14 September, 2012

तीज, धर्म र ‘शरीर-धर्म’

Teejअचेल तीज लाग्नु भन्दा अगाडि नै हाम्रा मिडिया र विशेषगरी सामाजिक सञ्जालहरू ‘तीजमय’ हुन्छन् । सामाजिक सञ्जालका महिलाहरू धेरै अगाडि देखि नै शुभकामना आदान-प्रदान गर्छन् र प्रोफाइल फोटो पनि रातो सारी वा रातो लुगा लगाएको हाल्छन् । एक किसिमले तीजको आगमनले पुरै सामाजिक सञ्जाल ‘रातै’ देखिन्छन् ।

एकातिर सामाजिक सञ्जाल रातो हुन्छ भने अर्को तर्फ भने यही तीजको बारेमा दुईथरी एकदमै पृथक र पूर्ण विपरीत आलेखले पत्रिकाका पन्नाहरू पनि भरिन्छन् । तीनमा एक थरी वैदिक मान्यता, परम्परा र धार्मिक आस्थामा विश्वास राख्ने हुन्छन् र यस चाडलाई आदर्श चाडको रूपमा लिन्छन् । अर्को एकथरी आफूलाई ‘सचेत’ र विद्वान सम्झने खेमाका उपबुज्रुक जमात पनि हुन्छन्, जो आफूलाई खाँटी नारीवादी बताउन उत्सुक हुन्छन र समाजको सम्पूर्ण अव्यवस्थाको जड नै यही चाड भएको झै गरी यसमाथि खनिन्छन्। जो दुई अक्षर पढेको भरमा सबै सांस्कृतिक धरोहर र मान्यतामाथि ठाडो प्रहार गर्छन र तीनका मूल्य मान्यता र अन्तर्निहित गुह्य मनोविज्ञानको छेउ-टुप्पो समेत नबुझेर तीनलाई सिधै रूढिवादी भन्न रुचाउँछन् ।

सामाजिक सञ्जालमा मात्रै हैन्, देशको राष्ट्रिय दैनिकहरूमा समेत तीनका आख्यान र ‘आर्टिकल’ छापिन्छन् र त्यसमा गरमा-गरम बहस नै हुन्छन् । भनिरहनु नपर्ला आख्यान छपाउनेहरू यस मान्यताको पक्षमा हुन्छन् त ‘आर्टिकल’ वाला(वाली)हरू यसको पूर्ण विरोधमा । एकाथरी यसको पारम्परिक मान्यतामा एक अङ्गुल तलमाथि नगरी यसलाई अक्षरस पालन गर्नेमा विश्वास राख्छन त अर्का थरी यस चाड प्रति यसरी खनिन्छन्, मानौं यही एउटा चाड मनाउन छाड्यो भने नारीहरूको भरपूर उत्थान हुन्छ र देशले विकासको लामो फड्को नै मार्छ ।

गलत !, मलाई लाग्छ दुबै गलत छन् । त्यसो त शरीरले धानेको अवस्थामा वर्ष दिनमा एक दिन भोकै बस्दा कुनै बज्रपात नै हुने होइन, तर मेरो मान्यता पनि शरीर राखेर धर्म गर्नेमा नै छ । जहाँ धर्म स्व:स्फुर्त होस र जसमा कुनै पनि किसिमको नैतिक वा वैचारिक दबाबको लेस मात्रै पनि नरहोस् । मूलतः: संस्कृत शब्द ‘धर्म’ को अर्थ र बोध पनि त्यही नै हो। धर्म अर्थात मूल गुण वा basic character।

संसारमा कुनै पनि पदार्थ वा चेतनाको मौलिक गुण हुन्छ । मानव शरीर झन् त्यसमाथि पनि पदार्थ र चेतनाको अनुपम जोड भएकोले यसको आफ्नै विशेष गुण (धर्म) छ । अनि धर्मको विषयमा वाद-विवाद र झगडा त्यही बेला मात्रै हुन्छ जहाँ एउटा पक्ष सम्पूर्ण मानव शरीरलाई केवल चेतना मात्रै रहेको अपव्याख्या त अर्को पक्ष यो केवल भौतिक पदार्थ मात्रै भएको कु-व्याख्यामा लाग्छ । शंकराचार्यको मत समाते पनि र ‘ब्रह्म सत्य, जगत मिथ्या’ भन्ने सुगा रटान जत्ति रटेपनि मानव चेतनाको अभिव्यक्ति भौतिक चेतनकै ऊर्जाबाट मात्रै सम्भव छ भने अर्को तर्फ चेतनाको अस्वीकार गर्ने मानिसलाई पनि त्यही ‘चेतना छैन’ भन्न पनि चेतनाकै साथ चाहिन्छ । किनकी विना चेतनाको शरीरलाई आम भाषामा ‘लास’ भनिन्छ र लासले बोल्दैन।

समष्टिमा मलाई लाग्छ धर्मले हामीलाई भ्रमित गर्दैन हामी नै उल्टो गलत कृत्यलाई धर्म बताउन उत्तेजित हुन्छौ र अर्कोतर्फ संस्कृतिमाथि प्रहार गर्दैमा विद्वान् भइन्छ भन्ने धारणा पनि त्यत्ति नै गलत हुन्छ जत्ति चेतनाको अस्तित्व मान्न भौतिक शरीरलाई नै मित्थ्या मान्ने सोच ।

मलाई लाग्दैन, समयले यो कोल्टे फेर्दाको अवस्थामा समाजमा कुनै पुरूषले आफ्नी अर्धाङ्गिनीलाई बलजफत ब्रत, निराहार बस्न दबाब दिन्छ। त्यसैले खाँटी नारीवादी बन्ने होडमा यो मौलिक र गुह्य परम्परामा अन्ध प्रहार गर्नुको कुनै तुक छैन् । अर्कोतर्फ माथि लेखेजस्तै धर्म कुनै शरीर विरोधी वा ‘स्वहिंसा’ को साधन पनि होइन, त्यसैले ब्रत बस्नु सहि हो भने शरीरले धान्न नसक्ने हुँदा खानु पनि धर्म नै हो ।

हाम्रा पारम्परीक संस्कार, चाड र पर्वका भौतिक, आध्यात्मिक, लाक्षणिक, साङ्केतिक आदि धेरै तलहरू छन् । जसको ठाडो विरोध गर्नु भनेको पाँच कक्षाको किताब पढेर कालिदासको कविताको व्याख्या गर्नु जस्तै मात्रै हुन्छ। त्यस्तै प्राचिन मान्यतालाई परिस्थितिसँग मिलान र परिमार्जन नगरी हरेक कुरालाई पुरानो युगकै शैलीमा पच्छ्याउनु पनि समयानुकूल हुँदैन् त्यसैले सम्यक धर्मको पालना गरी शरीर राखेर धर्म गर्नु नै सहि हुन्छ ।

माथि नै लेखिसकेँ अहिलेको समाजमा कुनै पनि पुरूषले आफ्नी श्रीमतीलाई ढल्ने गरी भोकै बस्न भन्दैनन् ....(कमसेकम मैले भने भन्दिनWinking smile)। तर वर्ष दिनमा कुनै प्रेयसीले आफ्नो प्रेमीको लागि स्वेच्छाले एक दिनको आहार त्याग्छिन् भने म त्यसलाई खराब पनि मान्दिन ।

मलाई थाहा छ, मेरी श्रीमती एकदिन भोकै बसेर मेरो आयु वृद्धि हुँदैन् । तर मलाई यो पनि थाहा छ कि उनको त्यो कृत्यका कारण मेरो उनी प्रतिको प्रेम र स्नेह भने पक्कै पनि बढ्छ । त्यसैले म शरीर धर्मको मर्ममा रहेर मानिने हरेक संस्कारको पक्षमा हुन्छु र चेतनाकै विरोधमा चेतनाको प्रयोग गरेर बोलीने हरेक बोलीको विपक्षमा । किनकि धर्मको पालन गर्न शरीर नभइ हुँदैन भने मुर्दाले नै आएर नभनेसम्म म चेतनाको अस्तित्व अस्विकार्न पनि राजी छैन् ।

अन्तमा सम्पूर्ण दिदी बहिनीहरूमा तीजको हार्दिक शुभकामना !

9 comments:

  1. Dilip dai kati ramro lekhnu bhayeko. Ma harek word sanga sahamat bhaye. Sabai manis le yesari nai sochidiye kasto pabitra hune thiyo yo ramailo chad.

    Malai chai personally Teej bhaneko mahila haru ko freedom of expression ko day ho jaha dukha bhulai, nakhai afnai sarir lai pani challenge garidiyera freedom ko songs ma majjale nachne din ho jasto lagcha.

    I am so happy that you wrote this.

    ReplyDelete
  2. नारीवादीहरु एउटा कुरा उचालेर बम्किन्छन्, अनि समर्थन गर्नेहरु अर्को कुरा उचालेर चम्किन्छन् । मलाई चाँहि यो कुरा आफ्नो 'स्वतन्त्रता' मा पनि भर पर्ने कुरो जस्तो लाग्छ । मनलागे, व्रत बस्ने, मन नलागे नबस्ने, तर अरुलाई बस भन्ने, नबस भन्ने चाँहि राम्रो होइन । मलाई के विश्वास लाग्छ भने, हामीले मानिआएको कुनै पनि चाडपर्व र रितिस्थितिमा 'वैज्ञानिक' कारण छ । हामीले त्यसलाई बुझ्न नसकेका हौँ वा हामीलाई गलत रुपमा बुझाइएको मात्र हो । व्रत बस्ने कुरा आउँदा, महिना दिन अघि बिबिसीमा छापिएको रिसर्च रिपोर्ट याद आयो, त्यसमा व्रत बस्दा स्वास्थ्य राम्रो हुने र आयु बढ्ने (व्रत बस्नेको है :D ) कुरा उल्ळेख छ ।

    ReplyDelete
  3. सधैँझैँ चित्त बुझ्दो लेख दाजुको ।
    व्यक्तिगत रूपमा भन्नुपर्दा मलाई चाहिँ तिजको अर्को एउटा पाटो अलि अर्थहिन र आडम्बरी लाग्छ । चाड सुरू हुनुभन्दा १-२ महिना अगाडिबाटै एक अर्काकोमा गएर 'दर' खाने नाममा पैसा, स्वास्थ्य अनि पारिवारिक वातावरण नै खल्वल्याउने पाटो । अथवा यो चलन समय सापेक्ष नै हो, म आफै बुझ्न पछि परेको मात्र पो हुँ कि?

    ReplyDelete
  4. कुरो ठिकै हो ...... ‘ब्रह्म सत्य, जगत मिथ्या’कहिले हुँ सक्दैन ||

    ReplyDelete
  5. ओहो, दामी लेख पढ्न पाइयो । भर्खरै मात्र समाजशास्त्री इमाइल दुर्खिम र कार्ल माक्र्सको धर्म र संस्कृतिबारे पढेको थिएँ । यहाँ चाहि अनलाइन भर्सनमा सन्तुलित विचार पढ्न पाइयो ।

    ReplyDelete
  6. Rajesh Ghimire20/9/12 4:05 PM

    हाम्रा पारम्परीक संस्कार, चाड र पर्वका भौतिक, आध्यात्मिक, लाक्षणिक, साङ्केतिक आदि धेरै तलहरू* छन् ।
    *लतहरू ho ki??

    ReplyDelete
  7. @ Bibek and Sweta,

    Thank you for your encouraging comments!

    @ Aakar,

    थप जानकारीको लागि धन्यवाद् ।

    @ Ashesh,

    यो 'दर' को नाममा महिनौँ अगाडि देखि चलने तड-भडक समय सापेक्ष हैन, आडम्बरी ढोंग जस्तो लाग्छ मलाई पनि ।

    @ Paresh

    धन्यवाद् :)

    @ Rajesh
    'लत' हैन, 'तल' नै लेखेको हो । तल याने layers को मानेमा ।

    ReplyDelete
  8. I appreciate your Blog Sir!!!!

    ReplyDelete