30 July, 2011

Big Bang Theory, जेनेभा कन्भेन्सन र...

...Mark Twain का ईडियटसहरू !

“…there was a time when all matter, all energy; all space was condensed into something the size of a pin point…”  केही समय अगाडि चार कक्षामा पढ्ने आफ्नो छोरीको परीक्षाको तयारीको लागि उसलाई पढाउने क्रममा उसको किताबमा भेटिएको लाइन हो यो । उसको सामाजिक शिक्षा अन्तर्गत “Origin of the Earth” भन्ने पाठमा माथिका लाइनहरू छन् । पृथ्वी र पूरै ब्रह्माण्डको उत्पत्ति कसरी भयो भन्ने बारेमा “Big Bang theory”को जानकारी राखिएको थियो सो पाठमा ।

“ …then a huge explosion occurred ….about 300000 years later …atoms formed The element hydrogen and helium was created….gravity brought them in together in clumps” . हो जत्ति सरल बनाउन खोजिए पनि Big Bang theory आफैँमा एउटा जटिल विषय हो र जे जस्तो तरिकाले बताए पनि चार कक्षाका साना साना केटाकेटीले यो कुरा बुझ्न सक्दैनन् भन्ने मेरो निर्क्योल थियो । तर जे जस्तो सोच भए पनि जाँचको लागि पढाउनु नै थियो र म उसलाइ सो कुरा बुझाउन भरमग्दुर प्रयत्न गर्न थालेँ ।

अँ त, निकै माथापच्ची र वरिपरि उपलब्ध केही सर्जामहरूको प्रयोग गरेर कोठामै एउटा सानोतिनो  Big Bang उत्पन्न गराउने कोसिस समेत गरेर छोरीलाई यो पाठ बुझाउने प्रयास गरियो । तर यो पुरा विश्व ब्रह्माण्ड कसरी एउटा पिन प्वाइन्टमा अट्छ र कसरी फेरि अथाह रूपमा जत्ति फैलिए पनि यसको फैलावट को अन्त हुँदैन भन्ने कुरा करिब नौ वर्षकी छोरीलाई बुझाउन भने कसैगरी पनि सम्भव भएन । अन्तमा छोरीले करिब करिब “...बाबा, मैले कुरा नबुझे पनि जाँचमा लेख्न सक्छु..” भन्ने किसिमको अभिव्यक्ति दिएपछि भने यो सबै कुरा पढाउन हैन, देखाउन र बुझाउन हैन, कण्ठ गराउन मात्रै किताबमा राखिएको रहेछ भन्ने ज्ञान भने आफैँलाई भयो ।   

सामाजिक शिक्षाकै अर्को एउटा पाठमा रहेको “Child rights have been adopted in the Geneva Convention and passed by the United Nations  Organization” भन्ने वाक्यांश सम्झाउन पनि बडो मुस्किल भा’थ्यो । पुराना कुनै पाठमा  न वाल अधिकार, न संयुक्त राष्ट्र संघ  र न त ‘जेनेभा कन्भेन्सन’ कै कुरा छन् । अब एउटै वाक्यमा ती सबै कुरा आएपछि कि त यो पूरै लाइन ‘स्किप’ गर्ने वा यो भारी-भरकम शब्दहरूलाई उनीहरूले बुझ्न सक्ने तर वास्तविकता भन्दा धेरै परको अर्थसँग अनुवाद गर्नु बाहेक अर्को उपाय पनि रहेन् ।

केही समय अगाडि मैले यही ब्लगमा तीन कक्षाको किताब र हाम्रो अपरिपक्व प्रौढता ! शीर्षकमा एउटा पोस्ट लेखेको थिएँ । साना साना बालबालिकाहरूले बुझ्न सक्ने भन्दा बढ्दा कुरा र समानताको फोस्रो नारा वाल मस्तिष्कमा लाद्ने काम गर्ने औचित्य हीन पाठ्यक्रमको बारेमा थियो त्यो लेख ।

यसपाला फेरि छोरीको परीक्षा थियो र छोरीलाई पढाउने क्रममा हाम्रो पाठ्यक्रममा फेरि एक पटक यस्तै र यस्तै खाले विना सोच र वाल मस्तिष्कको सोच अनि विश्लेषणात्मक अध्ययन विना तयार गरिएका विभिन्न विषयका धेरै पाठहरू भेटिए ।
 
अहिलेको जमाना प्रतिस्पर्धा को छ र बालबालिकाहरूले बढी भन्दा बढी कुराको जानकारी राख्नु पर्छ । तर त्यसो भन्दैमा तीनका सोच र समझले नभ्याउने भारी-भरकम कुराहरू पाठ्यक्रममा राखेर र सुगा रटाइ रटाएर तीनलाई केही फाइदा होला जस्तो मलाइ लाग्दैन् । ज्ञान विज्ञानका विधा र पाटाहरू भिन्न भिन्न भए जस्तै तीनलाई पढ्ने र बुझ्ने उमेर समूह पनि पक्कै पनि फरक फरक हुन्छन् नै । त्यसैले निश्चित उमेर समूह वा निश्चित विधालाई मनोगत ढङ्गले बुझ्नेलाई मात्रै सो विधा वा विषयको ज्ञान दिनु सार्थक र प्रभावकारी हुन्छ । प्रतिस्पर्धाको होडमा मेरो विद्यालयमा फलानो कक्षालाई फलानो कुरा पनि पढाइन्छ वा हाम्रा विद्यार्थीहरूले फलानो कक्षामा नै फलानो कुराको बारेमा पढिसकेको हुन्छन् भन्ने आडम्बर पाल्न मात्र दिइने शैक्षिक सुगा रटानले विद्यार्थीको कुनै भलो गर्दै गर्दैन ।

विदेशतिर शिक्षा सम्बन्धमा सानो भन्दा सानो कुरालाई पनि निकै गम्भीर रूपमा लिएर शिक्षा नीति देखि पाठ्यक्रमको चयन र शिक्षण-प्रशिक्षण गराइने परम्परा छ, तर हामी कहाँ भने सायद अझै पनि कुन प्रकाशन समूह वा पाठ्यक्रम वितरकले बढी कमिसन दिन्छ त्यसैको आधारमा कुनैपनि स्कुल कलेज वा शैक्षिक निकायको पाठ्यक्रम र पुस्तकहरू चुनिन्छन् ।

सींगै राष्ट्रको शैक्षिक प्रणालीको लागि कुनै एउटा वैज्ञानिक अवधारणामा आधारित मानक नबनेसम्म हरेक स्कुल वा कलेजले आफ्नो स्वविवेक वा आफ्नो फाइदाको लागि मात्रै आ-आफ्नै ढङ्गले पाठ्यक्रमको चयन र शिक्षण-प्रशिक्षण गरिरहेको अवस्था छ हाल। त्यसैले च्याउ उम्रेझै खुलेका प्रत्येक शिक्षण संस्थामा पाठ्य सामाग्रीहरू पनि नितान्त बेग्ला बेग्लै छन् । अनि हरेक विद्यालय र प्रकाशन समूह बीच एकदमै अस्वस्थ प्रतिस्पर्धाका कारण सिकाउने र बुझाउने भन्दा देखाउने र प्रदर्शन गराउने खाले पाठ्य सामाग्रीको भरमार छ हाम्रो शैक्षिक बजारमा ।

विद्यार्थीलाई के पढाउनु पर्छ, कुन उमेर समूहको विद्यार्थीले कति बुझ्छ वा कसलाई कुन लेबलमा पुगेपछी कुन कुराको कति ज्ञान दिनु पर्छ भन्ने आधारमा हैन, बरु भारीभरकम कलेवरको प्रदर्शनमूखि सामग्रीले अभिभावक लाई ठग्ने र विद्यार्थीलाई जान्ने हैन कण्ठस्थ गर्ने मेशिन बनाउने कार्यमा लागेका छन् अधिकांश शैक्षिक संस्था ।

प्रसिद्ध अमेरिकी लेखक मार्क ट्वीनले कतै भनेका छन्: “In the first place, God made idiots. That was for practice. Then he made school boards.” । कुनैपनि निजी स्कुलका पाठ्य सामाग्रीहरू केही समय मात्रै ध्यान दिएर हेर्दा जो कसैलाई पनि यो वाक्यको सार्थकता प्रस्ट हुनसक्छ । नितान्त व्यावसायिक मुनाफाका लागि विद्यार्थीको शैक्षिक, बौद्धिक वा सर्वाङ्गीण विकासको तिलाञ्जलि दिएर  भारीभरकम र अर्थ हीन सामाग्रीहरूलाई पुस्तकमा ठोसेर तयार गरिएका सामग्रीले विद्यार्थीलाई पढ्नु पर्छ वा बुझ्नु पर्छ हैन, कण्ठ गर्नुपर्छ भन्ने एउटै मात्रै ध्येयमा तल्लीन बनाएको छ ।

नाफामुखि विद्यालय र प्रदर्शनमूखी शिक्षाको दबाब पूर्ण जन्जालमा परेर विद्यार्थीले सानै देखि के सिक्ने भन्दा पनि कसरी कण्ठ गर्ने भन्ने तर्फ नलागी नहुने स्थिति बन्दै गएको छ । पढ्नेले के पढ्छ र कति कुरा बुझ्छ भन्ने हिसाबै नगरी तयार गरिएको यस्ता सामग्रीले विद्यार्थीलाई झन् झन् बुझेर पढ्ने हैन घोकेर लेख्ने बनाउँदै जानेमा कुनै शङ्का नराखे हुन्छ ।

कुरालाई छोटो गर्दा पाठ्य सामाग्रीमा उल्लेख गरिएका विषयहरू सो सामाग्री अध्ययन गर्ने समूहले सजिलै बुझ्न र ‘पचाउन’ सक्ने हुनुपर्छ । लेख्ने वा पढाउनेले मात्रै बुझ्ने र पढ्ने स्वयम्‌ले भने कण्ठै गर्नु पर्ने परम्परा बसेसम्म न शिक्षाको विकास हुन्छ न त समाजले नै कुनै उल्लेख्य उन्नति नै गर्छ ।  आफ्नो पुस्तक कुन समूहलाई टार्गेट गरेर लेखिएको छ भन्ने कुरा पूरै भुलेर चाहिने भन्दा बढी सूचना र बुझ्न सक्ने भन्दा बढी जानकारी पुस्तकमा राखेर  उही माथि उल्लेखित अमेरिकी लेखकको भनाइलाई चरितार्थ र प्रमाणित गरिरहनु मात्रै हो भने चाहिँ कुरा अर्कै हो ।

7 comments:

  1. हो सर। अझ मान्छे भन्दा २ गुणा गह्रुङ्गो झोलाको बारेमा पनि लेख्नुस न।

    ReplyDelete
  2. यो 'बिग ब्यांग' र 'चाइल्ड राइट' भन्ने कुरा हामीले प्रविणता प्रमाणपत्र तह पढ्दासम्म समेत थाहा थिएन| अहिलेका किताब लेख्नेहरु हाम्रै समकालीन इडिएट साथीहरु हुनुपर्छ| राम्रैसंग सम्झाउन जरुरी भैसकेछ|

    ReplyDelete
  3. बाल मस्तिष्क र मनोबिज्ञान भन्दा बाहिरका भारी भरकम् कुराहरु समाबेश गरिएका पाठ्य पुस्तकहरुले अन्तत: बिद्यार्थीहरुलाई किताबको किरो र व्याबहारिक रुपमा जिरो नै बनाउने हो ।

    ReplyDelete
  4. धेरै दिन देखि मनमा लागिरहेको कुरा लेख्नु भो। एउटा सभ्य समाजको परिकल्पना, यथार्थ तालिम प्राप्त नागरिकको खाचो नभएरहै होला, मात्र पढाउनकै लागि बनाईएको, छरपस्ट समाजिक परिबेशको नमुना हो यो। यस्तै पाराहो भने त कक्षा ८ सम्ममा त हाम्रा नानीहरुले रिलेटिभिटीका थेउरी, होफमैनको सिन्थेसिस सबै सक्ने भए। आखिर पाठ्यक्रम तयार गर्ने मान्छेहरु त पढेलेखेकै हुन्। हैन दिलिप सर पढेलेखेका मान्छेले बनाएको यस्ता पाढ्यपुस्तकहरु किन यस्तो भईरहेको छ। सबै कुरा बिर्सेर बजार भाउमात्र हेरेका हुन त यी बिद्दान महाशयहरुले.. धिन लाग्छ यस्ता मान्छे देखेर। तपाई हामी त अलिक कुरा बुझ्छौ, कोठा भित्र सानो तिनो ब्रमांष्ड बनाएर देखाउन सकौला।
    ...बाबा, मैले कुरा नबुझे पनि जाँचमा लेख्न सक्छु..” यो भनाई निकै साधारण भईसकेको छ सबै घरका बच्चाहरुमा। मात्र जाचका लागि पढ्दै छन् बिचरा हाम्रा नानीहरु.. कस्तो पिडा छ यो उनको भनाईमा...
    निकै बौद्दिक र यथार्थपरक लेख.. साधुबाद दिलिप जी

    ReplyDelete
  5. i also like to publish my articles but i couldn"t ,because i don"t know how to do it.i had sent three articles to"kyamazzako".com but among them one only published , i know nothing about others two why it did not published.I know very little about computer.what should i do ? please suggest me.

    ReplyDelete
  6. Ramesh Ji,

    You can contact the Blog admin or blog owner to publish your articles.

    Concerning to "kyamazzako", you need to contact the admin of that blog.

    You don't need to know much about computers to be able publish your posts in blog. I think, better you can open and run your blog. My posts under "ब्लग टिप्स" may somehow, be helpful to you.

    ReplyDelete