22 October, 2010

केही सुभाषितहरु !

दसैँको लामो बिदा र व्यस्तता पछि तुरुन्तै सुरु भएको कामको चापले गर्दा ब्लग लेख्न समेत राम्रो समयको तालमेल मिल्न सकेको छैन । यसै बीच ब्लग अपडेट नभएको केही समय भएकोले यो अन्तरालमा बिट मार्न मैले विभिन्न पुस्तकहरुमा पढेका र मलाई रोचक लागेका केही संस्कृतका सुभाषितहरु राख्दैछु आजको पोस्टमा ।

संस्कृत भाषाको कुनै ज्ञान नभएपनि अंग्रेजी, हिन्दी वा कुनै कुनै नेपालीमै पढेका सुभाषिताहरुको सामान्य अर्थ नेपालीमा सरलतम शब्दमा दिने प्रयास गरेको छु । त्यसै पनि संस्कृतका श्लोकहरुको भिन्न भिन्न वा बहुआयामिक अर्थहरु हुन सक्छन् र प्रयोगात्मक हिसाबमा पनि पृथक-पृथक अवस्थामा यीनका भिन्न भिन्न अर्थहरु लगाउन सकिन्छ । त्यसैले यीनका अन्य वा अझ रोचक अर्थहरु पनि निस्कन सक्छन् ।


काक: कृष्णो पिक: कृष्णो को भेदो पिककाकयो :।
वसंतकाले संप्राप्ते काक: काक: पिक: पिक ।।

काग कालो हुन्छ, त्यस्तै गरि कोइली पनि कालो नै हुन्छ । तब काग र कोइलीको भिन्नता के हो त ? । जव वसंत ऋतु आउँछ (र कोइलीले गाउन थाल्छ) तब काग र कोइलीको भिन्नता प्रष्ट हुन्छ । बाहिरि आवरण र समान रप-रंगले कसैलाइ समान बनाउँदैन्। गुणबत्ता भनेको आबरण भन्दा पृथक कुरा हो ।

सर्पदुर्जनयोर्मध्ये वरं सर्पो न दुर्जन: ।
सर्पो दशती कालेन दुर्जनस्तु पदे पदे ।।

सर्प र दुर्जनको बीचमा चयन गर्नु पर्‍यो भने सर्पलाई नै छान्नु बेस हुन्छ । किनकी सर्पले कहिलेकाहीँ मात्रै डस्छ तर दुर्जनले भने पाइला पाइलामा दुःख दिन्छ ।


अन्नदानं परं दानं विद्यादानमत: परम् ।
अन्नेन क्षणिका तृप्ति: यावज्जीवम च विद्यया ।।

अन्नदान ठुलो दान हो । तर विद्या दान वा कसैलाइ शिक्षा दिनु भनेको परम दान हो । किनकी अन्नले केबल एकैछिनको भोक मात्रै हर्छ तर विद्याले जीवनकाल भर साथ दिन्छ ।

विषादप्यमृतं ग्राह्यं बालादपि सुभाषितम् ।
अमित्रादपि सद्धृत्तं अमेध्यादपि कांचनम् ।।

अमृत बिषको बीचमा भएपनि लिनु पर्छ । असल कुरा बालक बाटै भए पनि लिनु पर्छ । राम्रो गुण दुश्मन सँग पनि सिक्नु पर्छ । सुन फोहरमै भेटिए पनि ग्रहण गर्नु पर्छ ।

वृथा वृष्टि: समुद्रेषु वृथा तृप्तेषु भोजनम् ।
वृथा दानं धनाढ्येषु वृथा दीपो दिवाऽपि च ।।

समुद्र माथीको वर्षा बेकार हुन्छ । पेट भरिएको मानिसको लागि खाना बेकार हुन्छ । धनि लाई दिइएको दान र र दिनको उज्यालोमा बालिएको दीप पनि त्यस्तै बेकार जान्छ ।

कृपणेन समो दाता न भूतो न भविष्यति ।
अस्पृशन्नेव वित्तानि य: परेभ्य: प्रयच्छति ।।

कञ्जुस समान दानी कोही हुँदैनन् । किनकी उसले आफ्नो सबै धन छुँदै नछोइ राख्छ र सो धनमा अरुले नै मोज गर्छन् ।

वनानी दहतो वन्हे: सखा भवति मारुत: ।
स एव दीपनाशाय कृशे कस्यास्ति सौह्रदम् ।।

वनमा आगो लाग्दा हुरी चलेमा त्यसले आगोलाई सघाउँछ । तर त्यही हुरीले सानो दियो लाई भने निभाउँछ ।

क्षणश: कणशश्चैव विद्याम् अर्थम् च साधयेत् ।
क्षणे नष्टे कुतो विद्या कणे नष्टे कुतो धनमम् ।।

हरेक क्षण अध्ययनमा लागाउनु पर्छ । हरेक पल कमाउनमा लगाउनु पर्छ । नष्ट गरीएको क्षण र पलले धन र विद्या कै नाश गर्छ ।

र अन्तमा यो पनि Smile

उष्ट्राणां च विवाहेषु गीतं गायन्ति गदर्भा: ।
परस्पर प्रशंसन्ति अहो रपमहो स्वरम् ।।

उँटको विवाहमा गधाले गीत गाउँछ । दुबै एक-अर्काको प्रशमसा गर्दै भन्छन् “आहा कस्तो रुप ! आहा कस्तो स्वर !!”

12 comments:

  1. जानकारीमुलक पोस्ट राख्नु भएकोमा धन्यवाद दाई । निक्कै ज्ञान पाएँ ।

    ReplyDelete
  2. 7 क्लास मा पढेको संस्कृत त काम नलाग्ने रहेछ दाइ !!!! दामी लाग्यो ....

    ReplyDelete
  3. Nice stuff, जानकारी पोस्ट को लागी धन्यवाद ।

    BTW, I second your view that: There ‘was’ a saying that “A man is known by the company he keeps”. But, things are different and now “A man is known by the blog he writes” :D

    ReplyDelete
  4. निकै ज्ञान गुनकुरा गर्नु भएको रहेछ ... धन्न नेपालीमा अर्थ्याउनु भएको रहेछ ... नत्र त मलाइ ... भैसी लाइ कालो अक्षर बराबर हुनेथ्यो दाइ !

    ReplyDelete
  5. दिलिप दाई सानो कक्षामा अलिअलि संस्कृत त पढिएको थियो तर खै साह्रै लद्दु पो भईएछ धन्न दाई नेपालीमा पनि रुपान्तरण गर्नुभएको रहेछ नभए त कागलाई बेल पाक्यो हर्ष न विस्मात पो हुने रहेछ ।

    ReplyDelete
  6. मेरो बुबालाई तपाईको यो पोस्ट देखाईदिनु पर्यो, उहा संस्कृतको विद्वान अनि संस्कृतको लागि मारी मेट्नु हुन्छ ! यो देखेर खुसि हुनु हुन्छ होला !
    एउटा मलाई पनि थप्न मन लग्यो :)

    अधमाः धनमिच्छन्ति धनं मानं च मध्यमाः ।
    उत्तमाः मानमिच्छन्ति मानो हि महतां धनम् ॥


    निच मानिसहरु धन मात्र इच्छा गर्छन, मध्यम वर्गीयहरु धन र सम्मान दुवै इच्छा गर्छन तर महान व्यक्तिहरु सम्मान मात्र खोज्छन किनकी महान व्यक्तिहरु सम्मान नै धन ठहराउछन् ।

    Alankar

    ReplyDelete
  7. अलङ्कार जी, बुबालाई पक्कै देखाउनु होला । सायद मेरो ब्लगमा बुबालाई मनपर्न सक्ने १-२ वटा पोस्टहरु "धर्म-संस्कृति" र "भिन्न आयाम" भित्र होलान ।

    माथिको सुभाषित पनि निकै रोचक रहेछ । बुबाले त ब्लग लेख्नुहुन्न होला, अब तपाईले नै वहाँका विद्वताहरु हामीलाई पनि बाँडनु पर्‍यो है ! :)

    ReplyDelete
  8. बुबाको ब्लग त छैन, उहाको किताब पढ्नु होला । नाम - डा. विष्णुराज आत्रेय, उपनाम - लाटोसाथी ।
    बुबालाई भर्खर कम्प्युटर सिकाउदै छु, बुढेसकालमा सिक्न गार्हो हुने रहेछ, अलिक सिकेपछि ब्लग बनाउनु हुन्छ कि, फेशबुक त आगो पारिसक्नु भयो ;)

    ReplyDelete
  9. आहा !, बल्ल पो परिचय मिल्यो त । वहाँका केही फुटकर कविता आदि पढेको हो । अब भने खोजेरै पढछु ।

    ReplyDelete
  10. अचाकली मिठो रै'छ । मैले सर्लकै पिएँ - केही सुभाषितहरु !
    फेरि पनि आशा मेरो, यस्तो परिकारको । बाँकी फेरी ल, हुन्छ?

    ReplyDelete
  11. निकै ज्ञानबर्द्धक अनि सिक्नु नै पर्ने सुभाषितहरु रहेछन। दिलिप दाजु अर्थ सहित पस्कनुभएकोमा धन्यबाद !

    ReplyDelete
  12. निकै कामलाग्ने र घतपर्दा बाणीहरु रहेछन | धन्यबाद यहाँलाई

    ReplyDelete