14 January, 2010

भविष्य यसरी बोल्ने छ (विज्ञान कथा)

25th. May, 2145

आज पनि मिटिङ जारी थीयो, तर कुनै निर्क्योल भने निक्लन सकेको थिएन । संसारभरका बुद्धिजीवी, वैज्ञानिक, राजनीतिज्ञ अनि विविध क्षेत्रका वरिष्ठतम व्यक्तिहरुको सहभागितामा भएको यो यो विशाल बैठकको विषय थियो:- भविष्यको लागि पानी

पृथ्वीको सतहमाथी रहेको पिउन योग्य पान त अघिल्लो शताब्दीको अन्त्यतिर नै सक्कीसकेको थीयो, त्यसैले संसार अहिले सतहमुनिको पानिमा निर्भर थीयो। तर करिब ३ महिना अगाडि वैज्ञानिक र भूगर्भशास्त्रीहरुको एउटा अन्तराष्ट्रिय टोलीले एउटा ज्यादै नै विष्फोटक तथ्य प्रकाशमा ल्याएका थीए :- सतह मुनिको पानी आउँदो दश वर्षमा सक्कीने

यो समाचारको प्रकाशनले संसारभर हाहाकार फैलीयो, के वैज्ञानिक, के राजनीतिज्ञ, के साधारण नागरिक सबै गहन चिन्तामा डुबे । दश वर्ष पछि के हुन्छ ?, अब कसरी बाँच्ने?, के अब पृथ्वी पनि जीवन रहित ग्रह हुने भयो त? । हरेक व्यक्ति आफूलाई मृत्युले पच्छ्याईरहेको ठान्न थाल्यो । प्रकृति माथि नै विजय हासिल गर्न अगाडि बढेको मानिस प्राकृतिक सम्पदाको समाप्तीसंगै आफ्नो अस्तित्वको पनि अन्त हुने प्रष्ट देख्दा तर्सीन थाल्यो । अभिमानी, हठि र अति महत्वाकांक्षी मानव समाजले वातावरणको संरक्षणमा मात्रै आफ्नो अस्तित्व रहने कुरा स्विकार्‍यो। तर ...अपशोच !, मानिसले आफ्नो गल्ती स्विकारेर अस्तित्व जोगाउन अब निक्कै ढिला भैसकेको थियो ।

दश वर्षपछि पृथ्वि जीवन रहित ग्रह बन्ने कहाली लाग्दो सन्नाटालाई सम्झेर सुन्दर सृष्टी विनाशको भयले सम्पूर्ण मानवजाती भयभित हुन थाले । तुरुन्तै विश्वका सबै देशहरुमा सभा, गोष्ठी र खोजहरु हुन थाले। पिउने पानीको कुनै उचित समाधान पत्ता नलागेपछि संयुक्त राष्ट्र संघको आयोजनामा मे २३, २१४५ मा एउटा बृहत अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्‍यो । सबै देशका वैज्ञानिक, बुद्धिजीवी, पत्रकार र भूगर्भशास्त्रीहरु फेरि एक पटक जेनेभामा भेला भए –भेलाको एउटै मात्रै उद्देश्य थीयो :- भविष्यको लागि पिउने पानीको खोज ।

पहिलो तीन दिन जत्ती सभा वादविवादमा नै बित्यो, विकसीत मुलुकले अत्यधिक वातावरण प्रदूषणका कारण यो समस्या उत्पन्न भएको भन्दै विकासोन्मुख र देशलाई यसको दोष लगाए। कम विकसीत राष्ट्रहरुले भने हतियारको होडबाजीमा भएको खर्च वातावरण जोगाउन नलगाएको र रासायनिक हतियार र अन्य मानव समाजलाई अनावश्यक प्रयोगहरुका कारण वातावरण र हावापानी नै परिवर्तन भएको कारण यो समस्या निक्लेको बताएर विकसीत देशमाथी औंला तेर्स्याए । आखिर वादविवाद बाट कुनै हल नभेटेपछि सभाको ध्यान फेरि समस्या समाधानमा केन्द्रित भयो ।

एन्टार्टिका ( Antarctica) को विशाल बरफ सतह पनि निक्कै पहिले नै पग्ली सकेको थियो, रुख विरुवाका विनाशका कारण वातावरण सन्तुलन बिग्रकोले कृतिम बादलबाट पनि पानी पर्न छाडिसकेको थियो । साना-तिना खोला,नदि र तालहरु सुकीसकेका थिए भने बाँकी केही स्रोतहरु पनि अत्यधीक प्रदूषणका कारण केही वर्ष भन्दा बढी थेग्न नसक्ने स्थितिमा पुगेका थिए । त्यसैले सात दिनको छलफलबाट पनि कुनै हल निस्कन सकेन ।

मिटिङ लगातार चलिनै रह्‍यो । वैज्ञानिक र बुद्धिजीवीहरुले चन्द्र धरातल र अन्य ग्रहबाट यस्को विकल्प खोज्ने प्रस्ताब राखे, तर माननिसले भौतिक विकासमा जत्ति ठूलो फड्को मारे पनि बाहिरी ग्रहबाट पानी ल्याएर सम्पूर्ण पृथ्वीवासीको माग पुरा गर्नसक्ने क्षमता भने अझै तयार भएको थिएन । प्राविधिक क्षेत्रमा त्यस्तो क्षमता हासिल गर्न अझै पनि १५-२० वर्ष लाग्ने अनुमान थियो वैज्ञानिकहरुको ।

वातावरणविद र बुद्धिजीवीहरुले अत्यधिक मात्रमा बृक्षारोपण गरेर वातावरण सुधार्ने बिचार व्यक्त गरे, तर त्यसरी प्राकृतिक रुपमा वातावरण सुधार्न पनि २० वर्ष जत्ती नै समय लाग्ने देखियो । अब के गर्ने त ? । निक्कै छलफलहरु भए, अरुपनि धेरै सुझावहरु आए । तर उपर्युक्त दुईटा सुझाव मात्रै अरुभन्दा केहीहद सम्म वैज्ञानिक र सम्भव देखियो र यो भन्दा चाँडो समस्या समाधान नहुने किटान गरीयो ।

आखिर अन्य सबै विकल्प असम्भव देखिएपछि यि दुई सुझावमा मात्रै सबैको ध्यान गयो :- वातावरण सुधार गर्ने र बाहिरी ग्रहबाट पानी ल्याउने प्रविधिको विकासमा लागि एकजुट भई लाग्ने । संसारकै साझा समस्या भएकोले यस कामको लागि लाग्ने खर्च सबै देशले सामूहिक रुपमा व्यहोर्ने निर्णय पनि भयो । पृथ्वीकै इतिहासमा मानव समजामा अभूतपूर्व एकता देखियो ।

तर समस्याको पूर्ण समाधान भने अझै भएको थिएन । बीस वर्ष पछी त पानीको नयाँ स्रोत पाईने भयो, तर बीस वर्षसम्म बाँच्ने कसरी त ?, जब सतह मुनिको पानी केवल दस वर्षको लागि मात्रै पर्याप्त छ । समस्याको पूर्ण समाधान नभएकोले केन्द्रको संयोजकत्वमा हरेक देश, हरेक शहर र इलाकामा यही बिषयमा गम्भिर बिचार, विमर्श र खोजहरु हुन थाले । यसरी अर्को दस दिनसम्म भेला चलेपनि उपलब्धी भने हुन सकेन ।

परिवार नियोजन र जनसंख्या नियन्त्रणमा व्यापक सफलता पाएपनि, औषधि विज्ञानको अत्यधीक बिकासका कारण मानिसहरुको आयु निक्कै बढेकोले सन २१४५ मा विश्वको जनसंख्या १० अर्ब भन्दा बढी थियो । जसमध्य ५ अरब जत्ति त ६० बर्ष भन्दा माथिका मात्रै थिए ।

सूचना प्रविधि र सामाजिक सञ्जालको असोचनिय बिकासका कारण संसारका कुनै पनि मानिस अन्य कुनै पनि भूभागमा भएका मानिसंग भाषा, समय वा संख्याको बन्देजविना कुनैपनि बेला जोडिन र बिचार आदान-प्रदान गर्न सक्षम थियो । अत: हप्तौंसम्मको भेलाले कुनै निर्क्योल निकल्न नसकेपछि संसारभरका ६० वर्ष भन्दा माथिका वरिष्ठ नागरिकहरुले अन्तरजालोको अवास्तविक दुनियाँमा आफ्नो छुट्टै गोप्य भेला आयोजन गरे। तीन दिनसम्म संसारभरकै वरिष्ठ नागरिकहरु बिचार आदान प्रदान र समस्याको हल खोज्न लागि परे। भेलाको अन्तिम दिन वरिष्ठ नागरिकहरुले समस्याको एउटा हल निक्लेको र भेला “ठोस निर्णय”मा पुगेको दाबी गरे अनि सो भेलाको निर्णय र हल भोलिपल्ट साँझको अनलाईन पत्रिकामा निस्कने बताईयो ।

त्यसको भोलिपल्ट १३ जुन, २१४५ का दिन विश्वमा एउटा अकल्पनीय दु:खपूर्ण घटना घट्यो । त्यस दिन सबै देश, शहर र इलाकामा एकदमै रहश्यमय तरिकाले करोडौंको संख्यामा मानिसहरुको सामुहिक मृत्यु भएको थियो । पृथ्वीको इतिहासमै यो भन्दा दूर्भाग्यपूर्ण घटना कहिल्यै घटेको थिएन । एकै दिनमा संसारभर गरेर करिब ५ अरब मानिसको ज्यान गएको अनुमान गरियो । संसार असह्य शोकमा डुब्यो, सम्पूर्ण विश्वलाई नै एउटा भीषण मृत्युको बादलले ढाकेको थियो र पुरै विश्व अवर्णनिय क्रन्दनमा डुबेको थियो । आश्चर्यको कुरा के थियो भने सबै मृत व्यक्तिहरु ६० बर्ष भन्दा माथीका थिए र कोहीपनि यो रहश्यमय मृत्यको कारण पत्ता लगाउन सक्षम थिएनन ।

साँझको पत्रिका निस्कयो, पत्रिकाको मुखपृष्ठको समाचार देखेर सबैजना झस्के। मुखपृष्ठमा यस्तो समाचार थियो :

१३ जुन, २१४५

हाम्रो अन्तर्राष्ट्रीय सम्मेलनबाट पानीको समस्या समाधान गर्ने कुनै हल निस्केन । निस्केका हलको कार्यान्वयनमा पनि कम्तीमा १५-२० वर्ष लाग्ने देखियो । त्यसैले हालैको जनसंख्या कायम रहेमा पृथ्विमा मानव-मानव बीच काटामार हुने भएकोले मानव अस्तित्व रहने देखिएन । त्यसैले आजको दिनमा हामीले एउटा निर्णय गरेका छौं । अहिले विश्वमा हामी ५ अरब जत्ती ६० वर्ष माथीका छौं, यदि हामी सबैखो मृत्यु भएमा बाँकी रहेको पानी हाम्रा सन्ततिको लागि अर्को बीस वर्षसम्म पुग्छ। बीस वर्ष पछि त नयँ स्रोत पनि चल्ने नै छन। त्यसैले हामी सबैले आजको मितिमा सामूहिक आत्महत्या गर्ने निर्णय गरेका छौं ।

हामीलाई थाहा छ तिमीहरु दु:खी हुनेछौ... तर अर्को उपाए पनि त छैन नि। फेरि वातावरण जोगाउने र पानीको दूरुपयोग रोक्ने बारेमा उन्नाईसौं शताब्दी देखी कुरा चल्दा चल्दै लापरवाही पूर्बक यसको दूरुपयोग पनि हामीले नै गर्‍यौं, त्यसैले यसको जिम्मेवार केही हदमसम्म हामी नै हौं र यसको प्रायश्चित्त गर्ने कर्तव्य पनि हाम्रै हुन्छ । तर हाम्रो जस्तो गल्ती तिमीहरुले कहिल्यै नगर्नु...र वातावरणको विनाशले फेरि यस्तो समस्या कहिल्यै नआओस... नत्र सृष्टीको बिनाश अवश्यम्भावी छ र त्यसको दोषी पनि तिमीहरु नै हुने छौ। त्यसैले होसियार ! अब यस्ता गल्ती कहिल्यै नदोहर्‍याउनु र आजै देखी वातावरण र पानी जोगाउन लाग्नु । वातावरणको संरक्षण आफ्नै अस्तित्वको सुरक्षा हो, पानी बचाउनु आफ्नै जिवन बचाउनु हो । त्यसैले यो सृष्टिको आधारलाई जोगाउ.... हाम्रा प्यारा सन्ततिहरु पृथ्वीको इतिहासमा आजको यो दिन १३ जुन २१४५ फेरि कहिल्यै नआओस....हाम्रो आशीर्वाद छ...बिदा ! बिदा...!! बिदा...!!! ।

20 comments:

  1. सान्दर्भिक विषयवस्तुमा कथा बुन्नुभएको रहेछ। यस्तै ताल हो भने यो सच्चाईमा पनि बदलिन संभव छ। यस्तो सामूहिक आत्महत्या देख्न नपरोस् हामीले।

    ReplyDelete
  2. Interesting!

    The number is 60!
    :)

    ReplyDelete
  3. दिलिप ब्रो ले फेरी स्कूल को कुरा सम्झाइदिनु भो... बिज्ञान बरदान हो कि अभिसाप ?

    ReplyDelete
  4. अचम्म लाग्दो तरिकाले कथा अघि बढेको रहेछ । मान्छेको सामान्य स्वभाव भन्दा पर्तिरको तपाईंको कल्पना मनपर्यो भलै ५ अरब जनसंख्याको सामुहिक आत्महत्या नमिठो लागेको होस् ।

    ReplyDelete
  5. माने गुरू मानेँ.....यो सोचलाई अनि यो कल्पनालाई मानेँ । साँच्चैनै कहालीलाग्दो समयको वर्णन गर्नु भएको छ अनि यसलाई पुर्ण असम्भव पनि मान्न सकिदैन । पुँजीवादको लपेटामा परेको समाजले पैसालाई वातावरणभन्दा ठुलो मान्छ । अनि यो हाहाकार र सामुहिक आत्म- दाह नियति हुन वेर छैन भविष्यमा ।

    ReplyDelete
  6. गम्भीर बिषयबस्तुमा लेखिएको उत्कृष्ट कथा !पानीको अभावको दुखद परिणति त्यो भन्दा पनि निकै छिटै भोग्नुपर्ने पो हो कि !यस अर्थमा कथा सांकेतिक र सचेतनामुलक ठानेको छु | बिज्ञान कथाको लेखन शैली पनि बेजोड लाग्यो |

    ReplyDelete
  7. निकै राम्रो लाग्यो कथा। सही समस्या माथि गहन सुजबुझका साथ लेख्नु भएछ। सन २१४५ सम्म त निकै लामो समय हो यो। हाम्रो यस्तै चाला हो भने त्यो भन्दा पहिलेनै बिनाश हुने लक्षण छ पृथ्वीमा। पानी भन्दा पनि पहिले हावाको समस्या हुने तयरी छ। पानि को समस्या भईरहदा कमसेकम १० वर्षको स्टक रहनु पहिलानै सामुहिक आत्महत्याले समस्याको सामाधान गर्यो गर बायुको समस्याले भने टाईम वमको काम गर्ने छ। सही लाग्यो तपाईको लेखन। एउटटा राम्रो बैज्ञानिक-सामाजिक कथा !!!

    ReplyDelete
  8. निकै गहन बिषयमा कथा प्रस्तुत गर्नु भयो दिलीप दाई । अत्याधिक मात्रामा भएको जनसंख्या बृद्धी र आधुनिकताको प्रभावले अवस्य पनि यो काल्पनिक कथाले वास्तविकता नबोक्ला भन्न सकिदैन । भबिष्यको सन्सार केलाउदै बुनेको कथाको लागि धन्यबाद !

    ReplyDelete
  9. यो लघुकथा मात्र भए पनि यसमा धेरै सत्यता छ । अब भविश्यको कलहको जड तेल नभएर पानी हुने पक्का छ । तेल नभए पनि बांच्न सकिन्छ, तर पानी बिना असम्भव नै छ । हाम्रो नेपाल अलि सबल र गतिलो भएको भए पानीको पनि "strategic reserve" जस्तो कुरोमा ध्यान दिन सक्थ्यो (तर अहिले जनतालाई बिजुली र पुग्ने गरी सफा पानी, बिषेस गरी काठमांडौं मा, दिए नै धन्न्य हो ) ।

    सुन्दा हावा कुरा लागे पनि यसमा बैज्ञानीक तथ्य छ । बिज्ञान, त्यो पनि evolving हो, त्यसैले ठोकुवा नै गर्न त मिल्दैन । तर Global Climate Model (GCM) हेर्दा कम बर्षा र अधिक तापक्रम पृथ्वीको धेरै ठांउमा देखिन्छ

    -Prajwol-

    ReplyDelete
  10. सायद कुनै दिन यस्तो पनि हुनेछ । तर अब गर्न चाँहि के सकिन्छ भनेर सोच्न लागे धेरै राम्रो हुनेथियो होला !

    ReplyDelete
  11. दिलिप जी ! शुरुमा मैले यो पढ्दै जादा जे अनुमान गरेरको थिए - त्यहि भएछ - (पक्कै पनि नरसंहार गरेर नै अर्को विकल्प निकाल्न जुट्लान - भन्ने थियो )
    तर एक दम समसामयिक कथा लेख्नु भएछ - तपाइँ एक त सचेत हुनु हुदो रहेछ - त्यस बिसय मा - खुसि लाग्यो ! यसरि नै एक एक हुदै सबै को आखा खुल्नु पर्छ ! प्रयत्न सह्रानीय रहेको छ (धरैलाई झक्झकाउने कोसिस रहेको छ ) धन्यबाद !

    ReplyDelete
  12. बाइसौं शताव्दीको समयलाई इंगित गरेर कोरिएको यो कथा काल्पनिक भएपनि अत्यन्त सान्दर्भिक र कता कता यथार्थ पढे जस्तै लाग्यो..., तपाइको यो कथा यति मन पर्यो - कि अहिलेका र आउदा सबै पुस्ताले यो कथा सुनुन र वातावरणीय सचेतनाको हुटहुटी सबैको मनमा जागोस भन्ने लाग्यो ।

    ReplyDelete
  13. कथा मार्मिक र सचेतनामूलक छ। तर साठी वर्ष काटेकाहरु पनि त्यति उदार भैदिएलान् जस्तो चाहिँ लागेन है। अन्तिम परिणति त आपसी मारकाट नै त होला, फेरि शक्तिराष्ट्रहरुको दबदबा त्यतिबेला पनि कहाँ हट्ला र !

    ReplyDelete
  14. निकै मर्मस्पर्सी कथा बुन्नु भएछ दिलीप दाईले । सबैसँग हो मा हो मिलाउँछु । बढ्दो भौतिकतापट्टी झुकाव र मानिसहरुको अचेतन क्रियाकलापहरुले गर्दा यस्तो दूर्दशा आउँदैन भन्न सकिन्न् । सचेतनामूलक टाँसोको लागि हार्दीक धन्यवाद ।

    ReplyDelete
  15. the story is nice.... I liked it.. hats off to the write

    ReplyDelete
  16. nikai ramro lagyo daju tapaiko katha malai .........

    ReplyDelete
  17. As a story, it's wonderfully penned... you have successfully presented the stature of the problem. No doubt, efforts should be made to prevent the present water problem turning into a crisis. people even talk that water will be the cause of next world war (there already exist several conflicts due to water sharing / management issues). As far as the story goes... I liked your visionary pursuits; but pray that world won't have to embrace the solution presented in the story.

    ReplyDelete
  18. कहाँ कुन कुना बाट फुर्छ दाजु यस्तो कहालिलाग्दो यथार्थताको नजिक रहेको कथा ??? No words at all to say ....really awesome writting

    ReplyDelete
  19. MAlai ta yo ramro lagyo . Yo nahola bhanna sakine kurai chhaina?

    ReplyDelete