27 February, 2012

कोठेगफ, हल्ला र हावागफ

Chatterत्यसो त गफ, काठमाण्डौले मात्रै हैन, संसारका सबै सहर र सो सहरका बासिन्दाले गर्छन् । तैपनि काठमाण्डौको गफ भने भिन्दै हुन्छन् । यहाँ कहिले कुनै हल्लाले बजार तात्छ त कहिले भने बजार तातिसकेपछि मात्र हल्ला चल्छ । अचम्मको छ यहाँको गफ र हल्ला । कहिले कसैले आयोजन नै नगरेको बेलामा हल्लाकै भरमा नेपाल बन्द हुन्छ त कहिले भने ‘नेपाल बन्द’ गर्ने प्रायोजक समेत पछि लाग्दा समेत काठमाण्डौ बासीले ‘हल्ला मात्रै हो’ भनेर हिँडी दिँदा बन्द असफल बन्छ । कहिले आन्दोलन गर्ने हल्ला त कहिले हल्ला गर्ने आन्दोलन समेत चलेका छन् यहाँ ।

सरकार फेरिने हल्ला, पेट्रोलको भाउ बढ्ने हल्ला, संविधान बन्ने हल्ला र हुँदा हुँदा नेपालको संविधान विदेशमै तयार भइसकेको हल्ला समेत बेला बेलामा चल्छन् यहाँ । हल्लाकै पछि लागेर हल्लिने मात्रै नगरी हल्लाको तहसम्म पुग्ने कोसिस गर्दा हरेक हल्लाका स्रोत ‘गफ’ हुने गर्छन् । चार जना पत्रकार र १०० जनाको भिड देख्ने बित्तिकै उत्तेजित विपक्षी दलका नेताले ४ दिनमा सरकार हल्लाइदिने ‘गफ’ दिन्छ । उसको गफ उपस्थित समूहको प्रचार-प्रसारको सहयोगमा ‘हल्ला’ बन्छ । अनि टोल टोलको चिया पसलमा मात्रै हैन्, चार पन्ने ‘हावा’ छाप्ने देखि २४ पन्ने विज्ञापन राख्ने पत्रिका सम्ममा विशेष सूत्रको हवाला दिएर नयाँ सरकार बन्ने चर्चा चल्छ । आखिर गफ त गफ नै हुन्छ... २-४ दिनको ‘हल्ला’ बनेपछि सो ‘गफ’ ‘हावागफ’ मा परिणत हुन्छ ।

फेरि कुनै दिन, साँझको भट्टी बसाईमा कुनै भातमाराले आफ्नो उचाइ बढाउन आफूले सबैसँग गम्भीर सल्लाह गरि रहेको र ‘कुराकानी मिले’ ३ हप्तामै संविधान बन्ने गफ दिन्छ । भट्टीवाली माइली, साइली र दायाँ-वायाँ टेबुलमा बसेका हर्के विर्खे मात्रै हैन्, थकाइ मेट्न पुगेका खोयाबिर्के मिडियाकर्मीको कानमा समेत सो गफ पुग्छ । मान्छे भातमारा नै भएपनि पदमा पुगेको भातमारा भएकाले सबै जना उसको गफमा एकछिन झुकिन्छन् (त्यसमा सँगै बसेर खाएको बिजुलीपानीले पनि मद्दत गर्छ) र भोलिपल्ट बजारमा ३ हप्तामा नयाँ संविधान बन्ने हल्ला गरम हुन्छ । हल्ला सँगै फेरि अडकलबाजी र सन्देहको पनि बजार बढ्छ ।

४ वर्षमा न बन्या संविधान ३ हप्तामै कसरी बन्छ त ? । यस्तै यस्तै सङका र उप-शङ्काको थुप्रोबाट अर्को ‘हल्ला’ चल्छ “नेपालको संविधान विदेशमा तयार भै’सकेको छ रे” । चार-चार वर्षसम्म आफ्ना योग्यतम नेताको ‘योग्यता’ देखि सकेका जनतालाई ३ हप्तामै संविधान बन्ने भन्दा पनि, विदेशमा बन्नेमा भने अझ बढी विश्वास लाग्छ । त्यसैले ३ हप्तामा संविधान बनाउने गफ दिएका भातमाराको हल्ला बाट निस्केको हल्ला भित्रको अर्को हल्लाले देशै हल्लिन्छ । खोया बिर्केले छाडिसकेपछि गफलाई हल्ला बनाउनेहरू आफैँलाई समेत यो हल्ला, हल्लाको अन्तिम अवस्था ‘हावा गफ’ मा परिणत भै’सकेको ज्ञात हुन्छ तर लेखिसकेको, बोलिसको र बताइसकेको कारण उनिहरू वाध्यात्मक परिस्थितिका बीच २-३ हप्ता सो हल्लालाई वर्करार राख्न तल्लिन हुन्छ ( के थाहा हल्ला-हल्लामै साँच्चै हुन्छ कि भन्ने अभिप्रायका साथ) ।

१-२ हप्ता पछि बजारमा अर्कैले गफ दिन्छ र विस्तारै फेरि त्यो गफ हल्ला बनिसकेको हुन्छ । अनि पुरानो हल्लाको बजार नयाँ फ्रेस हल्लाले लिन्छ ।

त्यसो त गफ दिएर हल्ला बनाउनेमा राजनीति कर्मी वा नेताहरू मात्रै हुँदैनन् । कहिले कुनै जोगी, बाबा वा खुर्सानी ज्योतिषले समेत संसार नै हल्लिने भन्ने हल्ला चलाएर पुरै नेपाल हल्लाउँछन् त कहिले भने कहिले भने कहिल्यै नाम नसुनेका हस्तिले समेत गफको बजारलाई हल्लाको माध्यमबाट गरम बनाएर राष्ट्रपतिसम्मको ‘स्याबासी’ लिने वातावरण बनाउँछन् । यस्ता गफ दिने त्रिशुलबाबा र अनुजा जस्ताको गफले चर्चाको पराकाष्ठामा पुगेपछि अन्तमा सुपर फ्लप भएर ‘हावा गफ’ नबनी सुखै हँदैन् । तैपनि न गफ दिनेले गफ दिन छाड्छन् न त हल्ला फेलाउनेले हल्ला फैलाउन ।

यस्ता कोठे गफलाई हल्ला बनाएर चर्चा कमाउने र अन्तमा टायँ –टायँ फिस् हुने प्रक्रियाको थालनी कहिले देखि भयो भनेर खोज्न त इतिहास मात्रै पल्टाएर पनि पुग्दैन् । पौराणिक कथनमा समेत जानुपर्छ । पौराणिक कालमा पत्रकार नभए पनि नारद मुनिले यो कोठेगफ लाई हल्ला बनाउने जिम्मेवारी लिएकाले उनकै हल्लाको भरमा पनि कतिपटक देवा-सुर सङग्राम समेत भएको कथन छ भने, एकजना धोबीको कोठेगफले हल्लाको रूप लिँदा मर्यादा पुरुष भनेर चिनिएका रामले समेत आफ्नो पत्नी त्याग्न तम्सिएको कुरा यहाँ प्रासङ्गिक हुन सक्छन् ।

पौराणिक हल्ला छाडेर ऐतिहासिक हल्लामा आउने हो भने पृथ्वीनारायण शाहले काठमाण्डौ खाल्डो हान्नु अघि चलाएको हल्ला देखि राजा विरेन्द्रले निकालेका नेपाललाई एशीयाली मापदण्मा पुर्‍याउने हल्ला मात्रै हैन् नेपालका माओवादीले निकालेका ‘दस वर्षमा १० हजार मेगावाट’ को हल्ला पनि खुव चर्चामा रहेका थिए ।

ती सबै हल्लाको मुहान खोज्दै हिँड्ने हो भने, सबै कुनै लहड, उत्तेजना वा गैह्र जिम्मेवारी कोठे गफबाटै निक्लेका हुन्छन् । जुन कहिले प्रयत्न सहित त कहिले प्रयत्न रहित नै हल्ला बन्छ र अन्तमा मात्रै थाहा हुन्छ कि यो केवल ‘हावा-गफ’ नै हो । समष्टिमा हल्ला ज-जसले जुनसुकै बेलामा चलाए पनि त्यो अन्तमा ‘हावा-गफ’ नै हुन्छ । बीचमा केही समय प्रयत्न जन्य परिवेश र परिस्थितिमा भने ठूलो ‘हल्ला’ बन्छ ।

त्यसो त हल्लाको वृहत् अध्ययन गर्ने हो भने यसको वर्गीकरण पनि गर्नु पर्ने हुन्छ । जस्तै ’१० वर्षमा १० हजार मेगावाट’ को मोहक हल्ला, ‘पानीमा विष मिसाइएको’ खतरनाक हल्ला, ‘प्रधानमन्त्रीले राजीनामा दिने’ राजनैतिक हल्ला र ‘सन २०१२ मा संसार नै विनाश’ हुने अन्तरराष्ट्रिय हल्ला आदि आदि । वर्गीकरण यत्ति मै सकिँदैन ‘काठमाण्डौमा दोस्रो चक्रपथ बन्ने’ सदावहार हल्ला, नेपालको संविधान बन्ने अपत्यारिलो हल्ला,  ‘अर्को हप्ता देखि ग्यास पाइने’ स्वप्नातीत हल्ला, ‘नेताहरू एक जुट हुने’ असम्भव हल्ला, ...। यी सबै हल्लाको चर्चा यो सानो पोस्टमा असम्भव हुने र पोस्टलाई लम्बाउँदा यही पोस्ट पनि कोठेगफ बाट ‘हल्ला’ समेत नबनी सिधै ‘हावा गफ’ मा परिणत हुने डरले यसलाई यहीँ सक्काउँदै छु ।

मेरो कोठे गफ सक्कियो । अब यसको अन्तिम परिणति आफैँलाई थाहा भएकोले बीचमा हल्ला कति हुन्छ भन्ने मात्रै हेर्न बाँकी छ Angry smile

4 comments:

  1. बास्तबमै हल्लै हल्लाको देश, पशुपति नाथले चलाएको देश..साच्चै झुट र हल्लै हल्लामा देश चलेको छ हाम्रो। कुनै दिन त राम्रो होला कि..

    ReplyDelete
  2. भूपी शेरचनको चर्चित कविताबाट यी हरफ हरु सम्झन मन लाग्यो
    ‘यो हल्लै हल्लाको देश हो’
    खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
    त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।
    त्यसैले यो हल्लै हल्लाको देश हो
    यो हल्लै हल्लामाथि उभिएको देश हो
    यो हल्लै हल्लामाथि उठेको देश हो
    यो हल्लै हल्लाको देश हो ।

    ReplyDelete
  3. जय होस हल्लाको। जे होस एउटा राम्रो पोष्ट मन पर्‌यो

    ReplyDelete