24 June, 2011

भुसतिघ्रे अपराधी, पीडित पत्रकार र निरीह प्रधानमन्त्री !

देशको कुनै स्थानमा एकजना भुसतिघ्रेले आफ्नो बारेमा समाचार छापेको रोषमा एकजना कलमजीवीलाई मर्ने गरी भकुर्छ, कलमजीवी १७ दिन अस्पतालको शैयामा बसेर अझै पूर्ण स्वस्थ न भइसकेको अवस्थामा अस्पतालबाट डिस्चार्ज हुन्छन् । यता पत्रकार डिस्चार्ज भएको दिनबाट पनि ४-५ दिन बितेपछि देशका प्रधानमन्त्रीले वक्तव्य दिन्छन्; 'फरार अपराधी पनि न्यायको कठघरामा आउने छ ।'

समाचार पढ्दा नै उदेक लाग्छ । आज, याने २०६८ असार १० गतेको कान्तिपुरको अनलाईन संस्करणमा छापिएको यही समाचारको शिर्षकले सोच्नै पर्ने बनायो । त्यसो त समाचारको शीर्षक आफैँमा भने उदेक लाग्नु पर्ने खालको थिएन । 'पत्रकार आक्रमण गर्नेलाई पक्राउ गर्न निर्देशन दिएको छु' । शीर्षकमा छापिएको सो समाचारमा हाम्रा बहालवाला प्रधानमन्त्रीले जेठ २२ गते पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणकारीलाई पक्रने कुरा बताएका छन् । अपराधीलाई कारबाही हुन्छ भन्ने समाचार उदेक लाग्ने हुनु नपर्ने हो । तर कहिले हुन्छ?, कसरी हुन्छ ?? वा कुन तरिकाले हुन्छ ??? भन्ने प्रश्न भने यस विषयमा गहिरिएर नसोच्नेको मानसपटलमा पनि आउनसक्ने स्थिति छ अहिले ।

एक जना अपराधीले एकजना नागरिकलाई मरणासन्न हुने गरी कुटपिट गराएपछि सो अपराधी सामान्य रूपमै कानुनको दायरामा आउनु पर्ने हो । विषयलाई हल्का रूपले लीन खोजिएको हैन, तर एउटा आपराधीक घटना घटेपछि सो घटनाका योजनाकार, कार्यान्वयनकर्ता सामान्य तरिकाबाटै सजायका भागी हुनु पर्ने हो र यसमा देशको उच्चतम पदमा आसीन प्रधानमन्त्री जस्तो व्यक्तिले बोल्नै नपर्नु पर्ने हो ।

कुनै पनि समाज पूर्ण रूपमा अपराध मुक्त हुन सक्दैन। तर जसरी कुनै समाजमा अपराध हुन्छ, त्यसैगरी सामान्य रूपमै अपराधीहरू पनि समातिनु पर्ने हो । एउटा पुलिसको सिपाई, सुरक्षा संयन्त्रका अधिकारीको तलमा आएर प्रधानमन्त्रीले वक्तव्य बाजी गरेपछि विषय झनै जटिल भएको छ ।

हो, प्रधानमन्त्रीको हैसियतमा देशका सम्पूर्ण नागरिक प्रति उनको उत्तरदायित्व होला, तर के एकजना भुसतिघ्रे अपराधीलाई कानुनी दायरामा ल्याउन पनि प्रधानमन्त्रीसम्म पुग्नु पर्ने नै हो त ? । अनि जटिल स्थितिमा रेहेको देशको गहन जिम्मेवारी सम्हालेर बसेका प्रधानमन्त्रीको काम यस्तै चोर, डाँका, र अपराधी समात्ने बारेमा निर्णय गर्दै हिडने हो भने अन्य गम्भीर विषयमा नीति निर्देश दिने काम चाही कसले गर्ने हो ? ।

यसै विषयसँग अर्को एउटा गम्भीर विषय पनि गाँसिएको छ । एकैछिनलाई कुटाई खाने खिलानाथ ढकालको पेशागत संलग्नतालाई भिन्दै गरेर हेर्ने हो भने स्थिति अझै कहाली लाग्ने देखिन्छ । वा सिधैँ भन्दा, यदि पीडित ढकाल पत्रकार नभएको भए र सम्पूर्ण पत्रकार जगतले यस विषयलाई हालको जस्तै गम्भीरतापूर्वक नहेरि दिएको वा आन्दोलनमा नउत्रेको भए स्थिति के हुन्थ्यो होला सहज अनुमान गर्न सकिन्छ ।

यहाँ प्रश्न पत्रकारको हैन, प्रश्न एकजना साधारण नेपाली नागरिकको हो । एक हिसाबमा ढकाल पत्रकार हुनुले उनीमाथी घटेको यस घटनाले देश-विदेशमा समेत चर्चा पायो र उनको पक्षमा विशाल जनसमूहको साथ र समर्थन पनि बन्यो । तर, यदि उनको ठाउँमा कुनै रामे, विरे वा श्यामे भएको भए ती निमुखाको आवाज कहाँसम्म पुग्थ्यो होला र तिनको पक्षमा बोली दिने वा लेखि दिने कति जना हुन्थे होला ? ।

त्यसो त कसैले बोली दिँदैमा वा लेखि दिँदैमा मात्रै यहाँ सबै काम सहि ढंगमा हुन्छ भन्ने कुनै प्रत्याभूति छैन... र मेरो व्यक्तिगत विचारको कुरा गर्ने हो भने त प्रधानमन्त्रीले बोलेपछि मात्रै केही होला भन्ने मलाई पटक्कै लागेको छैन । तैपनि एकजना सामान्य नागरिकको हिसाबमा सोच्ने हो भने, एउटा साधारण गुण्डा, भाडाको टट्टु वा हुल्याहा व्यक्तिलाई समात्न पनि प्रधानमन्त्रीको निर्देशन चाहिने अवस्था आउनु भनेको पक्कै पनि शुभ-सूचक होइन । माथी नै भनिसकिएको छ देश जटिल अवस्थामा छ र देशको प्रधानमन्त्रीले गर्नु पर्ने धेरै कामहरु यसैपनि थाँतीमा रहेका छन् । यस्तो बेलामा त्यो गहन जिम्मेवारी सम्हालेर बसेका प्रधानमन्त्रीले आफ्नो कर्तव्य बोध गरेर आफूले गर्नुपर्ने काम गर्दा नै सहि होला । भुसतिघ्रे गुण्डा, चण्डाल चोर बेनाम हुल्याहाहरुलाई तह लगाइनै पर्छ र एकजना नागरिकको वाक स्वतन्त्रता र नागरिक अधिकार कहीँ कतैबाट हनन हुनु हुँदैन् । तर यो सब हुनलाई आन्दोलन, अनशन वा प्रधानमन्त्रीको निर्देशन आउनुपर्ने भयो भने त्यो विषय प्रधानमन्त्री र जनता कसैको इज्जतको विषय भने पक्कै हुँदैन् ।

प्रधानमन्त्रीले सायद सोचे होलान उनको यो वक्तव्यले उनको गरीमा र पदिय उच्चता दर्शाउने छ । तर यो वास्तवमा कानुनी राज्यको उपहास र प्रधानमन्त्रीको पदिय गरिमाको समेत अवमुल्यनको सूचक हो । प्रताडित नागरिकले आफू प्रति भएको अपराधको न्याय पाउन पेशागत समूहको साथ लिएर आन्दोलनमै उत्रिनु पर्नु नागरिककै लागि बेइज्जतीको विषय हो भने यस्तो स्थिति आउँदा समेत अपराधी समात्न “मैले निर्देशन दिएको छु” भन्दै आत्मरतिमा रमाउनु प्रधानमन्त्रीकै पनि लज्जाको विषय हो ।

अपराधी समातिनु पर्छ, समातियोस् तर यसको लागि नागरिकले कुनै आन्दोलन र प्रधानमन्त्रीले कुनै निर्देशन दिनु नपरोस् । यि दुबै कृत्यले दुबैको उचाइ घटाउँछ ।

7 comments:

  1. परीक्षामा अनुत्तीण भएपछि राजनीतिमा समुत्तीण हुनको लागि नागरिक कुट्ने प्रचलन पहिलेदेखिकै हो। त्यसमाथि पनि विकासको समिकरण त परै जाओस् सत्ता समिकरण समेत गर्नै नसकेका निरीह प्रधानमन्त्रीले के को नागरिकलाई न्याय दिन सक्थे । धन्न पत्रकारलाई कुछिएको रैछर सबैले अपराधीलाई चिन्ने मौका पाए, यसले राष्ट्रिय अन्तराष्ट्रिय जगतमा पनि चर्चा पायो। अरु नै कोही कुटिएको भए त कुर्टाई खानेलाई नै अपराधी बनाइन्थ्यो होला, अपराधीलाई कारबाही हुने कुरो त नसोचे पनि भो.....

    ReplyDelete
  2. राजनीतिक पार्टीका जगहरु यस्तै भुसतिघ्रे गुण्डाहरु माथि नै अडिए पछी यिनीहरुलाई दन्डको कुरा त "म पिटे जस्तो गर्छु तँ रोए जस्तो गर्नु" बाहेक अरु के होला र! कठै हाम्रा प्रधानमन्त्री ! आफ्नो नामलाई क्या सार्थक पारे - "झल्लु"

    ReplyDelete
  3. धेरै सत्य कुरा धेरै मन पर्यो

    ReplyDelete
  4. I have been visiting your blog! It is nice!! Articles are excellent.
    Please visit my blog too
    It is http://bhandaripradeep.blogspot.com

    ReplyDelete
  5. एउटा अपराध गर्नेलाई कार्यबाही गर्न देशको सम्पुर्ण संरचनालाग्दा पनि नसक्ने अबस्था, लाज मर्दो अबस्था छ। के गर्नु। साधारण मान्छेहरुको जीवन कस्तो असुरक्षित छ भन्ने बुझ्न गाह्रो छैन।

    ReplyDelete