Showing posts with label फोटो ब्लग. Show all posts
Showing posts with label फोटो ब्लग. Show all posts

21 August, 2013

यात्रा लुम्बिनीको !

म धेरै पटक पुगेको, तर जत्ति पटक पुगे पनि मलाई फेरि-फेरि जान मनलाग्ने नेपालको कुनै ठाउँ छ भने त्यो लुम्बिनी हो । सुरूमा भगवान बुद्धको जन्मस्थल अर्थात मायादेवी मन्दिर नै त्यस क्षेत्रको मुख्य आकर्षण हुन्थ्यो भने हाल भने करिब ६ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइको विशाल क्षेत्रलाई छुट्याएर त्यहाँ विभिन्न देशले आ-आफ्नै शैलीमा मन्दिर, चैत्य आदि निर्माण गरेपछि लुम्बिनीको सुन्दरतामा नयाँ आयाम थपिएको छ।

कामको व्यस्तताको बीच अगिल्लो हप्ता फेरि मलाई सो पवित्र क्षेत्रको भ्रमण गर्ने मौका मिल्यो । सीमित समय भएकोले सोचे जत्ति मन्दिरहरू हेर्ने मौका मिलेन तर पनि आजको पोस्टमा दर्शन गरेका मध्येका केही मन्दिर र लुम्बिनीको तस्विरहरू बाँड्दै छु । (तस्विर ठूलो आकारमा हेर्न कुनै पनि तस्विरमा क्लिक गर्नुहोला । सो तस्विर आफैँ अर्को पेजमा ठूलो आकारमा खुल्ने छ )

Lumbini (20)

(मायादेवी मन्दिर—जहाँ भगवान बुद्धको जन्म भएको मानिन्छ)

18 July, 2013

प्यूठान—प्रकृतिको आँखीझ्याल !

गएको हप्ता नितान्त व्यस्तताको बीचमा बित्यो । कामको सिलसिलामा धुलो-धूवाँको काठमाण्डौ छाडेर हरियाली र स्वच्छताको गाउँमा पुगेको थिएँ । हो, म काठमाण्डौ देखि करिव चारसय किलोमिटर परको प्यूठान जिल्लाको गोठीबाङ्ग, भिङ्ग्री आदि गाउँमा थिएँ ।

हुन त तस्विर खिच्नको लागि कुनै स्थान विशेष वा ‘स्पट’ थिएन त्यहाँ, तर फोटोमा उतार्नको लागि सुन्दरताको कुनै कमी थिएन । वा भनौ करिब करिब जता फर्कियो उतै कैद गर्न लायक दृश्यहरू थिए त्यहाँ । आजको पोस्टमा त्यही गाउँको हरियाली र माटोको सुवास । तस्बिर ठूलो पारेर हेर्न सोही तस्बिरमा क्लिक गर्नु होला तस्बिर आफैँ अर्को पेजमा ठूलो आकारमा खुल्ने छ ।

Pyuthan (2)

(गाउँको एउटा कुना --  सायद प्रकृति-दर्शनको आँखीझ्याल)

10 June, 2013

साँच्चै स्वर्गजस्तै स्वर्गद्वारी !

कामको सिलसिलामा धेरै पटक करिब २ घण्टा जत्तिको बाटोबाट ओहोर-दोहर गरे पनि म स्वर्गद्वारीको यो पवित्र तिर्थस्थलमा पुग्न भ्याएको थिइन् । भालुवाङबाट करिव ५५ किलोमिटर जत्ति प्यूठानतर्फ लागेपछि प्यूठानकै भीङ्गृ बजार पुगिन्छ । भिंगृसम्म पिच बाटो नै छ भने त्यहाँबाट भने कच्ची बाटोबाट करिब १३ किलोमिटरको बाटो कच्ची तर गाडि चल्ने छ । त्यसपछि भने केही सिँढी फेरि केही कच्ची बाटोबाट उकालो लागेपछि करिब आधा घन्टको हिँडाइमा यो पवित्र मन्दिरको द्वारमा पुगिन्छ ।

तिहारको औँसी, वैशाख पुर्णिमा आदिमा यहाँ विशेष मेला लागे पनि सामान्य यात्रु र धर्माबलम्बीहरूको भीड भने सधैं नै हुने रहेछ यहाँ ।

किम्बदन्ती र पौराणिक आख्यानलाई मान्ने हो पाँच पाण्डवहरूले सीधै स्वर्ग प्रस्थान गरेको मानिन्छ । यसरी सिधै स्वर्गको यात्रा गर्न सकिने यस ‘द्वार’ मा रोल्पा रुम्टीका १०८ महाप्रभु बालतपस्वी नारायण गौतमले १९५१ मा वेदमन्त्रद्वारा अग्नि प्रज्वलित गरी १९५२ वैशाख पूणिर्मादेखि अखण्ड महायज्ञ सुरु गरेको इतिहास छ । त्यसैले यस स्थानको धार्मिक, समाजिक र गहन आध्यात्मिक महत्व रही आएको छ ।

वास्तवमा यस पवित्र तिर्थस्थलको विहानी पूजा, हवन र साझको आरति सहित महाप्रभुले तपस्या गरेको गुफा लगायतका सम्पूर्ण क्षेत्रको अवलोकन गर्ने हो भने पुरै दिनको समय लिएर जानु पर्ने रहेछ । मन्दिरमै रहने, वस्ने उचित व्यवस्था रहेछ तर समयाभावको कारण अर्कोपाला फेरि जाने अभिलाषा सहित यसपाला भने केही तस्विरहरू लिएर फर्कियौँ । आजको पोस्टमा यही पवित्र तिर्थस्थलका केही तस्विरहरू : (तस्बिरलाई ठूलो पारेर हेर्न सोही तस्बिरमा क्लिक गर्नुहोस्, तस्बिरआफैँ ठूलो आकारमा अर्को पेजमा खुल्ने छ )

14 November, 2012

भोदीप बह्मरूप….! - - तिहारको दीपको कुरा !!

तिहार, अर्थात उज्यालो चाड, फूलको चाड र दीपको चाड। हिन्दूहरूको प्राचीनतम र सनातन यस चाडमा दीप वा उज्यालोको विशेष महत्व छ । यम पञ्चकका पाँचै दिन र त्यसमा पनि लक्ष्मी पूजाको रातमा घर-घर दीप प्रज्वलित गरेर माता लक्ष्मीको आह्वान गरिन्छ ।

वैदिक वाङ्मयको एउटा मान्यता अनुसार कार्तिक अमावस्याको दिन समुद्र-मंथन बाट भगवती लक्ष्मी प्रकटहुनु भएको थियो र यो तिथि लक्ष्मी-पूजा को पर्व बन्यो । मान्यता अनुसार यस पर्वमा नित्य दीप दान गर्नेको घरलाई माता लक्ष्मीले कहिल्यै नत्याग्ने र यसरी दीप दान गर्नेलाई अकाल मृत्युको डर पनि नहुने उल्लेख छ ।

शास्त्रमा दीप दान गर्दा पढिने विभिन्न मन्त्रहरूको उल्लेख छ । भिन्न भिन्न अभिप्राय र उपलब्धिको लागि भिन्दा भिन्दै मन्त्र पढिए पनि दीपको महत्व भने सबै अवस्थामा समान छ । मलाई मन पर्ने श्लोक भने यस्तो छ :

भोदीप बह्मरूपस्त्वंह्यन्धकारविनाशक:।
गृहाणमयाकृतांपूजांओजस्तेज:प्रवर्धय॥

अर्थात:

हे दीप! तपाई अन्धकार लाई नाश गरने ब्रह्मस्वरूप हुनुहुन्छ। कृपया मेरो पूजा ग्रहण गर्नुस र मेरो ओज एवं तेज वृद्धि गर्नुस।

यस पटकको तिहार घरमा यसै अनुरूप सामान्य रुपमा मनाईयो। आजको पोस्टमा यसै तिहारका केही दीप र ज्योति :

22 September, 2012

बाटो त चाइनाको …..♫ ♪ ♪ Ԓ ԓ ♪ ♪ ♫

अघिल्लो २ हप्ता केही व्यस्त रहेँ । ब्लगमा ‘सेड्युल’ मा राखेका पोस्टहरू स्वतः: पोस्टिङ्ग भइ नै रहे तर लेख्ने विषयहरू धेरै हुँदा-हुँदै पनि नयाँ कुरा भने लेख्न भ्याइएन।

कामको सिलसिलामा अघिल्लो २ हप्ता चिनका केही शहरहरूमा थिएँ । सायद पहिलेको कुनै अरू पोस्टमा पनि लेखिसकेको छु, केही महिनाको फरकमा चिनमा पुग्दा पनि ‘यता’ केही वर्षमा समेत नदेखिने विकास, निर्माण र सुधारका झलकहरू देखिन्छन् । त्यसमध्धे पनि बाटोको निर्माणमा चिनले निक्कै धन र ध्यान खर्चेको छ । ‘धनी हुन बाटो बन्नै पर्छ’ भन्ने चिनियाँ मान्यता अनुसार अहिले पनि शहर-शहर र गाउँ-गाउँमा नयाँ नयाँ ‘हाइवे’, सडक र पुलहरू बन्ने क्रम जारी छ । लाग्छ चिन साँच्चै बाटोकै कारण विकसित भएको छ र आउने दिनमा आज बन्दै गरेका बाटोका कारण अझ विकासको उचाइमा पुग्छ ।

आजको पोस्टमा चिनका बाटोका केही झलकहरू । प्राय: तस्बिरहरू चलिरहेको गाडि भित्रबाट र त्यो पनि मोबाईल फोनको क्यामेराबाट खिचिएकाले ‘क्वालिटी’ का छैनन् तर चिनको बाटोको क्वालिटी दर्शाउन भने पक्कै पनि काफी छन् होला। (तस्विर ठूलो पारेर हेर्न कुनै पनि तस्विरमै क्लिक गर्नुहोला - - सो तस्विर स्वतः: ठूलो आकारमा अर्को पेजमा खुल्नेछ)

China Road (6)

(आकाश खुलेर सेतो बादलले झनै सुन्दर बनाएको Beijing को बाटो)

24 August, 2012

फेरि केही मोबाइल क्लिक !

कामको सिलसिलामा केही दिन अगाडि फेरि देश दर्शनमा निस्केको थिएँ । बाहिर निस्कँदा २० केजीको सुटकेस र १२ केजीको हाते ब्याग भारी नभए पनि क्यामेरा बोक्न चाहिँ साह्रै झन्झट लाग्छ । अनि प्राय: कुनै आकर्षक दृश्य देख्दा वा सुन्दर स्थानमा पुग्दा भने फेरि किन क्यामरा बोकिन छु भनेर थकथक लाग्छ । यसपाला पनि त्यस्तै भयो । हिँड्ने बेलामा बोकी हालौँ कि जस्तो लागेको थियो, तर फेरि धेरै पटक पुगिसकेको ठाउँमा के नै नौलो देखिएला र फोटो खिच्नु पर्ला भन्ने सोचेर क्यामरा नबोकी लागेँ देश दर्शनमा ।

ठाउँमा पुगेपछि भने यस पटक पनि फेरि चुकचुकाएँ ... आफूलाई चाहिने सबै कुरा बोक्दा किन बोकिनँ क्यामरा भनेर। किनकी धेरै पटक पुगेको ठाउँमा पनि यस पटक भने पहिले कहिल्यै नदेखेका दृश्यहरू देखिए । अनि खल्तीमा छाम-छाम छुम-छुम गरेर झिकियो मोबाईल र हानियो क्लिक! क्लिक !! ।

आजको पोस्टमा मलाई आकर्षक लागेका केही मोबाइल फोटोहरू ।

(फोटो ठुलो पारेर हेर्न कुनैपनि फोटोमा क्लिक गर्नुहोला, फोटो आफैँ ठुलो साइजमा अर्को पेजमा खुल्नेछ) 

Photos for Nepali Blog (10)

20 December, 2011

चीनका उज्याला रातहरू ….

केही दिन देखि कामको सिलसिलामा चीनमा छु । एकदम छोटो समयको अन्तरालमा आउँदा पनि एकदम ठूलै भिन्नता देखिनु चीनको लागि सायद सामान्य कुरा भइसकेको छ, त्यसैले केही महिनाको फरकमा आइ पुग्दा देखिएका सुधार वा विकासका प्रकटनहरू यहाँ देख्दा भने अचम्म लाग्न छाडेको छ आजकल ।

यस अघि पनि चिनमा आउँदा यताका अनुभवका बारेमा पोस्ट लेख्ने वा तस्बिरहरू बाँड्ने नगरेको हैन्, तर यस पाला भने चीनको रात्रि दृश्यहरू मात्रै समेटेर केही तस्बिरहरू पोस्ट गर्न मन लाग्यो ।

यसैपनि लोडसेडिङगको चपेटामा परेका हामीलाई रातिको झिलिमिलीले मन तान्छ नै, त्यसमा पनि चीनका प्राय: सबै सहर र ठूला ठूला संरचनाका डिजाइन गर्दा आजकल रात्रि दृश्यलाई पनि ध्यानमा राखेर गरिएको हुन्छ, त्यसैले यहाँको रात, दिन जस्तै मात्रै हैन, करिब करिब दिन भन्दा उज्यालो हुन्छ भन्दा पनि फरक पर्दैन ।

आउनुस्, आज केही तस्बिर मार्फत चीनको उज्यालो रात्री जीवन हेरौँ:

13 December, 2011

...स्वर्गादपि गरियसी !

केही समय अगाडि फेरि एक पटक देश दर्शनमा निस्किने मौका मिलेको थियो । ‘मार्ग चित्र’ ले काठमाण्डौ देखि नारायणगढ-बुटवल हुँदै प्यूठानसम्मको यात्रा गराउने कुरा इङ्गित गरेको थियो । २-४ पटक यही रूटमा हिँडी सकेकोले यो बाटोमा केही नौलो कुरा देखिँदैन भन्ने सोचका कारण यस पटक पनि न क्यामरा बोकिएको थियो न त तस्बिर खिच्ने विचार नै थियो।

त्यसो त तस्विर खिच्ने कला नजानेकोले पनि क्यामरा बोक्न अल्छी लाग्छ । ... लाग्छ, म कहिल्यै पनि आफूले देखेकै दृश्य फोटोमा उतार्न सफल हुँदिन । सायद हेरिने कोण, फोटो खिच्ने बेलाको चित्त दशा र प्राकृतिक परिवेश र तस्विर हेर्ने बेलाको मानसिक अवस्था फरक भएर पनि सजीव अस्तित्व निर्जीव फोटोमा अट्दैन होला । तैपनि हरेक पटक ‘केही’ देखेपछि फेरि खिचौं खिचौं हुन्छ र मोबाइलबाटै भएपनि केही तस्विरहरू उतारिन्छन् । यस पाला पनि त्यस्तै भयो .... धेरै पटक हिँडिसकेको त्यही पुरानै बाटोमा एस पटक फेरि धेरै नयाँ कुराहरू देखिए ।

15 August, 2011

चीन यात्राका केही दृश्यहरू !

कामको सिलसिलामा केही दिन देखि चीनमा छु र त्यसैको कारणले ब्लग पनि अपडेट गर्न भ्याएको छैन ।

त्यसो त चीनको विकासको गति देखेर विदेशीहरू मात्रै हैन, स्वयं चीनियाँ जनताहरू पनि आफैँ छक्क पर्ने गर्छन् र केही चीनियाँहरू विकासको यो गतिलाई ‘आश्चर्य’ भनि भन्ने गर्छन् । आर्थिक सुधार र भौतिक विकासका कारण एउटा शक्तिशाली राष्ट्रको लहरमा उभिन सफल चीनको विकासको मुक्त कण्ठले प्रशंसा गर्नै पर्छ । केही वर्षको फरकमा मात्रै हैन् केही महिनाको अन्तराल पछि आउँदा पनि केही न केही सुधार वा परिवर्तन देखिन्छ यहाँ ।

यसपाला काठमाण्डौबाट छङ्गतुको लागि उड्ने बेलामा मेरो सिटको छेउमा एकजना अधवैसे अमेरिकन महिला थिइन् । उनि आफ्नो चीनमा पढ्दै गरेको छोरालाई भेट्ने बहानामा नेपाल घुमेर चीन जाँदै थिइन् । उडानको क्रममा भलाकुसारी गर्दा तीनले मलाई “तिमी अमेरिका गएका छौ ?” भनेर सोधिन । मैले आफू अमेरिका नगएको तर त्यहाँको तामझाम र चहल-पहलको बारेमा भने निक्कै सुनेको बताएँ । त्यसपछि उनले मलाई चीनको कुन कुन सहरमा गएको छ भनेर सोधिन। मैले उनलाई आफू पुगेको केही सहरहरूको नाम बताएपछि उनले मलाई भनिन ‘तिमी ती सहरहरूमा गएका छौ भने अमेरिका जानु पर्दैन... “ आफूलाई फ्लोरिडाको बताउने ती महिलाले भनिन् “...अब चीनको सहरलाई अमेरिकी सहर सँग हैन, अमेरिकाका नगरहरूलाई चिनियाँ सहरहरू सँग दाँज्ने बेला भइसकेको छ ”

12 March, 2011

Random Clicks~केही मोबाइल फोटोहरू !!

अघिल्लो २ हप्ता निकै व्यस्त रहियो । ब्लग लेख्ने वा हेर्ने त कुरै छाडौँ, केही दिनको लागि त इन्टरनेट र कम्प्युटरको पहुँचसम्म थिएन । कामको सिलसिलामा फेरि 'देश दर्शन' मा हिँडेकोले इन्टरनेट र करिब करिब समाचारको दुनियाँबाट समेत केही हदसम्म टाढिएको थिए ।

सामान्यतया पढ्ने वा नयाँ कुराको जानकारी राख्ने बाहेक अरू सोखहरू कम हुँदै गएको र समाचार र जानकारीका लागि छापा वा कागजी किताब भन्दा अन्तर सञ्जालमै निर्भर रहने बानी पर्दै गएकोले सूचना प्रविधिबाट टाढा हुँदा केही खालीपन हुने भएपनि प्रकृतिसङ्ग भने झनै निकटता बढ्ने स्थानहरूमा पुग्दा त्यसको छुट्टै स्वाद मिल्ने पनि गर्छ ।

तथाकथित सहरी जीवन र धूलो-धूवाँबाट पर, केही दिनकै लागि भएपनि प्रकृतिको निकट पुग्दा चल फिर गर्ने प्राणी मात्रै हैन, हिमाल, पहाड र नदि नालामा समेत अभेद्य वा अदृश्य जीवन लुकेको आभास हुन थालेको छ अचेल।

चेतनाको स्तर वा आयाम फरक होलान्। तर रूख बिरुवाले अनुभूति, पहाडले अभिव्यक्ति र नदिले ईशारा गर्छन भनेर कसैले भन्यो भने अचेल मलाई विश्वास गर्न गाह्रो नलाग्न थालेको छ । भौतिक विज्ञानले चेतनाको सुक्ष्मतम अभिव्यक्तिलाई समेत पदार्थकै दर्जामा राखे पनि आध्यात्मिक दृष्टिबाट हेर्ने हो भने 'पदार्थ' भनेर किटिएका हरेक तत्वमा पनि चेतनाकै चरम अस्तित्व भेटिन्छ । सायद यस्तै प्रतिनिषेधात्मक र अन्तर्विरोधात्मक परिस्थितिको बीचको तालमेललाई एउटै सूत्रमा उनेर ओशोले कतै भनेका छन :" पकृति परमेश्वरको देखिने अंश हो र परमात्मा प्रकृतिको अदृशय भाग" ।

15 December, 2010

आकाशे यात्रा र वैभवशाली हिमालहरु

लेख्ने मुड र विषयहरू प्रशस्तै हुँदा हुँदै पनि समयको उचित व्यवस्थापन नहुँदा यसपाला केही लेख्न भ्याइएन । मनमा भएका विषयहरु फुर्सद हुने बेलासम्ममा 'बासी' भएनन् भने पछि लेखौँला भन्ने विचार गर्दै यसपाला भने केही तस्विरहरुले ब्लग भर्दै छु ।

यही डिसेम्बर महिनाको ७ तारिख देखि चिनको यात्रामा निस्केको थिएँ । काठमाण्डौँबाट ल्हासा उड्ने जहाजको उडान समय जम्मा एक घण्टा मात्रै हुने भएपनि मौसम राम्रो भएको अवस्थामा त्यो एक घण्टा आँखा नै झीम्क्याउन नभ्याउने गरि वैभवशाली हिम श्रीङ्खलाहरु को दर्शन हुन्छ । त्यसपछि ल्हासाबाट छङ्तु जाने उडानबाट पनि अनगिन्ती थुम्काहरु देखिन्छन् । क्यामरा नबोक्ने पुरानो बानीका कारण यसपाला पनि त्यो वैभवलाई केवल मोबाइलको सहारामा कैद गर्ने प्रयास गरीयो । आउनुस आजको पोस्टबाट तपाईँ पनि आकाशे यात्रा गर्नुस (तस्विरहरु ठूलो गरेर हेर्न कुनै पनि तस्विरमा क्लिक गर्नुहोला--तस्विर आफैँ अर्को पेज वा ट्याबमा ठूलो आकारमा खुल्ने छ)

11 November, 2010

मेरो देश ! सुन्दर देश !!

तिहारको ठ्याक्कै अगाडि कामको सिलसिलामा म काम गर्ने कार्यालयको एउटा टोली ‘देश दर्शन’ मा निक्लेको थियो । भ्रमणको मुख्य उदेश्य काम नै भएकोले घुम्ने ‘मुड’ र तयारी दुवै थिएन । त्यसैले सुरुमा हिँड्दा छिटो काम सक्केर छिट्टै फर्कने सहमति बनेको थियो । पोखरा-बाग्लुङ हुँदैँ बेनीसम्म पुगेर त्यहाँबाट फेरि बुटबल-भालुबाङ हुँदैँ रोल्पाको सिमानासम्म पुग्ने कार्यक्रम बनेको थियो । करिब ४-५ दिन लाग्ने सो भ्रमणमा सबैजना छिटो काम सकेर काठमाण्डौको धूलो-धूवाँमै तुरुन्तै फर्केने मुडमा भएका र १-२ दिन ढिला भएमा तिहार छुट्ने सम्भावना रहेकोले सबैजना कतै- कुनैपनि ठाउँमा नअल्मल्लीने र सिधा काम सकेर फर्कने अघोषित सहमतिमा घरबाट हिँडेका थिए ।

तर काठमाण्डौँको  धूलो-धूवाँबाट बाहीरिने बित्तिकै सबैलाई आफ्नो सहमति र ‘पूर्व सर्त’ मा पछुतो लाग्न थाल्यो । केही दिन अगाडि निक्लेको भए वा केही दिनको ‘मार्जिन’ राखेर निक्लेको भए कामको साथ-साथै अलिकता प्राकृतिक सुन्दरताको रसपान गर्न पनि मिल्थ्यो भनेर सबै जनालाई चेतना भयो । सुरुमै समय सिमा तोकेर निस्केकोले समय बढाउन सम्भव थिएन तर ‘टाइट-सेड्युल’ लाइ गर्न मिल्ने हदसम्म ‘लुज’ गर्ने प्रस्ताव गाडीमै सर्वसम्मतिमा पारित भयो ।

धेरै घुमफिर नगरे पनि कुनै सुन्दर दृश्य भएको ठाउँमा गाडी रोकेर तस्बिर खिच्ने सहमति भएपछि केही ठाउँमा गाडी रोकिए र फोटो खिच्ने अन्धधुन्द उपक्रमहरु हुन थाले। उसैपनि तस्बिर खिच्ने कौशल नभएको, ‘काम’ मात्रै गरेर फर्कने मनस्थितिमा भएको र क्यामेर बोकेर हिँडन अल्छि लाग्ने स्वभाव भएकोले मैले भने क्यामेरा समेत बोकेको थिईन। तर बाटोमा यस्ता यस्ता दृश्यहरु देखिए जसलाई  देख्ने बित्तिकै अनायस सबैको मुखबाट "वाह!", "आहा!!" निक्लन थाले । ती दृश्यहरुलाई तस्बिरमा नउतार्दा ती दृश्यकै उपहास गरेको ठहरिएला जस्तो लाग्न थाल्यो । सबैजना आ-आफ्ना साथमा भएका क्यामरा, मोबाइल आदि लिएर फोटो उतार्न मस्त भएपछि मैले पनि आफ्नो मोबाइलको सहाराबाट केही फोटोहरू कैद गरेँ । 

16 December, 2008

फ्लिम नगरीमा एक दिन!

करिव २ बर्ष देखी दक्षिण भारतमा बसेर पनि म यहाको प्रसिद्ध फ्लिम नगरी, “रामोजी फ्लिम सिटि” मा भने गएको थिईन । यसको बारेमा चर्चा-परिचर्चा सधैं सुने पनि, आफुलाई फ्लिमप्रति खासै आकर्षण नभएकोले म त्यहा नगएको हो। हालसालै यसले विश्‍वको सबैभन्दा ठुलो चलचित्र निर्माण कम्प्लेक्सको रुपमा Guinness World Records मा नाम दर्ता गराईसकेको कुरा पनि प्रामाणिक रुमपा थाहा भएपछि भने म पनि लागें एक दिनको घुमघाममा ।

आन्ध्र प्रदेशको राजधानि हैदराबादबाट करिब २५ कि‍ मि जत्ति टाडा रहेको यो फ्लिम सिटि १६६६ एकडको क्षेत्रफलमा फैलीएको छ र यहा भीत्र यसको नाम जस्तै यौटा शहरमा हुनुपर्ने सबै कुरा (असली वा नक्कली) छ।

फ्लिमको छाँयाङ्कन देखी, ईडिटिङ, डबिङ, साउण्ड मिक्सिङ, रेकर्डीङ लगाएत सम्पूर्ण सुबिधा युक्त यो फ्लिम नगरी १९९६ देखी खुला भएको हो । हाल यसलाई फ्लिम निर्माण साथै पर्यटनस्थलको रुपमा पनि बिकास गरीएको छ र दैनिक हजारौंको संख्यामा दर्शकहरु आउने गर्छन ।