08 May, 2011

थपौं म्याद ! खाऔँ भत्ता !!

अस्ति तिमी शाही शासनले लखेट्दा
मेरै घरमा लुकेका थ्यौ ।
साँदेको आलु र फुक्को चिउरा दिँदा नि
आँङ तन्कने गरी धोकेका थ्यौ ।
न तिम्रा केही काम हुन्थ्यो,
न खल्तीमा चुनदाम हुन्थ्यो ।
फाटेको कमिजको भित्र बरु
ढाडमा नीलडाम हुन्थ्यो ।
तिमी मैले दिएका भात नपचुन्जेल
देशप्रेम र सुधारका कुरा गर्थ्यौ ।
लाग्थ्यो अब जिम्मा पाए,
देश निर्माण पुरा गर्थ्यौ ।
                        
कसैले झण्डा, कसैले डण्डा देखायौ,
त्यही बेला पनि जनतै लाई सतायौ ।
भन्थ्यौ हामी त तिम्रै मान्छौ हौँ,
पद पाउने बित्तिकै तर जात जतायौ ।
न शरम न लाज,
सत्ता-शक्तिमा मस्त छौ ।
न कानुन न संविधान,
भत्ता-भक्तिमा मस्त छौ ।
मिलेरै खान्थ्यौँ, जुधेरै खान्थ्यौ,
देश र जनता पो घाँडो भो ।
तिम्रो बाचा वचन झूट्टा,
संविधान त खाने भाँडो भो ।
थपौं म्याद खाऔँ भत्ता,
संविधान त बन्दै गर्ला ।
गरौँ वण्डा बाँडौ सत्ता
भन्नेले जे-जे भन्दै गर्ला ।

11 comments:

  1. दह्रो झापड गयो यसपाली | भत्ताले नपुगेकाहरुले राम्ररी बुझुन है - भत्ता सानातिना दुखले भरिएको भण्डारबाट आएको होइन |

    ReplyDelete
  2. दिलिप दाइ - हाम्रा देशका नेताहरु ज्ञानी छन् नि तपाइको यो टाइटल अनुसारको अडर स्वत मान्न तयार छन ...लाज पचेकाहरु ..............

    ReplyDelete
  3. सम सामयिक मन छुने रचना।

    ReplyDelete
  4. हुन चाँही, सही गएको हो । तर लाज पचेकाहरुलाई केही नहुने रहेछ ।

    ReplyDelete
  5. तिनीहरु सँग लाज सरम बचेपो ! तै पनि हामीले हिम्मतै हार्न चाहिं मिल्दैन भन्ने बाहेक अरु केही उपाय छैन ।

    ReplyDelete
  6. गयो गयो यस्पाली नि शब्द बाण दरो गयो तर ज्ञानिन्द्रिय बिहिन प्राणीहरुलाई छोला र ?

    ReplyDelete
  7. यो शाब्दिक झापड राम्रै सँग लागेकोछ, अब त बिश्वास गर्ने कुनै ठाउँ नै छैन । अब हिजो भातुवा बनेर हिंडेका हरु आज सत्ता लोभमा मस्त संगी बनेर तीनै देश्का डाका सँग मिलेर काम गर्दै छन । के यिनिहरुले देश बनाउलान त ?

    ReplyDelete
  8. संविधान साच्चै भत्ता खाने वहाना भएको देख्दा उदेक लागि रा'छ । थपिरहने खाइरहने ... यिनीहरु संग पेट छ कि धोक्रो हँ ?

    ReplyDelete
  9. धेरै राम्रो छ, शेयर गरे है।

    ReplyDelete
  10. सरम पचेपछि, इमान बेचेपछि जता पनि आम्दानीको द्वार खुल्दोरै'छ, वानेश्‍वर गेट एकथरीका लागि त्यही हो । गैंडालाई घोच्दैन यस्तो वाणले, के गर्ने ?

    ReplyDelete
  11. साधेको आलुसंगा फुक्क्का चिउरा चपाउन के गार्हो भो र ! त्यो त मिथ्ठो मानि
    मानि चपौला नि के को !
    भुटेको मकै संग नून - खोर्सानी पिसेको चपाउदै खाने नेताहरु आज भारतीय
    पुलौ खान्छ र पो त ! :(
    के भन्ने ल्हे ! मन मात्रै दुख्छ वेस्मारी ---
    त्यो छ नि एउटा गित ' के सोचे मैले के भय ऐले -- ' त्यो ठ्याकै नेपाली जनताको
    हकमा लागू हुन्छा यो लोकतान्त्रिक नेपालमा ---
    जनताले त्यस्तरी नै सोच्या त थ्यो नि अनि के भयो ऐले ----
    शब्द भरि ढुंगा राखी बोल्नु पर्या छ ----

    ReplyDelete