20 May, 2013

के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त ?

पहिलो घटना: करिब १५ वर्ष जत्ति भयो होला । केही दिनदेखि पेट दुखेकोले म त्यति बेला रामशाह पथ नेर रहेको मेडिकेयर हस्पिटलमा गएँ । समस्या ठूलो थिएन तर ४-५ दिन देखि असजिलो भएकोले सिधै त्यहाका एकजना यादव थर भएका gastroenterologist लाई भेटें । उनले मसँग सामान्य सोधपुछ गरेपछि सिधै भिडियो एक्सरे, स्टुल र अन्य २-३ थरी टेस्ट गर्नु पर्ने पर्चा थमाइ दिए ।

ती टेस्टहरू सबै गर्नुपर्ने झमेला एकातीर थपियो भने अर्कोतर्फ ती सबै टेस्ट नसक्केसम्म कुनै ठूलै रोग लाग्यो कि भन्ने शङ्का पनि मनमा गडी रहयो । ३-४ दिनमा सबै प्याथोलोजीको रिपोर्ट आयो । हालजस्तो इन्टरनेट र गुगल बाबाको ज्ञान दृष्टि सुलभ भइसकेको थिएन तर रिफरेन्स रेन्जमा झ्वाट्ट नजर पार्दा कुनै हाइलाइट गरिएको प्यारामिटर थिएनन् । रिपोर्ट लिएर म फेरि तीनै स्पेसलिष्टकहाँ पुगेँ । उनले सर्रर रिपोर्ट हेरे अनि “खासै केही समस्या देखिएन ...’यो’, ‘यो’ र ‘यो’ औषधी ५ दिन खानुस..” भनेर हातमा पर्चा थमाइदिए ।

फोक्कडमा ३-४ दिन टेस्ट गराउने हैरानी, र २-४ हजारको खर्च पछि ‘केही पो भएछ कि ?’ भन्ने गहन चिन्ता बोक्नु परेको थियो । अब त्यो रहेन तर पनि तिनले दिएका ती ‘यो’, ‘यो’ र ‘यो’ औषधिले मलाई केही फाइदा भएन । फाइदा नभएपछि फेरि घरेलु र अन्य वैकल्पिक उपचार विधि भने जारी राखियो । त्यस्तैमा एकदिन मेरै घरमा बस्ने एकजना डक्टरसँग कुरै कुरामा आफ्नो समस्या बताएँ (स्मरण रहोस ती gastroenterologist वा पेट सम्बन्धी रोगका विशेषज्ञ भने थिएनन्, त्यसैले आफ्नै घरमा बसेपनि मैले उनीसँग सल्लाह लिएको थिइन) । उनले आफ्नो हातले मेरो कम्मर र पेटको बिचको भागमा पर्ने गरी बिस्तारै दबाए र भने “भाइ!, तपाईलाई त अमिबाले दु:ख दिएको रहेछ ... ल यो औषधी ५ दिन खानुस्, ठीक हुन्छ ....” । तुरुन्तै उनले दिएको औषधी किनेर खान शुरु गरेँ ....दोस्रो दिन देखी नै मेरो पेट दुख्न कम भयो र तेस्रो दिन साँझ सम्ममा मलाई पेट दुखेको थियो भन्ने समेत याद रहेन् ।

पछि धेरै दिनसम्म मलाई, ती gastroenterologist लाई चाहीँ किन मेरो पेटमा एक पटक दबाएर हेर्ने सुर आएन छ वा तीनले पढ्ने बेलामा चाहिँ यत्ति गरेर हेरेपछि ती अनावश्यक टेस्ट गराउनु पर्दैन भनेर किन सिकाइएन छ भन्ने मनमा लागि रह्यो ।

दोस्रो घटना: करिब २ हप्ता जत्ति अगाडिको कुरा हो । १० वर्षकी छोरीलाई पेटकै समस्याले दु:ख दिन थाल्यो । खाना-खान मन नगर्ने, पेट दुख्ने हुन थाले पछि कान्ति अस्पतालमा नाम चलेकी एकजना वाल विशेषज्ञको क्लिनिकमा देखाउन लगियो ।

उनले मौसम अनुसार चल्ने रोगको अन्दाज गर्दै स्टुल टेस्ट गराउन भनिन र आन्द्रामा घाउ समेत भएको हुनसक्ने अन्दाज गरीन। अनि एउटा ‘नाम चलेको’ औषधि खान भनिन । स्वास्थ्य मात्रै हैन्, स्कूल पढने बच्चाको पढाइ समेत बिग्रने भएकोले तीनले भनेका सबै टेस्टहरू तुरुन्तै गराइयो । टेस्ट रिपोर्ट पनि आयो, औषधि पनि ख्वाइयो ... तर बच्चाको हालत झन् झन् खराब हुँदै गयो । अब दोस्रो पटक पनि देखाउने बाहेक अर्को उपाए भएन । आफ्नो छोरी पनि आफैं जस्ती छे । ३-४ दिन औषधी खाएर निको नभएपछि “..त्यो अस्तिको ...फलानो डक्टरको’मा त जान्न” भनेर कराउन थाली ....।

स्कूल छूटेको धेरै दिन भइसकेको थियो ....छोरी दुब्लाउन समेत लागिसकेकी थिई, साथै बिहान उठ्ने बित्तिकै उल्टी हुन थालेको थियो। अत: पुन अर्को एकजना नेपालमा प्रसिद्ध वाल विशेषज्ञकहाँ गइयो । उनको क्लिनिकमा त्यस दिन ५७ जनाको नाम लेखाइएको रहेछ । मेरो छोरीको नाम २५ नम्बरमा थियो । पहिला त बिरामीको सङ्ख्या देखेर नै मलाई तीनले के-कसरी रोगको निर्क्योल गर्लान भन्ने लागेको थियो तर पनि छोरीको नाजुक हालतलाई हेरेर आफ्नो नम्बर कुरेर देखाउन वाध्य थिएँ ।

अन्तमा हाम्रो पालो आए’सी तीनले पुरानो रिपोर्ट समेत हेरे । “कहिले काहीँ ‘यो’ औषधीले समेत वाक-वाक लगाउन सक्छ ... ल एउटा अर्को औषधि थपि दिन्छु ..त्यसले ठीक गर्छ... नत्र एकचोटी जण्डिसको टेस्ट गर्नुपर्ला” भनेर अर्को एउटा नयाँ औषधि दिएर पठाए ।

तीनको नयाँ औषधि पनि ३ दिन लगातार खूवाउँदा समेत कुनै असर गरेन । छोरीलाई कुनै अस्पतालमा लगेर भर्ना नै गर्नु पर्ने स्थिति देखियो । इलेक्ट्रोबाइन र जीवनजल खुवाउँदा खुवाउँदा छोरी पानी समेत सुँघेर मात्रै खाने भइसकेकी थीइ। कुनै उपाए नलागे पछि इन्टरनेट खोलेर गुगलमा उसका सिमटमहरू सर्च गर्न थालेँ । सानै बच्चा भएकोले गम्भीर प्रकृतिका रोगलाई मतलब नगरेर बच्चाहरूमा हुन सक्ने सामान्य रोगहरूमा ध्यान बढाएँ । करिब ३ घन्टा गुगलमा खर्चेर ५-७ वटा साइटको रिजल्टहरू तुलना गरेर हेर्दा रोग करिब करिब पत्ता लगेको जस्तो लाग्यो । ‘सेल्फ मेडिकेसन’ गलत भएपनि दुई-दुईजना विशेषज्ञको बे-असर उपचार देखि सकेकोले जे सुकै होस भनेर जुकाको औषधि किनेर लगेँ । डक्टरले दिएको औषधि त्यत्तिकै छाडेर एक डोज जुकाको औषधि दिएँ छोरीलाई । भोलिपल्टै छोरी धेरै ठीक भइ र स्कूल जान थाली ।

आजसम्म पनि म ती दुबै जनाले यो सामान्य समस्या तर्फ ध्यान नदिइ किन जटिल कुरो मात्रै हेरे अनि आन्द्राको घाउ र जण्डीसको टेस्ट गराउनु पुर्व बच्चाहरूमा देखिनसक्ने यो सामान्य समस्यालाई सोचेनन् भनेर छक्क परेको छु ।

तेस्रो घटना: कुरो ३ वर्ष जत्ति अगाडिको हो ।म त्यति बेला दक्षिण भारतको हैदरावादमा थीएँ । करिब एकहप्ता देखि पेटमा असजिलो पन हुन थालेपछि त्यहाँको एउटा नाम चलेको अस्पतालमा गएँ । त्यहाँ एकजना रेड्डी थरका विशेषज्ञले मेरो जाँच गरे । १० वर्ष अगाडि नेपालमा भेटेको ‘यादव’ भन्दा ती पनि केही कम देखिएनन् । पहिलो भेट्मै तीनले मलाई उनको अस्पतालमा भएको सबै उकरण चालु हुने हिसबाले विभिन्न टेस्ट गराउन सल्लाह दिए ।

सबै टेस्टको रिपोर्ट लिएर म पुन दोस्रो पटक उनलाई भेट्न गएँ । रिपोर्टमा कुनै समस्या न देखिएपछि मेरो चिन्ता कम् भयो तर ती विशेषज्ञलाई भने ‘अब के औषधि दिने..?’ भन्ने चिन्ता बढे जस्तो लाग्यो । उनले कुनै प्रसिद्ध कम्पनीका केही महङ्गा औषधि मेरो पर्चामा लेखे र ‘यो खाए पछी ४-५ दिनमा भेटन” भने । उनका औषधि सबै खाएँ ...दुखाइ र असजिलो पन २० को १९ पनि भएन । उनको औषधिको डोज सक्केपछी पुन उनैकहाँ दोस्रो सल्लाहको लागि पुगेँ । दोस्रो पटक तीनले गम्भिर मुद्रामा मेरो एक पटक ‘इन्डोस्कोपि’ गराएर हेर्नु पर्ने कुरा निकाले । आफूलाई असजिलो भएको ३ हप्ता जत्ति भइसकेकोले पुन उनको यो सल्लाह पनि मान्नुको विकल्प देखिँन् । मेरो इन्डोस्कोपि पनि ती रेड्डीले नै गरे ।

धेरै दिन सम्म पेटमा समस्या भएकोले आफूलाई पनि डर लाग्न थालीसकेको थियो । जे होस इन्डोस्कोपिमा पनि समस्या नदेखिएकोले भने मनमा अलि आनन्द भयो । उता मेरो डक्टर भने झनै चिन्तित देखिए । सायद कतै केही समस्या देखिएन अब के रोग भनेर डाइग्नोसिस गर्ने र के औषधि दिने भनेर होला । अन्तमा उनले कुनै उपाय नसुझेर मुख बार्न भने र फेरि केही नयाँ औषधिको बिटो भिडाए ।

तिनको जम्मै औषधी नियम पूर्वक खाएँ तर मेरो पेटको समस्या जस्ताको त्यस्तै रह्यो ।

एकदिन साँझमा खाना खाएर टहलिँदै गर्दा म बस्ने घर नजिकै एउटा “क्वाक डक्टर” को क्लिनिकमा आँखा पर्‍यो । एम.बि.बि.एस. पास गरेको तर नाम नचलेको कारण चर्चित नभएका यस्ता धेरै डक्टरहरू त्यो इलाकामा बेनाम क्लिनिक चलाएर बसेका थिए । आफ्नो समस्या पनि यथाबत भएको र ‘मरता क्या न-करता’ भन्ने आशयले यीनलाई पनि देखाउँन त भनेर म एकजना अलि पाको उमेरका ‘क्वाक’ कहाँ पुगेँ । बत्ति निभेको बेलामा ती, टेबुलमा एउटा मैनबत्ति बालेर बिरामी कुर्दै बसेका थिए ।

उनले मेरो समस्याको बारेमा सोधे र मलाई त्यहाँ उत्तानो परेर पल्टिन भने । म उत्तानो परेर पल्टेपछी तीनले आफ्नो हत्केकाले मेरो पेटमा २-३ पटक दबाएर अलिकता हिन्दी, अलिकता अग्रेजी र अलिकता स्थानिय तेलुगु भाषा मिसाएर मलाई “तिम्रो पेटमा bubble धेरै जम्मा छ ...यो कुनै समस्या हैन् १० दिन यो औषधि खाउ ठीक हुन्छ ..." भनेर 'Razo-20' नाम गरेको औषधि खालि पेटमा खान भने । तेस्रो दिन देखि मेरो पेटको सबै समस्या समाप्त भयो ।

अझै पनि बेला-बेलामा सोच्छु, यी नाम नचलेका ‘क्वाक’ कहलिएका मैनबत्ती बालेर बिरामी जाँच्ने डक्टरले हातले छामेर था’ पाउने रोग, ठूला अस्पतालका विशेषज्ञले भएभरका उपकरण र टेस्ट चलाएर नि कसरी थाहा पाएनन ?।

मेरो यो पोस्टको उदेश्य कुनै डक्टर वा आधुनिक चिकित्सा प्रणालीको अवमुल्यन गर्नु वा स्व-चिकित्सालाई प्रशय दिनु पटक्कै हैन्, तर बिरमी पर्दा सधैं नाम चलेका चिकित्सक, महङ्गा टेस्टले नै मात्रै सहि निर्क्योल गर्छन भन्नेमा भने मलाई कहिल्यै विश्वास लाग्दैन् । आफ्नै अनुभवको कुरा गर्ने हो भने, म कुनै रोग लागेपछि सो बारेमा आफूले भेटेसम्मको अध्ययन गर्न र मौका पर्दा कुनै क्वाक डक्टर वा खैराती अस्पतालमा पुग्न समेत गलत ठान्दिन । बाँकी, gastroenterologist ले १० थरी जाँच गरेर भेउ नपाएका कुरा ती हड्डीका डक्टरले हातले छामेर कसरी था’ पाए, एउटा सामान्य मानिसले गुगलमा खोजेर थाहा पाउने रोगको निदान दुई-जना वाल-विशेषज्ञले ३ थरी टेस्ट गरेर कसरी खूट्ट्याउन सकेनन् र सुविधा सम्पन्न अस्पतालका विशेषज्ञले महिना दिन हेरेर थाहा नपाउने कुरा क्वाक भनेर बेनाम रहेका सामान्य चिकित्सकले एकपटक छुँदा नै कसरी पत्ता लगाए भन्ने कुरा चाहीँ मैले सायद कहिल्यै बुझ्नै छैन् । अनि न-चाहँदा नचाहँदै पनि मनमा एउटा प्रश्न उब्जन्छ: के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त ?


नोट:यो ब्लगबाट Google Plus comments हटाएर ब्लगरको डिफल्ट कमेन्ट स्थापना गर्दा बिचमा पाठकहरूले गर्नु भएको कमेन्ट मेटिन गएकोले सोको स्क्रिनशट यहाँ राखिएको छ: (असुबिधाको लागि क्षमा चाहन्छू):-

doctor

No comments:

Post a Comment