21 October, 2008

भेजिटेरीएन माछाको कथा

ब्लगर मित्र दीपक जडित जी को माछा नमार्दाको कथा पढे देखी नै आफ्नो यो अनुभवलाई पनि टाँसो बनाउने बिचार आएको हो, तर आज बल्ल मेसो मिलेको छ:

कुरा करिव ७-८ बर्ष अगाडीको हो, त्यतिबेला यौटा प्रोजेक्टको सिलसिलामा म्याग्दिको कुनै यौटा गाँउमा थिएँ।

सानो ठाँउ, सिमित व्यक्तिहरुसंग मात्रै सम्पर्क भएपनि आफ्नै सर्कलका साथिभाई भएकाले रमाईलै थियो । एकदिन शनिवार कुरै कुरामा एकजना साथिले माछा खाने कुरा उठाए । सानो ठाँउ भएकोले दाल, चामल त नजिकै र भनेकै बेलामा पाईदैन थियो, माछा कता बाट ल्याउने?। तर एकजना स्थानीय साथिले एक घण्टाको बाटो हिडेंमा यौटा खोलामा पुगिने र त्यहा सजिलै माछा मार्न सकिने जानकारी दिए ।

तुरुन्तै ५-७ जना अरु साथिहरुको पनि समर्थन मिली हाल्यो र बिहानको करिव ११ बजे तिर माछा मारेर ल्याउने र राति 'माछा पार्टी' गर्ने योजना सर्बसम्मतिमा पारित भयो ।

माछा मार्ने र खाने योजना पारित भैसक्दा पनि माछा कसरि मार्ने भन्ने चाहि कसैले सोचेका थिएनन् । बल्छि, त्यो ठाँउमा किन्न पाईदैन थियो, जाल कसैसंग थिएन र माछालाई भालाले घोपेर अफ्रीकन तरिकाले समात्ने कला पनि कसैलाई आउँदैन थियो ।

त्यसो त एकजना जनकपुरका साथीले आफुलाई धोति मात्रै दिए पनि त्यसलाई जाल जस्तै प्रयोग गरेर माछा फसाईसिने बताउँदै थीए, तर उनको त्यो असामान्य खुबी प्रति कसैको पनि विश्‍वास जागेन। त्यसै बिचमा ट्रकको व्याट्री लगेर फलामे डण्डिमा जोडेर करेन्ट लगाएर माछा मार्ने, बाँसको जाली बनाएर चारैतिरबाट मान्छे हेलीएर माछा फसाउने देखी लिएर डोकोलाई जालको रुपमा प्रयोग गरेर माछा समात्ने सम्मका 'धाँसू' आईडियाहरु निक्ले।

यसरी माछा कसरी मार्ने भन्ने वारेमा साध्य, असाध्य तरिका बनाउँदा बनाउँदै दिनको साढे बाह्र बजी सकेको थीयो, तर कसैको उपाए पनि व्यवहारीक नदेखीएकोले पारित हुन सकेको थिएन। उता सानो ठाँउमा निक्कै बेर हल्ला खल्ला भैरहँदा, वरपरका अरु साथिहरु पनि जम्मा भई माछा खानेको संख्या भने ५-७ जना बाट बढेर १०-११ जना जत्ती भैसकेका थीए ।

दिउसो करिव १ बज्न लाग्दा समेत माछा खाने पक्का भए पनि माछा मार्ने चाहि कसरि भनेर कुनै निर्क्योल निक्लेको थीएन । कुरै कुरामा नजिकै चलिरहेको आर्को सिभिल प्रोजेक्टका ठेकदारसंग पहिलेको कुनै प्रोजेक्टबाट बचाएर राखेको केहि 'औषधि' बाँकि रहेको कुरा चल्यो। तुरुन्तै केहि साथिहरु तिनलाई खोज्न गए र भेटिए पनि।

सरकारी कामकोलागी लिएको 'औषधि' जहा-पायो त्यहि प्रयोग गरेमा समस्या हुन सक्ने भएकाले उनि पहिला त मानेका थिएनन्, तर पछि एकजना स्थानिय निकाएका हाकिमलाई पनि 'माछा पर्टि' मा सहभागि गराएर त्यो समस्या पनि समाधान गरियो ।

यसरी करिव २ बज्न लाग्दा स्थितिलाई सामान्य बनाउन आर्को तिन-चार जना पनि टोलीमा थपेर माछा खानेको संख्या जम्मा १५ जना जत्ती बनेपछि त्यस मध्यका केहि पैसा उठाएर बाँकि 'सर्जाम' जुटाउन हिंडे भने हामि ५-७ जना चाहि खोलातर्फ लाग्न ठाडो उकालोमा लाग्यौं । करिव आधा घण्टाको उकालो र फेरी त्यत्तीकै ओरालो लागे पछी हामि खोलामा पुग्यौं । साथमा लगेका एकजना ति पुराना सिभिल ठेकेदारका कामदार जिरेल थर भएका व्यक्ति थिए, जो 'औषधि' बनाउन र पडकाउन 'जान्ने' मा गनिन्थे।

खोलाको छेउमा पुगे पछि तिनले निक्कै बेर वरिपरि हेरे। "के गर्नु सर, जम्मा चार वटा मात्रै औषधि छ, …" भन्दै तिनले निकै बेर खोलाको अध्ययन गरे। खोँच परेको ठाँउमा ठुलो ठुलो ढुङ्गा मुनि राखेर 'औषधि' पडकाए मात्रै धेरै माछा मर्ने भएकाले राम्ररी हेरेर मात्रै औषधि' प्रयोग गर्नु पर्ने कुरा उनले बताए । बाँकि रहेका हामि ५-६ जनालाई सो बिषयमा कुनै 'आईडिया' नभएकाले हामिलाई उनले जे गर्छन त्यसलाई तमासे भएर हेर्ने बाहेक अरु केहि काम भएन ।

तिनले डाँडा मुनिको खोलाको निक्कै बेर जाँच पडताल गरेपछि यौटा चारैतर्फ ढुङ्गै ढुङ्गा भएको खोँचलाई छाने:" ल सर! यहाँ पडकायो भने चाहि एक डोको माछा पर्छ …" । उ आफ्नो तयारिमा जुट्यो , आफुले ल्याएको 'औषधि' लाई जतनकासाथ केहि ढुङ्गामा बेरेर उसले खोलाको चार छेउमा ढुङ्गामुनि मिलाएर राख्यो र हामिलाई बगेको पानि तर्फ केहि पर बस्न भन्यो। औषधि' पड्कने बित्तीकै पानिमाथी माछा तैरिने भएकोले हामि सबैलाई अलि पर बसेर 'पोजिसन' लिन उसले भनेको थियो र हामि मध्य अरु सबैजना यसरी पहिलो पटक माछा मार्न लागेकोले पूर्ण जोसका साथ नजिकै केहि प्लाष्टिकका झोला राखेर माछा पक्रन तयार भएर बस्यौं ।

उसले तारहरु मीलाए सबै कुरा मिलेको संकेत गर्‍यो र गिन्ति शुरु गर्‍यो : "१… २…” , “…३…" संगै पानिमुनि पड्का पडकिएको जस्तै आवाज आयो र खोलाको 'औषधि' राखेका ठाँउमा खोलाको पानी पनि केहि माथिसम्म फोहरा जस्तै गरी उठे। हामिहरु सबै जना माछा बगेर जान नदिन झोला सहित अलि परै ‘आहाल’ बसेका थियौं … त्यो आवाजसंगै अझ सतर्क भयौं ।… तर खै त … पानिमाथि यौटा पनि माछा तैरिएन त! । "हैन हे! जिरेल! माछा त देखिएनन नि हो" मैले उसलाई बताएँ । बगेर आउँदै होला सर, एक्कै छिन पर्खनुस … " उसले परै बाट चिच्यायो । हामि मुनितिर निक्कै बेर पर्खियौं तर माछाको त के कुरा भ्यागुताको समेत दर्शन भएन ।

चारै वटा 'औषधि' एकै चोटि पडकाई सकेको, माछा मार्ने अरु कुनै बिकल्प पनि नरहेको र पुस महिनाको ठण्डिमा साँझको चिसो हावा बग्न थालेकोले हामि लुरु लुरु आफ्नो स्थानतर्फ फर्कीयौं ।

छ बजे तिर हामि आफ्नो स्थानमा पुग्दा अन्य केहि थप व्यक्ति समेत करिव १२-१५ जना माछा पार्टिका लागी 'रेडि' भएर बसेका थिए । माछा भर्न लगेको प्लाष्टिकका झोला समेत उतै फ्याँकेर खाली हात आएकाले हामिले कसैलाई केहि बताउनु परेन, सबैले परै बाट 'शिकार असफल' भएको सहि अनुमान लगाई सकेका थिए ।

शिकार असफल भए पनि भोक भने निक्कै लागेको थियो । माछा पार्टि नभए पनि पेट पूजा त गर्नु नै थियो … अब के गर्ने त…? " … जाँउ फेरि थकाल्नि दिदीको होटेलमा!" यौटा साथिले सुझायो । अनि हामी सबै लाग्यौ सधैं खाना खाने थकाल्नि दिदीको होटेलतर्फ ।

"अनि … सरहरु आज त यहाँ खाना नखाने भनेको हैन र?, थकाल्नि दिदीले एकै चोटि १०-१२ जनाको लर्कन आफ्नो सानो 'होटेल' मा पसेको देखेर भनिन । " हो नि …तर के गर्नु माछो परेन जालमा…" एकजना साथिले बतायो । " …बरु तपाई कहाँ नै सुकुटि माछा त होला नी!" त्यै बनाउनुस न आज …" सगैं माछा मार्न खोलासम्म पुगेका एकजना साथिले भने …"साह्रै भोक लागेको छ के!, त्यो भए छिटो पनि पाक्छ …"

"हुन्छ नि सर… माछा त माछै पकाउँछु … तर भेजिटेरिएन सुकुटि माछा …" थकाल्नि दिदी बिस्तारै पुरानो टिनको बट्टा बाट मुलाको सिन्कि झीक्न थालिन भने हामि चाहि दिनभरिको थकाई र भोकले लखतरान परेर कहिले भात पाक्ला र खाउँला भनेर पर्खन थाल्यौं।

9 comments:

  1. सुन्दाखेरि त साह्रै रमाइलो हुन्छ तर भोग्दा चैँ साह्रै नै नरमाइलो । अझ खानेमान्छे थपिँदा त रिस उठेको थियो होला है थोरै खान पाइने भइयो भनेर !!!

    ReplyDelete
  2. हाहाहा, गज्जब नै भएछ है !
    माछा खान कति लामो चोसो पसारिएको थियो होला, तर खानेबेलामा चाँहि मुला को सिन्की है !

    जेहोस्, संस्मरण भने रमाइलो लाग्यो । अझ भेजिटेरियन माछा !

    ReplyDelete
  3. लौ खा ! दीलिपजी, "माछा आयो, माछा आयो, पानीमुनीको सट्टा जमिनमुनीको सुकुटी माछा पो भएछ" । जे होस् भोक र थकानले माछाजत्तिकै मिठो मानी मानी खानुभो होला नि त। हगि ?

    ReplyDelete
  4. रमाइलो भएको रहेछ नि दिलीपजी , तपाईंको यो संस्मरणले मलाई फेरी दार्जीलिङतिरको राङ्बाङ् खोलामा त्यसैगरी साबुनको ढिकोभित्र बारुद भरेर ब्लाष्ट गरेर माछा मारेको सम्झना दिलायो । मैले चैं यसो थपथाप पारेर कुनैदिन कथामै उनुँला भन्दैथिएँ - त्यो खोला त मैले अप्रिलफुल भन्ने कथामा लेखेको पनि छु पढ्नुभएको होला । जे होस भेजिटेरियन माछा खाएको कुरा चैं गजब रमाइलो लाग्यो ।

    ReplyDelete
  5. ह्यतेरिक्का ! तपाईंहरुले तेत्रो मेहेनत गरेर पनि माछा खान नसकेको देखेर मनै खिन्न भयो। तर लेखाइ ज्यादै बेजोड छ । बर्णन गर्ने तरिका साह्रै राम्रो लाग्यो।

    ReplyDelete
  6. Ha ha ha! ma6ako kurale badho majja aayo..

    ReplyDelete
  7. choto bhaye pani ramailo sir

    ReplyDelete