03 July, 2015

के भएको थियो ९० सालको भूकम्पमा ?

Nepal-temple-1934-BLOGयही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको लागि सबैभन्दा दु:खद घटना थियो ।

अनि ९० सालको भूकम्पमा के भएको थियो त ? , भूकम्प पछि तत्कालीन शासक-प्रशासक, सेना र प्रहरीको भूमिका के कस्तो रहेको थियो त ? । भूकम्पको क्षति र त्यसपछिको जीर्णदारको कामको कस्तो योजना भनेको थियो त ? । कौतूहल हुनु स्वाभाविक हो ।

यसै प्रसङ्गमा केही समय अगाडि आफ्नै दिदीको घरमा एउटा हस्त लिखित पुरानो लेखोट भेटियो । त्यो कुनै किताबको अंश, कुनै पत्रिकामा छापिएको खबर वा कसैले सङ्ग्रह गरेको सूचना जे पनि हुनसक्छ । लेखोट धेरै पुरानो भएको र कति ठाउँमा अक्षर पनि बुझ्न मुस्किल भएकोले सो कुराको निर्क्योल गर्न सकिएन । तर ठूलो भूकम्पपछि आउने परकम्पहरू ‘सामान्य’ भएको कुरा सो लेखौटबाट पनि थाहा हुन्छ। त्यति बेला नेपाली सेना र प्रहरीले बहादुरी र इमानदारीका साथ गरेको सराहनीय कामको वर्णनले नेपाली सेना र प्रहरी ऐतिहासिक कालदेखि नै नेपाली जनताका दु:ख सुखका साथी रहेको गौरवशाली इतिहासको पनि ज्ञात हुन्छ । अत: सबैको जानकारीमा आओस् भनेर सो लिखतलाई यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । :

वि. स. १९९० साल माघ २ गते नेपालमा महा भूकम्प गयो । त्यसमा १९९० माघ २ गते सोमवारे औँसीका दिन, दिनको ४ बजे सात ग्रह एकै राशीमा पर्ने हुनाले सो दिन केही अनिष्ट छ भनेर धेरै मानिसहरूले पहिल्यै देखि सङ्का गरीरहेकै थिए । तर यसै हुन्छ भनेर कसैले भन्न सकेका थिएनन् । त्यस बखत श्री ५ महाराजाधिराज त्रिभुवनको सवारी नागार्जुन बङ्गलामा भइरहेको थियो । श्री ३ जुध्द शमशेर सिकारको सिलसिलामा नयाँ मुलुक स्थित महाकालीको जङ्गलमा गएका हुँदा रुद्र शमशेरले प्राईम मिनिस्टरको कायममुकायम चलाई रहेका थिए । श्री ३ जुद्धको साथमा बबर शमशेर, केशर शमशेर, सिंह शमशेर र २ पल्टन सिपाही गएका थिए । भैरव दल र सूर्य दल पल्टन लमजुङगको नापी गर्ने कार्यमा खटिएर ताहीँ गएका थिए । हिउँद महिना हुँदा साबिक बमोजिम अमलेखगञ्ज तर्फको बाटो काजमा २ पल्टन सिपाही खटिएर गएका थिए । पूर्व १ न. देखि इलामसम्म र पश्चिम ४ नं मा पनि जर्नेल, कर्णेलहरू दौडाहाका लागि गइरहेका हुँदा उनीहरूको साथमा पनि धेरै पल्टनियाँहरू खटिएर गएका थिए । बाँकी रहेका पल्टनहरू टुँडिखेलमा कवायतको लागि जम्मा भएका थिए । साथै अड्डा अदालतका कर्मचारीहरू अड्डा अदालतमा काम गरिरहेका थिए ।

माघ २ गतेका दिन पहिले जमिनभित्र केही बेर गुडगुडे आवाज आयो र त्यसको साथसाथै २ बजेर पन्ध्र मिनेट जाँदा मध्यदिनमा ३ मिनेटसम्म महा भूकम्प भयो । सो भूकम्प पहिले पूर्व-पश्चिम भएर चक्कर खाएको थियो । त्यसले गर्दा खुला मैदानमा उभिई रहेका मानिसहरू पनि खडा हुन नसकेर लडेका थिए । सो भूकम्पले गर्दा घर, देवालय, इमारत आदि ढलेर पताल भए । ठाउँ ठाउँमा जमिन फाटेर कतैबाट पानी कतैबाट बालुवा र कतैबाट गोल-खरानीहरू निस्केका थिए । वृक्षहरू ठूलो बतास आएको बखतमा जस्तै गरेर जोडले हल्लिएको हुँदा साना साना बोटहरूको टुप्पाले जमिनै छोएको थियो । घरहरू लडेको धूलोले गरेर १-२ हात अगाडिको मानिसहरू पनि नदेखिने भएका थिए । पोखरी तथा नदी नालाका पानीहरू छताछुल्ल भएर छाल उठे कालोनीलो भएर बाढी चलेको थियो । डाँडा-काँडा पहाड पर्वतहरू धेरै नै पहिरो गएको थियो । यसमा पूर्व धनकुटामा मात्रै एक ठाउँमा साढे ४ कोष र अर्क ठाउँमा अडाई कोष जति पहिरो गएको थियो ।

यो २ गतेको ठूलो भूकम्प पछि सात गतेसम्म अरू साना २८ भूकम्पहरू भएका थिए । १-२ महिना पछिसम्म पनि सान साना भूकम्प हुँदै थिए । पूर्व ४ नं को उत्तर खण्डबाट ६-७ गतेसम्म ठूलो सानो डरलाग्दो आवाज आई रहने गरेको थियो । माघ २ गतका दिन ७ मिनेटसम्म कम्प भइ नै रहेको थियो ।

यो भूकम्प हुनाको कारण वैज्ञानिकहरू जमिनको बनावटको लागि प्राकृतिक किसिमले गएको हो भन्दथे र नेपालीहरू सप्त ग्रहको योगले उत्पात भएको भन्दथे । पूर्वतर्फका धार्मिक विचार वाला नेपालीहरूले भने सोही साल हिमालयको उच्च शिखर सगरमाथामाथि हवाईजहाज लगेकाले यो उत्पात भएको हो भन्दथे ,

यो भूकम्पले नेपाल राज्यको काठमाण्डौ उपत्यका र पूर्वतर्फ धेरै नोक्सानी र पश्चिमतर्फ भने कमै नोक्सानी भएको थियो । यसमा घर-पाटीपौवा देवालय गरेर जम्मा २ लाख ७ हजार ७ सय चालीस घरबास भत्केका थिए । ८५२० मानिस मरेका थिए र लाखौँ मानिस घाइते भएका थिए र हजारौं गाई-भैँसी जीवजन्तुहरू पनि घरबास भत्केर मरेका थिए ।

बाटो पुलहरू र टेलिफोनका तारका लट्ठा-लाइनहरू बिग्रेकाले यातायात सञ्चार सबै बन्द भएका थिए । बिजुली र खानेपानीको पनि ठूलो सङ्कष्ट परेको थियो । फेरि घरबारहरू भत्केर विहीन हुनुको साथ भत्केको घरबारले सारा अन्न अनाज लत्ता कपडा आदि पुरिएर माटोमा मिलेकोले बाँचेकाहरूलाई खान-बस्न ठूलो सङ्कष्ट परेको थियो । धारा कुवा इनारहरू पुरिएका हुँदा पानी खान दुर्लभ भएको थियो त्यसमा पनि आफ्ना परिवार नातागोताहरू सबैका मरेकाले लासहरूको खोजी गरेर संस्कार गर्न परेको थियो । फेरि साराका सारा घाइते हुँदा ती घाइतेहरूको संरक्षण पनि गर्नु परेको थियो । घाइतेहरूलाई राख्ने बस्ने ठाउँ पनि थिएन , तसर्थ सबै जसो मानिसहरू खुला बारी खेत टुँडिखेल छाउनीहरूमा बस्न गएका थिए । ७ दिन पछि सम्म काठमाण्डौ मखन टोलमा पुरिएका २ जन मानिस जीवितै झिकिएका थिए । त्यस बखत सैनिकहरूले पुरिएका, जीवित र मरेका मानिसहरू झिक्ने काम समेत सारा उपकार कार्यहरू गरेका हुँदा सैनिकहरूबाट सो आपतको टाइममा ज्यादै ठूलो सराहनीय मद्दत मिलेको थियो । त्यस बखत धेरैको मनमा धर्मको चेष्टा भएकोले सबैले सबैलाई खान-लाउन बस्ने आदि कार्यमा आफू-आफूले सकेसम्मको सहायता पनि दिने गरेका थिए ।

यस भूकम्पबाट त्यस बखतको नेपालको अरबौं रुपैयाँको क्षति भएको थियो । काठमाण्डौको तलेजु मन्दिर, बसन्तपुरको ९ तले दरबार, पाटनको च्यासीं देवल भादगाउँको ५५ झ्याले दरबार र भक्तपुरको पुरानो दरबार कृष्ण मन्दिरहरू कोहीमात्र नोक्सान भएका थिए । श्री पशुपतिनाथको मन्दिर, पाटनको कृष्ण मन्दिर र भक्तपुरको ५ तले देवल साथै टुँडिखेलको महाकालको मन्दिर भने अलिकतिसम्म पनि नोक्सान भएको थिएन । स्वयम्भूको र बौद्धको मन्दिरहरू केही मात्रामा नोक्सान भएको थियो ।पाटन तलेजु मन्दिर, देगुन तलेको मन्दिर महाबौध्द मन्दिर विश्वेश्वर महादेवको मन्दिर (भाइ देवल), कुम्भेश्वरको देवल, मछेन्द्रनाथको देवल, भक्तपुरको भैरवको मन्दिर, महा विष्णुको मन्दिर, विष्णुको मन्दिर, शिव मन्दिर, वाराही मन्दिर, काठमाण्डौ देगुनतल अगाडिको राजा प्रताप मल्लको सालिक, मखनको जगन्नाथको मन्दिर, पशुपतिको मन्दिर, नुवाकोटको भैरव-भैरवीको, बुढी देवीको मन्दिर, चिसापानीको बटुक भैरवको मन्दिरहरू पाताल नै भएका थिए । कालभैरवको मूर्ति पनि केही बिग्रेको थियो । जनकपुरको जानकीको मन्दिर केही भएको थिएन तर जनकपुरका अरू सबै मन्दिरहरू पाताल भएका थिए । पूर्व ३ नं नाम्चे बजारको ठूलो गुम्बा पाताल भएकोले तहाँ रहेका पुराना किताबहरू धेरै नाश भएका थिए । धरहरा, घण्टाघर र अरू दरबार, पुल धर्मशाला, देवालयहरू भत्केर काम नलाग्ने भएका थिए । तर ३०० फिट अग्लो ठाउँमा रहेको कीर्तिपुर सहर भने नोक्सान भएको थिएन ।

उपत्यकाको खाद्यान्न अभाव पूर्ति गर्न सरकार र साहू-महाजन समेतले रंगुनबाट चामल झिकाई बिक्री गरेका थिए । त्यसले गर्दा यथेष्ट मात्रामा जनताले मोरू १ को २ पाथी चामल किन्न पाएका थिए । त्यसपछि चोरीको बचावट गर्न ठाउँ ठाउँमा सिपाही चौकीहरू राखिएको थियो र महिनौ दिनसम्म बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म मानिसहरू हिँड्न नपाउने गरेर बन्देज गराइएको थियो । फेरि घाइतेहरूको उपचारको लागि पनि सकभरको प्रयास गरिएको थियो ।

भूकम्पको खबर माघ ६ गते श्री ३ जुद्ध शमशेर कहाँ पुगेको हुँदा माघ ९ गते काली तट ढकना बाघमा उनले १००० गाईहरू दान गरेर सो धर्मको फल भूकम्पबाट मरेकाहरूको उद्धारको लागि भनी छाडी दिएका थिए ।

श्री ३ जुद्ध शमशेर माघ २२ गते काठमाण्डौ उत्रिएका थिए र सोही दिन जङ्गी, निजामती र प्रजाहरूलाई टुँडिखेलमा भेला गरेर दैवी प्रकोपबाट पर्न आएको दुःखमा समवेदनाहरू देखाएर लेक्चरहरू दिएर सबैलाई सान्त्वना र आश्वासन दिन प्रयत्न गरेका थिए ।

फाल्गुण १८ गते भूकम्प पीडितहरूको उद्धार फण्ड खोलिएको थियो । त्यसमा ११ लाख श्‍वदेसबाट २५ हजार भारतबाट र २०० बेलायतबाट चन्दा जम्मा भएको थियो । सो रकमबाट पहाड तराईतर्फ डोर खटाई पठाएर ठाउँ र गर्ज हेरी घरबास बनाउन न सक्नेहरूलाई ५ रू देखि २०० सम्मका दरले सहायता स्वरूप बाँडिएको थियो र सैनिकका जबानहरूले सो आपतको समयमा आफ्नो घर परिवार नभनी कार्य गरेकोमा प्रोत्साहन दिन १ लाख बकसको रूपमा उनीहरूलाई वितरण गरिएको थियो । त्यसपछि ५० लाख रुपैयाँ सरकार तर्फबाट ४ वर्षलाई निर्ब्याजी सापटी गरेर घरबास बनाउन न सक्नेहरूलाई भनी वितरण गरिएको थियो । त्यसमा राणा परिवारहरूले नै धेरै सापटी लिएका थिए । सरकारका तरफबाट ३ लाखको जस्ता झिकाएर सुपथ मूल्यमा विक्री गरिएको थियो । साथै घरबास बनाउन चाहिने काठहरू कटानी गर्न सबै जङ्गलहरू खुलाई दिइएको थियो । त्यसपछि वि. सं १९८४ साल सम्मको करिब ८५ लाख बाँकी बक्यौताहरू पनि असुलउपर गर्न नपर्ने गरेर माफी गरिएको थियो । साथै डेढ लाखको पूँजीबाट नेपाल ट्रेडिङ कम्पनी पनि खुलेको थियो ।

3 comments:

  1. पुरै ईतिहासै रहेछ यहाँ त। जगबले जानकारी दिनु भयो सर। सरकारी पक्षले सके सम्म क्रियाशिल भएर सहयोग गरेको देखियो । हामीले यत्रो बर्ष सम्म पनि पाठ सिक्न नसकेकै हो। यत्रा बर्ष सम्म फेरि यसो होला भनेर कुनै तयारी र योजना बनाउन सकेनौ।

    ReplyDelete
    Replies
    1. जे होस्, त्यति बेलाका शासकहरूले गर्न सकेजत्ति गरेका रै'छन् । बर्माबाट समेत चामल मगाएको र चोरी र सामाजिक सुरक्षाका लागि अपनाइएका विधिहरू तारिफ योग्य लाग्यो मलाई पनि ।

      Delete
  2. पहिलेको लेखोटहरु पढ्दा अहिले आत्मविश्वास बढेको जस्तो लाग्ने रहेछ । पहिले यस्तो उस्तो भएको थियो भनेर । :)

    ReplyDelete