25 August, 2011

चीन यात्रा - केही संस्मरण, केही सम्झना -

करिब तीन हप्ताको चीन यात्रा सकेर भर्खरै घर फर्केको छु । तीन हप्ताको समयमा धेरै कुराहरूको अनुभव र अनुभूति भयो र प्रसङ्ग मिलाएर लेख्ने हो भने यी यात्रानुभूतिको निकै लामो खाका तयार होलान् । अघिल्लो पोस्टमा केही तस्विरहरू बाँडेको थिए भने पछिका कुनै पोस्टमा अरू तस्विरहरू राख्नेछु । आजको पोस्टमा भने केही क्रम रहित र अनौपचारिक संस्मरणहरू राख्दै छु :

चीनको विकास र हाम्रो दुर्भाग्य !

हुन त अध्ययन र कामको सिलसिलामा धेरै वर्ष रहेको र धेरै पटक गएकोले चीन मेरो लागि नौलो नहुनु पर्ने हो । तर अविश्वसनीय रफ्तारका साथ विकासमा लागेकोले केही महिनाकै फरकमा गए पनि मैले सधैँ त्यहाँ नयाँपन र परिवर्तनको आभास पाउने गरेको छु । फराकिला सडक र गगनचुम्बी घरहरूले मात्रै हैन, चिनियाँ जनताको जीवनशैली र वैचारिक परिवर्तनले पनि चीन विकासको लामै फड्को मार्दैछ भन्ने प्रष्टै महसुस हुन्छ । माओले बाधेको अनुशासनमा तङ स्वाउ फिङले खोलेको वैदेशिक द्वार र विकासको नीतिले खुल्दै गएको चीन आजको दिनमा आइपुग्दा साँच्चै ‘नयाँ चीन’ भइसकेको छ ।

पुरानो चीन कस्तो थियो भन्ने राम्रो नदेखे पनि कस्तो हुँदै यस्तो भयो भन्ने चाही आफैले देखेकोले चीनको यो परिवर्तन साँच्चै अनुकरणीय छ । बेला बखत चिनिँया साथीहरूसँग कुरा गर्दा म उनीहरूलाई यो परिवर्तनको कारक तत्वको बारेमा सोध्ने गर्छु। शब्द वा भाषागत स्वरूपमा केही भिन्नता भए पनि प्रायः सबैले दिने जबाफ निम्न अनुसार हुने गर्छन :

• सक्षम नेतृत्व,
• सही र दूरदर्शी योजना,
• अनि मेहनती जनता ।

चीनको विकासको कारणलाई ठ्याक्कै उल्टो पार्दा हाम्रो दूर्भाग्यको कारण पनि सहज भेटिन्छ । नेतृत्व सही नभएपछी सही र दूरदर्शी योजना त नबन्ने भए नै त्यसमाथी हामी नेपाली जनता आफैँमा पनि राजनीतिमा बाहेक अन्त कतै मेहनत साथ लाग्दैनौ । अनि देशको विकास त त्यस्तै हो ।

चीनको सामान नेपालमा सस्तो !

चीन भ्रमणको क्रममा नाम चलेका र नचलेका गरी करिब सात वटा सहरमा पुगियो । साथै गएका १-२ जना नेपाली साथीहरू चीनमा सबै कुरा सस्तो हुने ‘भ्रम’ मा पुग्नु भएको थियो । तर जसरी नेपाल आउने चिनियाँ सामान र चीनमै पाइने चिनियाँ सामानमा भिन्नता छ, त्यसरी नै यी दुबैको बीचमा मूल्यको निक्कै अग्लो अन्तराल छ । ‘ब्य्राण्ड र क्वालिटि’ को लेखाजोखा नगरी बाहिरी प्रकटनलाई मात्रै हेरेर भन्ने हो भने नेपालमा भन्दा चीनमा चिनियाँ सामान दुई गुना महङ्गो छ भन्दा फरक पर्दैन । १-२ पटक चीन गइसकेकालाई यो सामान्य नै लाग्छ भने पहिलो पटक “खासा कन्सेप्ट” बोकेर चीन पुग्नेलाई चिनियाँ सामान र चीनको बजार भाउ अत्यन्त आकस्मिक वा अपत्यारिलो लाग्छ ।

यात्राको अन्ततिर खिचिएका फोटोहरू भण्डारण गर्न ‘पेन ड्राइव’ किन्न पसलमा पुग्दा नेपालको बजारमा पाइने भन्दा २ गुना मूल्य भन्दा कमका पेन ड्राइव भेटिएपछि एकजना साथीले निष्कर्ष निकाले:

नेपाली व्यापारीले या त चोरीको माल लान्छन्,
या त विग्रेको मात्रै छान्छन् ।

उनलाई ‘मेड इन चाइना’ नेपालमा भन्दा चीनमा महङ्गो देखेपछि त्यसमा अर्को कुनै तेस्रो कारण होला भन्ने सोच आउन बडो गाह्रो भा’थ्यो । नेपालमा आउने सामना चोरी वा विग्रेकै भने पक्कै हैनन्, कमसल अवश्य नै हुन् । बाहिरी आवरण दुरुस्तै बनाएर भित्रको ‘गुदी’ भिन्न राख्ने कलामा चीनका साना सहरका ‘कलाकारहरू’ निक्कै पारङ्गत छन् र तीनै वा त्यस्तै पोख्त कलाकारहरूले बनाएको सामान नेपाली बजारको क्रयशक्ति भित्र जम्ने हुनाले प्रायः यहाँ त्यस्तै सामानहरू आउँछन् । प्रसङ्ग चल्दा लेखि हालौं मलाई नेपालमा आउने धेरै चिनियाँ साथीहरूले पनि यो प्रश्न सोध्ने गर्छन् : चिनियाँ सामान कसरी चीनमा भन्दा नेपालमा सस्तो छ ? “ ।

स्पेसल डिसको कुरा !

त्यसो त चिनियाँ खाना संसारमै प्रसिद्ध छ र धेरै परिकार र धेरै प्रकारका हुने हुनाले जसले पनि आफ्नो रुचिको कुनै न कुनै ‘डिस’ चिनियाँ खानामा भेट्छन् भनिन्छ । यदाकदा चिनियाँहरूलाई ‘जे पनि खाने’ जातमा गन्ने पनि गरिएको छ । धार्मिक, सांस्कृतिक, भौगोलिक भिन्नता अनि जीवनशैली र हावापानीको अंतरका कारण यसलाई हामीले अन्यथा लिनु उचित देख्दिन। चोखो हुन गाईको गोबर त गहुँत खाने हामीले अर्को कुनै भिन्न परिवेशको समाजमा हामीले प्रयोग नगर्ने वस्तुको आहार गर्दा त्यसलाई हेयको दृष्टिले हेर्नु उचित त हैन् तर यदकदा धर्म संस्कृति र जीवनशैलीको विशाल अंतरका कारण घट्ने केही घटना भने रमाइलो हुन्छन् ।

यसपाला पनि यस्तै एउटा घटना भयो । हामी केही नेपाली र केही चिनियाँहरुको टिम त्यस दिन उत्तर चीनको Hebei प्रदेशमा पुगेका थियौँ । त्यहाँको कार्यक्रम बिहान सक्केपछि स्थानीय एकजना व्यापारीले हामीलाई दिनको खाना सँगै खान निम्तो दिइन । हाम्रो टोलीमा एकजना नितान्त साकाहारी समेत रहेका र बाँकी हामी पनि ‘जे पायो त्यही नखाने’ परेकाले सँगै गएका चिनियाँ मित्रले ती निम्ता दिने व्यापारीलाई फोनबाटै “मसँग आएका नेपालीहरू जे पायो त्यही खाँदैनन्, ....गाईको मासु देखाउनै हुँदैन्, बंगुर तिनले खाँदैनन् .... सर्प, गंगटो पनि छुँदैनन्...” भनेर सम्झाए ।

उताबाट “ल, ल मैले बुझे... म त्यही अनुसार गर्छु ..” भन्ने जबाफ आएपछि हामी तीनले भनेको खाना खाने ठाउँतर्फ लाग्यौ । निम्ता दिनेको गाडी अघि अघि थियो र हाम्रो गाडी तिनको गाडीको पछाडि । निक्कै बेरको यात्रा पछि एउटा ठुलो भवनको अगाडि गएर गाडी रोकियो । त्यसको दोस्रो तल्लामा एउटा राम्रो रेस्टुरेन्ट छ भनिएकोले हामी पनि आफ्नो गाडीबाट उत्रियौं । एकैछीनमा हामी सँगै हिडेँका चिनिया मित्रले “यहाँ त झन् हुँदैन ...” रोकिनै नसकिने गरी हाँस्दै तीनलाई अर्कै ठाउँमा जान आग्रह गरे। मैले बिस्तारै रेस्टुरेन्टको नाम भएको बोर्डमा आँखा दौडाए ...ओहो ! त्यो त ‘गधाको स्पेसल मासु’ पाइने रेस्टुरेन्ट रहेछ ।

गाई-सुँगुर, बंगुर, सर्प, कछूवा, गंगटो केही पनि नखाने भनेपछि तिनले पनि निकै बेर सोचेर ती कुनै चिज नपाउने स्पेसल ठाउँमा स्पेसल लञ्च खुवान लगेकी थिइन सायद । सबैले कुरा बुझेपछि निक्कैबेर सम्म हाँसोको फोहरा छुट्यो । त्यसपछी तिनले अर्कै रेस्टुरेन्टमा लगेर हाम्रो सत्कार गरीन। हामीले उनलाई हृदय देखि नै धन्यवाद दियौँ । धार्मिक-सांस्कृतिक भिन्नताले बन्ने सामाजिक सोच गजबकै छ । त्यसपछिका चीनमा रहेका हरेक दिन यही कुरा सम्झेर हामी पटक-पटक हाँस्यौँ । तिनले सोचेको पनि ठिकै त हो नि ....अब गाई, सुँगुर, बंगुर केही नखालेलाई के खुवाएर सत्कार गर्ने त ! ।

घर फर्कने बित्तिकै फेरि घरायसी र कार्यालयको कामको चपेटमा परिएको छ । उताका अनुभव र स्मरण अरूपनि छन् तर आजलाई यत्ति ...बाँकी पछि ....High five

7 comments:

  1. Japan ka samana pani praya Japan ma bhanda Nepal ma sasta hune garthe. tara Japan ma lagne antarik kar ko karan le ...

    ReplyDelete
  2. ओहो चिनियाहरु बिकाश गर्न मात्रै होइन कि खानामा पनि अगाडी रैचन

    ReplyDelete
  3. हाम्रा ले पनि खान्छन हौ,
    पिलेन सम्म त!

    ReplyDelete
  4. पुरुशोत्तम गौतम27/8/11 11:02 AM

    म पनि तपाइको ब्लग पढ्ने मध्येको एक हु . समय अभाबले धेरै दिन भएको थियो पढ्न भ्याएको थिन मैले . आज पढे मौका मिलाएर . खुशी लाग्यो अरुकै उन्नति र प्रगति सुनेर पनि . दुख पनि लाग्यो आफ्नो देशलाई चीनसंग तुलना गर्ने नमिल्ने बबुरो देशको नागरिक हुनु परेकोमा .

    ReplyDelete
  5. धन्यबाद दाइ! दाइको यात्राको डोज बेला-बेलामा यसरी पाऊँदा निकै खुशी लागेको छ। अब बसेर एकपटक कुरा गर्न मन लागेको छ चीनको बारेमा।

    ReplyDelete
  6. विष्णु जी, हो है, चिनमा पढ्ने बेलामा मेरा केही जापानी साथीहरूले पनि ङकङबाट जापानीज सामान किनेर ल्याएको याद छ मलाई।

    रामेश्वर जी, चिनीयाँहरूले खाने भन्दा नखाने कुरा भेट्न मुस्किल भएकोले खानाको कुरामा सायद विकासमा भन्दा नि अगाडि होलान्।

    नविन सर, पिलेन र पुल अनि घर, बाटो त हाम्राले नै उनीहरूले भन्दा बढी खान्छन् होला ।

    पुरुषोत्तम जी, धन्यवाद। सधैं यस्तै नहोला र सुधार होला भन्ने आशा गरौं ।

    वसन्त जी, स्वागत छ। अहिले कता हो ? । म पनि २-४ दिन फुर्सतिलो भएको छु, 'यतै' हो भने अरू साथीहरूसमेत जम्मा गरेर कतै बसेर कफी खानु पर्ला भन्ने सोच्दै छु ।

    ReplyDelete
  7. जापान अमेरिका जहाँको बजारमा किनेपनि सामानहरु made in China नै हुन्छन | यसबाट चिनियाहरुको ध्यान कतातिर छ भनेर सोध्नै पर्दैन | हाम्रो ध्यान त्यतातिर पुग्ने कहिले होला ?

    ReplyDelete