15 March, 2013

ट्वीटरका #अर्ध वरिष्ठ, #भु्क्का टुरिष्ट र #अति विशिष्टहरू

केही समय अगाडि यही ब्लगमा मैले ट्वीटेहरूको पहिचान कसरी गर्ने भन्ने बारेमा एउटा पोस्ट लेखेको थिएँ । नेपाली ट्वीटर टाइमलाईनमा बराबर प्रयुक्त हुने वरिष्ठ र कनिष्ठ आदिलाई कसरी चिन्ने भनेर लेखिएको सो पोस्ट पछि मलाई अनलाईन र अफलाईनमा धेरै कमेन्टहरू आए । यसका अरूपनि क्याटागोरी थप्दै जान धेरैले कमेन्ट गरे।

अत: आजको पोस्टमा फेरि अरू केही ट्वीटेलाई चिन्ने शङ्केतहरू राख्दैछु । ल हेर्नुस त उनीहरूको ट्वीटको आधारमा कसरी चिन्ने त उनीहरूलाई :

#अर्ध वरिष्ठ

यिनीहरू कहिले जत्ति धेरै ट्वीट उत्ति धेरै वरिष्ठ भनेर दिनमै कैयौँ ट्वीट गर्छन् ।

तर फलोअर नबढेपछि जति कम ट्वीट्यो उत्ति वरिष्ठ भइन्छ भनेर कैयौँ दिनमा एउटा ट्वीट गर्छन् ।

आफ्नो ट्वीट कसैले फेव गरेन भने आतिन्छन् भने १० पटक जत्ति रिट्वीट भयो भने मात्तिन्छन् ।

धेरेलाई फलो गर्दा राम्रो कि कमलाई गर्दा राम्रो भन्ने छुट्याउन सक्दैनन् र एउटै मान्छैलाई ५ चोटि फलो र ६ चोटी अनफलो गर्छन् ।

यिनलाई कुनै गीत, गजल वा कविताको टुक्रा ट्वीट गर्दा अपार आनन्द महशुस हुन्छ ।

यिनलाई कसैले ‘वरिष्ठ’ भन्यो भने उडायो भन्ठान्छन् बने ‘कनिष्ठ’ भन्दा हेपिएको ठान्छन् ।

हरेक १० जना नयाँ फलोअर बढ्दा यिनलाई बाघ मारेको अनुभूति हुन्छ र सो कुरा ट्वीट्टी हाल्छन् ।

आफ्नो ट्वीट रिट्वीट भएन भने ५ -५ सकेण्डमा ब्राउजर रिफ्रेस गर्छन् र नेटको कनेक्सन चेक गर्छन् ।

वरिष्ठ देखिनको लागि आफुले बुझ्दै नबुझेको भारी भरकम जर्नल र रिपोर्टहरू ट्वीटिन्छन् ।

प्रत्येक दिन जसो डिपी चेन्ज गर्छन् र फेसबुकमा जस्तै कसैले ‘लाइक’ गर्ला कि भनेर कुर्छन् ।

२-३ जना वरिष्ठको ट्वीट मिलाएर एउटा दामी नयाँ ट्वीट बनाउने असफल प्रयास गर्छन् ।


#भुक्का टुरिष्ट (Alankar @eracube को शब्द)

यी ट्वीटरमा कसरी छिरे यिनलाई नै थाहा हुँदैन् ।

यीनलाई कहिले हप्तामा एक पटक त कहिले महिनामा एक पटक समेत ट्वीटीन गाह्रो हुन्छ ।

यीनको काम भनेको अन्धाधुन्ध ट्वीटेलाई फलो गर्नु र तिनका ट्वीट पढ्नु हुन्छ ।

यी प्राय: हरेक वरिष्ठका ट्वीटलाई रिट्वीट वा कमसेकम फेव गर्छन् ।

यिनको डिपी अन्डाबाट मान्छेमा परिवर्तन नै हुँदैन् ।

यि प्राय: नेपाल बन्दको समयमा मात्रै ट्वीट्टीने गर्छन् ।

त्यो बाहेक “....have uploaded some pictures in fb…” भन्ने ट्वीट मात्रै यीनका ओरिजिनल ट्वीट हुन्छन् ।

आफूलाई कसैले फलो गरेको देखेमा यिनलाई अचम्म लाग्छ ।

अरूले बायोमा ह्यासट्याग लगाएर भाँति भाँति लेखेको देखेर यिनीहरू नामकै अगाडि ह्यासट्याग राख्छन् ।


#अति विशिष्ट

ट्वीटरमा छिर्नु अगाडिनै १००-२०० लाई फलो गर्न आदेश दिएर छिर्छन् ।

अमेरिकी राष्ट्रपति, भारतीय प्रधानमन्त्री र चिनियाँ विदेश सचिव जस्तालाई मात्रै फलो गर्छन् ।

१४० अक्षरमै देश बनाउने गँजडी गफ गर्छन् ।

ट्वीटरमा फलो गर्ने जत्ती सबैले आफूलाई मन पराउँछन् भन्ने भ्रम पाल्छन् ।

१०० जनाले ५ वर्षमा नसक्या कुरा ३ सेकेण्डमा १४० अक्षरमै सक्छु भन्ने सोच्छन् ।

आफूभन्दा अति वरिष्ठले आफूलाई फलो नगरेकोमा मनमनै कुँडिन्छन् तर लोकाचारले गर्दा तिनलाई अनफलो गर्न नि सक्दैनन् ।

३ दिन सोचेर ५ जनासँग सल्लाह गरेर धुँवादार ट्वीट सहित चम्किन्छन्...

.... १५ सेकेण्डमा २८० नकारात्मक ‘रिप्लाइ’ आए’छि हच्किन्छन् ।

रमाईलो कुरा यिनका फलोअर मध्ये ७५% यिनका विरोधीहरु हुन्छन् ।

यिनका ‘पेटेन्ट’ फलोअर भने ‘अण्डा’ बाट निस्कदै ननिस्की सकिन्छन् ।

देश चलाउन भन्दा ट्वीटर चलाउन गाह्रो हुने रै’छ भन्ने ढिला मात्रै ज्ञान पाउँछन् ।


#विचित्र ट्वीटिष्ट:

यिनलाई व्यक्त गर्न शब्दकोष नै परिवर्तन गर्नु पर्ने हुन्छ ।

यि दिनमा २५ घन्टा ट्वीटरमा भेटिन्छन् ।

जस्तोसुकै अँग्रेजी शब्दलाई पनि यिनीहरू नेपालीकरण गर्छन, जुन नयाँ ट्वीटेलाई बुझ्न हम्मे हम्मे पर्छ।

घरमा कुरा गर्दा नि १४० अक्षरको सिमामा रहन खोज्छन् ।

बोल्दा पनि हरेक वाक्य पछि ‘लोल’, ‘पि’, ‘डि’, थप्छन् ।

कार्यालयको चिठ्ठी लेख्दा विषयमा ह्यासट्याग (#) राख्छन् ।

वास्तविक जीवनमै कसैले जोक सुनाए पनि यिनिहरू हाँस्दैनन् । “लोल ! लोल !!” भनेर टार्छन् ।

यिनले दिनमा कतिवटा ट्वीट गर्छन् यिनलाई नै याद हुँदैन्, यस्तैमा यिनीहरू आफ्नै ट्वीट पनि फेव गर्छन्

करिव करिव ‘ट्वीटो मेनिया’ ले ग्रस्त यिनीहरू बेला-बखतमा आफ्नै ट्विट रिट्वीट गर्छन् ।

रातको २ बजे उठेर कम्प्युटर खोल्छन्, अरू केहि नभए “It’s 2:00 am NST” लेखेर ट्वीट्टीन्छन् अनि मात्रै सुत्छन् ।


यो पनि हेर्नुस: ट्वीटरका #वरिष्ठ, #कनिष्ठ र #कर्तव्य निष्ठहरू !!!

10 comments:

  1. ट्विटिस्ट सम्बन्धि सर्भे सारै रमाइलो लाग्यो....

    ReplyDelete
  2. लु रमाइलो :)

    ReplyDelete
  3. म रमाइलो को लागी ट्वीटीने गर्छु र फुर्सदको बेलामा चाही अलि बढी नै ट्वीटिीन्छु। मलाइ फलोअर धेरै होस भन्ने लोभ पनि छैन र ट्वीट सँख्या धेरै पुराउने रहर पनि छैन त्यस कारण म अन्यौलमा परे सर ,,,,, म कुनमा परे छुट्ट्याउन गारो भो सर !!! भन्दिनुस न प्लीज हे हे हे
    #अर्ध वरिष्ठ ,
    #भुक्का टुरिष्ट , #अति विशिष्ट ,#विचित्र ट्वीटिष्ट:

    ट्वीट सम्बन्धी यो लेख सारै राम्रो लाग्यो तर ट्वीटनै प्रयोग नगर्ने तपाइको पाठक हरु चाही ट्वा परे होला यो लेख पढेर.........

    ReplyDelete
  4. गज्जब, म चाही बिचित्र तिर परे कि :पी :डि लोल, को त ठेक्कै लिइएको छ, आखिर जेजे भए नि, टुइट त गर्ने पर्यो नि,

    ReplyDelete
  5. There it comes, THE Tweeterers category :-) Wonderful post :)

    ReplyDelete
  6. हाहाहा मजा आयो ।

    ReplyDelete
  7. सहि बिस्लेसन तर म चै कुन वर्ग मा परे छुटाउन गार्हो भो/

    ReplyDelete
  8. Really like it but dont know where I fit well....

    ReplyDelete
  9. ma sabai categorize ko auta autama pardo rahechhu

    ReplyDelete