11 September, 2010

भूतवक्ताका कुरा ।

Precasterशीर्षक देखेर लेख्ने मान्छेले झुक्किएर लेखेको हो कि भनेर सोच्नु भएको हो भने यो झुक्किएर राखेको शीर्षक हैन। हो, शब्दकोषमा खोज्नु भयो भने यो ‘भूतवक्ता’ भन्ने शब्द कतै भेटिने छैन। तर शब्दकोषमा नभेटिएर के भयो त ? समाजमा भने खोज्नै नपर्ने गरी भूतवक्ताहरू प्रशस्तै पाइन्छन् । जति जना भविष्यवक्ता छन् कम्तिमा पनि त्यसको दोब्बरको सङ्ख्यामा समाजमा भूत वक्ताहरु हुन्छन् नै ।

अनि कहाँ हुन्छन् त यी भूतवक्ता भन्ने लाग्या छ भने नेपालमा मात्रै हैन्, अमेरिका देखि मलेसियासम्म र चिन देखि रसियासम्म सबै ठाउँमा हुन्छन् । भविष्यवक्ता भन्ने मात्रै सुनेको तर भूतवक्ता भन्ने शब्द सुन्नु नै भएको छैन भने यीनिहरु तीनै व्यक्तिहरू हुन्, जो कुनै घटना, दुर्घटना वा संयोग घटित हुने बित्तिकै ‘मैले त पहिले नै भनेको थिएँ’, ‘यस्तै हुन्छ भनेर मलाई थाहा थियो’ वा ‘मैले यस्तो हुन्छ भनेर पहिल्यै चेतावनी दिएको थीएँ’ भनेर निस्कन्छन् । मुखले यस्तै यस्तै नानाथरी भूत लक्षित तर्क गरे पनि वास्तवमा तिनले वर्तमानमा घटित भएको कुनै घटनाको वारेमा न त पहिलै कतै बोलेका हुन्छन्, न सोचेका हुन्छन् र न त आभास नै सम्म पनि पाएका हुन्छन् ।

यस्तै बिना कुनै तथ्य र पूर्व व्यक्त उदघोष आधारहिन तर्क दिने भएकाले यिनलाई चिन्न भने गाह्रो हुँदैन् । हुन त, १९९० सालको भुइचालो पछि पनि यस्ता धेरै भूतवक्ता निक्लेका थिए रे, जसले सो घटना घटी सकेपछि आफूले पहिलै भनेको, थाहा पाएको र चेताएको समेत दाबी गरेका थिए रे । तर आफू नै नजन्मेको बेलाका भूतवक्ता को कस्ता र कहाँ थिए यहाँ धेरै नलेखौँ । यस्ता भूतवक्ताहरु धेरैको निक्कै नजिक बसेको र बेला बेलामा उनीहरूका ‘भूत वाणीहरु’ पनि सुनिरहे पनि मेले भने ‘मास स्केल’ मा भूतवक्ताहरु देखेको पहिलो पटक राजा विरेन्द्रको वंश विलय भएको बेलामा हो ।

राजा विरेन्द्रको हत्या पश्चात् नेपालबाट मात्रै सात समुद्र पारी बाट समेत ‘उनको हत्याको योजना बनेको थाहा पाएको’, ‘नेपालमा ठूलो दुर्घटना हुन्छ भने आभास भएको’ र ‘राजदरबारमा अप्रिय घटना घट्ने भविष्यवाणी गरेको’ भन्ने जस्ता दाबेदारहरू लाजै नमानी समाजमा निक्ले । ती मध्य केहीले त नेपालको छापा र सञ्चार माध्यममा समेत आफूलाई ‘भूतवक्ता’ भएको प्रमाणित गर्न पछि परेनन् ।

कुरो नेपालको मात्रै हैन, संसारकै विकसित मानिने राष्ट्र अमेरिका पनि ९-११ को हमला पछि सो घटनाबारे ‘पूर्वाभास’ पाएका भनिने कैयौँ मानिसहरु निस्केका थिए । यस्तै गरी संसारको कुनै पनि कुनामा कुनै प्रसिद्ध व्यक्तिको हत्या हुँदा, कुनै हवाइजहाज क्र्यास हुँदा वा आँधी-वेहरी जाँदा र केही वर्ष अगाडि ईन्डोनेशियामा सुनामी जाँदा समेत घटना घटिसकेपछि ‘पहिलै जानकारी भएको’ भन्ने हजारौँका सङ्ख्यामा भूतवक्ताहरू निक्लेका थिए र निक्लन्छन्।

यसमा नयाँ नयाँ भूत वक्ता हरेक नयाँ घटना पछि जन्मिने मात्रै नभई, बेला-मौकामा आफ्नो प्रचार प्रसार र विज्ञापन हुने हुनाले केही नाम कहलिएका ज्योतिष र सामाजिक व्यक्तित्वहरू पनि लाजै नमानी लाग्छन् । यही नव आगन्तुक भूतवक्ता र पुराना भविष्यवक्ता दुबैको जोड हुने भएकोले समाजमा भूतवक्ता जत्ति खोजे पनि पाइने र जहाँ खोजे पनि भेटिने गरी रहेका छन् ।

माथि भने जस्तै राजा विरेन्द्रको हत्या पश्चात्, आफ्नो ‘मार्केटिङ’ हुने ठानेर नेपालमा केही रोटी ज्योतिषहरू पनि यस दौडमा सामेल भए । १-२ जना त यस्ता समेत निस्के, जसले निजी रूपमा राजा विरेन्द्रलाई भेटरै सो कुरा बताएको र ‘सतर्कता’ अपनाउन समेत विन्ति चढाएका कुरा समेत गरे । मर्ने मानिस मरी सकेकोले सोध्न नमिल्ने र घटना भने घटी सकेकोले भूतवक्ताहरू यस्तो मौका प्राय: कुनै पनि हालतमा चुकाउन चाहँदैनन् ।

सामाजिक वृत्तमा मात्रै हैन, राजनैतिक क्षेत्रमा पनि यस्ता भूतवक्ताहरु टन्नै छन् । चुनावमा कुनै दलले जित्नु वा कुनै जित्ला भनेको उमेदवारले हार्नु मात्रै के पर्छ, वा कुनै सत्ता समिकरणको खेलका कारण नेपालको सरकारमा फेरवदल के हुनुपर्छ । आइग्लास, पात्रो, क्रिस्टल वा हातमा कुण्डली लिएका वा टाइ-सुटमा सजिएर ककटेल डिनर गर्दै गरेका सबैजना एकै स्वरमा बोल्न थाल्छन् “...हो त नि...यस्तै हुन्छ भनेर त मैले भनेकै हो नि !” । भन्नलाई जे जसो भने पनि ‘यस्तै हुन्छ’ भने पनि तीनले कहिले कहाँ र कोसँग भन्या’थे भनेर चाहिँ कुनै प्रमाण दिइरहनु पर्दैन । यही सुविधाका कारण सडक देखि सदनसम्म र मन्दिर देखि भट्टीसम्म जहाँ पनि कुनै नौलो वा नयाँ घटना हुने बित्तिकै भूतवक्ताहरुको चर्को स्वर सुन्न सकिन्छ : “ मैले जे भन्या थे—त्यही भयो ल !” ।

यत्ति पढी सक्दा तपाईँको मनमा पनि पक्कै पनि धेरैजना भूतवक्ताहरुको तस्विरहरू प्रतिबिम्बित भएको हुनुपर्छ । एक महिनासम्म खडेरी पर्दा चुप लागेर बस्ने तर पानी पर्ने बित्तिकै ‘मैले आज पानी पर्छ भनेर पहिलै भनेको थिएँ’ भन्ने भूतवक्ता, सत्ता समिकरणको दौडधूप महिनौँ चलिरहँदा मौन बस्ने र नयाँ सरकार बन्ने बित्तिकै ‘मैले भनेकै जस्तै भएछ’ भन्ने भूतवक्ता, आफैँ भरेङबाट चिप्लने बेलामा भेउ नपाउने तर अरूलाई ठेस मात्रै लाग्दा पनि ‘ल मैले पहिलै भनेको हैन लड्छौ भनेर..’ भन्ने भूतवक्ता, आफ्नो जग्गा बेच्ने बेलामा कौडीको भाउमा बेच्ने तर भाउ बढेको थाहा पाउने बित्तिकै ‘ल, मैले भने जस्तै भयो’ भन्ने सबै यस्तै भूतवक्ताहरु हुन ।

माथि नै भनिसकेँ, भूतवक्ता त भूतवक्ता नै भए, हामीकहाँ रहेका ९९% जत्ति भविष्यवक्ता पनि भविष्य वताउने हैन, भूतकालका कुरैमा जनता झुक्याउनेमा लागेका छन् । त्यसैले तपाईँले अझै पनि भूतवक्ताको पहिचान राम्ररी गर्न सक्नु भएको छैन भने नजिकैको भविष्यवक्ता कहाँ जानुस ....सुरुमै उनले तपाईँका भविष्यका हैन भूतकालका कुरा बताएर उनी भविष्यवक्ता हैन भूतवक्ता रहेछन् भन्ने कुराको सूचना दिइहाल्ने छन् । हैन भने केही समय कुर्नुस। देशमा कुनै घटना वा दुर्घटना भएपछि भूतवक्ताहरु त्यसरी नै निस्कछन् जसरी चुनावको अगाडि गाउँ-गाउँमा नेता !

9 comments:

  1. हामी पनि भुतवक्ता मा नै पर्छौँ, भलै हामी सानो स्केल मा कुरा गर्छौँ !
    :D

    ReplyDelete
  2. भिन्न खालको प्रस्तुतिमा निकै लोभलाग्दो ब्यंग्य प्रहार गर्नुभयो दाई । बिश्वभरिका भुतवक्ताहरु एकै खालका हुनेरहेछन ।

    ReplyDelete
  3. कुरो ठिकै हो,राजनितिमा जे पनि चल्छ । तर अर्कोथरीको भुतवक्ता पनि छ नि हाम्रो राजनितिमा दिलिपजी । आफुले पहिले बोलेको अर्थात् भुतकालमा बोलेको कुरो हुँदै होईन भन्ने । त्यो बोली चैं साँच्चिकै भुत आएर बोले जस्तो । यिनीहरुलाई पो भुतवक्ता भन्नु पर्ने होईन र? हाम्रो मिडिया हाउस चैं खाली एकछिनको समाचार जुटाउनमा व्यस्त हुन्छन् । पुरानो कुरो ध्यानै दिंदैनन् । अनि लाज नभएका यस्ता नकचरो नेताहरु आजिवन नेता बन्न सक्याछन । होईन भने यस्ता नेताहरुको झुठ पर्दाफास भैसके पछि राजनैतिक जीवन सकिनु पर्ने हो । तर पनि यिनैको पिछलग्गु हुने हामी भेंडाली (भेडो नेपाली) बानी पनि अचम्मको छ ।

    ReplyDelete
  4. धेरै राम्रो लेख दिलिप दाजु। मैले त पहिले नै भनेकोन थिँए नि दिलिप दाजु राम्रो लेख्नु हुन्छ भनेर भनौ भने भुतवक्ता बनिने डर।

    ReplyDelete
  5. हामी सबै भूतवक्ता नै हौँ , बढी कुरा गर्न मन पराउने र कुराको मेसोमा आँफैलाई सबैभन्दा जान्ने बुझ्ने देखाउने । भूत र भविष्यवक्ता मात्र हैन , हामी त्रिकालदर्शी नै हौँ देख्न र बोल्न सबै जान्ने तर गर्न केही नजान्ने र नपर्ने । हामी नेपालीलाई फूर्सद पनि टन्न छ , जागिर वा काम भए नि गर्न नपर्ने सित्तैमा खाने वा मिल्ने । खालि दिमाग शैतानको घर अनि , त्रिकावेत्ता भएर कुरा दोचार्ने । बितेको कुरा भन्न त सबैलाई नै भन्न आउँछ स्मरणमा भ्वाङ नपरेको भए , तर भूतलाई मात्र नदेखेर भूत भित्र लुकेको 'अति' भूत पनि देख्नेहरू साँचो शव्दमा 'अन्तरभूतवक्ता' हुन् ।

    ReplyDelete
  6. राम्रो व्यङ्ग्य लेख ! यति राम्रो लेख्नु हुँदो रहेछ, खुसी लाग्यो ।
    आफूलाई लालबुझक्कड ठान्नेहरू नै भुतवक्ताहरू नै हुन् । ती कमै जान्ने भए पनि बढी जानेको देखाउन खोज्ने हुन्छन् । ती माथिको दरो प्रहार तीक्ष्ण छ ।

    ReplyDelete
  7. भुतवक्ता हरू भविश्यवक्ता भन्दा पनि धेरै छन,

    सामान्य अर्थमा भन्नु पर्दा लेख अति मन पर्यो

    ReplyDelete
  8. मलाई पनि हामीहरु भुत्वक्ता हौं जस्तो लाग्छ । सुन्दर प्रस्तुती दाजु ।

    ReplyDelete
  9. ए ! यस्ता कुरामा त को भन्दा को कम ! प्रतियोगिता झै ...त्यस्ता गफ दिने मान्छे भेटिन्छन दिलिप दाइ !
    यो एउटा मानव सस्कार नै भै सकेको छ !

    ReplyDelete