाहा पाइन!!!

Milan said...▼

अलिकता मन चसक्क छोयो... तर अचेल हुने गरेको छ यस्तै नै... एकदम सटिक कथा...

Basanta said...▼

सटीक छ! तीन हरफमा सिंगै जिन्दगीको महाभारत अटाएको छ।

चिजु श्रेष्ठ said...▼

एकदमै राम्रो लघु कथा पस्कनु भो दिलिप जी! जस्ता लाई तस्तै............

HAWA said...▼

बेसै भो नि, कच कच गर्नु भन्दा त छुट्टै बसेकै राम्रो होला नि.. बृद्धाश्रमलाई हेला भन्दा पनि सिनियर सिटिजन्स होम को रुपमा बिकास गरे कसो होला ?.. फेरी मेरो बाउलाई कुरा न लाइदिनुहोला है..

Dhruba Panthi said...▼

हाम्रो बदलिँदो वास्तविकता बोकेको छ कथाले। तर हावा ब्रोले भनेजस्तै वृद्धाश्रमसम्बन्धि हाम्रो सोँचमा अलिकती परिवर्तन पनि जरुरी छ कि?

Prajwol said...▼

तपाइको शब्द प्रयोग को efficiency लाई मान्नै पर्छ है, थोरै खर्चेर धेरै ब्यक्त गर्न सक्ने । यो लघु कथा पढे पछी एउटा "Cats in the cradle" भन्ने अंग्रेजी गीत को याद आयो ।

लेकाली said...▼

भारत भनेर चिनिने मिचुवा देश बाट युरोपमा हुने वास्तबिक संस्कृतिको लेखा जस्ताको त्यस्तै ब्यक्त गरिदिनु भएको छ; अँ हावा ब्रोको बुढालाई कुरो मात्रै होइन दुई चार लौरो डंडुल्ना खस्ने गरी दनक दिन सुझाब दिनु पर्ला जस्तो छ।

DEEPENDRA said...▼

nice one! a concise and thought provoking write.

राजेश बुढाथोकी 'नताम्स' said...▼

लघुकथा निकै राम्रो लाग्यो । अनि वास्तविकता पनि छ ।

Prabesh said...▼

एकदमै चित्तबुझ्यो..........

Chaitanya said...▼

कथाले मोहनी लगाउंदै थियो , पढेर पुगेकै थिएन | अलिकता आफ्नो पनि जादू देखाउँ भनेर , अनि अलिकता पाठकलाई पनि चकित पारौं भन्ने सोचेर कथाकारले कथा यत्तिकैमा टुंग्याईदिनुभयो | एकछिन अलमल्ल परेपछि कुरो बुझियो ,कथा पूर्ण रहेछ |
कविता जस्तो शैलीमा लेखिएको सारपूर्ण कथा !

Umesh Gajurel said...▼

कहीले पालत्त सासुको त कहीले पालो बुहारीको,

Nijgadh said...▼

चित्त वुझ्यो । आहा साह्रै राम्रो .............

HAWA said...▼

लेकाली ब्रो, म नि भाउजु लाई तपाईंको "त्यो" कुरा लाइदिन्छु.. अनी था पाउनु होला डडाल्नो खुस्किदा कस्तो स्वाद आउछ भनेर ;)

प्रतिक्षा said...▼

दुबैले एक अर्काको भलाई नै सोचेका त रहेछन्!!......मलाई त उनिहरु आ-आफ्नो ठाउंमा ठीक लाग्यो।

दूर्जेय चेतना said...▼

साच्चैनै जिन्दगीको महाभारतनै दिनु भयो। मन नै कस्तो कस्तो बनायो तर यथार्थनै यस्तै छ। बाबु आमाले दिएको संकारनै त प्रयोग गर्छन केटाकेटीहरु। चित्त बुझ्ने गरि दिनु भयो है।

रबिन्द्र न्यौपाने said...▼

Very Intresting story Dilip Dai.

Kamal Raj Chapagain said...▼

तितो सत्य!!
संस्कार पनि समयसंगै बदलिदै जानु पर्छ, यसो भनेर म यो कथाजस्तै हुनुपर्छ भन्ने सोचमा भने होइन है।
अनि तीनमा यी वाक्यहरु "सानोमा सधैं बाहिर बस्ने छोराले संस्कार नै बुझेको थिएन, अर्काको घरबाट आएकी बुहारीलाई झन ममता नै थिएन।" नभएको भए अझै राम्रो हुन्थियो होला, कथालाइ बुझाउन खोजेजस्तो लाग्यो।

Jotare Dhaiba said...▼

आधुनिक पारिवारिक रामकहानी । घामकै छाया पर्ने न हो !

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼