09 October, 2012

डेरा खोज्दाको डायरी !

घरमा हुँदा डेरा चहिएन ( घरमै बस्दा त कसलाई चहिन्छ र ?), पढ्ने बेलमा विदेशीदाँ पनि होस्टेलमा बसियो त्यसैले डेरा भनेको के हो भन्ने कहिल्यै अनुभव भएन । पढाइ सकेर फर्केपछि एक फेरा प्राइवेट अफिसको जागिरे भएर जिल्ला जानु पर्‍यो । जागिर ‘राम्रै’ लागेर खाईयो तर खटिएर नेपालगन्ज पुगिएपछि भने बढो आपत आइलाग्यो । मतलब त्यहाँ तुरुन्तै डेरा खोजेर बस्ने जोहो गर्नु थियो । १-२ दिन धम्बोजी तिरको होटेलमा बसेर बिताइयो तर सधैं होटेलमा बस्ने हो भने त ‘राम्रो’ जागिरको तलबबाट नपुग्ने मात्रै हैन्, घरबाट पैसो लेराएर तिर्नु पर्ने देखिएपछि सुरू गरें डेरा खोज्ने अभियान ।

कुरो करिब १२-१३ वर्ष जत्ती अगाडिको हो । एउटा प्राइभेट अफिसको ‘रिजनल मेनेजर’ भएर नेपालगन्ज पुगेको थिएँ तिन ताका । अफिसले २-३ दिन भन्दा बढीको होटेल खर्च न व्यहोर्ने भए पनि “आ ! खोजेपछि पाइ हालिन्छ नि” भनेर सुरूका २-३ दिन त होटेलमै आराम फर्माएरै बिताईएको थियो । तिथि मिति ठ्या्कै याद नभए पनि गन्तिका आधारमा यस्ता रहेका थिए ती दिनहरु:

पहिलो दिन

टिपीकल नेपाली बानी अनुसार अफिसले होटेल खर्च नव्यहोर्ने दिन सुरू भएपछि मात्रै पूर्ण आत्म विश्वासका साथ होटेलमा नास्ता गरेर निक्लिएँ डेरा खोज्न। २५-२६ वर्षको उमेरसम्म बरू आफ्नै घरमा अरूलाई डेरामा राखिए पनि आफू भने कहिल्यै डेरामा न बसेकोले सुरूमा त कुन घरमा जाने, कोसँग के भनेर कुरा सुरु गर्नेमा नै अलमल पर्‍यो । त्यसमाथि झन् अफिसको ‘टाइट’ बजेटमा धेरै कोठा भएको राम्रो पायक पर्ने स्थानमा विविध सुविधा भएको घर खोज्न निस्केको थिएँ म ।

जेठ महिनाको घाममा २-३ घरमा पुगेर ‘डिल’ नमिले पछि एकछिन त आत्तिएँ पनि । आफूले ‘कोठा खाली होला?’ भन्न नपाउँदै ‘को बस्ने?’, ‘कति जना बस्ने’, ‘कति समय बस्ने?’, ‘के काम गर्ने ‘ जस्ता अँग्रेजीका जम्मै wh question को जबाफ पो दिनुपर्ने रहेछ ! । ४-५ वटा घरको डिल नमिलेर मध्यान्नको राँके-घामले लफक्क भिजेपछि ‘जा, जे पर्ला पर्ला...अब होटेल नै फर्कन्छु’ भनेर फर्किएँ ।

दोस्रो दिन

अघिल्लो दिन कोठा नपाए पनि एउटा अनुभव भने पाई सकेको थिएँ । बिहानै उठेर तिनले सोध्न सक्ने सम्भावित प्रश्नहरुको प्रश्नावली बनाएँ र तिनका धाँसू जबाफ पनि तयार गरेँ । फेरि पनि चिया नास्ता दाबियो र मैदानमा निक्लियो – धम्बोजी, खजुरारोड, सुर्खेत रोड, बिरेन्द चोक, त्रिभूवन-चोक, बी.पी. चोक सब घुमीयो । तर कुरो कतै मिलेन । समस्या के भयो भने, हिजोँ सिकेका र आज घोकेका wh question आज कुनै आएनन् । आजका घरबेटीहरूले फेरि ‘अफिसको लागि कि घरको लागि?’, ‘कति सम्म भाडा तिर्ने?’, ‘यता चिनेको कोही छन्?’, ‘कति महिनाको एडभान्स दिने?’ जस्ता तयारी नगरिएका नयाँ प्रश्नहरू सोध्न थाले ।

‘गेश पेपर’ कहीँ न पाइने र कुनै निश्चित मोडेल पनि नहुने हुनाले घरबेटीले जे नि सोध्न पाउँछन र कुनै पनि सामन्यज्ञानका किताबमा नहुने प्रश्नको जवाफ दिन ‘रेडि’ भएपछी मात्रै घर खोज्न निस्कनु पर्ने रहेछ भन्ने भने दोस्रो दिनले सिकायो । दुई दिन जेठ महिनाको नेपालगन्जको घाममा रापिएपछि कुनै पनि प्रश्नको सिधा सिधा जवाफ हैन्, दोधारे, अस्पष्ट र काइते जवाफ दिनु पर्ने रहेछ भन्ने गुह्य ज्ञान भने प्राप्त भइ सकेको थियो ।

तेस्रो दिन

दुई दिनको अनुभवले केही हौसला थपे पनि फेरि दुई दिनकै असफलताले पनि केही निराश पनि बनाएको थियो । त्यसैले तेस्रो दिन wh question, Hypothetical question वा Choice Question जे आउँछ त्यसको कुनै पनि हालतमा सिधा जवाफ नदिने विचार बनाएर घाममा निस्केँ ।

जे होस, तयारी अलिक गतिलो भएकोले यसपाला वार्ता अलिक लामो हुन थाल्यो । करिब करिब डिल होला होला जस्तो पनि भयो २-३ ठाउँमा । कतै ‘साँझमा खवर गर्छौ’, कतै ‘सल्लाह गरेर भन्छौ’ त कतै ‘भोलि एक पटक आउनुस न’ भन्ने सम्मको जबाफ आयो ।

मुस्किल के हुने रहेछ भने, व्यक्ति पिच्छेको फरक धारणाका कारण कसैलाई के मन पर्ने र कसैलाई के मन नपर्ने हुँदो रहेछ । कोही ‘एक्लै बस्छु’ भन्दा ‘एक्लै बस्ने मानिस लापरवाह हुन्छ’ भन्ने सोच राख्ने त कसैलाई भने ‘२-३ जना बस्छौँ’ भन्दा ‘मानिस धेरै भए फोहर, हल्ला र समस्या पनि धेरै हुन्छ’ भन्ने लाग्ने रहेछ । त्यस्तै कोही अफिसलाई नदिने त कोही अफिसलाई मात्रै दिने, कोही एकलोलाई नदिने त कोही विवाहित लाई मात्रै दिने ।

वैयक्तिक वैचारिक भिन्नता जे जस्तो भएपनि तीन दिनमा निक्कै एक्सपेरियन्स भइ सकेको थियो । २-३ ठाउँमा त भोलिपल्टको लागि ‘रि-भिजिट’ पनि थियो, त्यसैले तेस्रो दिन भने आरामले सुतियो ।

चौथो दिन

एका तिर होटेल खर्च अफिसमा हाल्न नमिल्ने दिन सुरू भइसकेको थियो भने अर्को तिर तुरुन्तै कोठा लिएर घर पनि फर्कनु थियो ।

‘रि-भिजिट’ गरिनु पर्ने मध्यको पहिलो घरमा बिहानै पुगीयो । अनौपचारिक अन्तर्वार्ता सुरू भयो । एकजना चालिस वर्ष जत्तिका लोग्ने, ३०-३२ कि श्रीमती र ७-८ वर्षकी सानी छोरी थिए त्यो घरमा । खै के भयो कुनि आफ्नो अनुहार ‘सरिफ’ परेकोले होला, त्यो परिवारको सिधै बैठक कोठामा बोलाईयो । माथिको तल्लामा उनिहरू बस्ने र तल्लो तल्लाको फ्लयाट भने भाडामा दिने निधो गरेका रहेछन् बुढा बुढीले ।

‘कति समय बस्नुहुन्छ यहाँ ?’ ती घरमुलीले सोधे ।

‘अँ...बसिन्छ नि ‘जा’ नभनेसम्म…’ मैले मध्यम मार्ग रोजेँ (कसैलाई धेरै समय बस्ने मन नपर्ने र कसैलाई थोरै समय बस्ने मन नपर्ने भएकोले यो भन्दा राम्रो जबाफ फुरेन त्यति बेला ।

‘अनि... बस्न कि अफिसको लगि फ्लयाट?’
‘एउटामा बस्ने... दुइटामा अफिस..’ रेडिमेड उत्तर दिएँ मैले ।

अरू पनि धेरै कुरा भए... आफूलाई अलिक मन परेको घर भएकोले झीँझो नमानी जबाफ पनि दिईरहेँ ।

‘अनि बिहे त भैसक्यो होला नि ...?”

अन्तिम प्रश्न बढो गम्भीर आयो । आफ्नो बिहे हुनु त कता हो कता केटी पनि हेरेको थिएन। फेरि ‘भयो’ भन्दा राम्रो हुने हो कि ‘छैन’ भन्दा नम्बर बढी आउने हो भन्नेको पनि भेउ पाउन सकिएन ।

‘अँ....भैसक्यो ...!” धेरै बेर उत्तर नदीँदा समस्या होला भन्ने ठानेर ठाडै ढाँटे मैले ।

“...ल त ल भोलि देखि सर्नुस न त यतै....” घरबेटिले भने । जे होस ४-५ दिनको मेहनत सफल भएकोमा मनमनै खुशी हुँदै थिएँ… “....हेर्नुस न म सधैं बाहिर निस्कनु पर्छ ...घरमा उनी एक्लै हुन्छिन् ....त्यसैले परिवार भएको मान्छे खोजेको मैले ...” ।

घरबेटीको अन्तिम वाक्यले चस्का हान्यो । घर नपाएर हैरान भए बेलामा पहिला सर्दै गरौँ पछि जे होला देखा जाएगा भन्दै म कोठा सार्ने तयारीमा लागेँ ……क्रमश:

बाँकी यता >>>

6 comments:

  1. अहिले सम्म कम्तिमा १० वटा डेरा सरियो होला जिन्दगिमा। धन्न तपाईं जागिरे भएर अली सजिलो भयो होला। आफ्नो हालत त तेही नी थेन।

    ReplyDelete
  2. कोठा खोज्नु अनि कोठा सर्नु जस्तो झन्झटिलो काम अरु छैन होला भन्ने महशुस हुन्छ । आशा गर्छु, घरवेटिले पछि 'अविवाहित' थाहा पाएर निकालेनन् होला । :P

    ReplyDelete
  3. अस्ती धरमा कुरा हुदा रमाइलो जोक भएको थियो, हझ यो पोष्ट पढे पछी अनुभबहरू कहीलेकाही अाफै हुने रहीछन भन्ने लाग्यो, हुन त केहीदिन अधि सम्म मेरो हालत यही पहिलो? दोस्रो र तेस्रो दिन जस्तै भएको थियो,

    ReplyDelete
  4. पछि के भयो होला भन्ने ठुलो खुल्दुली भयो ।

    ReplyDelete
  5. गजप ! हामी सुकुम्बासीको साझा समस्या ! :D

    ReplyDelete