14 February, 2010

फूलेको कपाल, लोडसेडिङ र इन्भर्टर !

“मानिसको कपाल नफूल्ने एउटै उपाए भनेको सधैं कपाल खौरेर बस्नु नै हो” भनेर कसैले भन्यो भने तपाइ त्यो मानिसलाई के भन्नुहुन्छ ? । वुद्धिमान कि वुद्धु ?? । हो, मान्छेले सधैं कपाल खौरेपछि उसको टाउकोमा सेतो कपाल देखिन्न पनि, तर तर यो विधिले कसैको कपाल सेतोबाट कालो भने हुँदैं हुँदैन । जबसम्म सेतो कपाललाई कालो बनाउने सार्थक र विधायक उपाए खोजिन्न तबसम्म कपाल खौरेर बस्नु भनेको समस्याबाट भाग्नु बाहेक कुनै तर्क सम्मत बुध्दिमानी होइन ।

प्रसंग नेपालको लोडसेडिङको हो । केही दिन पहिले नेपालका एकजना विद्वान मन्त्रिले माथीको दृष्टान्तमा जस्तै भारीभरकम उपाए निकालेका थीए नेपालको हाल कायम लोडसेडीङ घटाउने वा बढ्न नदिने बारेमा । उनले देशमा भित्रिएका इन्भर्टरले गर्ने बिद्युत खपतका कारण लोड सेडीङको समस्या झन् झन बढेको भन्दै बाहिरबाट इन्भर्टर ल्याउनै रोक लगाउने गज्जबको उपाए सुनाए । सायद आजको दिनसम्म आईपुग्दा, मन्त्रालयबाट यस किसिमको व्यबस्थाको लागि सम्बन्धित भन्सारहरुमा पत्राचार समेत भैसकेको होला इन्भर्टर आयात रोक लगाउन।

त्यसो त, हाम्रोजस्तो फितलो प्रशासन यन्त्र रहेको ठाउँमा यस्ता पत्र, परिपत्र वा आदेशले इन्भर्टरको आयात रोकिदाँ पनि रोकिने छैन (रोक लगाएर भित्राउन गाह्रो भएको नाममा जनताले इन्भर्टर किन्दा पहिला भन्दा अलि बढि मूल्य चुकाउनु पर्ला, त्यत्ती हो), । तैपनि यो लोडसेडीङ घटाउने अचूक उपाएको अबलम्बन गरेर हाम्रा मन्त्रीले नेपाली जनताहरुले उनिहरुलाई जस्तो ठान्छन, उनिहरु वास्तबमै त्यस्तैछन भन्ने कुराको फेरि दह्रो प्रमाण जुटाईदिएका छन ।

हो अहिले देशले भोग्नु परेको समस्या तत्कालका कारणले जन्मेका होइनन्, तर यसको समाधानको लागि जे जस्तो सोच, नीति र तदारुकताको जरुरत हुनुपर्थ्यो त्यो भने अझै बन्न सकेको छैन र ‘जिम्मेवार व्यक्तिहरु’ सबै यस्तै प्रकारका लहडी उपाएमा लागेका छन ।

वास्तबमा इमानदारीका साथ भन्ने हो भने नेतृत्व तहमा बस्ने वा जिम्मेवारी बहन गर्नु पर्ने कसैले पनि यस बिषयलाई गम्भिरताका साथ लिएकै छैनन। हिजों एकजना मित्रले भन्दै थिए। मंसीर लागेपछी यस बिषयमा अलिअलि कुरा उठ्छ, पुस र माघमा चर्किन्छ । फागुन मा समस्या चुलीमा पुग्दा जनता अलि तात्छन र बहसबाजी चल्छ । समस्यासंगै हाम्रो लचकता पनि बढ्दै जाँदा चैत्र-बैशाख लाग्छ। अनि हिमालका हिँउ पग्लन थालेपछि नेपालका नेताले मात्रै हैन, जनताले पनि यो समस्या भुल्छन –आर्को कात्तिक मंसीर सम्मलाई Open-mouthed

त्यसो त यहाँ भारतबाट सेटिलाईटका टिभि च्यानल नेपाल भित्रेजस्तै चमत्कारी तरिकाबाट सयौं मेगावाट बिजुली भित्र्याउने चमत्कारी कुराहरु पनि बेला बेलामा आउँछन । तर यथार्थमा जनताले तिनै टुकीमारा, सोलार प्यानल वा इन्भर्टरका भर पर्नु बाहेक अन्य कुनै उपाए भेटदैनन् ।

ईन्भर्टरकै सहारामा साउण्ड सिस्टम र माईक चलेको स्टेजमा बसेर इन्भर्टर भित्राउन रोक लगाउने मन्त्री र दश बर्षमा दशै हजार मेगावाट बत्ती निकाल्ने र हावाबाट बिजुली निकालेर देशलाई झलमल बनाउने हावादारी योजना बनाउने योजनाविदहरु सायद कुनै चमत्कारको प्रतिक्षामा बसेका छन । कुनै जादूको छडिवाला आएर “छु मन्तर” गरेर नेपालको समस्या समाधान हुने दिनसम्मको लागि । यस अबस्थामा जनताले गर्न सक्ने भनेको यिनै इन्भर्टर र आयातित सोलार प्यानल र व्याट्रिको भरोसामा कोठा उजिल्याउनु मात्रै हो । अब यिनै ईन्भर्टरका कारण लोडसेडिङ बढ्ने बेतुकी कुरा गर्दै यसको आयातमा रोक लगाउने हो भने नेपालमा अब बत्तिबाट चल्ने कुनै पनि उपकरण भित्राउन बन्द गरीनु पर्‍यो । बत्ती, राईसकुकर, फ्रिज, टेलीभिजन, रेडीयो, कम्प्युटर र डोर बेल समेत ।

लुगामा ईस्त्री लगाउन हामी पुरानै गोलका गह्रौं फलामे ईस्त्री किन्न तर्फ लाग्छौं । भात पकाउन बाजेका पालाका भँडारमा थन्काईएका कसौडी निकाल्छौं (निकाली सकेका पनि छौं), मनोरञ्जन र सूचनाका लागि कागजे पत्रिका (ति पनि कसरी निस्कन्छन कुनि!) अनि शन्देश आदान प्रदानका लागी परेवा पाल्ने कार्य । यत्ती भएपछि कसरी हुन्छ नेपालमा लोडसेडिङ ।–न रहे बाँस, न बजे बाँसुरी— । बिद्वुत खपत गर्ने कुनै पनि उपकरण वा चिजलाई देशमा छिर्नै नदिएपछि हामीकहाँ लोडसेडिङ घट्ने र हट्ने मात्र हैन हामी बचेको बिजुली छिमेकीलाई बेच्न पनि सक्छौं ।

मन्त्रीज्यू धन्न रहेछ तपाईको उपाए –तर तपाईले भाषण दिने ठाउँमा इन्भर्टर नभएको भए त्यो भाषण नै बन्न सक्दैनथ्यो, अनि तिनै इन्भर्टरका सहायताले चलेका एफ. एम नभएका भए हामीसम्म यो खबर पनि आउँदैनथ्यो ।

जे होस, उपाए विल्कुलै वैज्ञानिक छ । अब देखि यस्तै उपाए अन्य क्षेत्रमा पनि लागु गर्न सुरु गरौं । जस्तो कि स्कुलको चर्को शुल्कबाट विद्यार्थी र अभिबावकलाई राहत दिन स्कूल नै बन्द गर्ने । उत्पादकत्व कम भएर घाटा व्यहोर्नु परेको उद्योगलाइ जोगाउन उत्पादन नै बन्द गर्ने । सधैं भैरहने ईन्धनको समस्याबाट मुक्त हुन देशमा यातायातका साधन चलाउनै बन्देज लगाउने अनि गाउँमा स्वास्थ सेवा पुर्‍याउन नसकेको कारण शहरमा चलेका अस्पतालहरु पनि अबरुद्ध गर्ने ।

समस्या जटिल नै छ, तर समाधानको उपाए हुँदैं नहुने भने पक्कै होईन। तर जबसम्म देशको डाडु पन्यौ लिएर हिँडेकाहरु यो गाईजात्रे र रमिते उपाएमा रुमल्लिरन्छन तबसम्म यसको निकासको आश गर्नु पनि बेकार हुनेछ । कपाल सेतो नदेखाउन तालु खुईल्याउने संस्कृतिमा भर पर्न जारी राखेसम्म, सेतो कपाल, कालो बनाउने कुनै उपाए न त पत्ता लग्छ, न त अमलम्बन नै गरिने छ ।

8 comments:

  1. समस्या जटिल नै छ, तर समाधानको उपाए हुँदैं नहुने भने पक्कै होईन। तर जबसम्म देशको डाडु पन्यौ लिएर हिँडेकाहरु यो गाईजात्रे र रमिते उपाएमा रुमल्लिरन्छन तबसम्म यसको निकासको आश गर्नु पनि बेकार हुनेछ । कपाल सेतो नदेखाउन तालु खुईल्याउने संस्कृतिमा भर पर्न जारी राखेसम्म, सेतो कपाल, कालो बनाउने कुनै उपाए न त पत्ता लग्छ, न त अमलम्बन नै गरिने छ ।

    दिलिप दाई पोष्टले मन जित्यो है । तपाईको समर्थन गर्छु । यस्ताकुराहरुलाई सबैले सामान्य रुपमा लिनुहुँदैन् । दाई प्रत्येक शुक्रबारतीर पोष्ट लेख्ने तपाई यसपाला अलिक ढिलो गर्नुभयो नि ? अचेल काठमाण्डुमा निकै व्यस्त हुनुह्नुन्छ कि कसो ?

    ReplyDelete
  2. खुब वैज्ञानिक कारण दिँए भनेर, मन्त्री मख्ख होलान् । यिनिहरु रहुन्जेल केहि हुनेवाला छैन, सायद देश मा युवा नेतृत्व नै चाहिन्छ होला, समस्या हल गर्न । तर ति बुढाहरु फेरि युवालाई अगाडि बढ्न पनि दिँदैनन् । बरु यही सत्ता र शक्ति, अनि बिनाकाम का काम मा मात्र समय खर्चन्छन् ।

    हैन, खै के हुन खोजेको हो नेपाल मा, कहिले काँहि यही कुरा सोच्दा सोच्दै दिमाग नै ह्यांङ्ग हुन्छ ।

    ReplyDelete
  3. ठिक कुरा भन्नु भयो दाइले सम्स्या गम्भिर छ ।

    ReplyDelete
  4. धेरै राम्रो लाग्यो दिलिपजीको यो लेख। लोड्सेडिङ् होईन बरु पहीले तिनै मन्त्रीको तालुमुनी रहेको गिदिमा केही राम्रो परिवर्तन आइदिये हुन्थ्यो। लोड्सेडिङ् त आफै घट्दै जान्थ्यो होला त्यसपछी।

    ReplyDelete
  5. एकदम सटीक र सान्दर्भिक विश्लेषण दाइको! हाम्रो देश गलत राजनीतिको शिकार भईरहेको छ लामो समयदेखि। थोरै सोच्नसक्ने नेता-मन्त्री नपाऊञ्जेल यस्तै भोग्न हामी विवश छौं।

    ReplyDelete
  6. ठीक कुरा गर्नुभयो तर तपाईले सम्झनुभएको माघ-फागुन नै भएर हो कि क्या हो?.....:):):)

    ReplyDelete
  7. मलाई निकै घोचिरहेको कुरो थियो यो । कति मूर्खताले भरिएको हाँसोउठ्दो प्रसङ्ग लाग्यो भने, यो मूर्खताबारे त सोच्दासमेत मूर्ख भइन्छ भन्ने लाग्यो ।
    दाइले निकै मनसिब कोणबाट स्थितिको विस्लेषण गर्नुभएको छ । उर्जा के-कसरी विस्तार गर्न सकिन्छ भन्नेतिर फिटिक्कै कसर्त नगरी भएको बिजुली पनि उपयोग गर्न नपाउने नियम अख्तियार गर्ने हुतिहारा शासकको के कुरा गर्नु ? बिजुली आएको बेला इन्भर्टर चार्ज नगरी बिजुली नभएको बेला कसरी
    गरुन् आम जन र व्यवसायीले ? जसरी पनि घर-व्यवहार र व्यवसाय त चलाऊनै पर्‍यो नि ! सोचाइ एक कन्चो पनि नरहेको प्रमाण दिन मात्र सक्ने परे हाम्रा नितिनिर्माता बरा !

    ReplyDelete
  8. कुरालाई सहज किसिमले यसरी लिंदा मिल्छ जस्तो लाग्यो - मन्त्रीको दिमागमा पहिले नै लोडशेडिंग भैसकेको रहेछ |

    ReplyDelete