31 October, 2010

कथाको राजा, अचेतन निर्णय र पुड्को व्यक्तिको खोज !

Freedom of speech in nepalसानैमा सायद पञ्चतन्त्र हो कि कुनै कमिकमा एउटा कथा पढेको थिएँ । कुनै देशमा एकजना ‘महामूर्ख’ राजा हुन्छन् ( राजा र राजनेताको पछाडि यो ‘अलङ्कार’ सायद प्राकृतिक रूपमै युग पर्यन्त स्वतः विभूषित हुन्छन् ) । अँ त, कथाको लम्बाइलाई घटाएर मुख्य अंशमा आउँदा, एकदिन राज्यमा कुनै अपराधी समातिन्छ र उसलाई फाँसीको सजाय सुनाइन्छ ।

अपराधीलाई फाँसी दिन तयार गरिएको ‘मचान’ मा लगिन्छ । तर अपराधी अग्लो भएकोले फाँसी दिने डोरी घाँटीमा हाल्दा पनि उसको खुट्टाले भुइँमा छुन्छ र उसलाई झुन्ड्याउन मिल्दैन । उसै त स्वभावै ले सन्की राजा, त्यसमा पनि महामूर्ख। अपराधी अग्लो भएकोले झुन्ड्याउन नमिलेको कुरा जाहेर नगरी अरू कुनै सजाय दिँदा पछि ‘राज कोप’ सहनु पर्ने गाम्भीर्यलाई मध्यनजर राखेर तीनका भारदार तुरुन्तै राजा कहाँ पुग्छन् । “...महाराज!, अपराधी साह्रै अग्लो भएकोले त्यसलाई फाँसीको ‘तख्त’ मा झुन्ड्याउन सकिएन” । तीनका दिग्गज भारदारले महाराजमा बिन्ती चढाउँछन् । “...अपराधी अग्लो भएर के भो त...”, सिंहासनमा गद्दीसीन महाराज फरमान जारी गरे “... कुनै एउटा होचो मान्छे खोजेर झुन्ड्याउन सक्दैनौ तिमीहरु...जाओ कुनै एकजना होचो मान्छे खोजेर झुन्ड्याओ ...” ।

सायद पाँच वा छ कक्षामा पढने बेलामा यो कथा पढेको थिएँ मैले । समाज, राजनीति र सासक भनेका कस्ता हुन्छन् भन्ने नबुझीसकेकोले त्यतीबेला यो कथा पढ्दा शासन पक्षमा बसेका मानिस यत्तिसम्म मूर्ख हुनै सक्दैनन् र यो नितान्त हास्य कथा मात्रै होला भनेर धेरै दिनसम्म हाँसेको थिएँ ।

केही हप्ता अगाडि देखि नेपालमा अश्लिल सामाग्री भएका इन्टरनेट साइट बन्द गर्ने समाचारले छापा र विद्युतीय माध्यममा होहल्ला मच्चाएको थियो । सामान्य रूपमा हेर्दा समाजमा विकृती पैदा गर्न सक्ने साइटहरुलाइ ब्लक गर्नुलाई मैले पनि सहज ढंगमै लिएको थिएँ । बीचमा केहीदिन अत्याधिक व्यस्तता र इन्टरनेटको पहुँचभन्दा बाहिर रहेकोले साइट ब्लक गर्ने कार्य के कस्तो चलेको छ थाहा भएको थिएन । करिब एक हप्ताजत्ती पछि हिँजो घर फर्केर इन्टरनेट चलाउँदा धेरै ‘अ-अश्लिल’ साइटहरु र ब्लगरको सब- डोमेन समेत पुरै बन्द भएको जानकारी भयो ।

प्रोक्सी सर्वरबाट आफ्नो ब्लग खोलेर चार वर्षको अवधिमा मैले आजसम्म लेखेको जम्मै पोस्टहरुमा कि वर्ड सर्च गरेर हेरेँ । मेरो करिब चार वर्षे ब्लगींङ यात्रामा कुनै एउटा पोस्टमा ‘यौन’ वा ‘sex’ भन्ने शब्द समेत नभेटेपछि, माथिको कथामा अग्लो मानिस लाई झुन्ड्याउन नमिलेपछि होचो मान्छे खोजेर झुन्ड्याउने व्यवस्था मिलाएँ झैँ मेरो ‘होचो ब्लग’ लाई पनि कुनै अग्लो अश्लिल साइटको बदलामा ‘फाँसी’ दिइएको रहेछ भनेर बुझ्न समय लागेन ।

सञ्चार क्रान्ति, वाक स्वतन्त्रता र नागरिक हकका बारेमा जत्तिसुकै कुर्लिए पनि अहिलेको सभ्य युगमा पनि विचार माथि ठाडै प्रहार गर्नेहरुनै शासकीय सत्तामा बसेको कुरा अहिलेको हचुवा र दमनकारी नीतिले प्रस्टै दर्शाएको छ ।

ब्लगीङकै कुरा गर्ने हो भने पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा सबै प्रेस र सञ्चार माध्यममा ताल्चा लाग्दा समेत ब्लग खुल्ला थियो र त्यसैबेलामा स्वतन्त्रताको आबाज उठाएर धेरै ब्लगहरु पनि खुले । तर पूर्व राजा हैन कथाको राजाको स्तरमा आएर वाक स्वतन्त्रतामा ठाडो हस्तक्षेप भने अहिले आएर भएको छ ।

कुनै एउटा साइटमा कुनै एउटा लेख, चित्र वा शब्दमा अश्लिलता देखेर पुरै इन्टरनेटको स्वतन्त्रतालाई नै बन्द गर्न खोज्ने दुस्साहस हुनु एकदमै खेद जनक र निन्दनीय कुरा हो । केही समय अघि सम्म केही कट्टरपन्थी देशमा रहेको इन्टरनेट माथिको ‘तालाबन्दी’ को चर्चा सुन्दै आएका हामीलाई आज प्रतक्ष अनुभूति भएको छ विचार माथिको प्रहार र दबाब कस्तो हुन्छ भनेर।

बिना कसुर र बिना कारण आफ्नो ब्लगमा पनि अंकुश लागेको र अभिव्यक्तिको स्वतन्त्रता खोसिएकोले केही समयको लागि नै भएपनि कानुनको विद्यार्थी भएको नाताले नेपालको अन्तरिम संविधान पल्टाउनुको विकल्प नरहेकोले तुरुन्तै नेपालको अन्तरिम संविधान २०६३ पल्टाएर हेरेँ ।

भाग ३ को मौलिक हक अन्तर्गत धारा १३ मा रहेको स्वतन्त्रताको हकको ३ (क) मा निम्न व्यवस्था रहेछ:

१३) स्वतन्त्रताको हक

३) प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता हुनेछ:-

(क) विचार र अभिव्यक्तिको स्वतन्त्रता ।

हो, यो नागरिकको सबैभन्दा आधारभूत र मौलिक हक हो। बोल्न र लेख्न समेत नपाइने राज्यमा अरू कुनै स्वतन्त्रताको चर्चा गर्नु नै बेकार हुनेछ । त्यसो त संविधानमै पनि विशेष अवस्थामा यसमा रोक लागाउन मिल्ने व्यवस्था पनि छ । तर आज आफैँ माथि यो अंकुश लागेकोले साह्रै व्यस्तताका बीच पनि विचार र अभिव्यक्तिको स्वतन्त्रतामा रोक लगाउन मिल्ने अवस्थाका बारेमा हेरेँ । नेपालको अन्तरिम संविधान कै भाग ३ धारा १३ मा “तर भनेर निम्न अवस्थामा मुनासिब प्रतिबन्ध लगाउन मिल्ने बताईएको छ:

खण्ड (क) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, अखण्डता वा विभिन्न जात, जाती, धर्म वा सम्प्रदायहरुका बीचको सुसम्बन्धमा खलल पर्ने वा गालीवेइजत्ती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन दिने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मुनासिब प्रतिबन्ध लगाउने गरी कानुन बनाउन रोक लगाएको मानिने छैन ।

म र मजस्ता सैयौँ नेपाली नागरिकले काम र पढाइ अनि पारिवारिक व्यस्तताबाट फूर्सद पाएको बेलामा नितान्त: साहित्य, समाचार वा सूचनाको आदान-प्रदान गर्ने उदेश्यले खोलेका र चलाएका कुन चाहिँ ब्लगले देशको अखण्डतामै र जाती,धर्म वा सम्प्रदायको सम्बन्धमा खलल पारेको छ मैले बुझ्न सकेको छैन ।

कमसेकम मेरो व्यक्तिगत ब्लगमा यस्ता कुनै सामाग्री छैनन् र मेरो ब्लग मेरो पाठकसम्म पुग्न नपाउनु भनेको मेरो अत्यन्त नैसर्गीक र नागरिक हकको ठाडो उलंघन हो ।

म यही पोस्टबाटै नेपाल गृहमन्त्रालय तथा नेपाल दूरसञ्चार प्राधिकरण लगाएत यो विचार र अभिव्यक्तिको दमन गर्ने सबै सम्बन्धित निकालाई चुनौती दिन्छु । मेरो ब्लगमा भएका कुनै पनि वाक्य, चित्र, चिन्ह वा लेख रचना यदि कुनै प्रचलीत कानूनको बर्खीलाफ छ भने मलाई कारबाही गरीयोस हैन भने मेरो अभिव्यक्तिको स्वतन्त्रता र मेरा पाठकहरुको सूसुचित हुन पाउने अधिकार तुरुन्तै पुनः स्थापना गरीयोस ।

अन्य सम्बन्धित टाँसोहरु:

‘पोर्न’ साइट को निहूँ मा अन्य साइटहरु पनि ब्लक : मौलिक हक को ठाडो हनन
सरकारी अजिंगरले निलेको वाक स्वतन्त्रता (नेपालमा बिचारमूलक ब्लग पनि सेन्सरसिपमा)

अपडेट: म लगाएत धेरै साथीहरुले दूरसञ्चार प्राधिकरण लगाएत सबै सम्बन्धित निकालाई यो प्रतिबन्धको विरोधमा लेखेका थियौँ । हालसम्म कसैलाई कुनै आधिकारिक जवाफ नआएपनि हिजोँ साँझ (२ नोमेब्मर २०१०) देखि NTC को ADSL बाट ब्लगहरु खुल्न थालेका छन ।

12 comments:

  1. दिलिप दाई ... यस्तो रवैया देख्दा प्रजातान्त्रिक भनाउदो सरकार र उसको नीति लाइ मुर्दाबाद भन्ने शब्दनै उल्लेख गर्न योग्य छैनन् !
    ...लाज पचेकाहरु .........

    ReplyDelete
  2. ज्ञानेको गुलामी गर्न बसेका यी भातेहरुले गत्तिलो काम गर्न त कहाँ जान्दछन् र !!!!

    ReplyDelete
  3. दिलीप सर, हजुरको लेख पढेपछि म पनि आन्दोलित भएँ ।

    ReplyDelete
  4. एउटा सानदार बिचार। तपाईको यो बिचारलाई मेरो हार्दिद समर्थन छ। बास्तबमा हामी कुन युग र कुन समयमा छौ भन्नै नै बिर्सिएका छौ। देशका बिद्दान बर्ग र जाने बुझेकाहरुको बिचारलाई यसरी रोकेर देशमा स्बतन्त्रताको वकालत गर्नेहरु प्रति मेरो पनि खेद छ। म पनि आन्दोलित छु।

    ReplyDelete
  5. सरकारी रवैया को घोर भत्सर्ना गर्दछु !

    केही अश्लिल ब्लगहरु ब्लक गर्नुपरेमा, सरकार को आदेशमा केही ‘आइ एस पी’ हरु ले सम्पुर्ण ब्लगस्पट सबडोमेन मै बन्देज लगाएका छन् ।

    सरकार का कुराहरु आफैँमा धेरै हास्यास्पद र हचुवा छन् ! अत: हामी सबैले आफूले सकेको, आफ्नो ठाउँबाट, सरकारी रवैया को विरोध गर्न जरुरी छ ।

    ReplyDelete
  6. सरकारको यो अर्धचेतन मनस्थितिमा उब्जेको (ब्लगस्पट ब्लक ) निर्णय प्रति मेरो पनि घोर आपत्ति छ । हाम्रो मौलिक हक हित छिटै फुकुवा हुनुपर्छ । Happy blogging..

    ReplyDelete
  7. शायद सरकारको आदेशमा ISP Servicing हरुले बन्द गर्ने होलान ? तर उनिहरुले पनि सबै कुरा हेरेर मात्र बन्द गर्ने पनि भनेका थिए । फेरी Blogमा त्यस्तो केही कुरा भए Report Abuse गर्न सकिन्छ वा म अठार बर्षको भए भन्ने आउँछ । त्यो कुरामा ध्यान दिएर बन्द गर्नु पर्नेमा अली हतार गरेर सबै बन्द गरेछन ।

    ब्लग बन्द भएकोमा मेरो पनि बिरोध छ ।

    ReplyDelete
  8. There must be some mistake, because blocking the whole blogging platform sounds absurd. Perhaps someone screwed up big time in applying a broad brush for censorship.

    While Nepal is striving well towards different UN MDG goals, this interference on Freedom of Speech does not bode well with other progress made.

    ReplyDelete
  9. लाजपच्या सरकारको हास्यास्पद निर्णय।
    पढ्न , लेख्न र बोल्न नपाएपछी त देशमा (लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र)जुन तन्त्र आएपनी जनतालाई त राजातन्त्र जस्तै भईगयो नि।

    ReplyDelete
  10. Dilip ji,

    Tanpaiko andolanma mero pani purna samarthan chha. hamra shasakka yesta udhaharan haru thuprai chhan, tapainlai thahai chha last time load sheding rokna invertor lai rok lagayeko. adhikansh halo jotnu parne manisharule shata kabja gare pachhi dherai ashcharya manna bhane pardaina. Baru hamile hamro awaj bulanda garna bhane chhodna hundaina!

    Shisupal
    From- Oman, Muscat

    ReplyDelete
  11. यहाँ र सम्पूर्ण साथीहरु जसले अजिंगरको आहारा हुने लागेको ब्लग संसारलाई बचाउनु भयो, धेरै धेरै धन्यबाद ! सरकारले पनि विवेक प्रयोग गर्नुपर्यो | ब्लगरहरु पनि जागरुक र सतर्क रहनु पर्यो |

    ReplyDelete
  12. हामी ब्लग मित्र सबै सतर्क हुनु जरुरी छ यदि कुनै दोष बिना बन्द गरिएको छ भने त्यसको लागि बिरोध गरौ हामीले

    ReplyDelete