09 May, 2013

के तपाईलाई मोबाइलमा देखिने G, E, 3G र H आदिको अर्थ थाहा छ ?

मोबाइल फोन वा मोबाइल डिभाइसमा इन्टरनेट चलाउने प्राय: हामी सबैले याद गरेको हुनुपर्छ। हाम्रो सेट इन्टरनेटमा जोडिएपछि प्रायजसो सेटको माथिल्लो देब्रे भागमा (सेट अनुसार फरक पनि हुनसक्छ) तपाइको सेट इन्टरनेटमा जोडिएको जनाउ दिने G, E, 3G वा H आदि जस्ता सङ्केत चिन्हहरू देखिन्छन् । तलको चित्र हेर्नुस (चित्रलाई ठूलो पारेर हेर्न सोही चित्रमा क्लिक गर्नुहोस्, चित्र आफैँ ठूलो आकारमा अर्को पेजमा खुल्ने छ )

E,G, 3G and H

यी चिन्हहरू तपाइले लिनु भएको सेटको हार्डवेयर क्षमता वा तपाइले सेवा प्रदायकबाट लिनु भएको सुविधा अनुसार फरक हुन्छन् । तर कहिलेकाहीँ भने तपाई रहेको स्थान विशेषमा उपलब्ध सेवा प्रदायकको सिग्नलको आधारमा पनि एउटै सुविधा लिएको सेटमा पनि माथि उल्लिखित कुनैपनि सङ्केत चिन्ह देखिन सक्छ वा छिनछिनमा सो सङ्केत चिन्ह परिवर्तन हुनसक्छ ।

29 April, 2013

के तपाईको उमेर ढल्किदैं छ ?

मानिस प्रौढ हुँदै गएको वा कसैको उमेर ढल्कँदै गएको कसरी थाहा पाउने? । हुनसक्छ तपाइलाई यो प्रश्न बेतुक लाग्न सक्छ । उमेर ढल्कँदै गएको वा बुढा-बुढी हुँदै गएको कुरा अनुहारमा देखिने चाउरी, फुलेको कपाल, कमजोर आँखा, फुस्केको दाँतले इङ्गित गर्छ भन्ने तपाई सोच्दै हुनुहुन्छ भने त्यो गलत हुनसक्छ । भनिन्छ नि, तन बूढो भएपनि मन कहिल्यै बूढो हुँदैन....त्यसैले शरीरमा आएका परिवर्तनका कुराहरू शरीरी स्वयंलाई भने कहिल्यै पत्ता हुँदैन । हो .... त्यसैले मानिसले आफू प्रौढ हुँदै गएको कुरा आफैलाई हेरेर भन्दा पनि अरूले आफूलाई कसरी हेर्छन् भन्नेबाट पहिला थाहा पाउँछन् रे ।

पत्याउनुहुन्न ? । अझ सिधै भन्ने हो भने तपाई प्रौढ हुनु भयो कि भएन भन्ने कसरी थाहा पाउने त ? । यो थाहा पाउने विभिन्न तरिकाहरू छन् । अझ तिनमा पनि चरण बद्ध भेदहरू छन् । नपत्याए हेर्नुस, कोही मानिसले आफ्नो उमेर ढल्कदैँ गएको कुरा कसरी अनुभूति वा वोध गर्छ त :

पहिलो चरण: उमेर ढल्कदै गएको कुराको पहिलो बोध यसरी हुनसक्छ:

  • धेरैपछि तपाईको पुरानो साथीसँग जम्काभेट हुन्छ, साथी तपाईको बारेमा हैन, सिधै तपाईको छोरा-छोरीको बारेमा सोध्न थाल्छ ।
  • तपाई कुनै अनलाईन आइडि बनाउँदै हुनुहुन्छ जन्म मितिको ठाउँमा आएपछि तपाईलाई धेरैबेर माउस स्क्रोल गर्नु पर्छ ।
  • छोराले तपाईलाई एउटा ल्यापटप किन्दिन भन्छ,...तपाई छोरालाई हाम्रा पालामा घराँ’ टाइप राइटर पनि थे’न भनेर हप्काउनु हुन्छ ।
  • तपाईलाई तपाईको मनपर्ने हिरोको नाम सोधिन्छ तपाईँ भुवन के.सी, शिव श्रेष्ठ, आमोल पालेकर र शत्रुहन सिन्हाको नाम लिन थाल्नुहुन्छ Party smile
  • तपाइको कपाल प्राकृतिक रूपमै कालो छ । तर तपाईका आफ्नै नातेदार समेत तपाईँलाई ‘हैन कुन चाहिँ कालो हाल्छौ हो कपालमा...?" भनेर सोध्छन् ।

25 March, 2013

होली मुक्तक !!!

Fagu

-१-

एकोहोरो हेरीरहेँ,
उनको मुहार लाल भयो ।
बिना लोला, बिना अबिर
मेरो होली कमाल भयो ! ।

-२-

उनी भन्छिन्, उनको प्रेममा
धेरै कवि पागल भए ।
म त सोच्छु, ती कवि भए,
पागल त ती पहिल्यै थिए ।

15 March, 2013

ट्वीटरका #अर्ध वरिष्ठ, #भु्क्का टुरिष्ट र #अति विशिष्टहरू

केही समय अगाडि यही ब्लगमा मैले ट्वीटेहरूको पहिचान कसरी गर्ने भन्ने बारेमा एउटा पोस्ट लेखेको थिएँ । नेपाली ट्वीटर टाइमलाईनमा बराबर प्रयुक्त हुने वरिष्ठ र कनिष्ठ आदिलाई कसरी चिन्ने भनेर लेखिएको सो पोस्ट पछि मलाई अनलाईन र अफलाईनमा धेरै कमेन्टहरू आए । यसका अरूपनि क्याटागोरी थप्दै जान धेरैले कमेन्ट गरे।

अत: आजको पोस्टमा फेरि अरू केही ट्वीटेलाई चिन्ने शङ्केतहरू राख्दैछु । ल हेर्नुस त उनीहरूको ट्वीटको आधारमा कसरी चिन्ने त उनीहरूलाई :

#अर्ध वरिष्ठ

यिनीहरू कहिले जत्ति धेरै ट्वीट उत्ति धेरै वरिष्ठ भनेर दिनमै कैयौँ ट्वीट गर्छन् ।

तर फलोअर नबढेपछि जति कम ट्वीट्यो उत्ति वरिष्ठ भइन्छ भनेर कैयौँ दिनमा एउटा ट्वीट गर्छन् ।

आफ्नो ट्वीट कसैले फेव गरेन भने आतिन्छन् भने १० पटक जत्ति रिट्वीट भयो भने मात्तिन्छन् ।

धेरेलाई फलो गर्दा राम्रो कि कमलाई गर्दा राम्रो भन्ने छुट्याउन सक्दैनन् र एउटै मान्छैलाई ५ चोटि फलो र ६ चोटी अनफलो गर्छन् ।

यिनलाई कुनै गीत, गजल वा कविताको टुक्रा ट्वीट गर्दा अपार आनन्द महशुस हुन्छ ।

यिनलाई कसैले ‘वरिष्ठ’ भन्यो भने उडायो भन्ठान्छन् बने ‘कनिष्ठ’ भन्दा हेपिएको ठान्छन् ।

हरेक १० जना नयाँ फलोअर बढ्दा यिनलाई बाघ मारेको अनुभूति हुन्छ र सो कुरा ट्वीट्टी हाल्छन् ।

01 March, 2013

म जनता हुँ…

म वृक्ष हुँ
रोपे उम्रन्छु, उम्रे फल्दिन्छु
गोडे सप्रन्छु, तोडे ढल्दिन्छु
चलाए चल्दिन्छु, जलाए जल्दिन्छु

म विचार हुँ
मायामा पग्लन्छु, छायाँमा अल्झन्छु
अभावमा सम्झन्छु, स्वभावमा बल्झन्छु
उच्चतामा टल्कन्छु, चेतनामा सल्कन्छु

म इमान् हुँ
अह्राएको गर्दिन्छु, परे’मा मर्दिन्छु
सत्यमा सर्दिन्छु, असत्य हर्दिन्छु
चेतना छर्दिन्छु, विवेकलाई भर्दिन्छु