02 March, 2011

नेपाली टाइमका कुरा

Nepali Time"अहिले कति बज्यो होला ...?" केही दिन अगाडि एकजना कार्यालयका साथीले आफ्नो घडीको समय मिलाउने तरखर गर्दै सोधेका थिए । "३:५०", "३:५६", "चार बज्यो !", कोठामा उपस्थित अन्य तीन जनाले आ-आफ्नो घडी, मोबाइल र कम्प्युटर हेरेर जबाफ दिए । घडी मिलाउन खोज्ने साथी झनै दुबिधामा परे। अब कुन चाही समयलाई सहि मान्ने भनेर । यता उपस्थित तिन जना नै आ-आफनो घडी ठीक भएको दावा गर्न थाले। "मैले बिहान मात्रै नेपाल टेलिभिजनसँग मिलाएको ", "मेरो घडी कान्तिपुरसँग ठ्याक्कै मिल्छ" , "मेरो घडी रेडियो नेपालको समयसँग मेल खान्छ" ।

दावा र प्रमाणका जे जस्तोसुकै प्रयत्न जारी रहे पनि कुनै न कुनै रूपमा सबैको समयको आधिकारिकता के हो त भन्नेमा भने एउटा प्रश्नचिन्ह खडा भयो । हेर्दा सानो कुरा जस्तो लागे पनि एउटा देशको आधिकारिक समयमा तीन जनाको बीचमा नै करिब ६ मिनेटको फरक हुनु भनेको सामान्य भने पक्कै थिएन र छैन पनि । साधारण अवस्थामा २-३ मिनेटको फरकको एकदमै महत्व नभए पनि विभिन्न समयमा भने यो समयको आधिकारिकता र आधा मिनेट वा केही सेकेन्डको फरक पनि ठूलै कुरा हुनसक्छ । तर नेपालको आधिकारिक समय कुनलाई मान्ने भन्ने बारेमा कुनै निश्चित उत्तर भने भेट्न सकिएन ।

मलाई याद छ, म सानो छँदा प्राय: मानिसहरू रेडीयो नेपालको समाचारको समयसँग आ-आफ्नो घडी मिलाउथे । तिन ताका सरकारीस्तरको एउटै मात्रै रेडियो भएकोले सायद त्यो सम्भव भएको थियो होला । तर अहिले भने सयौँको सङ्ख्यामा खुलेका एफ. एम. र छिटो र तातो समाचार पस्किने प्रतिस्पर्धा र समय अगाडि नै "ब्रेकिङ्ग न्यूज" पस्कने तीनका होडका कारण रेडियोको समाचार बज्ने समयसँग घडी मिलाउनु निरर्थक बनी सकेको छ । एक्लै भएको बेलामा "अथेन्टिक" मानिने नेपाल टेलिभिजनका पनि अनगिन्ती प्रतिस्पर्धी जन्मी सकेकाले, न त अब नेपाल टेलिभिजन हेरेर नै घडीको सूई घुमाउँदा सही मानिन सकिने सम्भाव्यता बचेको छ । तब कुन मिडिया वा कुन संस्थाले तय गरेको समलाई नेपालको सही समय मान्ने त ? ।

हिजो एकैछिन फुर्सदमा केही एफ. एम. र टेलिभिजन च्यानलमा दृष्टि दिएर यो समयको आधिकारिकता जाँच्न खोजेको अचम्मैको परिणाम निस्कियो । सायद हरेक मिडियाले आ-आफ्नै भित्तामा झुन्ड्याइएको घडीलाई नै नेपालको आधिकारिक समय मान्छन् होला त्यसैले कुनै एक निश्चित समयको समाचार वाचनको कार्यक्रमको बेलामा ५-७ वटा च्यानल चहार्ने हो भने सजिलै २-३ मिनेटको फरक रहेको अनुभव गर्न सकिन्छ । अब प्रश्न झन जटिल हुन्छ । कुन हो त नेपालको प्रामाणिक समय? । के हामीले आफ्नो देशको प्रामाणिक समयलाई पत्ता लगाउन हामीले छिमेकी देशहरूको समय वा जिएमटी लाई हेरेर त्यसको अनुपातमै आफ्नो घडी मिलाउनु पर्ने हो त? । यदि यसरी नै गर्ने हो भने पनि यसरी मिलाइएको घडी स्थानीय मिडियालाई आधार मानेर मिलाईएको घडी भन्दा घटिमा १-२ मिनेट फरक पर्छ नै ।

मलाई लाग्छ नेपालमा पनि नेपालको आधिकारीक समय यही हो भन्ने जनाउ दिने वा कमसेकम सबैले अनुसरण गर्नु पर्ने एउटा समयको निश्चितता हुनुपर्छ । त्यसपछि मात्रै एउटै कोठामा बसेका ५ जनाको घडीले एउटै समय देखाउने छ । हैन भने सबैले आ-आफ्नै मनपर्ने मिडियाका समय मिलाउँदै गर्दा राष्ट्रिय समयको अवधारणा भने झनै कमजोर हुँदै जान्छ । मेची देखि महाकालीसम्म खुलेका गनेर नभ्याइने मिडीयाकर्मीले आ-आफ्नै हाते घडीको समयलाई आधार मानेर उद्घोष गर्ने समयलाई नै देशको आधिकारिक समय मान्ने हो भने बाटोमा हिँड्ने १५ जनाको घडीमा प्रन्ध्रै थरी समय नहोला भन्न सकिन्न ।

विदेशमा नाप-तौल र अन्य परिमाणको मानक वा स्थानीयकरण गर्ने संस्थाले त्यो देशको समयको पनि गणना र मापन गरी राष्ट्रिय समयको सूचना दिने गर्छ । चिनमा अध्ययन रत रहँदा मलाई याद भएको अर्को कुरा के हो भने, त्यहाँ राष्ट्रिय समयको लागि एउटा छुट्टै निकाय कार्यरत थियो। कुनै पनि फोन मार्फत ११७ मा डायल गरेपछि टेलिफोनबाटै २४ घण्टै तत्कालीन स्थानीय समयको जानकारी गराइन्थ्यो । ईन्टरनेटमै पनि केही यस्ता साइटहरू छन् जसले आ-आफ्नो देशको सही समयाङ्कन गर्ने गर्छन्। तर हामी कहाँ त्यस्ता कुनै संस्था वा निकाय छैनन् जसले नेपालको स्थानीय वा प्रमाणिक समय यही हो भनेर सूचना प्रवाह गरोस् । वा यस्ता कुनै सर्वमान्य मिडिया पनि रहेनन् जसको समयलाई सबैले आधिकारिक मानुन।

सुनिन्छ केही दशक अघिसम्म काठमाण्डौवासीहरू घण्टाघरको घडी अनुसार आफ्नो नाडी घडी मिलाउथे तर अचेल भने घण्टाघरका चारतिरका घडीले नै चार थरी समयको सङ्केत गरिरहेका हुन्छन् । यस अवस्थामा चाहे पनि नचाहेपनि समय मिलाउन नेपाली जनताले कुनै न कुनै मिडियाकै भर पर्नु बाहेक अर्को उपाय पनि छैन् । त्यसैले यसैपनि सही समयमा काम नसक्ने वा निर्धारित समयमा निर्दिष्ट स्थानमा नपुग्ने गौरवान्वित परम्पराका धनी रहेका हम्रो 'टाइम कन्सेप्ट' ले "नेपाली टाइम" को नामले 'प्रसिद्धि' कमाइ सकेको छ । त्यसमाथी यही समयको पनि पृथक् पृथक् मानक र आधार भएपछि हाम्रो समयको सोच झनै उदेक लाग्ने हुने नै भयो ।

हुन त देशको संविधान बनाउने जिम्मा पाएर गएका र आफैँले तोकेको समयमा संविधान बनाउन नसकेर फेरि १ वर्षे भत्ता पचाइ सकेका देशका "बुद्धिजीवी" हरूलाई यस्ता झीना-मसिना कुरामा सोच्ने फुर्सद छैन होला तर राष्ट्रको समय सूचकाङ्कको एउटा आधिकारिक र सर्वमान्य मानक हुनै पर्छ भन्नेमा भने कसैको दुई मत नहोला ।

अन्तमा एउटा ठट्टा: नेपालीहरूले कुनै पनि कुरा समयमा गर्दैनन् भन्ने कुरा अचेल नेपालीहरूले गलत साबित गरि सकेका छन् । एउटा यस्तो काम छ, जुन ठ्याक्कै समयमै हुने गर्छ । यदाकदा घण्टाघर, रेडियो वा टेलिभिजनको समयमा शंका रहँदा म सोही नेपाली गौरवको आधारमा आफ्नो घडी मिलाउने गर्छु । हो, त्यो लोडसेडिङ्ग नै हो । बत्ती निभाउने काम भने नेपालमा सधैं ठ्याक्कै समयमै हुने गर्छ ...त्यसैले नेपालको आधिकारिक समयको सूचना दिने निकाय सक्रिय नरहुन्जेल तपाईँ पनि बत्ति निभ्ने समयलाई नै आधिकारिक समय मान्न सक्नुहुन्छ (चिरकालसम्म जारी रहने भएकोले कमसेकम हाम्रो पुस्तासम्मले भने आजीवन यसमा भरपर्न सक्छन् Winking smile

10 comments:

  1. हैन हो, यो लोडसेडिङ त मेरो घडि सँग कहिले पनि मिल्दैन ! ६-७ मिनेट अगाडि नै पो लोडसेडिंङ हुन्छ त, मेरो घडि अनुसार !

    साँच्चै खै, कुनलाई आधिकारिक मान्ने भन्ने सुविधा होला ! तर आफूले चाँहि इन्टरेनट को समय सँग घडि मिलाउने गरिएको छ ।

    अनि बिबिसी नेपाली बज्दा पनि ठ्याक्कै ८:४५ नै भएजस्तो लाग्छ आफूलाई त !

    तर तपाई ले खासै नसोचिएको तर गम्भिर कुरा उठाउनु भयो । समय मा एकरुपता ल्याउनलाई ईन्टरनेट को समय अनुसार नै घडि मिलाउँदा ठिक होला जस्तो लाग्छ है !

    ReplyDelete
  2. नेपालमा मात्र हैन अन्यत्र पनि हुन्छ रहेछ समयको थोरै अन्तर । मेरो सेलफोनमा र मेरो कम्प्युटरमा ७ मिनेटको समय अन्तर रहेछ । भनेपछि यहाँ पनि पक्कै हरेक ठाउँको एकाध मिनेट समय अन्तर पक्कै होला ।

    ReplyDelete
  3. दिलिपजी, तपाईंको लेखलाई यसो फेसबुकमा बाँड्न मन लागिराथ्यो। "Share" भन्ने icon काँही देखिन। कसरी गर्ने होला?

    ReplyDelete
  4. यस्तै हो दाजु नेपाली टाइम....हिजो वेलुका आगो लाग्दा फोन गरेको दमकल आज विहान आइपुग्छ....

    ReplyDelete
  5. मलाई त मोबाइलमा हुने अटोमेटिक अपडेट पो ठिकै हो कि जस्तो लाग्छ बरू..

    ReplyDelete
  6. साच्ची नै हुनु पर्ने हो नि राष्ट्रिय समयको एउटा मानक ।
    सामान्य जस्तो लागे पनि सोचनीय बिषय उठाउनु भएछ दिलीप सर धन्यवाद ।

    ReplyDelete
  7. म चाहिँ आकारजीको विचारसँग सहमत छु । ग्रीनवीच मीन टाइमलाई मानकको रुपमा लिँदा उपयुक्त होला कि......। जे होस् नयाँ र महत्वपूर्ण प्रसँग उठाउनु भएकोमा दिलिप सरलाई धन्यवाद ।

    ReplyDelete
  8. म चाहिँ आकारजीको विचारसँग सहमत छु । ग्रीनवीच मीन टाइमलाई मानकको रुपमा लिँदा उपयुक्त होला कि......! जे होस् नयाँ र महत्वपूर्ण प्रसँग उठाउनु भएकोमा दिलिप सरलाई धन्यवाद ।

    ReplyDelete
  9. अब वेब सेप्टर(wave ceptor) घडीहरुको चलन आएको छ | मैले सुने अनुसार कस्मिक किरणहरुको सेन्सिंग (cosmic ray sensing)बाट समय निर्धारण गर्ने यस्ता घडीहरूले एउटै समय देखाउंछन् | शायद बिकसित देशहरुमा रेडियो र टेलिभिजनले पनि यही समय अपनाउने हुनाले एक अर्कोसँग फरक पर्दैन !

    (तर यस्तो घडीले पनि मलाई एकपल्ट तीनछक खुवाएको छ, बिहान उठ्दा ९ बजेको देखाएर , जबकी अरु तमाम घडीहरुमा ६ बजेको थियो |)

    ReplyDelete
  10. कमेन्टको लागि सबैलाई धन्यवाद । कमसेकम सबैले आफ्नो घडि मिलाउनु परेमा आधार मान्न सक्ने वा देशले प्रमाणीक रूपमा लिन सक्ने एउटा समय सूचक चाहिँ हुनै पर्छ भन्ने मेरो मान्यता हो !

    शिरिष जी, धेरैदिन देखी आफ्नै ब्लगको पनि हेरचाह गर्न भ्याएको थिईँन ... गुगलकै 'सेयर ग्याजेट' राखेको थिएँ टेम्प्लेटको कोड चलाउँदा कुन बेला हराएछ याद पनि भएन :)

    अहिले फेरि ट्वीटर र फेसबुक सेयर गर्ने ग्याजेट राखेको छु । धन्यवाद !

    ReplyDelete