02 June, 2011

रूजवेल्ट, सस्ता नेता र नेपाली राजनीतिको रियालिटी शो ।

“In politics nothing happens by accident. If it happens you can bet it was planned that way.”  :~Franklin Delano Roosevelt

नेपालको राजनीतिलाई नजिकबाट हेर्ने जो कसैले पनि एउटा कुरा याद गरेको हुनुपर्छ । कि यहाँ हरेक विवाद वा विषयको बारेमा कुनैपनि निर्णय वा फैसला अत्यन्त अन्तिम घडी वा आखिरी अवस्थामा आएर मात्रै हुन्छ । गत साल जेष्ठ १४ गते भएको संविधान सभाको समयावधि बढाउने सहमति होस वा अघिल्लो हप्ता फेरि आधा रातमा (सिधैँ भन्दा जेष्ठ १५ गते बिहान) गरिएको संशोधन, दुबै घटना अन्तिममा आएर गरिएको निर्णय जस्ता देखिन्छन् । यहाँ कहिले सत्तासीन शक्तिशाली प्रधानमन्त्रीले ‘आवेश’ मा आएर राजीनामा दिन्छन् त कहिले कुनै नेता वा मन्त्रीको बारेको ‘गोप्य’ कुरा ‘अचानक’ सार्वजनिक हुन्छन् । कहिले कुनै राजीनामा दिई सकेको सरकार अपत्यारिलो तरिकाले अनन्त समयसम्म राज गर्छन भने कहिले भर्खरै नियुक्ति लिएका मन्त्री बाध्यात्मक परिस्थितिका कारण राजीनामा दिएर निस्कन्छन् । सरसरती हेर्दा यी र नेपाली राजनीतिका यस्तै अनेकौँ घटनाक्रम अकस्मात् घटित भएको जस्तो देखिए पनि वास्तविकता भने त्यो भन्दा धेरै पर छ ।

नेपालकै राजनीतिलाई नजिकबाट हैन ‘भित्रै बाट’ हेर्ने हो भने, यहाँ हुने हरेक संयोजन, विभाजन वा अकस्मात् आउने निर्णयहरू नितान्त सामान्य र अझ सिधै कुरा गर्दा नियमित वा योजनाबद्ध रहेको कुरा थाहा पाउन केहि माथापच्ची गर्नु पर्दैन् ।

नेपालको राजनीतिमा त्यही हुन्छ, जुन योजना अनुसार नै हुन्छ । फरक यत्ति छ कि योजना कसले, कहाँ बनाउँछ र कति बेरसम्म योजनाकार र योजना भित्रका ‘सक्रिय कलाकारहरू’ समेत सो योजनालाई योजना हैन “आकस्मिक संयोग” हो भन्ने तुल्याउन टेलिभिजनमा चल्ने सस्तो ‘रियालिटी शो’ को हदमा गएर नौटंकीमा उत्रिन्छन् भन्ने हेक्का मात्रै राख्नु पर्छ । जसरी जनता झुक्काउने र दर्शकको भावनासँग खेल्ने सर्वोत्तम उपायको रूपमा संसारभरिकै टेलिभिजन च्यानलले रियालिटि शो लाई लिएका छन् र प्राय: गरेर ठूला पर्दामा फ्लप हुने कलाकार त्यसमा सहभागी गराइन्छन्, त्यसरी नै हरेक योजनाबद्ध आकस्मिक घडिमा चल्ने राजनैतिक रियालिटी शोमा पनि हाम्रा फ्लप वा सस्ता नेताहरू सक्रिय भएर लाग्छन् ।

राजनीति र अर्थशास्त्र बीच अन्य के कस्ता समानता र भिन्नता छन् मलाई थाहा छैन । तर एउटा कुरा भने पक्का छ। यहाँ पनि अर्थशास्त्रको एउटा नियम सत प्रतिशत लागु हुन्छ। त्यो हो राजनीतिमा पनि माग भन्दा पूर्ति बढि भएपछि ‘बस्तु’को मूल्य स्वाभाविक रूपमा घट्छ नै । एउटा मुस्किलले तीन करोड जनसङ्ख्या र एक लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर क्षेत्रफल भएको सानो देशमा हजारौँको सङ्ख्यामा नेता, उपनेता र सह-नेता भएपछि देशको राजनीतिमा तीनका भाउ घटने नै भयो । अनि भाउ घटेपछि जो-जसले आयोजना गर्ने राजनैतीक रियालिटी शोमा ‘हट टाइम’ मा देखिनु तीनका लागि लाभदायक हुन्छ नै ।

कुरा सिधा छ । नेपाली राजनीति पछाडिका ‘निर्देशक’ हरूले टेलीभीजनको पर्दामा देखाइने तीनै सफलताका सूत्रलाई नेपाली राजनीतिमा दुरुस्तै उतारेका छन् । जसरी कुन कलाकारले कुन एपिसोडको कुन भागमा आएपछि के भन्ने, कसरी रुने, कराउने क्रोध प्रदर्शन गर्ने वा कसरी भाव विह्वल भएको नाटक गर्ने निश्चित स्क्रिप्ट पहिलै फिक्स गरेर रियालिटी शो चलाइन्छ । त्यसरी नै कुनै पनि राजनैतिक मामिला अलिकता जटिल भएपछि नेपाली नेताहरू तीनै निर्देशकहरूद्वारा निर्देशित हुन्छ्न्। अनि सुरु हुन्छ नेपाली राजनैतिक रङ्गमञ्चमा राजनैतिक नौटंकीको रियालिटि शो ।

ठ्याक्कै टेलीभीजनको कार्यक्रम जस्तै सुरूमा ४ थरी नेताको पाँचथरी बोली सुनिन्छ । सबैले आ-आफ्नै ‘सम्बाद’ कण्ठ गरेर आफ्नो ढम्फु बजाउन थाल्छन् । पहिलो कलाकार “हाम्रो दलले यो कुरा कुनै पनि हालतमा गरेरै छाड्छ” भन्छ भने दोस्रोले “हाम्रो पार्टी कुनै पनि अवस्थामा यो हुनै दिँदैन” । अर्कोले फेरि आकाश खसाल्ने त अर्कोले पाताल भास्सीने कुरा निकाल्छन् । पत्रिका पढ्ने र रेडियो टेलिभीजनमा समाचार हेर्ने दर्शक यसलाई वास्तविक ठानेर सब काम धन्दा अनि भोक निन्द्रा त्यागेर आ-आफ्नो समाचार स्रोत समातेर त्यसैमा तन्मय भएर रक्तचाप समेत बढ्ने गरी समचारको पछी लाग्छन् ।

बजारमा ‘जुन बेला जे सुकै पनि हुन सक्ने हल्ला व्याप्त हुन्छ’ । अन्तिम भनिएको समयसिमामा समेत कतै कुनै मेलमिलाप वा सहयोगको सम्भावना देखिँदैन । शो आफ्नो क्लाइमेक्समा पुग्दा दर्शक श्रोता बनेका आम जनताको मुटुको धडकन समेत तेज हुन्छ । “अब यस्तो हुन्छ रे...”, “हैन यसले लिन्छ रे” , “यसलाई यसले यसो गर्न लाउँछ रे” जस्ता ‘रे रे’ का हल्लाले विस्फोटक स्थीति लिन लाग्दा अचानक फेरि खवर आउँछ “अब अन्तिम पटकको लागि सबै मिल्छन् रे” ।

स्थिति पछाडिको स्थिति नबुझेका जनताहरू “धन्न ... जे भएपनि दुर्घटना त टर्‍यो” भने र लामो सास फेर्छन् । केहीछिन अगाडि सम्म तथानाम र काटाकाट सम्म उत्रन आतुर देखिएका कलाकारहरू आ-आफ्नो अभिनय सफल भएकोमा खुशी हुन्छन् भने नेपथ्यमा बसेका निर्देशक ‘यसपाला फेरि रियालिटी शो’ हिट भयो भनेर दङ्ग पर्छन ।

नेपालको राजनीतिमा विगतमा यस्ता धेरै हिट रियालिटी शो मञ्चन भएका थिए भने, स्थिति यस्तै रहने र जनता जागरूक नहुने हो भने यस्तै अरू धेरै शोहरू भविष्यमा पनि हामीले हेरीरहनु पर्छ । भर्खरै एउटा शो सक्केको छ र दर्शकहरु केही समयको लागि नौटंकी भुलेर आ-आफ्नो व्यस्ततामा लागेका छन् । तर समय धेरै छैन। पुग नपुग ३ महिनाको समयमा फेरि यहाँ अर्को रियालिटी शोको भव्य आयोजन हुँदै छ । पटक-पटक टेलिभिजनमा यस्ता शो हेरेर यसभित्रका गणीत र नाटकसँग परिचित भैसकेका जनताहरू सायद अर्को पटक भने यो रियालिटी शो मञ्चन हुँदा त्यसलाई ‘रियालिटी’ हैन ‘शो’ मात्रै हो भन्ने बुझ्छन् कि ।

अमेरिकाका ३२ औँ राष्ट्रपति Franklin Delano Roosevelt ले कतै भनेका छन “राजनीतिमा केही पनि अकस्मात घट्दैन। यदि घट्यो भने त्यसलाई त्यसरी नै योजनाबद्ध गरिएको थियो भनेर ठोकुवा गर्दा फरक पर्दैन” । अमेरिकाको बारेमा मलाइ थाहा छैन, तर नेपालमा भने यो अहिले पनि सत प्रतिशत लागु हुन्छ । विगतका सबै घटनाहरू पनि यस्तै थिए, आगामी दिनमा पनि अझ क्लाइमेक्स युक्त रियालिटी शो देखाउन यसका सबै पात्रहरू तयार छन् । बाँकी, रूजवेल्ट लाई विश्वास गर्ने कि नेपाली नेतालाई त्यो भने आ-आफ्नै कुरा होला Angel

8 comments:

  1. एकदिन सबैलाई लाइन लगाएर नेपाली जनताले अर्को रियालिटी शो देखाइदिन्छ्न अनि थाहा पाउलान ?हाम्रो कलम मात्र हैन, मुख र हात दुवै सक्सकाइरा'छ भन्ने तिनले पनि बेलैमा बुझ्नु जरुरी छ ।

    ReplyDelete
  2. काँइला जी,
    एकदम चित्त बुझ्ने कुरा गर्नु भो । हामीले धेरै रियालिटी शो हेर्‍यौँ । अब देखाउने पालो भैसकेको छ :)

    ReplyDelete
  3. अत्यन्त समय सान्दर्भिक बिषयमाथि गहन बिचार राख्नु भयो दिलिप दाइ । अब यिनलाई नैतिक दवाब दिन र लज्जाबोध गराउन सबै सचेत नेपाली आ आफ्नो स्थानबाट लाग्नु जरुरी छ । कलम चलाउनेले कलम चलाउँ, झापड हान्नेले झापड हानौं ।

    ReplyDelete
  4. एक दम मननीय कुराको उठान गर्नु भो दिलिप दाइ ! यस्तै दम भएका कारण तपाइको ब्लग पढ्न अर्कै मज्जा आउछ !
    यसै यस्तै लेख्दै जानु है !
    देशमा राजनैतिक घटियापन हुनुम -पर्दा पछाडिका खेलाडी प्लान हुन्छ जो क्षितिज पारि नै रहेर ... मुनाफाको हिसाब गर्न तल्लिन रहन्छ ! ......... नेता नाम मात्रका ! तिनले शब्द कोषमा भएको नेताको अर्थ नै बदलिदिएका छन् ! ति सस्ता नेताले गर्दा नै नेपाली जनभावना मुल्य राह्र भै रहेछ ! नेपाली जनताले एउटै गल्ति गरे ! तिनले आफ्नो नेता छान्न जानेनन / सकेन !दु:खको भनेको यही हो !

    ReplyDelete
  5. दिलीप सर, यी राजनीतिक रंगमन्चका असफल कलाकारहरुले देखाउने नौटंकी रुजवेल्टले भने झैं सबै "प्री प्लान्ड्" नै हुन् भन्ने कुरा जनताले पुरै बुझ्दाको दिन "बिष्णुका अवतारहरुलाई" बनवास पठाउने नेपाली जनताले यिनीहरुलाई पनि छाड्ने छैनन्। तपाईंको तिख्खर लेखनिबाट यस्तै लेखहरु आइरहुन् । धन्यवाद !

    ReplyDelete
  6. सबैको कुरामा सहमत छु, यिनिहरुलाई नाङ्गेझार बनाएर सिस्नुपानी लगाउनुको विकल्प छैन तर त्यस्तो योद्धा (रेग्मीजस्ता) को जन्मेलान् र ?

    दाई, तपाईंले सुझाए बमोजिम मैले तपाईकै कोडबाट रिसेन्ट कमेन्ट साइडबारमा राखेको छु तर कमेन्टरको नाममा बोल्ड अथवा कुनै रंग राख्न मिल्छ कि मिल्दैन ? कृपया जान्न पाए आभारी हुनेथिएँ ।

    ReplyDelete
  7. क्या तोडले लेख्नु भो बन्धु । अती नै सान्दर्भीक अनी तोडको लागो है । ६०१ लाइ ६०१ भिन्ना भिन्नै जेलमा कोच्नु पर्छ । जनता बलियो र शासक कमजोर बनाइनु पर्छ । ताकी जनताका कामहरू बिना दाम हुनसकुन् ।
    तपाइ हामी सबैको (नेता र घुस्याहा कर्मचारी बाहेक) जय होस् । जय ३ महिने ।

    ReplyDelete
  8. हरबातलाई आधा रात पारेर टुंगो लगाउने यो प्रवृत्तिले हामी सबैको शिर झुकाएको छ |सबैकुरा छर्लंगै देखेर हो कि के हो, देश बन्ला कि भन्ने आश पनि डुबाएको छ |

    ReplyDelete