Showing posts with label कम्प्युटर कुना. Show all posts
Showing posts with label कम्प्युटर कुना. Show all posts

09 May, 2013

के तपाईलाई मोबाइलमा देखिने G, E, 3G र H आदिको अर्थ थाहा छ ?

मोबाइल फोन वा मोबाइल डिभाइसमा इन्टरनेट चलाउने प्राय: हामी सबैले याद गरेको हुनुपर्छ। हाम्रो सेट इन्टरनेटमा जोडिएपछि प्रायजसो सेटको माथिल्लो देब्रे भागमा (सेट अनुसार फरक पनि हुनसक्छ) तपाइको सेट इन्टरनेटमा जोडिएको जनाउ दिने G, E, 3G वा H आदि जस्ता सङ्केत चिन्हहरू देखिन्छन् । तलको चित्र हेर्नुस (चित्रलाई ठूलो पारेर हेर्न सोही चित्रमा क्लिक गर्नुहोस्, चित्र आफैँ ठूलो आकारमा अर्को पेजमा खुल्ने छ )

E,G, 3G and H

यी चिन्हहरू तपाइले लिनु भएको सेटको हार्डवेयर क्षमता वा तपाइले सेवा प्रदायकबाट लिनु भएको सुविधा अनुसार फरक हुन्छन् । तर कहिलेकाहीँ भने तपाई रहेको स्थान विशेषमा उपलब्ध सेवा प्रदायकको सिग्नलको आधारमा पनि एउटै सुविधा लिएको सेटमा पनि माथि उल्लिखित कुनैपनि सङ्केत चिन्ह देखिन सक्छ वा छिनछिनमा सो सङ्केत चिन्ह परिवर्तन हुनसक्छ ।

03 January, 2013

के तपाईँले Firefox मा Facebook मेसेन्जर जोडनु भयो ?

के तपाई फेसबुक प्रयोग गर्नुहुन्छ ? । सामाजिक सञ्जालको दह्रो पकड चलेको बेलामा यो प्रश्न नै बे-अर्थी हुनसक्छ । अनि के तपाई फायरफक्स वा मोजिला फायरफक्स चलाउनु हुन्छ ? । हालैका तथ्याङ्कहरू हेर्ने हो भने इन्टरनेटमा चलाउने विश्वका करिब एक तिहाइ मानिसले फायरफक्स चलाउँछन् । तब के त फायरफक्स चलाउने सबैले फेसबुकको अपडेट, फ्रेन्ड रिक्वेस्ट र मेसेजहरू हेर्न फेसबुकको पेजमै जानु पर्छ त ? । केही समय अगाडिसम्म यसको जवाफ ‘हो’ हुन सक्थ्यो ।

त्यसो त अनगिन्ती अनुप्रयोगहरु जोडन सकिने गरेर बनाइएको फायरफक्समा यो भन्दा पहिला पनि फेसबुकको लागि कुनै उपयोगी ‘एडअन’ नभएका हैनन् । तर केही समय अगाडि अर्थात फायरफक्सको १७ औँ संस्करण सार्वजनिक भएपछि भने फायरफक्स प्रयोगकर्ताहरुको लागि फेसबुकको आफ्नै अनुप्रयोग उपलब्ध भएको छ। जसको उपयोगबाट इन्टरनेट चलाउँदाको अवस्थामा कुनैपनि पेजमा रहँदा वा कुनैपनि साइटको भ्रमण गर्दा सो पेज नछाडि फेसबुकको सबै जानकारी र अपडेटहरू लीन सकिन्छ ।

07 September, 2012

के तपाई कम्प्युटरमा नेपाली बाटै लेख्न चाहनुहुन्छ ?

केही दिन अगाडि फेसबुकमा एकजना विदेशमा रहनु भएका भाइसँग च्याटबक्समा कुरा गर्दै थिएँ । उनि रोमनमा लेख्दै थिए भने म नेपाली युनिकोडको प्रयोग गर्दै थिएँ । एकैछिनमा उनले मलाई अनौठो प्रश्न गरे: “दाइ, तपाई त कति छिटो लेखेर कपि-पेस्ट गर्न सक्नु हुँदो रहेछ ?” । मैले कुरा बुझिन र सोधेँ । उनले बताएपछि मैले बल्ल उनको कुरा बुझेँ । उनि मैले फेसबुकको च्याटबक्समा सिधै नेपालीमा लेखेको देखेर र त्यो पनि त्यति छिटो भएको देखेर अचम्ममा परेका रहेछन् । अनि मैले सायद कुनै अनलाइन कन्भर्टरमा रोमनमा लेख्दै त्यसपछि त्यहाँ रुपान्तरण हुने नेपाली यनिकोडलाई कपि गरेर फेरि च्याटबक्समा पेस्ट गर्दै छु भनेर सोच्दै रहेछन् ।

नेपाली यनिकोड सुरू भएको यत्तिका वर्ष भइसक्दा र धेरै साथीहरूले यस बारेमा लेखिसक्दा पनि अझै नेपालीहरूको ठूलै जमातलाई यसको बारेमा थाहा रनहेछ । नेपाली युनिकोडको प्रयोग गरेर माइक्रोसफ्ट अफिसका ‘वर्ड, एक्सेल, पावर प्वाइन्ट जस्ता कुनैपनि एप्लिकेशनमा मात्रै हैन, कुनै पनि अनलाइन पोर्टल, च्याटबक्स आदि अनि याहू, गुगल टक वा अन्य कुनै पनि मेसेन्जरमा आफ्नो कम्प्युटरबाट सिधै नेपालीमै टाइप गर्न मिल्छ भनेर अझै पनि धेरैलाई थाहा नभएको र थाहा हुनेलाई पनि यसरी नेपालीमा टाइप गर्न ‘पहाड नै उचाल्नु पर्छ’ भन्ने भ्रम रहेकोले आजको पोस्टमा नेपाली युनिकोड आफ्नो कम्प्युटरमा कसरी स्थापना गर्ने र कसरी प्रयोग गर्ने भन्ने बारेमा लेख्दैछु ।

भ्रमको निवारण: माथि भनेजस्तै नेपाली भाषामा वर्ड, एक्सेल, पावर प्वाइन्ट, नोट प्याड, वर्डप्याड मा मात्रै हैन् अन्य विभिन्न एप्लिकेसनमा लेख्नलाई अनलाइन कन्भर्टरको जरूरत पर्दैन र सिधै कम्प्युटरको किवोर्डमा टाइप गरेर नेपालीमा लेख्न मिल्छ । यसरी सिधै लेखेर फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा स्टाटस राख्ने र च्याट गर्ने मात्रै हैन्, याहू, गुगल टक वा अन्य कुनै पनि मेसेन्जरमा समेत सिधै नेपाली वर्णमालाका अक्षरहरू प्रविष्ट गरेर कुरा गर्न मिल्छ ।

05 June, 2012

Android मोबाइलका लागि केही उपयोगी एप्लिकेसनहरू !

मोबाइल फोन, केबल ‘फोन’ मात्रै नभएको धेरै भइसक्यो। प्रविधिको विकास र प्रयोगकर्ताहरूको असीमित रोजाइ र इच्छाहरूका बीच स्मार्ट फोनहरू, फोन मात्रै नभइ, रेडियो, टीभि, क्यामेरा, म्युजिक प्लेयर, टर्च लाइट र अरू पनि धेरै यन्त्र वा औजारको विकल्पको रूपमा प्रयोग हुनु भनेको पनि अबका दिनमा सामान्य कुरा नै भइ सके ।

यसरी खल्तीमा अटाउने एउटा सानो यन्त्रमा विविधता थप्नेकाम मुख्य त दुइ कुरामा निर्भर रहन्छन् । पहिलो तपाईले चलाउने सेटमा केही न्यूनतम हार्डवेयर क्षमता हुनुपर्छ र दोस्रो उपलब्ध हार्डवेयरको अधिकतम उपयोगीता लीन तपाइलाई वजारमा उपलब्ध विविध एप्लिकेसन वा सफ्टवेयरको जानकारी हुनु पर्दछ ।

यस अघि धेरै अगाडि मैले मोबाइल सेटमा प्रयोग हुने केही उपयोगी संसाधनको वारेमा एउटा पोस्ट लेखेको थीएँ । आज भने एन्ड्रोइड सिस्टममा चल्ने केही मलाइ मन परेका वा मैले उपयोगी देखेका एप्लिकेसनको बारेमा चर्चा गर्दैछु :

त्यसो त आ-आफूले गर्ने काम, चाख र प्रयोगका आधारमा सबैको रोजाइ फरक फरक हुनसक्छ । तर मेरो रोजाइमा भने एन्डोइड सिस्टमको मोबाइलमा तलका केही एप्लिकेसनहरू परेका छन् :

28 March, 2012

अब आयो Microsoft को सामाजिक सञ्जाल - Socl -

पृष्ठभूमी:
इन्टरनेटमा सामाजिक सञ्जालको बाहुल्य बढ्दै जाँदा र एक अर्कासँग जोडिन मात्रै हैन, विस्तारै समाचार, अध्ययन र अन्य विभिन्न सामाजिक र शैक्षिक अनि विविध कार्यमा समेत यस्ता सञ्जालले महत्वपूर्ण भूमिका खेल्न थालेपछि विगतमा इमेल प्रदायक र सर्च इन्जिनको रूपमा रहेका सबै विस्तारै आ-आफ्नै सामाजिक सञ्जाल चलाउन अग्रसर भएका छन् ।
गुगलले आफ्नो छुट्टै सामाजिक सञ्जालको साइट ‘गुगल प्लस’ चलाएको केही समय नबित्दै अब Microsoft ले पनि FUSE Labs को नामबाट आफ्नै सञ्जाल सुरु गरेको छ। विशेष गरी विद्यार्थीहरूको लागि सामाजिक सञ्जाल र खोजीको लागी उपयुक्त हुने भनि डिजाइन गरिएको यो सामाजिक सञ्जाल केही निश्चित प्रयोगकर्ता माझ सुरू भैसकेको छ । सोसल वा So.cl (उच्चारण "social" हुने) यो सामाजिक सञ्जालले केही समय अगाडि मलाई पनि सुरुवाती प्रयोगकर्ताको निम्तो दिएकोले यसको प्रारम्भिक प्रयोगको अनुभव बारे केही लेख्दै छु ।
ढाँचा र साजसज्जा:
हुन त यो सञ्जाल अहिले प्रारम्भिक वा अपरिष्कृत संस्करणमा नै छ। तर झ्वाट्ट हेर्दा धेरै हदसम्म गुगलप्लसको जस्तै इन्टरफेस देखिन्छ । समष्टिमा फेसबुक वा गुललप्लस चलाइसकेका प्रयोगकर्तालाई यसको इन्टरफेस र प्रयोग बुझ्न खासै घोरीनु पर्ने देखिन्न । (तलका स्क्रिनशटहरू हेर्नुस:-चित्र ठुलो पारेर हेर्न कुनैपनि चित्रमा क्लिक गर्नुस । सो चित्र स्वत: ठुलो आकारमा अर्को पेजमा खुल्नेछ)

20 March, 2012

फेरि केही Google Search का ‘जादु’हरू !

गुगल वा google.com सूचना वा तथ्याङ्क खोजी गर्ने एउटा खोजी संयन्त्र मात्रै हैन्, त्यो भन्दा बढी अरू पनि धेरै नै छ्/ हो । फेरि झ्वाट्ट हेर्दा गुगलमा गएर कुनै पनि विषयको बारेमा खोजी गर्नु जत्ति सजिलो देखिन्छ , आफूले चाहेकै ठ्याक्कै सामाग्री भेट्नु त्यत्ति नै मुस्किल पनि हुन्छ । तर केही कि-वर्डको प्रयोग र केही ‘जुक्ति’ लगाएर गुगलबाट सामान्य अवस्थामा नभेटिने वा खोजैकै जस्तो एकदमै सटीक जानकारी लीन सकिन्छ। यसरी गुगलको बहु-उपयोग गर्ने बारेमा मैले धेरै अगाडि पनि एउटा पोस्ट लेखेको थिएँ । आजको पोस्टमा फेरि केही नयाँ जुक्तिहरू र गुगललाई अझै उपयोगी खोजी सहायक बनाउने बारेमा केही अरू सूत्रहरू दिँदैछु:

निश्चित साइटभित्र मात्रै खोज्नुस: कुनै एउटा डोमेन वा साइटभित्र मात्रै खोज्ने ‘जुक्ति’ धेरै काम लाग्ने र समय बचत गर्ने हुनसक्छ । उदाहरणको लागि तपाइँले केही समय वा वर्ष अगाडि कान्तिपुरमा अरूण तेस्रोको बारेमा कुनै रोचक खवर पढ्नु भएको थियो । अब तपाइँले गुगलमा गएर ‘अरूण ३’ वा ‘अरूण तेस्रो’ टाइप गरेर खोज्नु भयो भने तपाईको मोनिटरमा अरूण ३ सँग सम्बन्धित हजारौँ पेजहरूको लिन्क देखिनेछ । त्यसमा तपाइँले खोज्नु भएको पेज ठ्याक्कै भेट्नु भनेको समुद्रमा सियो खोज्नु जस्तै पनि हुनसक्छ। यस्तो अवस्थामा गुगलको सर्च बक्समा अलिकता जुक्तिको प्रयोग गर्दा खोजी केवल कान्तिपुरको पेजभीत्र मात्रै सिमित हुनेछ र तपाइँको पेजमा केवल कान्तिपुरका पेजमा छापिएका सो वारेका समाचारहरू मात्रै देखिनेछन् । यसको लागि गुगलको सर्चबक्समा ‘अरूण तेस्रो ‘लेख्नुस र एउटा स्पेस दिएर site:http://www.ekantipur.com टाइप गरि खोज्नुस। तपाइँको मोनिटरमा खाली कान्तिपुरमा छापिएका अरूण तेस्रो सम्बन्धि सामाग्री मात्रै देखिनेछन् । तलको चित्र हेर्नुस:

04 March, 2012

Windows 8 पहिलो प्रयोगका अनुभव । डाउनलोड लिन्क सहित !

अबको केही महिनामा आधिकारिक रूपमा सार्वजनिक गरिने तयारी गरिएको माइक्रोसफ्टको विन्डोज ८ को ‘कन्ज्युमर प्रिभ्यू’ भर्खरै सार्वजनिक भएको छ । अपरेटिङग सिस्टमको बजारमा करिब करिब एकलौटी आधिपत्य जमाउँदै आएको विन्डोजलाई विगतका केही समयमा लिनक्स लगायत, गुगलको क्लाउड कम्प्युटिङमा आधारित अपरेटिङ्ग सिस्टम आदिले चुनौती दिन थालेपछि विन्डोजको यस पटकको इन्टरफेसमा व्यापक परिवर्तन गरेको छ । झ्वाट्ट हेर्दा कता कता लिनक्स वा एन्ड्रोएड सिस्टमको झलक मिल्ने गरी भएको यस पटकको परिवर्तन दसौँ वर्षसम्म लगातार माइक्रोसफ्टकै अपरेटिङग सिस्टम मात्रै चलाउनेलाई भने बानी पार्न र अभ्यस्त हुन केही समय लाग्ने र असजिलो हुने देखिएको छ ।

भर्खरै मात्र डाउनलोड गरेर चलाउन थालेको विन्डोजको यो नयाँ अवतारको बारेमा धेरैकुरा जान्नै बाँकी छ । तर पहिलो पल्ट चलाउँदाका मेरा केही अनुभवहरू यस पोस्टमा लेख्दै छु :

स्टार्ट बटनको विस्थापन र मेट्रो युजर इन्टरफेसको सुरुवात: विन्डोजको मात्रै अपरेटिङ्ग सिस्टम चलाउने बानी लागेकाहरूलाई पत्याउनै गाह्रो पर्ला । तर हो, माइक्सोसफ्टले आफ्नो यो नविनतम् अवतारमा विन्डोज 95 देखि निरन्तरता दिँदै आएको स्टार्ट बटन (वा पछील्लो समयमा Start Orb भनिने बटन) र पुरै स्टार्ट मेनु नै हटाएको छ । (तलको चित्र हेर्नुस—चित्रलाई ठूलो बनाएर हेर्न तलका कुनै चित्रमा नै क्लिक गर्नु होला, सो चित्र आफैँ अर्को पेज र ठूलो आकारमा खुल्नेछ )

Windows 8 Start

21 January, 2012

के तपाईँको इन्टरनेटको गति कम छ?

Speedtest 1सामान्यतया यो प्रश्नको जबाफ ‘हो’ वा ‘छ’ मा नै आउँछ । किनकी इन्टरनेटको महासागर र आजकलको इन्टरनेटमय जीवन शैलीमा जत्ति नै स्पिड भए पनि त्यो कम नै जस्तो लाग्छ। मेरो आफ्नै अनुभवको कुरा गर्ने हो भने पनि 56 kbps देखि 2 MBps सम्मको गतिमा इन्टरनेट चलाउँछु ... तर कामको प्रकृति वा उपयोगको आधारमा हेर्दा अझै अलिकता फास्ट भए’नि हुन्थ्यो भन्ने मनस्थिति सधैँ रहन्छ । त्यसैले आजको पोस्टमा उपलब्ध इन्टरनेटको गतिलाई कसरी अधिकतम उपयोग गर्ने भन्नेमा यो पोस्ट केन्द्रित गरेको छु ।

यथार्थको स्विकार

पहिलो कुरा पहिलै भन्दा सही हुन्छ । कुरा के भने तपाईले जुन गतिको इन्टरनेट सेवा उपयोग गरिरहनु भएको छ त्यसलाई तोकिएको गति भन्दा बढाउने कुनै उपाए छैन् । यदि तपाईँ इन्टरनेटको ‘स्पिड’ बढाउने कुनै सफ्टवेयरको खोजीमा हुनुहुन्छ वा त्यस्ता नारा दिने कुनै सफ्टवेयरको प्रयोग गर्नुहुन्छ भने त्यो ९९% हौवा मात्र हुन्छ। त्यसैले सबैभन्दा पहिला कुनै सफ्टवेयर प्रयोग गरेर इन्टरनेटको गति बढाउने कल्पनालाई छाड्नुस् । कुरा सामान्य छ, १५-२० हजार पर्ने एउटा अपरेटिङ्ग सिस्टम बनाउने कम्पनीले आफ्नो अपरेटिङ्ग सिस्टमा २०-२५ डलरमा बजारमा पाईने सफ्टवेरयले दावा गर्ने जस्तो ‘स्पिड बुस्टर’ बनाउन नसकेर नहाल्ने पक्कै पनि होइन ।

30 September, 2011

Google + बाटै Twitter र Facebook अपडेट गर्नुस !

सामाजिक सञ्जाल, एक-अर्काको बारेमा जानकारी राख्न र सन्देश अनि सूचनाहरू बाँडन जत्ति सरल माध्यम बनेको छ त्यत्ति नै जटिल बनेको छ दिनदिनै बढ्दै गएका यस्ता सामाजिक सञ्जालका पेजमा आफ्नो उपस्थिति जनाउन र सञ्चालन गर्नु ।
हामीहरू मध्ये सबैलाई यो समस्या रहेको हुनसक्छ । कसैले फेबुकलाई आफ्नो प्रमुख सामाजिक सञ्जाल पेज बनाएका होलान् त कोही गुगलप्लसमा मात्रै रमाउलान। कोही भने ट्वीटरमै वा Identi.ca जस्ता माइक्रोब्लगिङमा नै व्यस्त रहलान् । यस्तो अवस्थामा हरेक व्यक्तिको हरेक प्रमुख सामाजिक सञ्जाल पेजमा कोही न कोही ‘साथी’ हुन्छन् नै । अब एकै जनाले यी र यस्तै सबै पेजमा आफ्नो सन्देश प्रवाह गर्न परेमा सबै पेजमा लगइन गर्नु पर्ने भएकोले झन्झटिलो मात्रै हैन् , यसको लागि समयाभाव समेत रहन्छ ।
यस्तै हरेक सामाजिक सञ्जालका पेजमा छिर्नु पर्ने झन्झटिला प्रक्रियालाई सरल गर्न विभिन्न ब्राउजरका लागि धेरै एडअनहरू पनि बनेका छन् । जसका मद्दतले तपाँई एउटा सन्देश वा ‘स्टाटस्’ एकै क्लिकमा २ वा सो भन्दा बढी पेजहरूमा प्रेषित गर्न सक्नुहुन्छ ।
आजको पोस्टमा म यस्तै एउटा विधिको बारेमा लेख्दैछु जसले बिना कुनै एडअन, ग्याजेट वा सफ्टवेयर तपाईँको गुगलप्लसको सन्देश वा Stream लाई फेसबुक, ट्वीटर र Identi.ca मा संप्रेषित गर्छ । हो बिना कुनै एडअन ! । दर्ताको एउटा सानो प्रक्रिया सकेपछि तपाईँले गुगलप्लसमा राखेका सन्देशहरू तुरुन्तै तपाईँका फेसबुक, ट्वीटर आदिमा देखिनेछन् ।

23 September, 2011

Facebook को नयाँ Timeline प्रयोग गर्नुस--अहिले नै !

फेसबुकले भर्खरै आफ्नो अनुहार पूर्ण रूपमा परिवर्तन गर्ने काम सुरु गरेको छ । सामाजिक सञ्जालको भिडमा करिब करिब नम्बर एक नै रहेको फेसबुकलाई केही समय अगि रिलिज भएको गुगलप्लस र अन्य पुराना साइटहरूको पनि चुनौती दह्रै छ। ईन्टरनेटको खुल्ला आकाशमा आफूलाई अरूभन्दा भिन्नै र बढि उपयोगी बनाउने होडमा प्राय: सबैजसो सामाजिक सञ्जाल लागेका छन् र यसैको निरन्तरता स्वरूप फेसबुकले पनि आफ्नो पुरै ईन्टरफेस परिवर्तन गर्दैछ । (नयाँ टाइमलाइन को झलक तलको स्क्रिनशटमा हेर्नुस । नयाँ टाइमलाईन सक्रिय गरेपछि पुरै पेजको स्वरूप कस्तो देखिन्छ हेर्न यहाँ क्लिक गर्नुस् ।

FB Timeline

04 September, 2011

केही उपयोगी Firefox Addon हरू !

Firefox Addonsनि:शुल्क, सोर्सकोडहरू खुला भएको र छरितो भएकोले मात्रै हैन्, विभिन्न प्रयोजन र आवश्यक कार्यहरू गर्नको लागि हजारौँको सङ्ख्यामा एडअनहरू उपलब्ध रहेकाले फायरफक्स वा Mozilla Firefox धेरैजसो इन्टरनेट प्रयोगकर्ताका पहिलो चयन हुने गरेको छ। कम्प्युटरमा रहेका धेरैजसो सफ्टवेयरहरूसँग विभिन्न प्रयोजनको लागि ब्राउजरबाटै जोडन सकिने र ठुला-ठुला वा जटिल कार्यलाई सजिलै सम्पादन गर्न मिल्ने गरी बनाइएका फायरफक्सका साँच्चै हजारौँको सङ्ख्यामा एडअनहरू उपलब्ध छन् र मानिसहरू आफ्नो शौक वा कामको आवश्यकता अनुसार चाहिने एडअनहरू आफ्नो कम्प्युटरमा हाल्ने गर्छन् ।

माथि नै भनिसकेँ, शौक र कामको प्रकृति अनुसार सबैले भिन्न-भिन्न एडअनको प्रयोग गर्छन् त्यसैले सबैको चयन फरक फरक हुनसक्छ। आजको पोस्टमा, म , मैले प्रयोग गर्ने र उपयोगी देखेका केही यस्ता एडअनहरूको चर्चा गर्दैछु । केही के.बी. देखीका साइजमा आउने र झन्झट रहित स्थापना गर्न सकिने यी एडअनहरू तपाईँ पनि प्रयोग गर्न सक्नुहुन्छ ।

Adblock Plus वा विज्ञापन अवरोधक: यो मेरो पुरानो प्रिय एडअन हो। सामान्यतया हामी कोही पनि विज्ञापन हेर्नको लागि कुनै साइटमा प्रवेश गर्दैनौ, तर चल्ने, नचल्ने प्राय: सबै साइटमा आजकल विज्ञापनको बाढी नै हुन्छन् । विज्ञापनको भारले एक त पेज कुरूप देखिन्छ भने अर्को कुरा, तीनै विज्ञापनका कारण पेज लोड पनि ढिला हुन्छ। यदि तपाई फायरफक्स प्रयोग गर्नुहुन्छ भने यो झमेलाबाट सजिलै मुक्त हुन सक्नुहुन्छ। यसको लागि यो पेजमा जानुस र "Install Adblock Plus" मा क्लिक गर्नुस वा सिधै यहाँ बाट यसलाई ब्राउजरमा जोडनुस्। यसले सूचना वा मनोरञ्जनको लागि कुनै पनि साइट खोल्दा, त्यसमा भएका अनावश्यक, पप-अप, फ्ल्यास, वा गुगल एड आदि विज्ञापनलाई निष्क्रिय बनाइदिन्छ र तपाईँले हेर्ने पेज सफा र छरितो देखिन्छ ।

03 July, 2011

Google Plus केही टिप्स, Invitation र केही जानकारी !

गुगलको महत्वाकांक्षा

धेरै दिन देखि विभिन्न “कोड नेम” बाट चर्चा परिचर्चा पाउँदै आएको गुगलको महत्वाकांक्षी सामाजिक सञ्जालको पेज गुगल ‌प्लस केही दिन अगाडि सीमित प्रयोगकर्ता माझ सुरु भएको छ । संसारभरिका प्रयोगकर्ताद्वारा सबैभन्दा बढी खोलिने पेज, सामाजिक सञ्जाल फेसबुकका कारण विस्तारै दुई नम्बरमा पुग्न थालेकोले आफ्नो स्थान जोगाइराख्न गुगलले प्रयोगकर्तालाई खिच्ने कुनै उपाए गर्नै पर्ने स्थिति गुगल सामु थियो । यही महत्वाकांक्षी प्रोजेक्ट नै अघिल्लो हप्ता “गुगल प्लस” का नामले सार्वजनिक भएको छ । गुगलको सर्च पेज, जिमेल आदिबाट सिधै प्रवेष गर्न मिल्ने र हाल फेसबुकमा रहेका भन्दा केही भिन्न र उपयोगी अनुप्रयोगका कारण गुगल प्लस, मेरो विचारमा यसका पुराना असफल प्रोजेक्टको लहरमा पुग्दैन र प्रयोगकर्तामाझ छीट्टै लोकप्रिय हुनेछ ।

त्यसो त सर्च ईञ्जिन हुँदै, ईमेल प्रदायक, ब्लग आदि विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको गुगलको यो भन्दा पहिलाका अर्कुट, वेभ र बज आदि एक हिसाबमा असफल भैसकेका थिए र हाल सुरु गरिएको गुगल प्लसलाई करिब करिब फेसबुककै नक्कल भन्ने एकथरी आरोप पनि लाग्न थालेको छ । तर फेसबुकले इमेल सुरु गर्न मिल्छ भने प्रतिस्पर्धाको बजारमा गुगलले सामाजिक सञ्जाल सुरु गर्नै नमिल्ने भन्ने कुरा तर्क सङ्गत देखिन्न ।

पहिलो झलक:

फेसबुक चलाउन बानी परेकाकालागि गुगल प्लस झ्वाट्ट हेर्दा सञ्चालनका लागि कुनै अलमल हुने त देखिन्न । गुगलप्लसको मुख्य पेज वा "Home" करिब करिब तलको चित्रमा जस्तै देखिन्छ: (चित्रलाई ठूलो गरेर हेर्न त्यसैमा क्लिक गर्नु होला—चित्र आफैँ अर्को ट्याबमा खुल्ने छ)

Googleplus

तिन कोलममा विभाजित पेजमा बीचको भागमा सन्देश र सूचना छन भने दायाँ र बायाँ कोलममा यसका अनुप्रयोगहरू । तर रङ्ग संयोजनको हिसाबमा सेतो र हल्का खैरो रङ्ग बढी प्रयोग भएकोले गुललप्लस फेसबुक भन्दा सफा र कम झीलिमिली देखिन्छ ।

01 July, 2011

ManageFlitter-- ट्वीटर चलाउनेले जान्नै पर्ने कुरा !

ट्वीटर याने सामाजिक सञ्जालको सानो, छोटो र सरल अनुप्रयोग । जसको प्रयोग दिनदिनै बढ्दै गएको छ। सुरुमा लहड्कै रूपमा चलाए पनि समय बित्दै जाँदा ट्वीटर भित्र साथी बनाउने र बन्ने क्रम बढ्दै जान्छ । सामान्य अवस्थामा कुनै पनि प्रयोग कर्ताले नियमित ट्वीटीने २५-३० जना सम्मको नाम सजिलै याद गर्छन् भने बढीमा १०० वा १५० भन्दा बढि प्रयोगकर्ता सम्मलाई सम्झन सकिन्छ । तर इन्टरनेटमा अलि बढी रमाउनेहरुको समय बित्दै जाँदा आफैँले फलो गरेका व्यक्तिहरू ३००-४०० पुगिसकेको हुन्छ । ती ३००-४०० सय मध्य कतिले ट्वीटर चलाउनै छाडि सकेका हुन्छन् त  कतिका ‘स्पाम’, विज्ञापन वा ‘अति ट्वीट’ का कारण ट्वीटर प्रयोगकर्तालाई समस्या सुरु हुन्छ । त्यसमा कति छद्म नामधारी हुन्छन् त कतिको ट्वीट ‘नपच्ने’ समेत हुन सक्छन् ।

यस्तो वेलामा एक-एक गरी आफूले “फलो” गरेका व्यक्तिहरूलाई “अनफलो” गर्नु निकै समय खाने र झन्झटीलो काम हुनसक्छ ।

फेरि कसलाई अनफलो गर्ने कसलाई नगर्ने भन्ने कुरा पनि सजिलै निर्णय गर्न सकिन्न । तर एउटा यस्तो वेपपेज (वेबएप) छ जसको मद्दतले तपाइँ एकै क्लिकमा निम्न प्रकारका व्यक्तिहरूलाई समूहगत रूपमै एकैचोटि “अनफलो” गर्न सक्नुहुन्छ :

•    तपाईँले फलो गरेको तर तपाईँलाई फलो नगर्ने (बदमासहरू !)
•    प्रोफाइलमा फोटो नहाल्ने ( लुकेर बस्ने बेइमानहरू !)
•    निष्क्रिय प्रयोगकर्ताहरू (एक महिनामा एक पटक पनि नट्वीटिने अल्छीहरू !)
•    बकबके प्रयोगकर्ताहरू ( छिन-छिनमा ट्वीटेर हैरान गर्ने कचकचेहरू !)
•    शान्त प्रयोगकर्ताहरू (दिनमा १ पटक भन्दा कम ट्वीटीने गम्भीर प्रयोगकर्ताहरू !)

10 June, 2011

जिमेल भीत्रबाटै फेसबुक र ट्वीटर चलाउनुस !

सन २००४ को अप्रिल १ मा सिमित (निमन्त्रित) प्रयोगकर्ता बीच खुला गरेर विस्तारै बिटा भर्सन हुँदै ७ जुलाइ २००९ मा मात्रै 'फुल भर्सन' मा आएको जिमेल सुरुदेखि नै यसको सरल ईन्टरफेस र बहुउपयोगी अनुप्रयोगहरुका कारण प्रयोगकर्ता माझ लोकप्रिय रह्यो ।

एउटै मेल एकाउन्ट खोलेपछि गुगलसँग आबद्ध अन्य सेवा-सुविधा प्रयोग गर्न मिल्ने मात्रै नभइ यसको Labs, Gadgets आदि अनुप्रयोगबाट बाह्य वेब एप्लीकेशन पनि जोडन सकिने विविध सुविधाहरूका कारण जिमेल झनै उपयोगी र लोकप्रिय हुँदै गएको छ भन्दा फरक नपर्ला ।

यसरी जिमेलमा आबद्ध गर्न सकिने सैयौँका सङ्ख्याका अनुप्रयोगहरूको चर्चा सानो पोस्टमा असम्भव छ । अत: आजको पोस्टमा म जिमेल भित्रबाटै कसरी फेसबुक, ट्वीटर आदि सामजिक सञ्जाल चलाउने भन्ने बारेमा छोटो चर्चा गर्दैछु ।

जिमेल भित्रैबाट फेसबुक, ट्वीटर आदि चल्ने बनाउनु भन्दा पहिला यस बारेका केही आधारभूत कुराहरू:

05 April, 2011

के तपाईँ ब्लक गरिएका साइटहरू खोल्न चाहनुहुन्छ ?

"म इन्टरनेटमाथि कडा सेन्सरसीप हुने मुलुकमा पुगेको छु....बन्द गरिएका वेबसाइट खोल्ने कुनै तरिका होला?", "मेरो कार्यालयमा फलानो साइट ब्लक गरीएको छ, कसरी खोल्न मिल्छ होला?" । यस्तै र यस्तै खाले प्रश्नहरू मेरो इमेल र ब्लगको च्याटबक्समा बेला-बेलामा आउने गर्छन् । फुर्सद भएको अवस्थामा ती प्रश्नहरूको सम्भाव्य समाधानहरू दिने गर्छु। कतिकोमा काम गर्छ भने कतिकोमा अझै पनि पूर्ण रुपमा काम नगरेको सुनेको छु । यसमा कहिलेकाहीँ बन्द ढोका खोल्ने साँचोले काम नगरेको हुनसक्छ भने कहिले भने साँचोको सही प्रयोग नभएको पनि हुनसक्छ ।

कुरा अलि बेमेल लाग्न सक्छ, तर एकै वाक्यमा कुरा टुङ्ग्याउने हो भने इन्टरनेट प्रविधिबारे जानकारी भएको जो कुनै एडमिनले पनि आफ्नो नेटवर्कभित्र आफूले चाहेको कुनैपनि वेबपेजलाई ब्लक गर्न सक्छ भने उ भन्दा अलि बढि जान्ने अर्को व्यक्तिले सो ब्लक गरिएको साइट फेरि खोल्न सक्छ । त्यसैले मेरो विचारमा इन्टरनेटमा पूर्ण प्रतिवन्ध एउटा असम्भव सम्भाव्यता हो । चिन, साउदी अरब लगायत केही मुलुकमा ब्लगर, फेसबुक लगायतका केही साइटहरू प्रतिबन्धित छन् भने तीनै देशमा तीनै साइट चलाउनको सङ्ख्यामा पनि निकैको सङ्ख्यामा छन् । मतलब हरेक ताल्चाका साँचो हुन्छन् नै । तर ताल्चा बलियो छ कि साँचो बढी 'तेज' छ भन्ने मात्रै मुख्य कुरा हो ।

म यस विषयमा जानकार होइन, तर सामान्य प्रोक्सीको प्रयोग र केही ब्राउजर एडअनको मद्दतबाट पनि धेरैजसो समयमा यस्ता साइटहरू खोल्न सकिन्छ त्यसैले आजको पोस्टमा बन्द गरिएका साइट खोल्ने केही सजिला उपायहरूको चर्चा गर्देछु ।

सुरुमा सजिलो उपायबाट कोसिस गरौँ:

13 February, 2011

कम्प्युटरबाट डुप्लिकेट र अनावश्यक फाइलहरु हटाऔं !

त्यसो त आजकलको समयमा कम्प्युटरका हार्डडिस्कहरू पहिलेका तुलनमा धेरै गुणा भण्डारण गर्ने क्षमता राख्छन् र कम्प्युटरका हार्डडिस्कमा 'स्पेस' कम भएर आउने समस्या कमै देखिन्छन् । तैपनि कम्प्युटरका हार्डडिस्कलाई सकेसम्म चुस्ता र छरितो बनाउन अनावश्यक फाइल वा डेटाहरूलाई त्यसबाट हटाउनु नै उपयुक्त हुन्छ ।

सामान्य प्रयोगको अवस्थामै पनि र कहिले भने जान-अन्जानमै कम्प्युटरमा धेरै खाले अनावश्यक वा प्रतिलिपि फाइलहरू बन्छन्, समयको अन्तरालमा यस्ता अनावश्यक वा प्रतिलिपि फाइलहरूले बढी भन्दा बढी स्थान ओगट्दै जाँदा हार्डडिस्कको खाली स्पेस कम हुने मात्रै है, कम्प्युटरको गति पनि विस्तारै कम हुँदै जान्छ । अत: आजको पोस्टमा कम्प्युटरमा जम्मा हुने यस्ता अनावश्यक वा प्रतिलिपि डेटाहरूलाई हटाउने केही साना तर वहनीय र अत्यन्तकै असरदार सफ्टवेयरहरूको बारेमा चर्चा गर्दै छु ।

माथि नै भनि सकिएको छ कि अनावश्यक डेटाहरूलाई हटाउँदा कम्प्युटर हार्डडिस्कको स्पेस बच्ने मात्रै हैन, कम्प्युटर पनि केही हदसम्म छिटो पनि हुन्छ । अत यस्ता अनावश्यक डेटाहरू हटाउन तपाई निःशुल्क उपलब्ध हुने निम्न पोर्टेवल सफ्टवेयरहरू प्रयोग गर्न सक्नुहुन्छ :

11 January, 2011

सुरु भयो फेसबुकको इमेल !

सुरुवात फेबुक इमेलको:

इन्टरनेटको संसारमा फेसबुक बन्द हुने भन्ने हावादारी हल्ला फैलिरहेको बेलैमा फेसबुकको बहुचर्चित र बहु प्रतीक्षित इमेल सेवा यसका केही प्रयोगकर्ताहरू माझ सार्वजनिक भएको छ । आज बिहान फेसबुक खोलेर हेर्दा आफ्नो फेसबुकमा पनि यो सेवा सुरु भएकोले फेसबुक इमेलको पहिलो झलकका बारेमा केही लेख्दैछु।

फेसबुक ईमेल अर्थात् युजर आइडिको पछाडि @facebook.com हुने इमेल अबको केही समय भित्रमा विस्तारै फेसबुकका सबै प्रयोगकर्ताको खातामा खुल्दै जानेछ । यसै पनि दुबैतर्फका प्रयोगकर्तासँग फेसबुक भएको अवस्थामा मानिसहरूले सन्देश आदान प्रदान गर्न फेसबुककै 'मेसेज', 'स्टाटस' 'नोट' आदि प्रयोग गर्दै आएका थिए र एटेजमेन्ट भएको अवस्थामा मात्रै इमेलको सहारा लिनु पर्थ्यो । फेसबुकले इमेल सेवा प्रदान गर्ने बित्तक्कै अब त्यो सिमा वा बन्धन पनि टुटेको छ ।

ईमेल र सामजिक सञ्जालको प्रतिस्पर्धा:

अबका दिनमा एकतर्फको प्रयोगकर्तासँग फेसबुक छ र अर्कोतर्फको प्रयोगकर्तासँग फेसबुक छैन (अन्य कुनै इमेल मात्रै छ) भने पनि ती दुईका बीचमा सन्देश मात्रै हैन, ईमेल, डकुमेन्ट, मल्टिमिडिया वा अन्य कुनै डेटाहरू बाँड्न सम्भव भएको छ । फेसबुकमा इमेल खुलेका कुनै पनि प्रयोगकर्ताले अब कुनैपनि इमेल ठेगानामा सिधै पत्राचार गर्न सक्छन भने आफ्नो फेसबुक नभएका कुनैपनि व्यक्तिले फेसबुक प्रयोगकर्ताको "मेसेज' बक्समा पुग्ने गरि सिधैँ टेक्स्ट र एटेचमेन्ट समेत पठाउन सक्नेछन् । यो प्रविधि र सुविधा फेसबुकको लागि एउटा नयाँ आकर्षण र जिमेल, याहू, हटमेल आदि जस्ता नि: शुल्क इमेल प्रदायकलाई एउटा चुनौती हुनेछ ।

01 January, 2011

कम्प्युटर भाइरस --लक्षण, पहिचान र उपचार-- (२)

कम्प्युटर भाइरसको लक्षण पहिचान र उपचार बारे २ भागमा विभाजित यस विषयको अघिल्लो पोस्टमा कम्प्युटर भाइरस के हो?, कम्प्युटर भाइरस कसरी सर्छ र कम्प्युटरमा भाइरस संक्रमण भएका लक्षणहरु के के हुन भन्ने बारेमा सामान्य चर्चा गरिएको थियो । हुन त कम्प्युटर आफैँमा एउटा अत्यन्त विविधता पूर्ण एउटा यन्त्र हो र यसमा स्थापना गरिने थिरीथिरीका आपरेटिङ्ग सिस्टम र सफ्टवेयरहरूले यसलाई अझै जटिल बनाएको हुन्छ । त्यसैले एउटा सानो पोस्टमा भाइरसको रोकथाम वा पूर्ण उपचारको बारेमा लेख्नु असम्भव नै छ, तैपनि सामान्य अवस्थामा भाइरसको समस्या समाधान गर्न के के गर्न सकिन्छ भन्ने वारेमा यो पोस्टमा सानो चर्चा गर्दै छु:

भाइरसको रोकथाम:

मानव शरीर र कम्प्युटर भाइरस, संक्रमणको हिसाबमा केही समान छन् त्यसैले भाईरस संक्रमण पछि त्यसको उपचार गर्नु भन्दा सकेसम्म कम्प्युटरमा भाइरस लाग्न नदिने तर्फ सोच्नु पर्छ । सामान्यतया अघिल्लो पोस्टमा उल्लेख गरिएका विभिन्न तरिकाबाट भाइरस इन्टरनेट, अर्को कम्प्युटर वा नेटवर्कबाट कम्प्युटरमा प्रवेश गर्ने भएकोले इन्टरनेट चलाउँदा, अन्य पोर्टेवल मिडिया वा मोबाईल फोन आदि कम्प्युटरमा जोड्दा सावधानी अपनाउनु पर्छ । स्थानीय क्षेत्र सञ्जाल वा लोकल एरिया नेटवर्क (LAN) आदिमा काम गर्दा कम्प्युटरका फायरवाल सक्रिय गराउनु पर्छ। इन्टरनेटको माध्यमबाट सक्रमण हुनसक्ने भाइरसबाट सुरक्षाको लागि, आफ्नो ब्राउजरलाई सधैँ अपडेट गर्ने, वा फायरफक्स, गुगल क्रोम आदि सुरक्षीत व्राउजर प्रयोग गर्ने गर्न सकिन्छ ।

23 December, 2010

कम्प्युटर भाइरस --लक्षण, पहिचान र उपचार-- (१)

dv539009अहिलेको युग कम्प्युटरको युग हो । केही वर्ष अगाडिसम्म अध्ययन संस्थान, स्कूल कलेज वा कार्यालयहरूमा मात्रै सीमित रहेको यो उपकरण, आज घर-घरको जरुरत भइसकेको छ । टेलिफोन र टेलिभिजन जस्तै बिस्तारै यो पनि अब विलासीता को वस्तु नभई आधारभूत आवश्यकता बन्दैछ ।

सायद हरेक क्षेत्रमा सुविधा र समस्या सँगसँगै आउँछन्। त्यसरी नै कम्प्युटरको प्रयोग र उपयोगीता जति बढ्दैछ, यसको सुरक्षाको समस्या पनि त्यत्ति नै मात्रामा झन् झन् गम्भीर बन्दै गइरहेको छ । दिनदिनै बन्ने नयाँ नयाँ भाइरस र यीनले संक्रमणका लागि उपयोगमा लिने नविनतम माध्यमका कारण कम्प्युटर भाइरसको समस्या झन् झन् जटिल हुँदै गइरहेको छ ।

के हो त कम्प्युटर भाइरस?

कम्प्युटर भाइरस के हो भन्ने बारेमा भिन्न भिन्न व्याखा बनेका छन् । तर प्राविधिक शब्दावलीको प्रयोग वा जटिलतम परिभाषा नगरी साधारण भाषामा भन्ने हो भने कम्प्युटर भाईरस पनि कम्प्युटरका अन्य सफ्टवेयर जस्तै गरी लेखिएका (बनाइएका) एक किसिमका प्रोग्राम नै हुन् । जुन प्राय: एकदमै साना आकारका तर शक्तिशाली हुन्छन् र कम्प्युटर प्रयोगकर्ताको जानकारी बिना वा इच्छा बेगर कम्प्युटरमा प्रवेश गर्छन् र कम्प्युटरका लगि हानिकारक हुन्छन् ।

08 December, 2010

के तपाईँको ल्यापटपको ब्याट्री छिट्टै सकिन्छ ?

तपाइँलाई छिट्टै एउटा प्रिजेन्टेसन तयार गर्नु छ, तर त्यही समयमा बत्ती जान्छ। तपाईँ कार्यालयको जरुरी कागजात तयार गर्दै हुनुहुन्छ वा कुनै महत्वपूर्ण कागजातको अध्ययन, तर ल्यापटपको ब्याट्री कति बेरसम्म पुग्छ थाहा छैन्। तपाईँ यदि ल्यापटप प्रयोग गर्नुहुन्छ भने पक्कैपनि यस्ता खाले समस्या वा सोचहरू बेला बेलामा आएको हुनुपर्छ । त्यसै पनि ल्यापटपको ब्याट्री एक पटक चार्ज गरेपछि सकेसम्म बढि समयसम्म काम गर्ने होस भन्ने चाहना सबैमा हुन्छ नै । झन् यदि नेपालमै हुनुहुन्छ र छिनछिनमा जाने 'सरकारी बत्ती'को मात्रै भरमा हुनुहुन्छ भने त तपाइँलाई ल्यापटपको ब्याट्रीको सेकेण्ड-सेकेण्डको महत्ता र ‘असली भाउ’ थाहा हुनुपर्छ । यत्ति भूमिकाबाट सायद थाहा पाउनु भयो होला, आजको पोस्ट ल्यापटप वा बोलीचालीमा हामीले “काखे” भन्ने गरेको कम्प्युटरको व्याट्रीलाई कसरी बढी समयसम्म टिकाउने वा काखेको ब्याट्रीको अधिकतम उपयोग लिनेमा केन्द्रित छ ।

सामान्यतया ल्यापटपको व्याट्रीलाई बढी समयसम्म थेग्ने बनाउन निम्न कार्यहरु गर्न सकिन्छ:

स्क्रीनको उज्यालोपन र पावर स्किम न्यून गर्नुस : स्क्रिन वा मनिटर जत्ति उज्यालो बनाइन्छ त्यत्ति नै हिसाबमा ल्यापटपको ब्याट्री डिस्चार्ज पनि हुँदैँ जान्छ । त्यसैले आफूले काम गर्ने ल्यापटपको स्क्रिनलाई अत्यन्त चम्किलो वा ब्राइट पार्ने हैन, काम गर्न सजिलो र आखाँलाई पनि जोड नपर्ने गरी ठीक्क उज्यालो बनाएर राख्नुहोस् । सो वाहेक ब्याट्रीबाट चलेको अवस्थामा कम्प्युटर प्रयोग नभइको खण्डमा मनिटर, हार्डडिस्क वा पुरै सिस्टमलाई कति समयसम्म चलाउने भन्ने तय गर्नुस् ।यसको लागि यदि तपाईँ विण्डोज ७ प्रयोग गर्नुहुन्छ भने Start मा क्लिक गरेर खुल्ने ‘सर्च बक्स’ मा power options टाइप गरेर ईन्टर दबाउनुहोस । अब खुल्ने पेजमा Balanced (recommended) मा चेकमार्क लागाउनुहोस र दायाँपट्टी भएको"Change plan settings" मा क्लिक गर्नुस् ।