05 September, 2010

पारम्परिक सोच र सम्यक दृष्टि

clip_image001[6]

केही वर्ष अगाडिको कुरा हो, मसँगै एउटै प्रोजेक्टमा काम गर्ने सहकर्मी इन्जिनियर साथी, अफिस टाइम पछि ‘वास्तु’ को क्लास लिन जान्थे। मैले उनलाई समयमै त्यो चक्करमा नपर्न सल्लाह दिएको थिएँ तर घरको नक्शा बनाउन आउने ग्राहकहरुले वास्तु अनुसार डिजाइन गरिँदिन भन्न थालेपछि उनलाई त्यो नसिकी नहुने लागेको रहेछ ।

वास्तुको केही महिने कोर्स सकेपछि केही समयसम्म उनको निजी अफिसमा ‘वास्तु अनुसार नक्शा बनाइने’ भन्ने खालको वोर्ड झुन्डिएको थियो। तर त्यो वोर्ड धेरै दिन झुन्डिन पाएन ।

उसै पनि काठमाण्डौका २ आना २ पैसाका ‘ल्याण्डलर्ड’ का लागि नक्शा बनाउन गाह्रो हुन्थ्यो रे। कसैको तीन कुने जग्गा, कसैको पाँच कुने , कसैको खाल्डोको जग्गा त कसैको ढिस्को माथि, त्यसमा पनि सबैलाई दक्षिण मोहडाको, उत्तरमा भान्छा र दक्षिण पश्चिममा वेडरुम अनि त्यस्तै गरी उत्तरमा वाथरुम भएको घरको नक्शा बनाइदिनु परेपछी उसले आफ्नो ‘वास्तु-वोर्ड’ लाई झिकेर फ्याँक्यो । मान्छे ढाँटन र छक्का-पञ्जा नजाजेको कारण उसले काठमाण्डौंका अपार र अनौठा आकार-प्रकारको जग्गा धनीलाई उनीहरूका जग्गामा वास्तु अनुसारका डिजाइनको घर बनाउन नमिल्ने सिधै बताउँथ्यो । साँचो बोलेका कारण उसलाई धन्यवाद दिनुको बदला, उसका ग्राहकहरु सँगैको अर्को कन्स्लटेन्सीमा धाउन थाले ।

सँगैको कन्सलटेन्सीमा अर्का एकजना ‘चतुर’ इन्जिनियर थिए। जो वास्तु अनुसार नक्शा बनाउने हैन, बरु जग्गाको आकार-प्रकार र ढाँचा अनुसार जस्तो नक्शा बन्थ्यो त्यसैलाई वास्तु अनुसार भएको बताउँथे।

काठमाण्डौको मध्यमा घटेको यो एकदमै सत्य घटना हो । यसले हाम्रो सामूहिक सोच र सिधै भन्दा ‘सोच्न नखोज्ने मानसिकता’ देखाउँछ । हामी सत्य हैन सधैँ आडम्बर र तडक-भडकका पछि लाग्छौँ । नबुझे पनि दर्शाउनै पर्ने, नजाने पनि जनाउनै पर्ने, नभए पनि देखाउनै पर्ने । हाम्रो यही आडम्बर, आचरण र दृष्टिकोणका कारण समाजमा गज्जबले उल्टो घडि चलिरहेको छ ।

अर्को एउटा घटना वा यथार्थको कथा पनि यस्तो छ:

मेरो घरमा केही वर्ष अगाडि एकजना डक्टर बस्थे। बिहान बेलुकी एकैछिन हस्पिटल वा क्लिनिकमा समय बिताएपछी बाँकी समय उनी दिनभर भेटेसम्मका नयाँ मेडिकल जर्नल, नयाँ खोज वा अनुसन्धानका बारेमा अध्ययन गरेर समय बिताउँथे । तर छिमेक र वरपरका मानिसहरु उनलाई बेकारी ठान्थे । डक्टर भएर पनि दिनभरि घर बस्ने उनको दक्षता र योग्यतामा शङ्का गर्थे । अरू डक्टरहरु, जो बिहान ६ बजेदेखि बेलुकि ९ बजेसम्म पैसा छाप्ने मेसिन बनेर काम गर्थे, मानिसहरु तिनैलाई बढी विज्ञ, जान्ने र योग्य सम्झन्थे र अहिले पनि सम्झ्छन् नै । वास्तवमा चिकित्सा विज्ञान वा औषधी सम्बन्धि नविनम खोजको बारेमा तिनलाई भन्दा बढ्ता जानकारी सयदै अरू कुनै डक्टरलाई हुन्थ्यो होला । तर हाम्रो गलत सोच र धारणाका कारण हामी अझै पनि पढ्ने डक्टर हैन चल्ने डक्टर खोज्छौँ । तर गहिरिएर सोच्ने हो भने हाम्रो समाजमा पढ्ने डक्टर चल्दैनन् र चल्ने डक्टर पढ्दैनन् (पढ्नै भ्याउँदैनन् ) ।

विश्वमा भएका नविनतम प्रयोग र खोजको जानकारी लिएर उपचार गर्ने भन्दा हामीलाई एकजना टेप रेकर्डर बजे झैँ गरी कुनै उद्योगको औषधी विकाउने जिम्मा लिएर हिँडेका ‘एम. आर.’ को बखानको भरमा औषधी प्रेस्काइव गर्ने डक्टर जानिफकार लाग्छ । म त सोच्छु, ती बिहान छ देखि रातको ९ सम्म पैसा छाप्ने डक्टरले कुन बेलामा समय पाउलान र नयाँ खोज वा नयाँ जानाकारि लेलान् ।

परिवर्तनशील संसारमा हरेक कुरा परिवर्तित भैरहेका छन् । हरेक क्षेत्रमा नयाँ खोज र नयाँ प्रयोग भै’रहेका छन् । यो अवस्थामा आफूलाई अपडेट नगर्ने विज्ञ ‘विज्ञ’ हैन ‘अनभिज्ञ’ भैसकेका हुन्छन् । १० वर्ष अगाडि कम्प्युटर विज्ञानमा स्नातक गर्नेले यदि आफूलाई अपडेट नगर्ने हो भने आधुनिक कम्प्युटर वा सफ्टवेयरको वारेमा उसलाई अहिले माध्यामिक विद्यालयमा पढ्ने छात्र जत्ति पनि जानकारी नहुन सक्छ । चिकित्सा र औषधी विज्ञान मात्रै हैन समाज र शिक्षाका हरेक क्षेत्रमा यही नियम लागू हुन्छ ।

कतै कसैले भनेको कुरा पढेको थिएँ ‘संसारमा इतिहास बाहेक सबै कुरा बदलिन्छन्’ – विलकुल गलत! । म त भन्छु संसारमा बितिसकेको कुरा पनि हाल भएका वा हुने घटनाका कारण बदलिएका छन् र बदलिरहेका छन् । यो बुझ्न धेरै टाडा जानु पर्दैन । हिजोसम्म हामीले इतिहासमा ‘प्रजा वत्सल’, ‘दूरदर्शी’ र ‘न्याय प्रेमी’ भनेर पढेका राजतन्त्र अहिलेको नेपालमा ‘निरंकुश’, ‘सामन्ती र ‘तानाशाही’ आदि विशेषणले भूषित भएको छ । समष्टिमा संसारमा इतिहास पनि बदलिन्छ। यत्ति परिवर्तनशील छ संसार कि परिवर्तन बाहेकका सबै कुरा परिवर्तन भै रहेका छन् ।

तर, हामीलाई व्यस्त हुने डक्टर नै कुशल लाग्छ । धेरै बोल्ने नेता नै योग्य लाग्छ । विवाद पस्कने पत्रिका नै सही लाग्छ । असम्भव विषयवस्तु भएको सिनेमा नै राम्रो लाग्छ । त्यसको उल्टोमा साँचो बोल्ने मानिस अयोग्य, तथ्य लेख्ने पत्रिका अलिनो, यथार्थ बताउने वकिल निकम्मा लाग्छ । देशमा परिवर्तन नआएको हैन, आएको छ तर पहिलाकाले भन्दा अझ झुठो बोल्ने अझ ठूला भएका छन् । झन् चर्को स्वर गर्ने महान नेता बनेको छ, विदशीद्वारा पालिएका राष्ट्रभक्त अनि चोरेर लेख्ने मौलिक रचनाकार ।

वास्तवमा यो सबै हुनुमा हाम्रो आफ्नै मान्यता र दृष्टिकोणले पनि ठूलो भूमिका खेलेको छ । हामीलाई पाँच वर्ष पछि नेपालमा वर्षातमा पनि ६ घन्टा लोडसेडिङ हुन्छ भन्ने नेता निकम्मा लाग्छ । तर ’१० वर्षमा १० हजार किलोवाट’ को हावगफ दिने नेता निपुण लाग्छ । किसानले धान फलाएको खवर छाप्ने भन्दा राजनैतीक विवाद लेख्ने पत्रिका रोचक लाग्छ । तथ्य पढाउने शीक्षक भन्दा भ्रम देखाउने ज्योतिष महान लाग्छ । अनि हाम्रो यो दृष्टिकोण परिवर्तन नभएसम्म र सम्यक दृष्टिले कुनैपनि कुरालाई विश्लेषण गर्ने मान्यता नबनेसम्म यो परम्परा चलि नै रहनेछ । अनि हामी पनि काम गर्ने हैन, चर्को स्वर गर्नेलाई नेता, अभिनय गर्ने हैन, शरीरका अवयव हल्लाउनेलाई अभिनेता मान्ने क्रमलाई निरन्तरता दिइनै रहने छौँ ।

हरेक घटना वा प्रसङ्ग लाई कुनै तेस्रो व्यक्तिको काधँमा हालेर आफू जिम्मेवारीबाट पन्छने कुराले क्षणीक राहत दिए पनि पारम्पारिक सोचबाट मुक्त हुन हामीले पनि सम्यक दृष्टिको सोच विकास गर्नै पर्छ किनकि समाजमा घट्ने हरके घटनासँग प्रतक्ष वा परोक्ष रुपमै भए पनि हाम्रो संलग्नता वा सहमति हुन्छ नै ।

20 comments:

  1. दिलिप दाई नमस्कार तपाईं लाई धेरै धेरै धन्यवाद यथार्थ छ लेख यसमा म पनि सहमत छु !

    ReplyDelete
  2. परिवर्तन बाहेकका सबै कुरा परिवर्तन भै रहेका छन् ।। :-)

    ReplyDelete
  3. हेल्लो सर नमस्कार तपाईं लाई धेरै धेरै धन्यवाद पोस्ट भने धेरै राम्रो पोस्ट गर्नु भएको रेई छ .र सर मेरो ब्लॉग मा जब सिंग इन ना गरी खोल्दा पनी सेट्टिंग को बार यानि (निशाना) दिखाई दिन्छ ? किन होला र सर मा १ दिन पाहिले पनी १ सानो कमेन्ट पठाएको थिए येदी टाइम लागे सर बताउने कोसिस गरिदिनुहोला ..
    भन्ने पूरा आशः छ ./IM WINT........

    ReplyDelete
  4. मार्मिक यथार्थको सशक्त प्रस्तुति! हरेक शब्द मनलाई भित्रैसम्म छुन सक्षम छन्।

    ReplyDelete
  5. बहुत यथार्थ्। धन्यवाद

    ReplyDelete
  6. फेरी एउटा बेजोड वास्तविक प्रस्तुती । धन्यवाद दिलीप सर लेखका शब्द शब्द मा जादु छ बिषय भन्दा पनि लेखन सजावट भयो भने यस्तै राम्रो प्रस्तुती लाई सबैले स्वीकार गर्न पर्छ जस्तो लाग्छ मलाई फेरी एकपल्ट धन्यवाद।।

    ReplyDelete
  7. Sahi kura.... no comment on this....

    ReplyDelete
  8. सत्य त यही नै हो !
    "हामीलाई व्यस्त हुने डक्टर नै कुशल लाग्छ । धेरै बोल्ने नेता नै योग्य लाग्छ । विवाद पस्कने पत्रिका नै सही लाग्छ । असम्भव विषयवस्तु भएको सिनेमा नै राम्रो लाग्छ । त्यसको उल्टोमा साँचो बोल्ने मानिस अयोग्य, तथ्य लेख्ने पत्रिका अलिनो, यथार्थ बताउने वकिल निकम्मा लाग्छ । देशमा परिवर्तन नआएको हैन, आएको छ तर पहिलाकाले भन्दा अझ झुठो बोल्ने अझ ठूला भएका छन् । झन् चर्को स्वर गर्ने महान नेता बनेको छ, विदशीद्वारा पालिएका राष्ट्रभक्त अनि चोरेर लेख्ने मौलिक रचनाकार ।"

    ReplyDelete
  9. याथार्थ कुरा ,

    ReplyDelete
  10. this is what describes our understanding as the individuals of our society; the quack who acts better grabs the prize!

    ReplyDelete
  11. निकै सत्य कुरा। यस्ता हजारौ उदाहरणहरु हाम्रो समाजमा चलिनै रहेका छन। बास्तबमा शिक्षाको कमी र आफ्नो यथार्थता चिन्न नसक्ने समाजका सदस्यहरुको कारण नै फटाह,कपटीहरुको राज चलिरहेको छ। एउटा सामाजिक यथार्थता..

    ReplyDelete
  12. वास्तु अनुसार नक्शा बनाउने हैन, बरु जग्गाको आकार-प्रकार र ढाँचा अनुसार जस्तो नक्शा बन्थ्यो त्यसैलाई वास्तु अनुसार भएको बताउँनु ....अनि पत्याउने पनि उस्तै !
    ----
    साचै यस्तै हो कि क्या हो दिलिप दाइ ...."पढ्ने डक्टर चल्दैनन् र चल्ने डक्टर पढ्दैनन् (पढ्नै भ्याउँदैनन् )"

    ReplyDelete
  13. yesta athartha harik field ma chan. How to overcome that is the major part.

    ReplyDelete
  14. ठीकै हो । वास्तु पनि त समयअनुसार परिवर्तन हुने होला नि सर, कि कसो ? वास्तुअनुसार घर बनाउने हो र जग्गाको नाप, नक्सा, आकारप्रकार अनुसार वास्तु बन्नु पर्छ । यदि यसो नभए त वास्तु निरपेक्ष पो हुने भयो । भलै म चाहिँ इन्जिनियर र वास्तुविद ज्योतिषी चाहिँ होइन है । हा...हा...हा...

    ReplyDelete
  15. ‘संसारमा इतिहास बाहेक सबै कुरा बदलिन्छन्’ – विलकुल गलत! । म त भन्छु संसारमा बितिसकेको कुरा पनि हाल भएका वा हुने घटनाका कारण बदलिएका छन् र बदलिरहेका छन् । यो बुझ्न धेरै टाडा जानु पर्दैन । हिजोसम्म हामीले इतिहासमा ‘प्रजा वत्सल’, ‘दूरदर्शी’ र ‘न्याय प्रेमी’ भनेर पढेका राजतन्त्र अहिलेको नेपालमा ‘निरंकुश’, ‘सामन्ती र ‘तानाशाही’ आदि विशेषणले भूषित भएको छ । समष्टिमा संसारमा इतिहास पनि बदलिन्छ। यत्ति परिवर्तनशील छ संसार कि परिवर्तन बाहेकका सबै कुरा परिवर्तन भै रहेका छन् । '
    ---------

    ReplyDelete
  16. "एकजना ‘चतुर’ इन्जिनियर थिए जो वास्तु अनुसार नक्शा बनाउने हैन, बरु जग्गाको आकार-प्रकार र ढाँचा अनुसार जस्तो नक्शा बन्थ्यो त्यसैलाई वास्तु अनुसार भएको बताउँथे।" यसरी अरुलाई ढाट्न, झुक्याउन जान्नेहरुलाई लाई चतुर, बाठो , चलाख नभन्दा कसो होला? फटाह भन्दा कसो होला?

    ReplyDelete
  17. अमर जी,
    माथिको चतुर शब्दले बाठो वा चलाख भन्ने पक्कै देखाउँदैन् । ती फटाहा नै हुन। त्यसैले त चतुर लाई 'चतुर' लेखिएको छ :) ।

    फटाहा भन्दा पनि नमिल्ने हैन, ठ्याक्कै मिल्छ :)

    ReplyDelete
  18. फेशनका भुक्तभोगी नेपालीहरुको लवाइ खवाई मात्र होइन, सोचाइ पनि फेशनदार छ भन्ने पुष्टि गर्छ यो लेखले | पछिल्लो पो बढ्ता खतरनाक हो कि ?

    ReplyDelete
  19. उत्कृष्ट र समय सान्दर्भिक लेख हुनुको साथै भाषिक शुद्धताको कारण यहाँँको टाँसो सधैं पढ्ने गर्दछु ।

    ReplyDelete