19 June, 2008

सम्मोहन (लघुकथा)

हिलो पटक चुनावमा उसले जोडदार भाषण दियो " मैले जितेँ भने बाटो बनाईदिन्छु, ढल खनाईदिन्छु… … । काम नहुनेहरुलाई जागिर हालिदिन्छु, बिजुली नपुगेको ठाँउमा बत्ती बालिदिन्छु‍‍… …" । उसले जनतालाई लोभ्यायो, सबैले उसलाई भोट हाले। उसले चुनाव जित्यो तर केहि काम भएन ।

दोस्रो पटक चुनावमा उसले वक्तव्य फेर्‍यो " …अघिल्लो पटक योजना बनाउँदा र आर्थीक स्रोत जुटाउँदैमा समय बित्यो,… … काम गर्नै भ्याईएन… तर यसपालि जरुर केहि गरेर देखाउनेछु । यौटा मौका फेरि दिनुहोस… …" उसले मतदातालाई फकायो, सबैले उसलाई भोट हाले । उसले फेरी चुनाव जित्यो र फेरी केहि पनि काम गरेन ।

तेस्रो पटक चुनवमा आदर्श छाँट्यो " यहाँ काम गर्छु भन्नेलाई काम गर्ने वातावरण नै छैन, विपक्षीको चाल र पार्टी भित्रको अन्तर्द्वन्द मिलाउदैमा समय बित्छ के गर्ने ? … …अब स्थीती अलि ठिक भएको छ । अब त काम गरेरै छाडछु, केवल एक मौका दिनुहोस… …" उसले भिडलाई झुक्यायो, सबैले उसलाई भोट हाले । उसले पूर्ववत् चुनाव जित्यो अनि पूर्ववत् नै केहि काम पनि गरेन ।

यसपालि चुनावमा उसले के बारेमा भाषण गर्‍यो कसैले बुझेनन्, के कस्तो आश्‍वासन दियो कसैले सुनेनन्, तर पटक पटक उसलाई भोट दिँदादिँदा बानी परिसकेका मतदाताहरु यसपालि पनि धमाधम उसैको चुनाव चिन्हमा छाप लगाउँदै थीए ।

(४-१-२०५६,गोरखापत्र) 

6 comments:

  1. दिलीप जी!साह्रै राम्रो कथा लेख्‍नु भएछ। बिल्कुल हाम्रो देशको परिस्थिती सङ्ग मेल खाने। देशका नेता खराब हुनुमा हाम्रो पनि ठुलो हात रहेछ भन्ने चाहि यस बाट पनि थाहा भयो है ।

    ReplyDelete
  2. मिती फेरियो परिस्थिती फेरिएन । तपाईंले प्रजातन्त्रको करिव १० वर्षे अवलोकनमा लेख्नुभएको यो कथाको यथार्थ अर्को १० वर्ष बित्दा पनि यथार्थ नै रहेको छ । अब तन्त्रनै फेरिएपछि परिस्थिती फेरिएला कि ? कथा राम्रो लेख्नुभएको हो ।

    ReplyDelete
  3. राम्रो कथा!

    कहिलेकाहीँ सम्मोहनले पनि केहि गर्न सक्दो रहेनछ, यसपाली काँग्रेस र एमालेले हावा खाएजस्तो।

    ReplyDelete
  4. Katha ramro lagyo . Naya katha hola bhnthaneko ta purano katha rahecha yesko matlab
    Nepalko Rajniti Pahila jasto Thiyo ahile pani testai rahecha.

    EVERGREEN Laghu Katha.

    ReplyDelete
  5. कमेण्टको लागी सबैलाई धन्यबाद् ।
    समयसंगै सम्मोहनको "निन्द्रा" बिस्तारै टुटनु पर्ने हो ।

    बसन्त जी ले भन्नु भएजस्तै यसपाला सम्मोहन को "निन्द्रा" केहि टुटेको हो की भनेर आश गर्ने ठाँउ त छ, तर मलाई लाग्छ हामिहरु अझै पनि अवचेतन अबस्थामा नै छौं ।

    फरक केवल यत्ती छ की हामि यौटा "सम्मोहक" को जालबाट छुटेर तुरुन्तै आर्को सम्मोहकको घेरामा प्रवेश गर्दैछौं ।

    ReplyDelete
  6. गज्जब छ, नेताले चुनाव जित्ने तरिका नै यही हो "सम्मोहन" । तर कस्तो "सम्मोहन" हो, भन्न कठीन छ ।

    ReplyDelete