Showing posts with label कथा-लघुकथा. Show all posts
Showing posts with label कथा-लघुकथा. Show all posts

24 May, 2023

जालो (लघुकथा)

एकादेशको एउटा गाउँमा समयको कुनै अन्तरालमा एउटा जघन्य अपराध घट्यो। गाउँको बिचमै दिउँसै कैयँन व्यक्तिको निर्मम हत्या भएको थियो। धेरैजनाको ज्यान गए पनि र निकैको सङ्ख्यामा घाइतेहरू भए पनि त्यत्रो ठुलो घटना विस्तारै सामसुम हुँदै थियो। कसले, किन र केका लागि निर्दोष व्यक्तिहरूको हत्या गर्‍यो भन्ने कुरा रहस्यको गर्भमै रह्यो।

समयको अन्तरालमा केही साहसी व्यक्तिहरू देखा परे, तिनले त्यो नृशंस काण्डको मुख्य दोषीहरुको विपक्षमा कारबाही गर्ने प्रण लिए। केही घाइतेहरू पनि तत्कालको घटनाको बारेमा बोल्न र प्रमाण दिन राजी भए।

19 August, 2022

दुई सुत्रकथा

१. ‘कमर्सियल’ बाबा

 
सहरमा एक जना प्रसिद्ध सन्त आएका थिए। “परमात्मा प्राप्ति नै जीवनको लक्ष हुनुपर्छ र पैसा भनेको केही पनि हैन” भन्ने नै उनको एक मात्र जीवन दर्शन थियो।

उनको आगमन अगाडि नै देशका नाम चलेका पत्रिकाहरूमा मुख्य पातामै ठुला-ठूला महँगा विज्ञापन छापियो। आयोजकले सहरकै एक महँगो होटेलमा उनको प्रवचनको आयोजना गरे। उनले प्रवचन दिने स्थलमा पानी जस्तै गरेर पैसा खर्च गरियो र स्टेजलाई फ्लिमी शैलीमा सिँगारियो। “पैसा केही पनि हैन” भन्ने विषयमा उनले दिने प्रवचन सुन्न हजार हजारको टिकट राखियो ।

01 December, 2012

पहिचान ! (लघुकथा)

उनको वर्षौको मेहनत सफल भए थियो । अपराध र आपराधिक कार्यमा संलग्न व्यक्तिहरूलाई पहिचान गर्ने यन्त्रको विकासमा उनले आफ्नो दशकौँको समय लगाएका थिए ।

लाई डिटेक्टरले पहिचान गर्न नसक्ने झूट र अपराधीलाई सजिलै पहिचान गर्ने उनको यो यन्त्रले विश्वकै अपराध नियन्त्रण र सामाजिक शान्तिमा ठूलो योगदान दिने निश्चित थियो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको अपराध र झूट पहिचान गर्ने पुराना यन्त्र भन्दा गुणात्मक रूपमा भिन्न यो यन्त्रको प्रयोग गर्दा, भौतिक रूपमै कुनै संदिग्ध व्यक्तिलाई छुवाउनु, जोड्नु वा देखाउनु समेत नपर्ने थियो ।

प्राचीन अध्यात्ममा हरेक मानिसमा आफ्नो चरित्रको आधारमा एउटा आभा मण्डल हुने र त्यसैले सो व्यक्तिको चरित्र अभिव्यक्त गर्ने मान्यता छ । उनले सोही आभा मण्डलको तरङ्गलाई मापन गर्ने यन्त्रको विकास गरेका थिए । यन्त्र चालु हुने बित्तिकै त्यसले त्यसको वृत्तमा आउने व्यक्तिको आभा-मण्डलको मापन गर्थ्यो र तुरुन्तै त्यसको विश्लेषण गरी त्यसको नतिजालाई पूर्व संचित ध्वनिको प्रयोग द्वारा ‘चोर’, ‘साधु’, ‘ठग’, ‘सज्जन’, ‘सामान्य’,‘फटाहा’ आदि भन्ने परिणाम दिन्थ्यो।

21 June, 2012

द्वैत चरित्र (लघुकथा)

Dual Characterहरमा अचानक एकजना दाताको निकै चर्चा-परिचर्चा हुन थालेको थियो । ती दाता दिल अनि मुठ्ठी दुबै खोलेर सामाजिक कार्यमा सहयोग गर्न तत्पर देखिन्थे ।

केही समय अगाडि तीनले एउटा क्यान्सर रोग विरुद्ध जागरूकता जगाउने र सो रोगको रोकथाममा क्रियाशिल एउटा संस्थालाई ठूलै धनराशि सहयोग गरेका थिए । त्यसको केही समय पश्चात् तीनले एउटा मुटु रोग सम्बन्धी अस्पताललाई पनि दिल खोलेर आर्थिक सहयोग गरे। धुमपान र मद्यपानका कारण बाबु आमाको अकाल मृत्युका कारण टुहुरा भएका बालबालिका प्रतिपनि तिनको विशेष दृष्टि र कारुणिक भावना देखिन्थ्यो ।

शहरवासी र विशेषगरी समाचार माध्यममा तिनको नाम खुबै छाउन थाले । तिनि छोटो समयमै दानवीर दाता, निःस्वार्थ समाज सेवी र सामाजिक आस्थाका प्रतीक बन्न थालेका थिए । राजनीति वा अन्य क्षेत्रमा कतै नदेखिने र कुनै सरकारी वा अर्ध सरकारी संस्था आदिसँग पनि सम्बद्ध नभएकाले समाज सेवी र दाता बाहकेका तीनको विस्तृत परिचय र निजी पहिचान भने खासै खुलेको थिएन ।

04 April, 2012

… नेपाल आयो (लघुकथा)

Boeing and Coffin

अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो ।

विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो।

त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो ।

पढाइ सक्केको ३ वर्षपछि बिहे गर्न भनेर फेरि आयो ।

करिब १० वर्षपछि बाबुको मृत्युको खबर पुगेपछि आयो ।

अर्को पन्ध्र वर्षमा आमाको अन्तिम अनुहार हेर्न आयो ।

सुनिन्थ्यो त्यसपछि उसलाई स्वदेशमै फर्कने रहर आयो ।

30 October, 2011

सन्त बहादुर पनि ड्याडी भएछ !

त्यसो त सन्त बहादुरको कान्छो छोरा समेत अहिले २० वर्ष नाघिसकेको छ र उसको सबैभन्दा जेठी छोरीको उमेर त चालीसको हाराहारीको छ । तर सन्त बहादुर ड्याडी भने भर्खरै भएको हो । कुरो बेमेल लागे पनि यथार्थ भने यस्तै छ ।

सन्त बहादुर करिव ३५-४० वर्ष अगाडि २-३ जना परिवार सहित राजधानी भित्रिएको थियो । उसको पुर्खौली घर कतै पश्चिमतिर थ्यो क्यार । बाबु-बाजेको जग्गा जमिन धेरै जना दाजुभाइमा बाँड्दा गरी खान नपुग्ने भएपछि जे भा’को जेथा उतै बेच बिखन गरेर उ नेपाल खाल्डो भित्रिएको थियो । पुरानो नेपाल खाल्डोमा पसेपछि धेरै समय भौँतारियो सन्ते

चिनजानका कोही नभएका अरू काममा आफ्नो बुता पनि नभएकोले त्यति बेला ४-५ जनाको ज्यान पाल्न उसलाई हम्मे हम्मे पर्थ्यो । दिनभर ज्याला-मजदुरी र अरूको खेत-बारी खन-जोत गरेर साँझमा बस्ने ठाउँमा फर्कँदा उसका छोराछोरोहरू “बा ! बा !!” भन्दै उसको पछि लाग्थे ।

समय बित्दै गयो, सन्तले २-४ जना पुगि सरेका लाई पनि चिन्यो, मेहनत-मजदुरी र इमानदारीले पनि पहिचान बनायो । रहँदै बस्दा टोल छिमेकको सम्पर्क र भनसुनबाट १-२ जना खाइलाग्दाहरूका ठाउँको जग्गा जमिन खनजोत गरेर जग्गाधनीलाई नि पुग्ने आफूलाई नि गर्जा टर्ने गरी खेती किसानीमै रमाउन सक्ने भयो सन्त । अर्काको जमिन जोत्दा उसलाई घरीघरी गाउँमा बेचेको आफ्नो जग्गाको पनि ख्याल आउँथ्यो र मन चसक्क काट्थ्यो तर बिहान बेलुकीको हातमुख जोर्ने समस्या टरेकोले पहिलाभन्दा सन्तोषी देखिन्थ्यो सन्त । फेरिएको समयमा उसका अरु १-२ सन्तान पनि बढेका थिए भने स्कूल जान थालेका उसका छोरा-छोरीहरू उसलाई ‘बुबा’ भनेर बोलाउन थालेका थिए ।

19 September, 2011

दुई सुत्रकथा !

जनता र नेता

Election in Nepal“यी नेताहरू सबै फटाहा हुन...” कुनै लाममा बसेका एकजना लक्का जवानले गफ निकाले ।

“हो त नि... कसैले केही गर्ने हैनन् ...सबै आफ्नो भूँडी भर्न मात्रै नेता भा’छन्” एकजना अधबैँसे उमेरकाले कुरो तन्काए ।

“एउटा- दुईटा मात्रै हैनन् ... के गर्ने जम्मै उही ड्याङका मुला छन्” अलि अगाडि रहेकी अर्की महिलाले पनि सहि थपिन ।

“के गर्नु... कली बलेको छ जाली फटाहा मात्रै नेता हुन्छन्” अर्का पाका उमेरका ले निचोड निकाले ।

06 August, 2011

विपरीतको आकर्षण (लघुकथा)

उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गर्थ्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नि  भेटेको बेलामा दुबै एक-अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैँसे उमेरका थिए र परिपक्व वा विचारवान् जस्तै देखिन्थे।

फरक यत्ति थियो कि, उनीहरूको जम्काभेट हुने बेलामा एकजना मन्दिरबाट फर्कि रहेका हुन्थे भने अर्को व्यक्ति चर्चतिर जान लागेका हुन्थे । हरेक दिन जम्काभेट हुँदा दुबै जना अर्को व्यक्ति प्रति विचित्र भावले दृष्टि गोचर गर्ने गर्थे ।

मन्दिरबाट फर्कने सज्जनलाई चर्चतर्फ जान लागेका व्यक्तिको शुभ्र वस्त्र, सौम्य भाव र घाँटीमा लट्केको क्रसमा अपूर्व शान्ति लुकेको आभास हुन्थ्यो भने चर्चतर्फ जान लागेका महाशयलाई पनि मन्दिर बाट फर्केका व्यक्तिको निधारको त्रिपुण्डक, गलाको रुद्राक्ष र निधारको टीकामा अद्भुत आभाको महसुस हुन्थ्यो ।

26 May, 2011

चार सुत्रकथा

जनक्रान्ति

प्राडो चढ्ने सर्वहारा नेताका मोटरसाइकल चढेर आएका क्रान्तिकारी कार्यकर्ताले बन्दको बेलामा साइकल चढेर हिँड्ने सामन्ती लाई नराम्रो सँग गोदेछन् ।

आँङको भैसी

यातायात क्षेत्रमा सिन्डिकेट प्रणाली खारेज गर्ने मिलुजुली सरकारका दुई दलले शान्ति स्थापना र राज्य व्यवस्थाका विविध कार्यहरूलाई चरण बद्ध रूपमा कार्यान्वयन गर्न पालै पालो सरकार प्रमुखको भूमिका निर्वाह गर्ने निर्णय गरेछन्”

23 February, 2011

औसत स्थिति (तीन सूत्रकथा)

Ghusशहरको एउटा छापाखानामा उनीहरू  दुई जनाको निकै बेरसम्म कुराकानी, वाद-विवाद  र सर-सल्लाह भयो। आफूले सरकारी कार्यालयको हजारौँ प्रति पर्चा छाप्ने काम दिलाए बापत प्रेसवालाले उनलाई राम्रै 'हिस्सा' दिनुपर्ने दावा कर्मचारीको थियो भने कागज, रङ्ग र छपाइ सामाग्रीको मूल्य वृद्धिका कारण 'पुरानै दररेट' भन्दा बढी दिन नसक्ने प्रेसवालाको निचोड थियो । 

केही समयको भाउताउ र मोलतोल पछि निश्चित रकममा दुबैको कुरा मिल्यो । कर्मचारीले आफ्नो फाइलबाट छपाउनु पर्ने पर्चाको एउटा नमुना निकाले र प्रेसवालाले सो नमुनालाई आफ्नो कम्प्युटरमा उतार्न लागे। पर्चामा लेखिएको थियो :- "घुस दिनु र लिनु महापाप हो !"

08 January, 2011

नाता ! (लघुकथा)

केही दिनअघि मैले उसलाई एकजना आफ्नै उमेरको नातेदारसँग हिँड्दै गरेको देखेको थिएँ । आपसी परिचय नभए पनि मलाई थाहा थियो कि त्यो अर्को व्यक्ति उसको फुपूको छोरा थियो ।

मैलो कमिज र पुरानो पाइन्ट लगाएर हिँड्दै गरेको त्यो व्यक्तिको पहिरनले नै उसको आर्थिक स्थितिलाई दर्साइरहेको थियो । त्यो अपरिचित व्यक्तिसँग छुट्टिसकेपछि मैले उसँग सोधेको थिएँ "...अनि ऊ तिम्रो भाइ कि दाइ ?"

"दाजु न भाइ, म त बाऊको एक्लो छोरो तिमीलाई थहा छैन र ...?" उसले जवा दिएको थियो । "... उ त मेरो फुपूको छोरा पो हो ..." । "फुपूको छोरा पनि त दाजुभाइ नै हुन् नि हैन र ?" । मेरो प्रश्नको उसले एकैछिन रोकिएर जवाफ दिएको थियो "...अँ...त्यसरी हेर्दा त भाइ नै पर्छ क्यारे..." ।

02 December, 2010

अपरिवर्तित परिवर्तन (लघुकथा)

त्यति बेला किसोर अबस्थाकै थियो, भारी बोकेर गुजारा गर्ने उसको बाबुले रातमा डराई-डराई “...अब श्री ३ को सरकार जान्छ र ‘रामराज्य’ आउँछ...” भनेको उसले सुन्ने गरेको थियो । ‘श्री ३’ र ‘श्री ५’ भनेको के हो भन्ने नबुझे पनि ‘रामराज्य’मा भने उसको विशेष ध्यान थियो । अक्षर-कागज नपढेको भएपनि गाउँमै सुनेको रामायणको कथाको आधारमा उसले सो ‘रामराज्य’ आएपछि सबैले सुख पाउनेमा ढुक्क थियो ।

श्री ३ फालिए, र प्रजातन्त्र पनि आयो । तर अचानक केही समयमै उसको बाबुको मृत्यु भएकोले सुख र रामराज्य चाहिँ हैन, बाबुको डोको र नाम्लो भने उसको थाप्लोमा आयो । जीवन गुजारा गर्न अर्को कुनै उपाय र सहारा नभएकोले उसले पनि बाबुकै जस्तो भारी बोक्ने काम सुरु गर्‍यो ।

उसले दशकौँ भारी बोकेपछि देशमा फेरि निकै हलचल भएको भान उसले पायो। ठूला-ठूला कुरा नबुझे पनि यस पाला भने देशमा असली प्रजातन्त्र आउँछ रे अनि सबैले सुख पूर्वक बाँच्न पाउँछन् रे भन्ने सम्म उसले पनि बुझ्यो । राजनैतिक वृत्त र उपल्लो तहमा के कस्ता परिवर्तन भए उसले भेउ सम्म पनि पाएन । तर गाउँकै नेताहरूले “...अब तिमीहरू सबै सही अर्थमा स्वतन्त्र भएका छौ...” भनेको उसले पनि सुन्यो ।

24 September, 2010

यथार्थ र आदर्श (लघुकथा)

Nepali Netaसानै देखि भिन्दै स्वभावको थियो । स्कूल जाने बेलामा बरालिएर हिँड्थ्यो, कलेज पढ्ने बेलामा हुलदंगामा पुग्थ्यो अनि काम गर्ने उमेर पुग्दा बेकार घुम्थ्यो ।

नपढेको, काम नभएको र बस्ने ठेगान पनि नभएको हुनाले उसलाई कसैले पनि छोरी दिएनन् र उसको विवाह पनि हुन सकेको थिएन । त्यत्तिकै मा प्रजातन्त्र आएकोले मुढे बलकै भरमा ऊ एउटा दलमा प्रवेश गर्‍यो । तर दलको नीति नियम विपरीत काम गरेको भनेर केही समय पछि उ सो दलबाट निकालियो र अर्को दलमा पस्यो । यसरी समय-समयमा दल र नीति फेर्दै-फेर्दै उ हालको दलमा घुसेको थियो ।

कुनै निश्चित शिक्षा, योग्यता वा कार्य कुशलता नभए पनि छल, बल र चाकडी-चुक्लीको कलामा भने निकै निपुण भइसकेकोले यस पाला भने उ निकै ठूलो पदमा पुगेको थियो ।

18 July, 2010

दृष्टिकोण !
-एक लघुकथा-

संसारको भिन्न भिन्न दुई कुनामा एकै दिन र एकै समयमा दुईजना बालकको जन्म हुन्छ । प्रकृतिको नियम भनौँ वा ग्रह-नक्षत्रको प्रभाव, भिन्न स्थान, भौगोलिक वातावरण, समाज र परिस्थितिमा जन्मेर पनि सानै देखि दुवै जनाको स्वभाव र आचरण एकै प्रकारको देखिन थाल्छ ।

दुवै बालकहरु सानै देखि अटेरी, जिद्दी र झगडालु देखिन थाले । एउटा स्थानका अभिभावकहरूको अनुहारमा आफ्नो छोराको त्यो स्वभाव देखेर चिन्ताका रेखाहरु देखिन थाल्यो भने अर्को स्थानमा वच्चा निर्भीक र निडर भएको निर्क्योल निकालियो ।

किशोर अबस्थामा प्रवेश गर्दा पनि दुबैमा प्राकृतिक समानता र प्रवृत्तिगत समरुपता प्रष्टै देखियो। दुवै बालकहरु पढ्न भन्दा लड्न, सम्बाद भन्दा विवाद र तर्क भन्दा मुढे बलमा आश्रित हुँदैँ जानथाले।

जवानीमा प्रवेश गर्दाको समयमा दुवै जनामा अभिमान, अहंकार र घमंडको चरमता प्रष्टै देखिन्थ्यो भने दुवै जना आ-आफ्नो स्थानमा बल मिच्याईँ, गुटबन्दी र उपद्रोहरुमा सम्मिलित हुन थालेका थिए । वैयक्तिक गुण, चरित्र र रवैया एकै प्रकारको भए पनि देश काल परिस्थिति को भिन्नताका कारण दुबैजनालाई समाजले हेर्ने दृष्टिमा भने आकाश जमिनको अन्तर देखिन थाल्यो ।

27 June, 2010

समय यात्रा
-एक विज्ञान कथा-

आधा रातको निस्तब्धतामा सायद पुरै अस्तित्व निन्द्राको काखमा पौडिरहेको थियो। तर नेपालको उत्तरी हिम श्रृङ्खलाको बीच बनेको एउटा अनकन्टार सानो उच्च हिमाली मैदान माथीको आकाशमा एउटा अत्यन्तै उज्वल तर शीतल प्रकाशपुञ्ज देखियो । प्रकाश तीव्र गतिकासाथ हिमाली मैदानको नजिक आउँदा त्यो प्रकाशपुञ्जको आकार पनि झन् झन् बढ्दै थियो तर बिना आबाज.....।

मैदानको नजिक पुग्दा देखियो त्यो कुनै प्रकाशपुञ्ज नभै एउटा गोलाकार यान थियो र जुन बिना आबाज आरामसंग जमिनमा अवतरण गर्दै थियो । यानको माथिल्लो भागमा “अन्वेषण -३” लेखिएको थियो र त्यसको मुनि “नेपाल खगोल विज्ञान तथा समयारोहण अध्ययनशाला” लेखिएको थियो । यान जमिनमा अवतरण भएपछि मधुरो प्रकाश मात्रै त्यसमा बाँकी रह्यो र यानको तल्लो भागमा एउटा स्वचालित ढोका बिस्तारै खुल्यो । यानको ढोका खुल्ने बित्तिकै भित्रबाट एकजना ६५-७० का जस्ता देखिने कपाल र दाह्री सेतै फुलेका व्यक्तिसँगै करिब २०-२५ वर्षका जस्ता देखिने १० -१२ जना मानिस पनि बाहिर निस्के । उनीहरूलाई ‘मानिस’ भन्नुमा कुनै आपत्ति नहोला कारण उनीहरूको आकार प्रकार र शारीरिक बनोट हाम्रै जस्तै थियो, सायद हात खुट्टा अलि मसिना र टाउको अलिकता ठूलो मात्रै ...।चिसो मैदानमा निस्कने बित्तिकै ती युवाहरूले भुईमा एक प्रकारको बाक्लो चकटी जस्तो आसन ओछ्याए । र सबै जना त्यसमा बसे। ती बुढा व्यक्ति पनि उनको लागि राखिएको बीचको आसनमा बसे ... दृश्य हेर्दा यस्तो लाग्थ्यो ती बुढा व्यक्ति उनीहरूका गुरु थिए र ती जवानहरू उनका विद्यार्थी ।

07 June, 2010

उधारो आदर्श (लघुकथा)

सडक छेउको चिया पसलमा शिक्षित जस्ता देखिने तीन जना युवकहरु धूँवादार राजनैतिक वहसमा लागेका थिए । तीनै जना भिन्न-भिन्न दल र राजनैतिक सिद्धान्तमा विश्वास राख्ने भएकाले आफूहरु सो दल वा गुटमा किन लागेको भन्ने वारेमा आ-आफ्नो तर्क दिँदैं थिए ।

"...म सक्रियताका साथ लागेको दल सधैं सत्तालाई भन्दा सत्यलाई बढी स्थान दिन्छ..." पहिलो युवकले आफ्नो संलग्नताको आधार खुलाउँदै भन्यो "...राजनीति स्वार्थको लागि हैन, सेवाको लागि हुनुपर्छ भन्नेमा मेरा नेताहरुको एक मत छ, त्यसैले म यो दलमा प्रवेश गरेको"

"मेरो पार्टीका नेताहरु हरेक समस्या र मुद्दामा सधैं एकजुट हुन्छन्..." दोस्रो व्यक्तिले आफ्नो विचार प्रष्ट्याउँदै भन्यो "... राजनीतिमा एकता र अखण्डता भन्दा ठूलो कुरा अरु केही छैन, त्यसैले म यही पार्टीलाई समर्थन गर्छु "

"मेरो दलका नेताहरु राष्ट्रप्रति एकदमै बफादार र राष्ट्रभक्त छन..." तेस्रो व्यक्तिले आफ्नो आस्थाका कारण बताउँदै भन्यो "...मेरो दल विदेशीका सामु कहिल्यै झुक्दैन, त्यसैले म यो यो दलमा लागेको"

उनिहरु देशको तात्कालिक राजनीतिको बारेमा यसरी चर्काचर्की गर्दैथीएँ मानौं ति सबै दलका राष्ट्रिय मुद्दा र राजनैतिक निर्णयका अन्तिम निर्णायक उनिहरु नै हुन ।

त्यत्तिकैमा चिया पसलमा चौंथो युवकको प्रवेश हुन्छ ।

22 April, 2010

परिवर्तन (लघुकथा)

bribe त्यो कार्यालयमा भ्रष्टाचार सदाचार नै बनेको थियो । सेवाग्राहीका कुनैपनि काम दाम बिना हुँदै-हुँदैनथ्यो । कागज हेर्न दस्तुर, मान्छे भेट्न सलामी, फाईल खोज्न दक्षीणा र दस्तखतका लागि नजराना नभै कुनै काम हुँदैनथ्यो ।

मागेरै खाने, ढाँटेरै खाने, हप्काएर खाने र तर्साएरै खानेले आजित भएपछि जनस्तरबाटै दबाब बढ्यो । केन्द्रसम्मै खबर पुगेपछि सेवाग्रहीका काम बिना घुस र बिना नजराना गराउन एकजना निरीक्षक खटिए सो कार्यालयमा । कार्यालयमा निरीक्षक आएपछि २-४ दिन सेवाग्राहीका काम दाम दक्षीणा बिना नै भए ।

24 March, 2010

संस्कृति प्रेम

लोकगीत प्रतियोगिताको समापन समारोहमा गएर मन्त्रीज्यूले निकै सान्दर्भिक र सागर्भित भाषण दिए : “संस्कृति नै हाम्रो पहिचान हो...हाम्रो संस्कृति रहेसम्म मात्रै हामी रहन्छौं, संस्कृति नै रहेन भने हाम्रो अस्तित्व नै रहँदैन । त्यसैले हामीले हाम्रो संस्कृतिको सम्मान र संरक्षण गर्नु पर्छ ..., ...”

तालीको गडगडाहटद्वारा मन्त्रीज्यूको भाषणको स्वागत गरीयो । गन्यमान्य व्यक्ति र अन्य विद्वान वक्ताले उहाँको संस्कृति प्रेमको उच्च मूल्याकंन गरे । आफ्नो भाषा र संस्कृतिप्रति मन्त्रीज्यूको सदभाव र झुकाव देखेर उपस्थीत जनसमुदाय गद्गद् भयो ।

कार्यक्रम समापनपश्चात् मन्त्रीज्यू हतार हतार आफ्नो चिल्लो आरामदायी गाडीमा पसे । गाडीका ढोकाहरु ढाकढुक बन्द भए । मन्त्रीज्यूलाई बिदाइ गर्न आउनेहरु गाडी बाहिरबाटै हात जोडेर अभिवादन गर्दै थिए ।

गाडीभित्रको रेडीयोमा मधुरो स्वरमा यौटा पुरानो नेपाली गीत बजिरहेको थियो । चालकले गाडी स्टार्ट गर्नै लागेको थिए, मन्त्रीज्यूको आवाज आयो : “ खै, रामबहादुर, पहिले त्यो गीत बन्द गर त ...!...यहाँपनि दुई घण्टासम्म पट्यार लाग्ने लोकगीत सुन्दा-सुन्दा दिक्क लागेको छ ... बरु एफ. एम. लगाऊन, त्यहाँ नयाँ-नयाँ हिन्दी र अंग्रेजी गीतहरु बज्दै होलान ।”

(साप्ताहिक—२१-१०-२०५७)

05 February, 2010

मैले नपढेको किताब

“यो संसार अनौठो छ”, “हाम्रो दुनियाँ आश्चर्यपूर्ण छ” यस्ता वाक्याशंहरु मैले सानैदेखि सुन्दै आएको हो । तर के कति कारणले यो संसार अनौठो छ भन्ने चाही मैले त्यो दिन मात्रै थाहा पाएँ जुन दिन अघिल्लो दिन मात्रै किनेर ल्याएको मेरो एउटा किताब कोठैबाट गाएब भयो ।

अघिल्लो दिन मात्रै लेराएको किताब गाएब हुनुलाई मैले लरतरो हिसाबले लिइँन र धूँईपत्ताल खोजी सुरु गरें । टेबुलमा, घर्रामा र अन्य सम्भाव्य स्थानमा पुस्तक नभेटेपछि मनमा शंका उठ्यो ‘कतै चोरी त भएन ...!’। तर हैन.. टेबुलमा रहेको टेलीभिजन, पर्सको पैसा र अन्य केही ‘टार्गेटेट आइटम’ जहाँका त्यहि थिए । समाजमा व्यवसायीक रुपमा किताब मात्रै चोर्ने चोर कुनै पनि छन भने भिन्दै कुरा, नत्र यो चोरको काम हुँदै होईन भन्नेमा पुगें म ।

चोरीएको हैन भने कहाँ गयो त? । म पून: आफ्नै घरको ‘गुगल सर्च’ मा लागें, घरका सबै दराज, पलंङका अन्तरकुन्तर र फ्रिज अनि पुरान कसौँडी र प्रेसरकुकर समेत खोलेर हेर्दा पनि किताब नभेटेपछि यसलाई एउटा आश्चर्यको रुपमा लिनु बाहेकको हर्को बिकल्प बचेन पनि ।

किताब मंहगो थिएन, तर मलाई एकदमै मनपर्ने लेखकद्वारा लेखिएको थियो, त्यसैले सय रुपैयाको एउटा किताबका कारण मेरो तीन दिनको निन्द्रा र चार दिनको भोक हरायो ।

पाँचौ दिन बिहान उठने बित्तीकै कसैले मेरो ढोका ढकढक्याएको सुनें, ढोका खोलेर हेर्दा एकजना परिचित मित्र ढोकामा उभिएका थिए। उनले भित्र छिर्दा छिर्दै भने “...सरी है! ... म शुक्रवार तिम्रोमा आएको थिएँ, तिमी रहेनछौ तर तिम्रो टेबुलमा ‘यो किताब’ देखेँ...” उसले अगाडि के के भन्यो मैले राम्ररी बुझीन... मेरो भोक निन्द्रा हरण गर्ने ‘त्यो किताब’ उस्ले टेबुलमा फ्याट्ट राख्ने बेलासम्ममा मैले करिब करिब उ मेरो साथी हो भन्ने समेत बिर्सन लागीसकेको थिएँ । कमसेकम किताब लगेपछि एकचोटी फोन गरेर ‘तिम्रो किताब मसंग छ है !’ मात्रै भनेक भएपनि त मैले पागलपन सवार भएजस्तो गरी घरका भाँडाकुँडा समेत खोतलेर खोज्नु त पर्दैन थियो नि ।

14 January, 2010

भविष्य यसरी बोल्ने छ (विज्ञान कथा)

25th. May, 2145

आज पनि मिटिङ जारी थीयो, तर कुनै निर्क्योल भने निक्लन सकेको थिएन । संसारभरका बुद्धिजीवी, वैज्ञानिक, राजनीतिज्ञ अनि विविध क्षेत्रका वरिष्ठतम व्यक्तिहरुको सहभागितामा भएको यो यो विशाल बैठकको विषय थियो:- भविष्यको लागि पानी

पृथ्वीको सतहमाथी रहेको पिउन योग्य पान त अघिल्लो शताब्दीको अन्त्यतिर नै सक्कीसकेको थीयो, त्यसैले संसार अहिले सतहमुनिको पानिमा निर्भर थीयो। तर करिब ३ महिना अगाडि वैज्ञानिक र भूगर्भशास्त्रीहरुको एउटा अन्तराष्ट्रिय टोलीले एउटा ज्यादै नै विष्फोटक तथ्य प्रकाशमा ल्याएका थीए :- सतह मुनिको पानी आउँदो दश वर्षमा सक्कीने

यो समाचारको प्रकाशनले संसारभर हाहाकार फैलीयो, के वैज्ञानिक, के राजनीतिज्ञ, के साधारण नागरिक सबै गहन चिन्तामा डुबे । दश वर्ष पछि के हुन्छ ?, अब कसरी बाँच्ने?, के अब पृथ्वी पनि जीवन रहित ग्रह हुने भयो त? । हरेक व्यक्ति आफूलाई मृत्युले पच्छ्याईरहेको ठान्न थाल्यो । प्रकृति माथि नै विजय हासिल गर्न अगाडि बढेको मानिस प्राकृतिक सम्पदाको समाप्तीसंगै आफ्नो अस्तित्वको पनि अन्त हुने प्रष्ट देख्दा तर्सीन थाल्यो । अभिमानी, हठि र अति महत्वाकांक्षी मानव समाजले वातावरणको संरक्षणमा मात्रै आफ्नो अस्तित्व रहने कुरा स्विकार्‍यो। तर ...अपशोच !, मानिसले आफ्नो गल्ती स्विकारेर अस्तित्व जोगाउन अब निक्कै ढिला भैसकेको थियो ।

दश वर्षपछि पृथ्वि जीवन रहित ग्रह बन्ने कहाली लाग्दो सन्नाटालाई सम्झेर सुन्दर सृष्टी विनाशको भयले सम्पूर्ण मानवजाती भयभित हुन थाले । तुरुन्तै विश्वका सबै देशहरुमा सभा, गोष्ठी र खोजहरु हुन थाले। पिउने पानीको कुनै उचित समाधान पत्ता नलागेपछि संयुक्त राष्ट्र संघको आयोजनामा मे २३, २१४५ मा एउटा बृहत अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्‍यो । सबै देशका वैज्ञानिक, बुद्धिजीवी, पत्रकार र भूगर्भशास्त्रीहरु फेरि एक पटक जेनेभामा भेला भए –भेलाको एउटै मात्रै उद्देश्य थीयो :- भविष्यको लागि पिउने पानीको खोज ।