29 April, 2013

के तपाईको उमेर ढल्किदैं छ ?

मानिस प्रौढ हुँदै गएको वा कसैको उमेर ढल्कँदै गएको कसरी थाहा पाउने? । हुनसक्छ तपाइलाई यो प्रश्न बेतुक लाग्न सक्छ । उमेर ढल्कँदै गएको वा बुढा-बुढी हुँदै गएको कुरा अनुहारमा देखिने चाउरी, फुलेको कपाल, कमजोर आँखा, फुस्केको दाँतले इङ्गित गर्छ भन्ने तपाई सोच्दै हुनुहुन्छ भने त्यो गलत हुनसक्छ । भनिन्छ नि, तन बूढो भएपनि मन कहिल्यै बूढो हुँदैन....त्यसैले शरीरमा आएका परिवर्तनका कुराहरू शरीरी स्वयंलाई भने कहिल्यै पत्ता हुँदैन । हो .... त्यसैले मानिसले आफू प्रौढ हुँदै गएको कुरा आफैलाई हेरेर भन्दा पनि अरूले आफूलाई कसरी हेर्छन् भन्नेबाट पहिला थाहा पाउँछन् रे ।

पत्याउनुहुन्न ? । अझ सिधै भन्ने हो भने तपाई प्रौढ हुनु भयो कि भएन भन्ने कसरी थाहा पाउने त ? । यो थाहा पाउने विभिन्न तरिकाहरू छन् । अझ तिनमा पनि चरण बद्ध भेदहरू छन् । नपत्याए हेर्नुस, कोही मानिसले आफ्नो उमेर ढल्कदैँ गएको कुरा कसरी अनुभूति वा वोध गर्छ त :

पहिलो चरण: उमेर ढल्कदै गएको कुराको पहिलो बोध यसरी हुनसक्छ:

  • धेरैपछि तपाईको पुरानो साथीसँग जम्काभेट हुन्छ, साथी तपाईको बारेमा हैन, सिधै तपाईको छोरा-छोरीको बारेमा सोध्न थाल्छ ।
  • तपाई कुनै अनलाईन आइडि बनाउँदै हुनुहुन्छ जन्म मितिको ठाउँमा आएपछि तपाईलाई धेरैबेर माउस स्क्रोल गर्नु पर्छ ।
  • छोराले तपाईलाई एउटा ल्यापटप किन्दिन भन्छ,...तपाई छोरालाई हाम्रा पालामा घराँ’ टाइप राइटर पनि थे’न भनेर हप्काउनु हुन्छ ।
  • तपाईलाई तपाईको मनपर्ने हिरोको नाम सोधिन्छ तपाईँ भुवन के.सी, शिव श्रेष्ठ, आमोल पालेकर र शत्रुहन सिन्हाको नाम लिन थाल्नुहुन्छ Party smile
  • तपाइको कपाल प्राकृतिक रूपमै कालो छ । तर तपाईका आफ्नै नातेदार समेत तपाईँलाई ‘हैन कुन चाहिँ कालो हाल्छौ हो कपालमा...?" भनेर सोध्छन् ।

दोस्रो चरण: माथिका लक्षणहरू देखिना (सुनिना) साथ तपाई सतर्क हुनु जरूरी छ, नत्र दोस्रो चरणमा यस्तो हुन सक्छ:

  • तपाई रेस्टुरेन्टमा गएर चिया मगाउनु हुन्छ, वेटरले तपाईलाई ‘चिनी हाल्ने कि नहाल्ने सर!? भनेर सोध्छ
  • तपाईका टोल छीमेकका युवापुस्ता तपाईलाई ‘दाइ’ हैन ‘अङ्कल’ भनेर बोलाउन थाल्छन् ।
  • तपाई सामान्य रुघा-खोकीको उपचारको लागि डक्टरकोमा जानुहुन्छ, डक्टर तपाईलाई “सुगर, यूरिक एसिड आदि त छैन नि...?” भनेर प्रतिप्रश्न गर्छन् ।
  • तपाईँ डट्टिएर कुनै भोजमा सरिक हुन जानुहुन्छ । खानाको लाइन बस्ने बेलामा पार्टि भेन्युको कुनै केटाले ‘साकाहारी चोखो खाना उता छ ....सर!’ भनेर देखाउँछ ।
  • तपाइ तत्काल हिट र हट रहेकी नायिका र मोडेलको पोस्टर किन्न पसलमा छिर्नुहुन्छ । पसले तपाइलाई ‘बा ! देउताको फोटो माथि तल्लामा छ ...” भनेर बताउँछ ।

तेस्रो चरण: दोस्रो चरणमा पनि होस खुलेन भने तेस्रो चरणमा यस्तो पनि हुनसक्छ :

  • धेरैपछि तपाइको साथीसँग भेट हुन्छ ... उ तपाइलाई २० वर्ष अगाडिको कुरो याद दिलाउन थाल्छ ।
  • तपाई कुनै काम परेर बैंकमा जानुहुन्छ.... बैंकका कर्मचारी तपाइलाई देख्ने बित्तिक्कै ‘पेन्सन लिने उता’ भनेर देखाउँछन्।
  • तपाईँ सार्वजनिक यातायातमा सबार हुनुहुन्छ । पैसा असुल्ने केटो तपाईलाई ‘बा ! तपाईँको भाडा !’ भनेर हात पसार्छ ।
  • तपाईँ सार्वजनिक यातायातमा सबार हुनुहुन्छ ...एकजना लक्का जवान तपाइलाई देखेर आफ्नो सिट छोड्छ ।
  • तपाई कुनै समारोहमा प्रवेश गर्नुहुन्छ । भर्खर ‘डिस्को धून’ चलिरहेको हलमा तुरुन्तै भजन बजाइन्छ ।
  • कुनै सामाजिक समारोहमा तपाई कुनै अपरिचित व्यक्ति सँग केही सोध्नुहुन्छ .....सो व्यक्ति तपाइले राम्रो कान सुन्नुहुन्न भन्ने अडकल गरेर ठूलो- ठूलो स्वरमा तपाइलाई जवाफ दिन्छ । Rolling on the floor laughing

जे होस् तपाइ माथिको कुनैपनि स्टेजमा हुनुहुन्छ भने पनि नआत्तिनुहोस्, किनकी प्रौढता मानवताको जुहार हो, बोलीमा वजन हुने र कृत्यमा आकर्षण हुने समय हो । त्यसै पनि अँग्रेजीमा भनिन्छ नि "You Can be as Young as You Think"  Laughing out loud 


नोट:यो ब्लगबाट Google Plus comments हटाएर ब्लगरको डिफल्ट कमेन्ट स्थापना गर्दा बिचमा पाठकहरूले गर्नु भएको कमेन्ट मेटिन गएकोले सोको स्क्रिनशट यहाँ राखिएको छ: (असुबिधाको लागि क्षमा चाहन्छू):-

K tapai ko

1 comment: